-डिबि यात्री लिम्बु
फूल प्रकृतिको सुन्दर उपहार हो। जसलाई प्रेम, सौन्दर्य र जीवनको प्रतीक मानिन्छ। यसको मनोहक रंग, रस र सुगन्धले मानव मनलाई मात्र नभएर किरा फट्याङ्ग्रा समेतलाई मोहित तुल्याउँछ। याक्थुङ लिम्बू जीवन दर्शनमा फूलको विशेष भूमिका रहने गर्दछ।यसको वर्णन र प्रयोग बिना याक्थुङ संस्कार र मुन्धुमी दर्शन नै अधुरो अपुरो हुनेछ गर्दछ । वास्तवमा मुन्धुम लिम्बू समुदायको जीवन दर्शन र सामाजिक मूल्य मान्यता तथा धर्म संस्कार संस्कृति र प्रकृति सँग सम्बन्धित ज्ञान माला संग्रहित शास्त्र हो । साहित्यमा होस् या जीवन दर्शनमा या त धार्मिक शास्त्रमा होस्, त्यहाँ विम्ब ,प्रतीक र रुपकको रुपमा फूल प्रयोग भएको हुन्छ। जसले प्रकृति, सौन्दर्य,यौवन, प्रेम, श्रद्धा, समर्पण र संवेगात्मक भावनाको प्रतिनिधीत्व गर्दछ।

मुन्धुममा विश्व ब्रह्माण्ड सृष्टि देखि चराचर जगत सृष्टिको आख्यान मात्र होइन प्रकृति र जीवनको सम्बन्ध, नैतिक सामाजिक मूल्य मान्यता देखि लिएर भाषा, संस्कृति, संस्कार, अनुष्ठान, धर्म, इतिहास तथा सन्तुलित जीवन पद्धतिलाई सूत्रबद्ध गरिएको छ। हरेक चराचर वस्तुको आ-आफ्नै महत्व र भूमिका हुन्छ। तर त्यसमध्ये पनि फूलसँग मुन्धुमको अन्योन्याश्रित सम्बन्ध छ। फुलबिना मुन्धुम मात्र होइन प्रकृति र संसारको परिकल्पना नै सम्भव छैन। सुगन्ध, सौन्दर्य, प्रेम, सदभाव र समर्पणको प्रतीक मात्र नभएर सृष्टिको निरन्तरता कायम राख्न र जीवन चक्रमा समेत फूलको महत्वपूर्ण भूमिका हुन्छ। प्रकृतिको सुन्दरता र जीवनको निरन्तरताको साथसाथै फूलले भावनात्मक धार्मिक सांस्कृतिक अर्थ बोकेको हुन्छ। फूल पवित्रता, शुद्धता, प्रेम प्रणय, श्रद्धा र शान्तिको प्रतीक हुने भएको कारण मठमन्दिरमा, पूजाआजामा, देविदेउरालीमा,प्रेम प्रणयमा, विवाहमा, उत्सवमा साथै मृत्यु संस्कारमा समेत प्रयोग गरिन्छ। त्यसैले फूलको गाथा, महिमा र गुणगान गएर साध्य छैन।

वैज्ञानिकहरूको भनाइ अनुसार विश्वमा करिव ३/४ लाख किसिमका फूलहरू रहेका छन्। त्यसमा लिम्बू समाजको जीवन दर्शन मुन्धुम अनुसार राम्रो फूल र नराम्रो फूल गरी दुई प्रकारको फूलहरू हुन्छन् । जस्तै सेकमुरी(सेलरी) फूललाई नामसामी अर्थात् मान्छे तुम्याङहाङको प्रतीक मानिन्छ, अन्दङ (बाबरी) फूललाई केसामी अर्थात् बाघरूपी सोघारूपी मृत आत्माको प्रतीक मानिन्छ भने वरुम (चिमाल/चिमाली) फूललाई युमासम्माङको प्रतीक मानिन्छ। तङ्सिङ गर्दा होस् या विवाहमा फुङनावा चाङमा गर्दा होस् जीवनलाई फूलसँग तुलना गर्दै मुन्धुम वाचन गर्दै साममेप्मा गरिन्छ। यसो गर्दा ओइलाएको फूल पनि ताजा भई जागेर आउने जनविश्वास रहिआएको छ।विश्व मानव जगतमा स्थापित कुरा प्रेमको प्रतीक रातो गुलाफ, पवित्र शान्तिको प्रतीक सेतो गुलाफ, शुद्धता र ज्ञानको प्रतीक कमल, आशा र उज्यालोको प्रतीक सूर्यमुखी लाई मानिन्छ। ढकमक्क फूल फुलेको देखेपछि मोहित नहुने मान्छे को होला र? त्यसमा पनि महिलाहरु झनै बढी आकर्षित हुन्छन्। त्यसमा पनि किशोरी युवती चेलीहरु बढी मोहित हुन्छन् । घरको कौसीभरी, आँगनभरि ढकमक्क फूल फुलाएर घरै उज्यालो बनाएका हुन्छन्। त्यसैले होला किशोरी तथा युवतीहरुलाई घरको लक्ष्मी अथवा श्रृंगारको प्रतीक मानिन्छ।

अघिपछि सामसुम हुन्छ तर जब तिहार चाड आउँछ अनि लिम्बू समुदायमा फूलको बहस शुरू हुन्छ, लिम्बूले भाइटीका लगाउनु हुँदैन है भन्ने बहस चल्छ, चेली माइतिले फूल लिने दिने गर्नु हुँदैन है भन्ने बहस हुन्छ।
यस विषयमा केही वर्ष यता यो पंक्तिकारको मथिंगलमा पनि तर्क वितर्कहरु सृजना भएका छन्, चासो बढेको छ। प्राज्ञ हरुको, फेदाङमा सम्बाहरुको, मुन्धुम साबा हरुको, तुतु तुम्याहाङ हरुको विचार विमर्श पनि सुनियो। तर निचोड र निकास सहितको सन्तोषजनक विचार विमर्श भएको पाइएन। मुन्धुम अनुसार लिम्बूको चेली माइतीले फूल लिनेदिने गर्नु हुँदैन भनिन्छ। त्यसो भए मुन्धुममा के छ त?
विशेष गरेर यो मुन्धुम अक्वामा अर्थात मूल खम्बाको पूजा गर्दा आउँछ । उहिले पाजुई तेन्दुम्याङहाङ र इरेरे इधुक्नामा नाम गरेका माइती चेली थिए। पछि माइतीले लुप्लिना वदङ्नामा सँग विवाह गरेर एउटा छोरा जन्म्यो जसको नाम तेत्लारा लाजिरीबा (इकेराङ ताकेराङ) राखियो। चेली इरेरे ईधुक्नामा लाई नानी हेर्न लगाएर बुढाबुढी मेलोमा काम गर्न जान्थे। एक दिन बच्चालाई दूध खुवाउन घर आउँदा तिमी त म बाबु बिनाको बतासे बच्चा, बाग भालुले खान नसकेको बच्चा आदि इत्यादि भन्दै खुट्टाले कोक्रो हल्लाई रहेको लुप्लीना वदङ्नामाले भेटिन र सो कुरा बुढालाई भनिन्। पछि पाजुइ तेन्दुम्याङहाङ आफैले पनि त्यसो भन्दै गर्दै गरेको भेटेपछि रिसले चेलीलाई कुटी मारुङ काटी मरुङ जस्तो गर्यो। अब लुप्लिना वदङ्नामा ले त्यसो गर्नु हुँदैन बरु विशेष दिन पारेर मन्त्र जपेर नराम्रो फूलले उसको छातीमा हान्नु पर्छ भनेर सुटुक्क भनिन्। सोही सल्लाह अनुसार एक दिन पजुई तेन्दुम्याङहाङले राम्रा नराम्रा फूलहरू बटुलेर ल्याएपछि मान्छे भेला पारे। अनि राम्रो फूल छुट्याउँदै सबैलाई बाँड्दै गयो र जब बहिनीको पालो आयो नराम्रो फूलले छाँतीमा हान्यो। तब बहिनी बिरामी परिन् । झन् झन् साह्रो झन् झन् सिकिस्त हुँदै गइन्। किन म यसरी बिरामी भएँ, किन म थला पर्दै गएँ भनेर जान्ने बुझ्ने जनपा सँग जोखना हेराउन खोज्दा दाजुले थाहा पाएर कसैले पनि नभन्नु भनेपछि भनेनन्। त्यसपछि राती फक्थिम्बा (लाटोकोसेरो) लाई जोखना हेर्न लगाउँदा तिम्रो दाजुले नराम्रो फूलले हानेको हुँदा नेतिफुङ चोत्लुङ(जीवनको शिर) ढलेको छ, त्यसलाई जगाउनु, उठाउनु पर्छ भन्ने सल्लाह दिए जुनकुरा दाजुले थाहा पाएर त्यो फक्थिम्बाको गर्धन चट्टै काटिदियो। तर फक्तिम्बाले सो:धुङ्गेन् लेपमूहाङको मुन्धुम शक्ति प्रयोग गरेर घाँटी गाँसेर भाग्यो। त्यो कुराको खबर सक्वा (मौरी) ले सो: धुङ्गेन लेपमुहाङकोमा पुर्यायो । अन्तत: इरेरे इधुक्नामा शिर ढलेर मरिन्…….।
नोट:-(मुन्धुम लामो छ, सन्दर्भ सापेक्ष अनुसार यतिमात्र। यो मुन्धुम लिम्बुवानको थुम थुम अनुसार केही तलमाथि हुनसक्छ तर भावार्थ एउटै हो।)
मुन्धुममा फूल दिएको छैन, नराम्रो फूलले छातीमा हानेको छ। फूलले हानेपछि जसको पनि शिर ढल्छ। अपमान कसैले सहन सक्दैन। फूलमालाले समाजको अगाडी कसैलाई झटारो हान्यो भने सहन सक्छ त? त्यसैले फूल दिने कुरा हो, अर्पण गर्ने कुरा हो। प्राज्ञ व्यक्तित्व, फेदाङमा, साम्बा, मुन्धुम साबा तथा तुतु तुम्याहाङ हरुले मुन्धुमको सिधा अर्थमा भन्दा पनि बिम्ब र प्रतीकको भावार्थ मा अर्थ खोज्नु पर्दछ । मुन्धुम भनेको साहित्यको पनि साहित्य हो। अर्थात् साहित्यको मूल स्रोत भनेको नै मुन्धुम हो। त्यसैले साहित्यमा सिधा शाब्दिक अर्थ लगाएर पुग्दैन। विम्बात्मक्ता र प्रतीकात्मकताको भावार्थमा अर्थ खोज्नु पर्दछ। मुन्धुममा चेलीले माइतीलाई फूल नदिनु भनेको कहीं पनि छैन बरु फूलले नहान्नु, भन्ने छ। के फूल हान्नु र दिनुमा फरक छैन र ?

चेलीले आँगन कौसी वरिपरि फूल रोपेर घरै उज्यालो पर्छिन्, माइतीलाई फापेकै छ। बिहे गरेपछि चार कलममा खोक्पाको चारै खुट्टामा फूल बाँधेर ल्याई दिन्छिन्, फापेकै छ। रक्सी हालेर चौंठो र गाग्रीको घाँटीमा फूलमाला बाँधेर ल्याई दिन्छिन्, पचेकै छ। माइतीको बिहेको दिन कलश (फुङसारी) बोकेर कन्ने चेलीले अगाडि अगाडि हिड्ने चलन छ, शुभसाइत पार्ने चलन छ, त्यहाँ पनि फापेकै छ। च्याब्रुङ नाच्दा चेली माइतीले फूल अक्षता प्रयोग गरेर आशीर्वाद दिन्छन्, फापेकै छ। माइती विदेश जाँदा वा नयाँ जागीरमा जाँदा फूलमाला लगाइदिएर शुभकामना सहित विदाई गर्छिन्, फापेकै छ। पूजा आजा गर्न मठ मन्दिर देवी देउराली परिवार सँगै जाँदा फूल चढाउने बेला फूल प्रयोग हुन्छ, फापेकै छ। यसरी अरुबेला फूल दिंदा लिंदा, छुँदा, प्रयोग गर्दा लिम्बु चेली माइतीलाई फापेकै छ, नराम्रो भएको छैन। तर भाईटीकाको दिन चेली माइतीले फूल दिंदा लिंदा अफाप हुन्छ, भाइटीका नै लगाउनु हुँदैन भन्नु कति न्यायोचित हुन्छ ?

अन्तमा: भाइटीकामा चेलीले माइतीको निम्ति स्वस्थ, दीर्घायु, शान्ति, सफलता र समृद्धिको कामना गर्दै निराहार बसेर पूजा गर्छिन्, अझ लिम्बू समुदायमा त झन् चेली भनेको माइतीको लागि सँधै जीवन रक्षक हुन्। त्यसैले माङगेन्ना अनुष्ठान गर्दा अनिवार्य चेली चाहिन्छ। अब भाइटीकाको अवसरमा स्वच्छ सफा मनले टीका लगाउँदा झनै राम्रो हुन्छ। यसले आत्मियता प्रगाढ, उच्च सम्मान, तथा सम्वन्ध सुमधुर बनाउँछ। मुन्धुममा उक्त उल्लेखित विषय गलत मनसायले फूलको दुरुपयोग नगर्नु भन्ने बिम्बात्मक र प्रतीकात्मक भावार्थ छ। फूल नदिनु नलिनु भन्ने उल्लेख छैन। त्यसैले फूलको सही प्रयोग गरौं, आत्मसम्मानमा चोट नपारौं, संस्कृतिमाथि प्रहार बन्द गरौँ, सभ्य नागरिक बनौं। राजनैतिक असहमति र असन्तुष्टि आफ्नो ठाउँमा छदै छ। त्यसको निकासको उपायहरू अरु नै छन्। सेवारो।

