–दीपकिरण खड्का
`ट्राभलिङ्ग थ्रु दी डार्क´ भन्ने अङ्ग्रेजी कविता छ, जहाँ भावना र दायित्व रिस्थिति हेरेर महत्वपूर्ण हुने प्रसङ्गलाई प्रकाश पारिएको छ। कसैलाई मानविकरण र कसैलाई दानविकरण गरिनु अघि सोच्नु पर्ने नै हुन्छ। डा केसी पनि व्यक्ति हुन्। मानिस भएसी कमीकमजोरी हुन सक्छन्, जान्छन् त्यो आफ्नो ठाउँमा छ तर चिकित्सा क्षेत्र जस्तो संवेदनशील क्षेत्रलाई एउटा नयाँ आयम दिन पहिलो पाइला सार्ने व्यक्तिको कुरा नगरिरहन सकिन्न। चिकित्सा क्षेत्र सुधारका लागि १६ औं अनसन बसिसकेका उनको चर्चा गर्दै गर्दा अरु गलत छन् भन्ने ध्येय पक्कै होइन तर सहि लाइ सहि बेलैमा भन्नू पनि त पर्छ नि। डा. केसीप्रति म सधैं कृतज्ञ छु, आभारी छु। डा केसी एक्लो व्यक्तिले चिकित्सा क्षेत्रका विकृती र विसङ्गती विरुद्ध लडन गरेको अथक प्रयासले नै आज स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष-अप्रत्यक्ष जोडिएका मानिसहरुको पनि चासोको विषय भएको छ, उसो त स्वास्थ्य क्षेत्र प्रत्येक मानिसहरु संग साइनो राख्ने भयो। तर यति हुँदा हुँदै पनि स्वतन्त्र विश्लेषण गर्नेहरु उग्र समर्थक र उग्र आलोचकको निशाना बन्न पुग्छन्। तैपनि मैले बुझेका केही सामन्य तथ्यलाई तल केही बुँदामा प्रस्टाएको छु।
डा केसीका महत्त्वपूर्ण काम:

१.अझै पनि आम मानिसहरुमा एउटा भ्रमको खेती गरिएको छ, डा.गोविन्द केसीले गर्दा एमबीबीएस वा एमडी गर्न विदेशमा पढ्न गए जसले गर्दा अर्बौं रुपैयाँको स्वदेशी पुँजी बाहिरियो भनेर तर्क दिन्छन्। तर आफ्नै देश भित्र रहेको मेडिकल कलेजमा पढ्न छोडेर विदेश जानु रहर कसैको पनि हुन सक्दैन। नेपालका मेडिकल कलेज भर्ना हुने बेलामा नै कम्तिमा २० लाख वा सम्पूर्ण खर्च अग्रिम माग्छन्। तर चीन, बङ्गलादेश लगायत देशमा किस्ता किस्तामा दिएर पढ्न पाउँछन्। यसो हुँदा पैसा तिरेर पढ्ने विद्यार्थी र अभिभावकहरुलाई राहत मिल्छ।
अर्को कुरो, नेपालमा पढ्ने कि त नाम निकालेर पढ्ने छन् कि भने ६५ लाखको हाराहारी खर्च गरेर पढ्ने हुन्छन् र यस मानेमा चीन वा बङ्गलादेश त्यही खर्चले २ जना पढ्न सक्छन्। यसैगरी विदेशमा पनि छात्रवृत्तिमा पढेकाहरु हुन्छन् जस्मा विदेशी देश वा विश्वविद्यालयले दिएको छात्रवृत्ति हुन्छ भन्ने नभुलियोस्। यसलाई लगेर सबै विद्यार्थीलाई ३५ लाखको दरले हिसाब गरेर अर्बौं खर्च हुन्छ भन्नू चाहिँ तथ्यपरक हुन सक्दैन। डा केसीले गर्दा विदेश पढ्न विद्यार्थी जानेको लर्को छ भन्नेहरुले देशको वास्तविक तथ्य भुल्नु चाहीँ हुँदैन।
२. यदी डा केसीकै कारण मेडिकल पढ्दा लाग्ने पैसा बाहिरिएको देख्ने हो भने अस्ट्रेलिया, जापान, भारत लगायत देशमा फार्मेसी, नर्सिङ्ग, नन-मेडिकल कोर्सहरु गर्ने सम्पूर्ण विद्यार्थीको पढाइ खर्च बारे पनि चासो राखिनुपर्छ। मेडिकल पढ्न जाने सम्पूर्णले ३५ लाख पैसा पनि तिर्दैनन्। छात्रवृत्तिमा पढेकाहरुको गन्ती किन? दावाको साथ भन्न सकिन्छ झन्डै २५/३० अर्बको पैसा बाहिरिएको छ? यसबारे सबै किन मौन? विद्यार्थीहरु विदेशीएकै कारण मेडिकल कलेज खोल्नुपर्छ भन्ने तथ्य चाहिँ दु:खद र दुर्भाग्यपूर्ण छ। हो विद्यार्थी विदेशीएको छ, नेपालमा पढ्न सिट नभएर होइन, सुलभ र आफ्नो क्षमताले नभ्याउने स्थितिले गर्दा। नेपालको झन्डै मेडिकल सिटको ३९-४० % सिटमा विदेशीहरु पढ्छन्। यिनै सिटहरुलाई नेपाली विद्यार्थीहरुलाइ सर्वसुलभ बनाउन लागि पर्ने हो भने देशका आधा विद्यार्थी अझै विदेश जानू पर्दैन। तर त्यसो हुन सक्ने सम्भावना निक्कै कम छ, किनकि यस्ता सिटलाई नेपाली विद्यार्थीलाई दिने बित्तिकै कन्सलटेन्सी र मेडिकल माफियाहरुको बजार सकिन्छ। यसैको लागि डा केसी र सरकारलाई जुधाउने वा दुबै थरी स्वार्थ जोडिएकाहरु जनतालाई भ्रमित गराइरहन चाहान्छन्।
३. डा केसीको आन्दोलन पश्चात् हाल कुनै पनि देशमा गएर एमबीबीएस पढ्न इन्ट्रान्स पास गर्नै पर्ने प्रावधान राखिएको छ। यसले पनि केही हदसम्म राम्रै डाक्टर उत्पादनमा विशेष महत्व राख्छ, राख्नेछ। नत्र हिजो यस्तो समय थियो जतिबेला इन्ट्रान्स पास नगर्नेहरुको विदेश जाने लर्को हुन्थ्यो। झन्डै एकै वर्षमा सन् २०१५ मा बिदेश जाने १४६१ हाराहारी मा पढ्न गएको रेकर्ड छ। ऐले इन्ट्रान्स पास गर्ने नियम लागू भएसंगै विदेश जानेको संख्या झन्डै आधाले घटेको छ, सन् २०१८ मा विददेश गएर पढ्नेको संख्या ६०० छ। धेरै भन्न नसकिए पनि जुन देशमा नाम मात्रका डाक्टरको बिगबिगी हुने छैन।
डा. गोविन्द केसीबाट नआएको जवाफहरु !
१. IOM ले लिएको प्रवेश परिक्षाको प्रश्न पत्र चोरि हुँदा तपाईंले नियुक्ती गरेको अग्रवाल माथि किन प्रश्न उठाउनु भएन, तपाईं आँफैले समेत यस बिषयमा किन चुँ बोलिएको सुनिएन। अघिल्लो वर्ष डा. केसीमाथि आशा राखेर विद्यार्थीहरु हामीलाई समस्या पर्यो। IOM मा तपाईँको कुरा सुन्छन्, बोल्दिन पर्यो, लौ न भनेर जाँदा भेट्न जाँदा यो मेरो विषय होइन, मलाई थाहा छैन भन्ने जस्ता जबाफ पनि आएका कुरा हामीले पीडित विद्यार्थीहरु मार्फत जान्न पायौं। अब यसलाइ कसरी बुझ्ने?
२. डा केसीले चिकित्सा क्षेत्रकै मागहरूमा एकत्रित भएर लाग्नु पर्ने हो। नत्र भोलि यस्तो परिस्थिति नआउला भन्न सकिन्न जहाँ कसैको गोटीको नाम नलागोस्। १६ औं अन्सन सम्म आइपुग्दा उनका मुद्दा चिकित्सा क्षेत्रका मात्र रहेनन्। भोलि अन्य मुद्दा बोक्दा चिकित्सा मुद्दालाई मफियाहरुले शिकार नबनाउलान् भन्न सकिन्न। डा गोबिन्द केसिको चिकित्सा स्वास्थ्य भन्ने अनसनभित्र द्वन्द्वकालिन मुद्दा घुसाउने, फेरि समस्या ब्युंताउने, र बिस्तारै देशीविदेशी स्वार्थ समुदाय र मेडिकल मफियाहरुले खेल नखेल्लान् भन्न सकिन्न।
माथेमा प्रतिवेदनका दुई विषय:
१.प्रवेश परीक्षाका प्रश्नहरूमा आधारभूत विज्ञानका ज्ञानकासाथै सञ्चार सीप, समालोचनात्मक सोचाइ, नैतिकशास्त्र, मानविकी तथा मनोविज्ञानजस्ता विषयहरूसमेत समावेश गर्ने जस्ले गर्दा विद्यार्थी मूल्यांकनको आधार तथ्य र सूचनाहरूको जानकारीमात्र नभई विश्लेषणमा आधारित हुनेछ भने ३०० सम्मको बहुबैकल्पिक प्रश्न सोधिनेछ। वर्तमान परिप्रेक्षबाट हेर्दा अहिले सोधिने प्रश्न उति वैज्ञानिक होइन, १०० वटा प्रश्नका PCB ले मात्रै एउटा विद्यार्थीलाई जाँच्न सक्दैन तर बहुआयमिक प्रश्न र विश्वव्यापी मान्यताका प्रश्नहरुलाई सोध्न सुरु गर्ने हो भने यो पनि एउटा चिकित्सा क्षेत्रमा कोसेढुङ्गा हुनेछ।
गुणस्तरीय चिकित्सक उत्पादन गर्ने नै हो भने अब परम्परागत परिक्षा प्रणाली किन नबदल्ने? PCB मात्र होइन यी अलवा एउटा असल चिकित्सक हुन आवश्यक पर्ने विषय किन नअटाउने? कम्तिमा एउटा चिकित्सक PCB कुवाको भ्यागुतो भन्दा बाहिरी संसारमा कहिले आउने?कि मेसिन जांच्ने रोबोट बनाउने हो?
२. अर्को महत्त्वपूर्ण कुरो भनेको अब टियु, केयु, धरानले फरक फरक परिक्षा लिन लगाउने नै होइन। सबैको शैक्षिक क्यालेन्डरलाई एउटै बनाएर कमन इन्ट्रान्स गराउने, अनि त्यसैका आधारमा विद्यार्थीलाई मेरिट लिस्टमा निकाल्ने ! कमन नेसनल इन्ट्रान्स मार्फत मेरिट लिष्टबाट विद्यार्थी लिने र न्युन आय भएका योग्य विद्यार्थीहरूलाई चिकित्सा शिक्षामा अध्ययनको अवसर प्रदान गर्न बिना धितो बैंकमार्फत ऋण प्रदान गर्न शैक्षिक कोष स्थापना गरी त्यसमार्फत सहुलियतपूर्ण ऋण प्रदान गर्ने व्यवस्था गर्ने।
अन्तमा,
डा केसी ज्यू, तपाई निक्कै सचेत भएर अघि बढ्नुपर्छ। तपाईंका छेवैमा भएका मान्छेहरु तपाईंसम्म पहुंचमा पुग्न दिंदैननन्। ज्ञान् भएका तर विवेक नभएकाहरुबाट निक्कै सचेतका साथ अघि बढ्नुपर्छ। इमानदार र सक्षम व्यक्तिको खुट्टा तान्ने खेल नेपालमा नयाँ होइन अनि यस्ता खेल खेल्न अभ्यस्त भैसकेकाहरुले तपाईंलाई फसाउन खेल खेल्नु नौलो हुन्न। अदृश्य खेलको प्रयोगशाला हो नेपाल, तपाईमाथी पनि नखेलिएको होला भन्न सकिन्न! मूल उनीहरु भन्दा तपाईंको कुरो हो। तपाईंलाई पनि कानुन, राजनीतिका धेरै कुरा थाहा नभएको हुनसक्छ, यो बेला यस्तै सचेत र निषकलङ्क बौद्धिक वर्गका सल्लाह र सुझावबाट अघि बढ्ने प्रयत्न गर्नुस् र चिकित्सा क्षेत्रमा तपाईंले लिएको अडानलाई सम्पूर्ण नेपालीले साथ दिनेछन् नै।
र,
`हरेक युगको एउटा विशिष्ट पात्र मात्र होइन, एउटा मुख्य प्रश्न पनि हुन्छ। एउटा यस्तो प्रश्न जसका माध्यमबाट त्यो युगको विषयमा फैसला गर्न सकिन्छ। जस्तो- `के हुँदैछ? दोषी को हो? अब के गर्ने? गर्ने कि नगर्ने?´भन्ने स्तालिस्भाव बेल्कोस्की भनाईमा सहमत हुनै पर्छ।
– खड्का हाल एमबीबीएस अध्ययनरत छन

