–खेमराज जम्मर कट्टेल

नेपालको आजको पुस्ता इतिहासकै सबैभन्दा शिक्षित पुस्ता हो। विश्वविद्यालयका डिग्री हातमा, मोबाइल र इन्टरनेटको पहुँच साथ, विश्वका कुनै पनि कुनाको खबर एक क्लिकमै बुझ्ने क्षमता बोकेको पुस्ता। तर विडम्बना के छ भने, यही पुस्ता रोजगारी, मानसिक स्वास्थ्य र भविष्यप्रतिको अनिश्चिततामा सबैभन्दा बढी जकिएको छ। के पढेपछि के हुन्छ ? कुन देश जाउँ ? यहाँ बस्दा भविष्य छ कि छैन ! यी तीनवटा प्रश्न अहिलेका अधिकांश युवाको मनभित्र दैनिक घुमिरहेका छन्। उनीहरू भोलिको सुनिश्चितताको खोजीमा छन्, तर बाटा झन् जटिल हुँदै गएका छन्।
नेपालको आर्थिक संरचना, सीमित रोजगारी अवसर, शिक्षामा गुणस्तरको कमी र राजनीतिक अस्थिरताले युवाको सोच, व्यवहार र मानसिक स्वास्थ्यमा गहिरो असर पारिरहेको छ। नेपालमा हरेक वर्ष लाखौ बढी नयाँ युवा श्रम बजारमा प्रवेश गर्छन्। तर त्यति संख्यामा रोजगारी सिर्जना हुने अवस्था छैन। सरकारका कागजी योजनाले युवालाई आश्वासन त दिन्छ तर अवसर दिन कहिल्यै सकिरहेको छैन । शहरमा बेरोजगारको भीड, गाउँमा बुढाबुढी मात्र बाँकी र बाँकी रोजगार खोज्दै कतार, मलेसिया, दुबई वा इजरायलतिर लागेका युवाको लहर यही हो नेपालको वास्तविक चित्र।
रोजगारी नपाउनु केवल आर्थिक समस्या होइन; यो मानसिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो। बेरोजगार युवामा आत्मविश्वास घट्छ, आत्मसम्मान कमजोर हुन्छ र उनीहरूमा चिन्ता, निराशा, र आत्मसन्देह बढ्दै जान्छ। मानव जीवनमा काम केवल आम्दानीको स्रोत मात्र होइन, अस्तित्व र अर्थको अनुभूति पनि हो। जब युवाले आफैंलाई उपयोगी महसुस गर्न सक्दैनन् र उनीहरू भित्रैभित्रै भत्किन थाल्छन्। यही भत्किने क्रमले समाजमा निराशा, आक्रोश र निरर्थकताको भावना बढाइरहेको छ।
नेपालको शिक्षा प्रणाली अझै डिग्री केन्द्रित छ, सीप केन्द्रित होइन। विश्वविद्यालयका विद्यार्थीहरू डिग्री त पाउँछन तर बजारले माग्ने सीप उनीहरूमा हुँदैन। त्यही कारण, हजारौं स्नातकहरू बेरोजगार छन र सीप भएका तर कम शिक्षित मानिस विदेशिएका छन्। एक लाईनमा भन्नुपर्दा नेपालले शिक्षा उत्पादन गर्छ, रोजगारी गर्न विदेश पठाउँछ। यही कारण हाम्रा विश्वविद्यालयहरूबाट पढेर हरेक वर्ष लाखौं युवा रोजगारीको खोजीमा कतार, साउदी, कोरिया, जापान वा इजरायलतिर निस्कन्छन्।
सीप र अवसरबीचको यो खाडलले युवामा गहिरो मानसिक असन्तुलन जन्माएको छ। उनीहरू आफ्नो पढाइलाई अर्थहीन महसुस गर्न थालेका छन्। कतिपयले देशले हामीलाई काम दिन सकेन भनेर अपराधबोध वा असन्तोष बोकेर देश छोड्ने गरेका पनि बताउछन् । देश छोड्ने निर्णय सजिलो हुँदैन। धेरै युवाले घर, परिवार र सपना सबैलाई पछि पारेर बिदेसिन्छन्। सुरुवाती दिनमा उनीहरूमा ठुलो आशा हुन्छ केही वर्षमा कमाउँछु, घर बनाउँछु, जीवन चलाउँछु। तर यथार्थ त्यो भन्दा धेरै कठिन छ।
इजरायलमा काम गर्ने नेपाली युवाहरूको उदाहरण लिन सकिन्छ। यहाँको श्रम अनुशासन, काममा मानसिक दवाव, कतिलाई भाषाको अवरोध र एक्लोपनले मनोवैज्ञानिक रूपमा धेरैलाई थकित बनाउँछ।कामपछि कोठामा फर्केर थाकेको शरीर र खाली मनसँग लड्नुपर्छ।यी कुराहरु सुन्दा हरेक प्रवासीको मुटु भित्रभित्रै पोल्छ। किनकि उनीहरूलाई थाहा छ, विदेशमा तलब पाउने सर्तमा मनको शान्ति कहिल्यै पाइएको छैन। मानसिक स्वास्थ्य यहाँ ठूलो मुद्दा बनेको छ। कामको तनाव, आत्मपरिचयको संकट र भविष्यको अनिश्चितताले धेरैलाई गहिरो मानसिक तनाबमा पुर्याएको छ।
तर प्रवासी समुदायमा मानसिक स्वास्थ्यको कुरा गर्न अझै पनि संकोच हुन्छ। दुख्यो भने पनि हाँस्नुपर्छ यस्ता सोचका कारण धेरै युवाले आफ्ना पीडा लुकाएर हृदयभित्रै थामिरहेका भेटिन्छन्। नेपालमा मानसिक स्वास्थ्यलाई अझै पनि पागलपन सँग जोडेर हेर्ने प्रवृत्ति छ। यही कारण, युवाले आफ्नो समस्या भन्न खुलेर सक्दैनन्। विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार, विश्वभरका हरेक चार जना युवामध्ये एक जना कुनै न कुनै मानसिक समस्या भोगिरहेको हुन्छ। नेपालमा पनि यो अनुपात फरक छैन तर तथ्यांकभन्दा समस्या ठूलो छ।
बेरोजगारी, सम्बन्धको असफलता, आर्थिक दबाब र सामाजिक अपेक्षाले युवामा आत्महत्या दर बढाइरहेको छ। पछिल्ला वर्षहरूमा नेपालमा आत्महत्या गर्ने युवाको संख्या उल्लेखनीय रूपमा बढेको छ तर यो मुद्दा सार्वजनिक बहसमा अझै पनि आउन सकेको छैन । विदेशमा रहेका युवाहरूको हकमा त यो पीडा झन गहिरो हुन्छ। एक्लोपन, भाषा र संस्कृतिको फरकपन, घरको याद र आफ्नो भविष्यप्रतिको डर यी सबै मानसिक बोझ हुन्। कतिपयले बिस्तारै गलत लतमा सान्त्वना खोज्छन्, कतिपयले धार्मिकता वा ध्यानमा। तर उपचारभन्दा पनि धेरैले मौनता रोज्छन्।
समाजले अझै पनि युवालाई कमाउन विदेश जानै पर्ने दृष्टिले हेर्ने गरेको छ । सफलताको मापदण्ड नै पैसा बनेको छ। यसले युवाको सोच विकृतिमा लैजादैछ । आत्मसम्मानभन्दा बढी कमाइ र देखावटमा केन्द्रित। परिवारहरू पनि सन्तान विदेश गयो भने गर्व गर्छन्। तर त्यो गर्व भित्रको पीडा, विछोड, एक्लोपन र भावनात्मक दूरीको मापन कसरी गर्ने ।
राज्यको भूमिका झन् निराशाजनक छ। रोजगारीका ठोस नीति छैनन्, मानसिक स्वास्थ्यको बजेट न्यून छ र युवाको आवाज सुन्ने संयन्त्र पनि छैन।
देशको नीति–निर्माण तहमा अझै पनि युवाहरू समस्या हुन भन्ने दृष्टि कायम छ, जबकि उनीहरू समाधानको केन्द्र हुन्। समस्या गहिरो छ तर समाधान असम्भव छैन। युवाको मानसिक अवस्था सुधार्न र रोजगारी सिर्जना गर्न राज्य, समाज र व्यक्तिगत स्तरमा ठूला परिवर्तन आवश्यक छन्।
शिक्षा प्रणालीलाई व्यावहारिक र रोजगारमुखी बनाउनुपर्छ। विद्यालयदेखि नै सीप प्रशिक्षण, उद्यमशीलता, र नवप्रवर्तनमा जोड दिन सकिन्छ। शहरदेखि गाउँसम्म मानसिक स्वास्थ्य उपचार केन्द्र स्थापना गर्न सकिन्छ, जहाँ युवाले सहज रूपमा सल्लाह र सहयोग पाउन सकून्। विद्यालय र कार्यस्थलमा साथ, सहयोग र सल्लाह लिने दिने कार्यको थालनी हुन जरुरी छ। विदेशमा रहेका नेपालीहरूका लागि दूतावास र नेपाली संघ–संस्थाले पनि मानसिक स्वास्थ्यका अभियान सञ्चालन गर्न सक्दछन्। देशभित्र कृषि, पर्यटन, सूचना प्रविधि, र साना उद्योगमा लगानी बढाएर युवालाई आत्मनिर्भर बनाउने वातावरण सिर्जना गर्नुपर्छ।
मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सक्ने वातावरण बनाउनु सबैभन्दा उत्तम उपाय हो । रोजगारी नपाएको मानिस असफल होइन, त्यो केवल प्रणालीगत समस्या हो। युवाको मूल्यांकन कमाइ होइन, सृजनात्मकता र सकारात्मक सोचबाट गरिनुपर्छ ।
नेपालका युवाले अहिले एउटा संक्रमणकालीन युग भोगिरहेका छन् जहाँ सपना धेरै छन्, तर बाटा एकदमै अस्पष्ट। रोजगारीको खोज, आत्मसम्मानको लडाइँ र मानसिक शान्तिको चाहनाबीच उनीहरू निरन्तर संघर्ष गरिरहेका छन् ।
तर आशा अझै बाँकी छ। हरेक पुस्ताको संघर्षले नयाँ दिशातिर ढोका खोल्ने गर्छ। आजका युवाले आफ्ना पीडा, निराशा र असुरक्षाबीच पनि नयाँ सम्भावनाको बीउ रोपिरहेका छन् प्रवासमा र स्वदेशमा । देशले उनिहरुको मन बुझ्न सक्यो भने, शिक्षा प्रणाली सुधार्न सक्यो भने र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन सक्यो भने, यो पुस्ता नेपाललाई रोजगारी निर्यात देशबाट रोजगारी सिर्जनाक देशमा रूपान्तरण गर्न सकिन्छ ।
युवाहरू केवल भोलिको आशा होइनन्, उनीहरू अहिलेको परिवर्तनका स्रोत पनि हुन्। उनीहरूलाई सुन्ने, बुझ्ने र विश्वास गर्ने जिम्मेवारी हामी सबैको कर्तब्य हो र यही बाटोबाट सुरु हुन्छ सचेत, आत्मनिर्भर र मानसिक रूपमा सन्तुलित देश नेपाल।

