बुधबार, भदौ २९, २०७९
करोडौँ वर्षअघि महाप्रलय हुँदा डाइनसोर यसरी लोप भएको थियो

करोडौँ वर्षअघि महाप्रलय हुँदा डाइनसोर यसरी लोप भएको थियो


  • स्वदेश नेपाल
  • बुधबार, भदौ २९, २०७९

छ करोड ६० लाख वर्षअघि एउटा क्षुद्रग्रह अहिले गल्फ अब मेक्सिको भनिने स्थानमा बज्रिँदा पृथ्वीबाट डाइनसोर लोप हुन पुगेको थियो।के त्यति बेला अर्को क्षुद्रग्रह पनि खसेको थियो?के त्यो भयानक दिनमा आकाशबाट एकभन्दा बढी ठूला पत्थरहरू पृथ्वीमा खसेका थिए?आन्ध्र महासागरको अर्को छेउमा त्यही समयमा खगोलीय पिण्ड बज्रिँदा बनेको जस्तो देखिने अर्को एउटा विशाल खाल्डो फेला परेपछि यी प्रश्नहरू उठेका हुन्।

यो खाल्डो मेक्सिकोको चिक्शूलूबस्थित खाल्डो जत्रो ठूलो त छैन, तर पनि यसले कुनै विनाशकारी घटना भएको सङ्केत दिन्छ।नेडिअर क्र्याटर नाम दिइएको उक्त खाल्डो समुद्रको पीँधभन्दा ३०० मिटर तल छ।उक्त स्थान पश्चिम अफ्रिका गिनीको तटीय क्षेत्रबाट झन्डै ४०० किलोमिटर पर समुद्रमा छ।यो खाडलको व्यास ८.५ किलोमिटर भएका आधारमा त्यहाँ बज्रिएको क्षुद्रग्रह ५०० मिटर जति चौडा भएको अनुमान गर्न सकिन्छ।यो लुकेको खण्डको पहिचान एडिन्बरास्थित हेरिअट-वाट यूनिभर्सिटीका वैज्ञानिक अइस्डेन निकोल्सनलेगरेका हुन्।
उनले विगतमा पृथ्वीमा भएको जलवायु परिवर्तनलाई अझ राम्ररी बुझ्न उनले भूकम्पीय सर्वेक्षणबाट प्राप्त तथ्याङ्क विश्लेषण गरेका छन्।

त्यस्ता सर्वेक्षणहरू प्रायः तेल र प्राकृतिक ग्यासको खोजी गर्न ड्रिल गर्नुअघि गरिन्छ।त्यस प्रकृतिको सर्वेक्षणमा भूमिमुनि भएको चट्टान र थिगरका विभिन्न तहको अभिलेख राखिन्छ। अनि ड्रिल कैयौँ किलोमिटर तलसम्म गरिन्छ।

“यी अध्ययनहरू पृथ्वीको अल्ट्रासाउन्ड गरे जस्तै हुन्। मैले झन्डै २० वर्ष त्यसको विश्लेषण गर्न व्यतीत गरेको छु, तर यसअघि यस्तो कहिल्यै देखेको थिइनँ,” उनले बीबीसी न्यूजसँग भने।”नेडिअर क्र्याटरको आकार क्षुद्रग्रह बज्रिँदा बनेको प्रमाण हो। यसको केही उठेको डिलले बीचमा रहेको उच्च भाग र त्यसपछि बाहिरपट्टि थुप्रिएका भग्नावशेषका तहहरूलाई घेर्छ।”

चिक्शूलूब क्र्याटर बनाउने क्षुद्रग्रह १२ किलोमिटर चौडा रहेको अनुमान गरिएको छ।त्यसले २०० किलोमिटर चौडा खाडल बनायो। त्यस क्रममा ठूलो भूकम्प र सुनामी मात्र हैन विश्वभरि आगोको ज्वालायुक्त आँधी फैलियो।पृथ्वीबाट धेरै धूलो उडेर आकाशमा पुग्दा पृथ्वीमा अन्धकार र कठ्याङ्ग्रिदो जाडो भएको थियो।डाइनसोरहरूले यो परिवर्तन सहन सकेनन्।

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार