मलाई के कुरा पटक्कै थाहा थिएन भने जुन दिन लन्दनमा समाजवादी दार्शनिक मार्क्सको चिहान हेर्न जाने कार्यक्रम बनेको थियो त्यस दिन नेपालमा समाजवादी राजनीतिक बी पी कोइरालाको जन्म जयन्ती परेको रहेछ ।

अर्थशास्त्रका विद्यार्थीलाई जुन नामले सर्वाधिक प्रभावित गर्छ, त्यो निर्विवाद रुपमा अर्थशास्त्रको जन्मदाता एडम स्मिथ नै हो । एकनयाँ दर्शनको सुरुआतकर्ता एडम स्मिथ । तर उच्च अध्ययनमा अर्को जुन नामले प्रभाव पार्छ, त्यो मार्क्स हो, अर्थशास्त्री मार्क्स, जसलाई राजनीतिक अर्थशास्त्रका प्रवर्तक भनिन्छ ।
यद्यपि मार्क्स आफैं समाजवादका प्रवर्तक भने होइनन् । उनीभन्दा पहिले बेलायतका धनाढ्य व्यापारी रबर्ट ओवेनले सहकार्य मार्फत् समाजवाद सिद्धान्त लागू गरेर आफ्नो उद्योगका कर्मचारीलाई ज्याला र अन्य अनेक सुविधा दिए । यसबाट उनको उद्योगले पनि दिन दुना रात चौगुना उन्नति गर्यो । श्रमिक पनि सन्तुष्ट बने ।
फ्रेन्च दार्शनिक प्रूधोंले निजी सम्पत्ति नै सबै सामाजिक खराबीको कारण हो, त्यसैले यो हटाउनु पर्छ भन्ने क्रान्तिकारी विचार दिएका थिए । उनी पूँजीवादका कट्टर विरोधी थिए तर साम्यवादका समर्थक पनि उनी थिएनन् । भनिन्छ, समाजवादीको उपस्थिति पनि उनका लागि असह्य हुने गथ्र्यो । किनभने उनी व्यक्तिगत स्वतन्त्रताका कट्टर समर्थक थिए । रोडबरटस, जसलाई माक्र्सको समयमा उच्चस्तरका समाजवादीको सम्मान प्राप्त थियो, ले राज्यलाई समाजवादको आधिकारिकता प्रदान गरेका हुन् तर पनि उनी माक्र्स जस्तो छिटो क्रान्ति गरेर समाजवाद लागू गर्ने गराउने कुरामा असहमत थिए ।
हेगेलको दर्शनबाट प्रभावित मार्क्सले आफ्ना विचार मार्फत् आफूभन्दा अगाडिका यी सबै विचारलाई ओझेलमा पारे । फलस्वरुप एउटा सिद्धान्त बन्यो जसलाई अर्थशास्त्रमा मार्क्सवाद भन्ने गरिन्छ ।
राजनीतिशास्त्रका विद्यार्थीले उनको म्यानिफेस्टोलाई बढी महत्त्व दिन्छन् तर मलाई उनका आर्थिक सिद्धान्तमा बढी रुचि छ । तथापि आजको यस लेखमा मैले माक्र्सवादका आर्थिक सिद्धान्तको चर्चा गर्ने छैन । आज मैले एडम स्मिथ पछिका अर्का ठूला अर्थशास्त्रीको रुपमा उनलाई सम्मान व्यक्त गर्न लन्दन हाइगेट चर्चको खोजी गरेको विवरण मात्र उल्लेख गर्ने छू ।
यस अघि मैले स्कटल्याण्डमा एडम स्मिथको चिहान र स्कटिशले उनलाई दिएको सम्मान देखेको थिएँ । एडनबरोको मुख्य चोकमा स्मिथको ठूलो प्रतिमा उभ्याएर राखिएको छ, सोही प्रतिमाको मुनि उनको चिहान राखिएको छ । अन्यत्र कतै उनको चिहान भएको चर्चा मैले सुनिनँ ।
माक्र्सको चिहान हाइगेटमा छ भन्ने मैले पढेका थिएँ । त्यो हाइगेट भन्ने ठाउँ कता रहेछ, गुगल सर्च गरे पछि दीपिका र म त्यता लाग्यौं । त्यो एक पवित्र ठाउँ, नाम चलेको चर्च भएको स्थान रहेछ । कुनै समय त्यो लन्दनको मुख्य चिहानघाट रहेछ, नेपालमा देवघाट वा रिडी जस्तो सबै मानिले उनको चिहान त्यहाँ होस् भन्ने चाहना गर्ने पवित्र र धार्मिक ठाउँ ।
ग्रीनफोर्डबाट त्यो ठाउँ निकै टाढा रहेछ, गाउँमा । चार वटा बस फेर्दै त्यहाँ पुगियो । त्यहाँ वरिपरि पातलो बस्ती र सानो बजार मात्र देखियो । हाइगेट चिहानका दुई भाग रहेछन् पूर्व हाइगेट र पश्चिम हाइगेट । पश्चिम हाइगेटमा अलि बढी चिहान रहेछन्, एक लाख ५३ हजार जति । त्यताको टिकट १८ पाउण्ड पर्दो रहेछ । पूर्वतर्फ त्यसको लगभग आधा चिहान रहेछन् । टिकट १४ पाउण्ड रहेछ । तथापि सबै चिहान हेर्न त दिनभरि नै लाग्छ ।
मार्क्सको चिहान पूर्वतर्फ छ भन्ने थाहा पाए पछि लामो बाटो हिँडेर पूर्व ढोका तर्फ लाग्यौं । बस स्टपबाट ओरालो बाटो हिँडेर लामो चक्कर काट्दै सानो मूल ढोकामा पुग्यौं । सुरक्षा कर्मचारी उभिएको थियो । गेट भित्र छिर्ना साथ मार्क्सको पुस्तक, पैम्फलेट, विभिन्न चित्रहरु राखेको एउटा सानो म्युजियम बनाइएको देखियो । त्यहाँ सिमेट्री प्रवेशको टिकट काट्दा रहेछन् । एक जना अधबैंशे महिला त्यहाँ बसेकी थिइन् । जसले मार्क्सको चिहानका बारेमा छिटो छिटो परिचय दिँदै थिइन । संभवतः उनीहरुले यस टिकट मार्फत् पर्यटक आगमनलाई व्यवस्थित र चिहानलाई सुलभ बनाउन प्रयास गर्दै थिए ।
तर मेरो अपेक्षा विपरीत त्यहाँ चिहान हेर्ने मानिस एकदमै थोरै थिए, अझ भनौं त्यो चिहानघाट सुनसान थियो । रुख र ससाना विभिन्न जातका बिरुवामा लश्करै चिहान र एक दम सुनसान । सुनसान जंगल जस्तो । सामान्य मनोविज्ञान अनुसार डरलाग्दो । चिहान हेर्ने कुरामा मानिसहरुलाई रुचि नहुनु स्वाभाविक पनि हो । मलाई पनि सबै चिहान हेर्नु थिएन, मार्क्सको स्मारक मात्र हेर्नु थियो ।
स्मारक चिहान भित्र अलि परै रहेछ । विभिन्न थरीका चिहानहरु पार दीपिका र म हामी दुई जना अगाडि बढ्यौं । साहित्यकार, सैनिक, धनिक, लेखक, कलाकार, दार्शनिक अनेक थरीका मानिसहरु त्यहाँ सुतेका थिए । सबैले आफ्नो धार्मिक परम्परा अनुसार, क्रस, म्याडोना, एन्जिल आदि विभिन्न पवित्र चिन्ह बनाइएका थिए । कुनै कुनै चिहानमा त अस्तु राखे जस्ता कलश पनि बनाइएका थिए ।
लेखक, दार्शनिक, नाम चलेका नाविकका चिहानहरुमा घत लाग्दा उद्धरण पनि थिए । अगाडि दोबाटोमा मार्क्सको स्मारक देखा पर्यो । वरिपरिका पुराना चिहानको ठाउँमा त्यो चिहान भर्खर पुनरुद्धार गरेको देख्न सकिन्छ ।
मार्क्सका चिहान वरिपरि वरिपरि ठुल्ठूला क्रसहरु सजिएका थिए । यो ठाउँ क्रिस्तानको पवित्र ठाउँमध्ये एक हो । धर्मान्तरण नगरेको भए उनको चिहान कुनै सिनागगमा हुन्थ्यो होला किनभने उनको पारिवारिक धर्म यहुदी हो । उनको पिताले धर्मान्तरण गरेर क्रिस्तान बनेका थिए ।
अधिकांश पुरुषका चिहानहरु उनका श्रीमती वा छोराछोरीले श्रद्धापूर्वक बनाएको भन्ने कुरा उल्लेख गरेको थियो । तर मार्क्सको चिहान बनाउन पारिवारिक मित्र फ्रेडरिक एंगेल्सले सहयोग गरेका थिए । उनकी पत्नीको मृत्यु दुईवर्ष अगाडि भइसकेको थियो । उनका साना बच्चा, नातिनी, छोरीहरु पनि सोही ठाउँमा राखिएका थिए । मार्क्सको चिहान पनि त्यही ठाउँमा सँगै बनाएर पूरै परिवारको नाम त्यस स्मारकमा उल्लेख गरिएको छ । माक्र्सको चिहानको पुनरुद्धार गरी मार्क्सको अनुहार कुँदेर राखिएको छ । स्तम्भमा उनका दुई उक्तिहरु उल्लेख गरिएको छ । पहिलो भनाई एंगेल्ससँगको सहलेखन भएको कम्युनिष्ट मेनिफेस्टोबाट लिइएको छ– विश्वका श्रमिकहरु एकजुट होउँ ।
अर्को भनाई उनले पी एच डी गर्दाको शोध ग्रन्थ द डिफरेन्स बिटवीन द डिमोक्रीटन एन्ड इपिक्युरियन फिलोसफीबाट लिइएको छ– दार्शनिक र चिन्तकहरुले अलग अलग तरीकाले संसारको व्याख्या र वर्णन गरेका छन् तर खास कुरा त के हो भने यसलाई कसरी परिवर्तन गर्ने ?
मार्क्सकी पत्नी जर्मन थिएटरकी लेखिका, तथा राजनीतिक कार्यकर्ता थिइन् । उनको परिवारको जर्मन राजनीतिमा राम्रो प्रभाव थियो । दुवै जना एउटै गाउँमा सँगै हुर्केका थिए, सँगै स्कूलमा पढे । दुवैले धर्माचार्य हुनका लागि उच्च शिक्षामा धर्मशास्त्र लिएका थिए । तर दुवै धर्माचार्य हुन पाएनन् । दुवैमा प्रेम अनि विवाह भयो । धनी परिवारकी जेनीले हरेक सुखदुखमा मार्क्सलाई साथ दिएकी थिइन् । उनी सुन्दर पनि थिइन् र सुशील पनि । जसले मार्क्सका सातवटा बच्चालाई जन्म दिएकी थिइन् ।
उनको क्रान्तिकारी लेखनबाट जर्मन सरकार उनीसँग अप्रसन्न थियो । फलस्वरुप जर्मनबाट भागेर उनी केही समय फ्रान्स बसे । फ्रान्सले पनि बस्न नदिए पछि उनी बेल्जियम पुगे । त्यहाँबाट पुनः फ्रान्स आए तर त्यहाँ बस्न नपाएकोले लन्दनमा निर्वासित जीवन बिताए । पलायनको सो क्रममा उनले जेनीको साथ पाइरहे । आमाले दिएका गहना बेचेर जेनीले घर खर्च चलाइन् । मार्क्सका सन्तानहरु पालिन् हुर्काइन् । घरको सबै सम्पत्ति सकिए पछि लन्दनका उद्योगपति एंगेल्सले उनको जीवन निर्वाहका लागि सहयोग गरे । एंगेल्स मार्क्सको एउटा लेख पढेर उनीसँग प्रभावित बनेका थिए ।
उनको बसाईंको नजिक रहेको लन्दन म्युजियम पुस्तकालयका सबै पुस्तक पढेर उनले एउटा महत्त्वपूर्ण थिसीस लेखे जसमा उनले अतिरिक्त मूल्यको सिद्धान्तको ऐतिहासिक दृष्टिले पुष्टि गरे । पुस्तकको नाम उनले राखेका थिए पूँजी, दास क्यापिटल अर्थात् द क्यापिटल ।
यद्यपि मार्क्सको यो सिद्धान्त एडम स्मिथ र रिकार्डोका सिद्धान्तमा आधारित थियो तर त्यसमा गरिएको गहन रिसर्चले त्यसलाई मौलिक मार्क्सवादी सिद्धान्त बनायो । अर्थशास्त्रमा यस पुस्तकका भनाईलाई मार्क्सवाद भनेरै चिनिन्छ ।
अन्य खास खास, सायद परिचित, नातेदारका, चिहान हेर्ने आधा दर्जन महिलाहरु मात्र त्यस विशाल चिहान घाटमा टाढा टाढाका चिहानमा उभिएका थिए । सितम्बरको १० तारीख, २०२३ (भदौ २४ वि.सं२०८०) को दिउँसोको समयमा पनि रातिको जस्तो सुनसान थियो त्यो चिहानघारी ।
मार्क्सको चिहानमा केही ताजा बासी पूmल राखिएका थिए । त्यसमध्ये आजका कति छन् र हिजो अस्तिका कति होलान् मैले अनुमान गर्न सकीन । तर म करीब एक घण्टा त्यस चिहानमा रहँदा अरु कोही मानिस त्यस चिहानमा आएको मैलै देखिनँ । म दिउँसो करीब एक बजे पुगेको थिएँ ।
एक जना चिलीका पर्यटक वरिपरि घुम्दै थिए । मलाई मार्क्सको चिहानमा उभिएर फोटो खिचेको देखेर मेरो नजिक आए । फोटो खिच्न सहयोग गरे ।
आफू भारत झारखण्डबाट यता घुम्न आएको बताए । उनकी श्रीमती झारखण्डकी हुन् भन्ने थाहा पाइयो । मैले त्यस चिहानमा कत्तिको मानिस आउँछन् भनेर सोधें । उनले भने– कहिलेकाहीं आउँछन् । म नजिकै भएकोले कहिले काहीं यता घुम्न आउँछू । त्यसैले एकीन साथ भन्न सक्दिनँ ।
मैले सो जानकारीका लागि आभार व्यक्त गरें । अनि फर्किएँ ।
स्कटिश चिन्तकहरुलाई जति सम्मान स्कटल्याण्डमा गरिएको छ, त्यति सम्मान लन्दनमा दार्शनिकलाई गरिएको छैन भन्ने हो भने न्युटन, शेक्सपियर आदिको चिहान वेस्टमिन्स्टर एबे जस्तो पवित्र ठाउँमा राखिएको छ । मार्क्स सम्भवतः निर्वासित व्यक्ति भएको र सो समयमा उनी इंग्ल्याण्डका नागरिक नभएकोले एडम स्मिथ जतिको सम्मान नपाएको होला भन्ने अनुमान गरें । विश्वको दार्शनिक चिन्तनमा जुन स्थान मार्क्सको छ, त्यस दृष्टिले त्यो चिहानमा उनले सम्मान पाएको भन्न सकिने ठाउँ मैले देखिनँ । यी सबै कुरा सो भ्रमण पछि मैले सामाजिक संजालमा पोष्ट गरिसकेको छू । त्यहाँ लेखेको एउटा वाक्य पुनः उद्धृत गर्दछू– ‘‘हाइगेट पूर्वको यस सुनसान चिहानघाटमा ५३ हजार मानिसहरुका साथमा एक यस्तो मानिस आफ्नो सम्पूर्ण परिवारका साथमा आरामले सुतिरहेको छ, जसका विचारले विश्वका अरबौं मानिस बेचैन र विद्रोही बने । नास्तिक मानिने यस विचारक वरिपरि धार्मिक चिन्हको भीड देख्न सकिन्छ ।”
मैले देखे अनुसार, मार्क्सको जीवनमा शान्तिका पक्ष केवल तीन वटा छन् पहिलो, हाइगेटको चिहान, दोस्रो ब्रिटिश म्युजियम पुस्तकालय र तेस्रो पत्नी जेनीको साथ ।
यो पनि पढ्नुहोस – डब्लिन, कर्क, बेलफास्ट हुँदै टाइटानिक म्युजियम

