गुल्मीमा मानो लगाएर चोर पत्ता लगाएको कसैले देख्नु भएको छ, त्यसका पछि लागेर गाउँभरिका मानिस पछि पछि हिँड्छन् । त्यसै गरी हामी गुगल म्यापका पछि लागेर कति बेला दायाँ, कति बेला बायाँ, कहिले कुन बाटो, कहिले कुन बाटो गर्दै हिँडिरहेका थियौं । लोकल सडकबाट हुँदै गुगल म्यापले नवम्बरको २५ तारिख (मंसिर को ९ गते) राति नौ बजे स्थानीय सडकबाट एक सुनसान गाउँको झाडीमा आएर हाम्रो साँझको गन्तव्य देखायो । गुगलले त देखायो तर हामीले बुक गरेको , वेस्टपोर्ट गाउँको घर त्यहाँ कतै थिएन । रि–सेन्टर गरेर फेरि ठेगाना इनपुट गरे पछि गुगलले आठ किलोमीटर पछाडि पुर्याएर अनि ठीक ठाउँमा लिएर गयो ।

गुगलमा आयरल्याण्डका शहर खोज्नु भएको छ ? सत्तरी हजार वर्ग किलोमीटरमा पचास लाखको बस्ती फैलिएको देश आयरल्याण्डमा डब्लिन, कर्क, लिमेरिक, गालवे अनि बेलफास्ट देखाउँछ । बेलफास्टलाई रिपब्लिक अफ् आयरल्याण्ड (छोटकरीमा आयरल्याण्ड) ले पनि आफ्नै ठान्छ जबकि त्यो युनियन ज्याक भित्र पर्छ । तर अचम्म के छ भने हरेक आधिकारिक ठाउँमा आयरल्याण्डको छुट्टै तीन रंगको झण्डा समेत राखिएको छ ।
कर्कको सुरुङ्गको बाटो हुँदै हामी पश्चिम तिरबाट आयरल्याण्डको एक चक्कर काट्ने गरी बिहान निस्क्यौं ।
त्यस दिन हामीले मोहरको भीर (क्लिफ अफ मोहर) हेर्यौं । यो आयर ल्याण्डको सबैभन्दा प्रसिद्ध प्राकृतिक दृश्यावलोकन ठाउँ हो भन्दा हुन्छ । टिकट प्रवेशद्वारमा एक जना आयरिशले हामीलाई आत्मीय स्वागत गर्यो (कर्मचारीहरुले सेवाग्राहीलाई जहाँ पनि निकै आत्मीय व्यवहार गरेको पाएँ) । सोध्यो– कहाँ बाट ?
नेपालबाट, सुन्ना साथ खुशी भयो भन्यो– म १० वर्ष अघि नेपाल गएको थिएँ । नेपाल र आयर ल्याण्ड उस्तै हो । जस्तो नेपालको छिमेकी इण्डिया, उस्तै आयर ल्याण्डको छिमेकी यु के ।
क्लिफ अफ मोहर कति सुन्दर छ त्यो शब्दमा बयान गर्न असम्भव छ । अग्ला तट क्रमशः लाइनमा उभिएको देखिने । अग्लो ठाउँ भएकोले टाढासम्म फैलिएको विशाल एटलान्टिक समुद्र तल गहिरो कुवाँबाट आवाज आए जस्तो सुनिन्छ । टाढासम्मको फैलिएको डरलाग्दो समुद देखेर मलाई कोलम्बसको सम्झना आयो । यस विशाल समुद्रका पहाड जत्रा छाललाई छिचोल्दै त्यो क्याप्टेन अमेरिकाको हाइटी भन्ने समुद्री देशमा कसरी पुगेको होला ? अनि यति टाढाबाट समुद्रको बाटो एक महिना हिँडेर इस्ट इन्डिया कम्पनीले भारतीय उपमहादेशमा राज्य कसरी गरेको होला ?
भीरको टुप्पोमा पुग्दा चिसो हावासँग सिमसिम पानी पनि थपियो । झनै जाडो हुन थाल्यो । यस भीरबाट एउटी केटीले आत्महत्या गर्न हामफाल्दा भीरमा चल्ने हावाले फेरि त्यहीं भीरमा लगेर थचोरेको ठाउँ भन्ने जनश्रुति रहेछ । क्लिफ अफ मोहरमा सिनेमाका शूटिंगहरु हुन्छन् तथापि हेरी पोटर सिनेमाको प्रसिद्ध दृश्य यहाँ छायांकन गरिएकोले पनि यो ठाउँ प्रसिद्ध बन्यो । गतः दशकको सबभन्दा लोकप्रिय आख्यान कथा हो हेरी पोटर । यस्ता कथाहरु वीर चरित्र तथा चन्द्रकान्ता सन्ततिको नामले धेरैले पढिसकेका होलान् ।
लिमेरिक शहर पुगेर नाश्ता गर्यौं । लिमेरिक जस्तो सानो शहरमा नेपालीहरु भेटिए । जसले विभिन्न ससाना पेशा गरेका थिए । मेरो सम्पर्कमा धेरै जसो होटेल व्यवसायका मित्र आए ।
मैले नेपाल संस्कृत विश्वविद्यालयबाट पि एच डी गर्ने समयमा अमेजनबाट रोजर बोशेको पुस्तक मगाएर सहयोग गर्ने पल भन्ने व्यक्ति यसै शहरमा बस्थ्यो । उसलाई भेटेर आभार प्रकट गर्न म लिमेरिक जान चाहेको थिएँ । तर ऊ आफ्नी बिरामी आमाको सेवा गरेर भित्र गाउँमा कतै बस्दो रहेछ । निकै व्यस्त भएकोले तोकिएको समयमा उसँग मैले भेट गर्न सकीन । फोनमा धन्यवाद ज्ञापन गरें र नेपाल आउने निम्तो दिएँ । अनि हिँड्यौं साँझको गन्तव्य तर्फ । वेस्टपोर्ट गाउँमा बुक गरिएको घर पत्ता लगाउन घरि यता घरि उता भौंतारिएर बल्ल बल्ल फेला पारेको कुरा सुरुमा भनिहालें ।
भोलिपल्ट बिहान वेस्टपोर्ट गाउँ नजिकको शहरमा गएर चिया नाश्ता गर्यौं । त्यहाँ मलाई कता कता नेपालमा गाउँको नाश्ता पसलको झलक आयो । तीनवटा हँसिली केटीहरुले फुर्ति साथ काम गरिरहेका थिए । एउटा केटो पनि थियो । भित्ताका ईट्टाहरु टालटुल पारिएका, टेबुल र भाँडा सफा, गाउँले तरिकाको ट्वाइलेट । काम चलाउ सुन्दरता । गाउँले मानिसहरु टक्राक् टुक्रक् बसेका । खानेकुराका थरी थरी नाम जानेकाले रोजी रोजी खानेकुरा अर्डर गरे । मैले आफूले जानेको ओट्स र तरकारीको सूप मगाएँ ।

स्लाइगो हुँदै म्यानोर ह्यामिल्टनमा श्रेष्ठ परिवारका घर अपरान्हमा पुग्यौं । त्यहाँको सरकारी अस्पतालका डाक्टरको घर रहेछ तर उहाँसँग भेट हुन पाएन । श्रीमती साकिना श्रेष्ठले हामीलाई स्वागत गर्दा सिमसिम पानी परेर जाडो बढिसकेको थियो । विशाल बंगलाको हलमा दाउराको अगेनाले न्यानो स्वागत गर्यो । चियापान र भला कुसारी पछि लेकल्याण्ड पार्क हेरेर हाम्रो यात्रा बेलफास्ट तिर सुरु भयो ।
अर्को दिनको बसाईंलाई बेलफास्ट नजिकै कोठा बुक गरिएको थियो । त्यहाँ गएर चिया नाश्ताको तयारी गर्यौं । त्यस दिन भारतीय खाना लिएर आयौं र कोठामा आनन्दले खायौं । मेरो जिब्रोले युरोपियन खानाको स्वाद लिन सकेन । नेपाली वा भारतीय खाना खाँदा आनन्द आउँछ, युरोपियन खाना खाएर पेट भरे जस्तै लाग्दैन ।
भोलि पल्ट अर्थात् २७ नवम्बरका दिन आरामले बिहानको नाश्ता गर्यौं । आत्तुरी थिएन । हाम्रो कार्यक्रम जाइन्ट कज वे, बेलफास्ट बजार तथा टाइटानिक म्युजियम मात्र थियो । यस पछि अपरान्ह हाम्रो जहाजको टिकट ।
जाइन्ट कज वेमा हामी बिहान १० बजेतिर पुगिसकेका थियौं । मौसममा चिसोपन थियो । गाडी पार्किंग गरेर पैदल त्यता लाग्यौं । कुनै जाइन्ट (अतिमानव) ले आफ्नो स्कटल्याण्डको शत्रुलाई परास्त गर्न यो बाटो पत्ता लगाएकोले यसको नाम जाइन्ट कज वे (अतिमानवको बाटो) भएको रे । त्यहाँका अचम्मका ढुंगा सोही कथासँग सम्बन्धित होलान् ।
कज वेको सर्वाधिक आकर्षक कुरा भनेको त्यहाँ लगभग एक वर्ग किलोमीटरमा फैलिएका प्रकृतिले कुँदेका ढुंगाहरुको पिरामिडीय थुप्रो हो । एकनासले षटकोणमा कुँदिएका एक माथि अर्को गरेर निकै अग्लो थुपारिएको छ । प्रकृतिको आश्चर्य हो । के इजिप्टका पिरामिड यस्तै कुनै चमत्कारले जम्मा भएका हुन सक्लान् ? प्रकृतिको त्यो आश्चर्य हेर्न र अनुभव गर्न यु ट्युबमा क्लिक गर्नु पर्छ । शब्दले त्यो सुन्दरता बयान गर्न सकिँदैन ।

दोपहर भइसकेको थियो । एयरपोर्टमा पाँच बजे पुग्नु थियो । त्यसैले बेलफास्ट बजारमा नेपाली वा भारतीय खाना खाएर बजार घुम्ने योजना बनायौं । तर बिहान कफी शप मात्र खुल्दा रहेछन् । होटल साँझ पाँच बजे पछि खुल्ने रहेछन् । बिहानमा त्यहाँ खाना खाने चलन नै हुँदैन । अनि बाध्य भएर एउटा क्याफेमा गएर काम चलाउ नाश्ता गर्यौं ।
बेलफास्ट पुरानो शहर भएकोले होला त्यहाँ विश्वका २३ भाषामा पर्यटकलाई स्वागत गरिएको छ । यो देखेर प्रताप मल्लको भाषा प्रेम सम्झना भयो ।

अबको गन्तव्य थियो टाइटानिक म्युजियम । म्युजियम वरिपरि पानी जहाजका अवशेषहरुले त्यो ठाउँ जहाज बनाउने कामका लागि कुनै समयमा कति प्रसिद्ध थियो होला अनुमान गर्न सकिन्छ । नयाँ जहाज बनाउने, पुराना मर्मत गर्ने । इंजिनहरुको रेखदेख तथा लामो यात्रा जानु अघि जहाजको सबै तरिकाले परीक्षण हुँदो हो । हजारौं कामदारले रातदिन काम गर्दा हुन् । के रात के दिन आउने र जाने यात्रुहरुको सधैं भीड हुँदो हो । ठूलो बस्ती थियो होला । मैले मनमनै अतीतका बेलफास्ट शहरको कल्पना गरें । आज त्यो पुरानो सम्पन्नता देखिन्न । त्यसको एउटा कारण अभागी टाइटानिकको भयानक दुर्घटना पनि हुनसक्छ । सर्वाधिक सुरक्षित भनेर दावी गरेको जहाजका २२०० यात्रु मध्ये करीब १५०० ले पीडादायक चिसोका कारण मृत्यु वरण गरे । क्याप्टेनले रातभरि रेडियोमा गुहार माग्दा पनि कोही त्यहाँ पुगेन । नजिकमा रहेका दुईवटा जहाजले रातिमा कुनै सहायता गर्न सकेनन् । एउटा जानै डरायो । अर्को क्याप्टेन बिहान उद्धार गरुँला भनेर सुत्यो । कारफेथिया नाम गरेको जहाज, जुन लगभग १०० माइल टाढा थियो, ले गुहार मागेको सुनेर क्याप्टेनले जहाज फर्काएर त्यहाँ लिएर गयो । हावा, हुरी र ग्लेसियरमा फँसेको टाइटानिक सम्म पुग्न उसलाई १२ घण्टा भन्दा बढी लाग्यो । त्यस बेलासम्म जहाज डुबिसकेको थियो । पानीमा बगिरहेका लगभग ७०० जनालाई उसले स्टीमर मार्फत् उद्धार गर्नसक्यो । टाइटानिकले समयमा गुहार पाएन । समयमा गुहार पुगेको भए आधाभन्दा बढी मानिस बचाउन सकिन्थ्यो होला ।

टाइटानिक सिनेमाले विगतको एक भीषण र पीडादायी दुर्घटना जनसमक्ष ल्यायो । सिनेमा संसारभरि नै रुचाइयो । यस पछि घटनाको तथ्यगत विवरण सार्वजनिक गर्न बेलफास्टमा एउटा म्युजियम, टाइटानिक एक्सपीरियन्स, निर्माण गरिएको रहेछ । यसको सबभन्दा माथिल्लो तल्लामा टाइटानिक जहाजको विस्तृत विरण छ, जहाज निर्माण, कोठाहरुको बनावट, खेल मैदान, पसल, जहाजमा यात्रा गर्ने मानिसहरुको यात्रा तयारी, क्याप्टेन र जहाजका सदस्यको पोशाक, उनीहरु बस्ने कोठा, सुरक्षा व्यवस्था इत्यादि । बीचको तल्लामा समुद्री यात्रा र त्यसको केही बेर पछिका दुर्घटनाको दृश्य देखाइएको छ । क्याप्टेनले सहायता मागेको र सहायता कक्षबाट दिइएको प्रति उत्तरको अडियो राखिएको छ । १४ अप्रिल सन् १९१२ को त्यस घटनामा मृत र जीवित उद्धार गरिएका सम्पूर्ण यात्रुहरुको नाम, ठेगाना र छानबीन समितिको विस्तृत प्रतिवेदन भुईंतलामा छ ।
जजले प्रत्येक व्यक्तिसँग कसरी बयान लिए ? दुर्घटनाबाट जीवित, रेडियो सन्देश सुन्ने, उद्धार गर्ने, तथा मृतकका आफन्त सबैसँग गरिएका प्रश्न र उत्तरको अभिलेख र अडियो दुवै हेर्न र सुन्न पाइने गरी राखिएको छ । पानी जहाजको यस दुर्घनाका दृश्यले मेरो मनमा पनि केही कुरा खेले । आज त लामो यात्रामा हजाई जहाज लोकप्रिय छ तर विगतमा पानी जहाज नै सस्तो र लोकप्रिय साधन थियो । के टाइटानिक जहाजको दुर्घटनाले समुद्री यात्राको लोकप्रियता घटेको हो कि सामाजिक प्राविधिक कारणले हो ? के यस दुर्घटनाले जहाज निर्काणका लागि प्रसिद्ध यस शहरको गुडविल घटाएको होला ? इतिहासका घटना दुर्घटनाले संसारमा अभागी बनेका धेरै शहर छन् ।
म्युजियम पछिको अन्तिम गन्तव्य एक मात्र शानदार सुपर मार्केट, भिक्टोरिया मल थियो । यति गर्दा गर्दै साँझ पाँच बजे आयरल्याण्डलाई बाई बाई भन्ने समय आइपुग्यो । लोकनाथ र भागीरथीले एयरपोर्टबाट बिदाई गरे । हामी दुई जना पनि मन गह्रुँगो बनाउँदै बेलफास्ट एयरपोर्ट भित्र छिरेर स्टान्स्टेड जाने जहाजको प्रतिक्षा गर्न थाल्यौं ।

