शुक्रबार, कार्तिक ५, २०७८
काठमाडौंमा आवासका लागि रुचाइएका १० क्षेत्र : कहाँ कति मूल्य ?

काठमाडौंमा आवासका लागि रुचाइएका १० क्षेत्र : कहाँ कति मूल्य ?


  • स्वदेश नेपाल
  • शुक्रबार, कार्तिक ५, २०७८

काठमाडौं उपत्यका– देशकै केन्द्रीय राजधानी । अध्ययनको लागि होस् वा जागिर तथा व्यापार व्यवसायका लागि वा स्थायी बसोबासका लागि नै किन नहोस् सबैको पहिलो रोजाइमा काठमाडौं पर्दै आइरहेको छ ।

मुलुक संघीय प्रणालीमा गइसके पनि धेरैको सपना हुने गरेको छ, काठमाडौंमा आफ्नै घर र जागिर वा व्यापार व्यवसाय होेस् । आफुलाई काठमाडौंको बासिन्दा भनेर चिनाउन पाउँदा गौरवान्वित महशुस गर्ने र समाजले पनि त्यस्तै इज्जत दिने अवस्था छ ।

शिक्षा, स्वास्थ्य, यातायात, व्यपार व्यवसाय, जागिरका अवसर, आधुनिक सेवा सुविधा, आधुनिक जीवनशैली सबै काठमाडौं केन्द्रित हुँदा पनि धेरैको आकर्षण देखिएको विज्ञहरुको तर्क छ । काठमाडौं उपत्यकामा ७७ वटै जिल्लाका मान्छे आएर बसोबास गर्छन् । आफ्नो सुन्दर भविष्यको रुपरेखा यहीँ कोर्ने गर्छन । सबैलाई राम्रो कमाई गरेर काठमाडौं उपत्यकाभित्र घरजग्गा जोड्नु छ । विदेशमा गएर कमाउनेको सपना पनि सबैभन्दा पहिला घरजग्गा जोड्ने हुने गरेको छ ।

त्यसैले काठमाडौंमा ठूलो संख्यामा घरजग्गा कारोबार हुन्छ । घरजग्गाको मूल्य छोइनसक्नु बढेर चुलीमा पुगिसकेको छ । यतिसम्म कि, अब त काठमाडौंं उपत्यकाभित्र खाली जग्गा भेटिन पनि मुस्किल पर्न थालिसकेको छ ।

अहिले उपत्यकामा जति पनि घरजग्गा किनबेच भइरहेका छन् ती सबै पुराना र पटक–पटक कारोबार भइरहेका घरजग्गा हुन् । भूमि व्यवस्थपन तथा अभिलेख विभाग, महानगर र नगरपालिकाहरुको तथ्यांक हेर्दा उपत्यकाभित्र घरजग्गा किनबेच, नयाँ घरको नक्सा पास तथा निर्माण सम्पन्न प्रमाणपत्र लिने दर पनि उच्च देखिन्छ ।

अहिले अनलाइन प्लेटफर्मबाट पनि घरजग्गा किनबेच धेरै हुन थालेको छ । रियलस्टेटको पायोनियर अनलाइन प्लेटफर्म नेपालहोम्स डटकममा उपत्यकाका हजारौं घरजग्गा बिक्रीका लागि लिस्टिङ भएका छन् ।

आज हामी घरजग्गा बढी खरिद बिक्री भइरहेका र मान्छेको बसोबासका लागि सबैभन्दा बढी चासो देखाएका प्रमुख १० स्थानबारे जानकारी गराउन गइरहेका छौं जुन नेपालहोम्समा लिस्टिङ भएका प्रोपर्टी र ग्राहकले घरजग्गा किन्‍न देखाइरहेको चासोका आधारमा मापन गरिएको हो ।

१. भैंसपाटी

उपत्यकामा बसोबासका लागि ललितपुरको भैंसेपाटी क्षेत्र सबैभन्दा आकर्षक हटस्पट बनेको छ । भैंसेपाटीले भीआईपी आवासिय क्षेत्रको पनि पहिचान बनाएको छ । पछिल्लो समय मन्त्री, मुख्यमन्त्री र प्रदेश प्रमुखहरुको आवास क्षेत्र पनि भैंसेपाटीमै बनिरहेको छ । चर्चित नेतादेखि धनाढ्य व्यवसायीहरुको रोजाइ पनि भैसेपाटी नै बनेको छ ।

शहरी कोलाहलबाट केहि पर रहेको भैंसेपाटी शान्त र रमणीय भएकोले पनि आवासका लागि एकदमै उपयुक्त ठहरिएको हो । मन्त्रीका क्‍वार्टर, सुविधासम्पन्न अपार्टमेन्ट र हाउजिङ, देशकै ठूलोमध्येको हस्पिटल, नजिकै रिङरोड, शिक्षाको सहज पहुँच लगायतका सुविधाहरुले पनि भैंसेपाटी रोजाइमा पर्दै आइरहेको छ ।

अहिले भैंसेपाटीमा प्रतिआना ३५ लाखभन्दा मुनिको जग्गा पाउनै मुश्किल रहेको छ । नेपालहोम्सको साइटमा लिस्टिङ भएका भैंसेपाटीका जग्गाको मूल्य आनाको ३५ लाखदेखि डेढ करोड रुपैयाँसम्म रहेको छ।

२. बुढानिलकण्ठ

काठमाडौं उपत्यकाभित्र अर्को रोजाइको भिआइी ठाउँ हो, बुढानिलकण्ठ । काठमाडौंको उत्तरी भेगमा रहेको बुढानिलकण्ठ शिवपुरी राष्‍ट्रिय निकुञ्‍जको काखमा रहेको छ । शान्त र कोलाहलमुक्त वातावरण, शितल ठाउँ, पानीको सुविधा, नजिकै हाइकिङ र मर्निङ वाक गर्न प्रशस्त ठाउँ भएकाले पनि बुढानिलकण्ठ क्षेत्र अत्याधिक रुचाइएको हो ।

बुढानिलकण्ठमा वरिष्‍ठ नेता, उच्चपदस्थ कर्मचारी, व्यवसायी लगायत हाइप्रोफाइल बसोबास गर्दै आइरहेका छन् । त्यहाँ हाउजिङ र अपार्टमेन्ट परियोजना पनि बनेका छन् । बसोबास बढ्दै गएपछि बुढानिलकण्ठमा जग्गाको भाउ छोइनसक्नु भइसकेको छ । नेपालहोम्स डटकममा बिक्रीका लागि सूचिकृत भएका बुढानिलकण्ठ क्षेत्रका जग्गाको मूल्य प्रतिआना न्यूनतम ३५ लाखभन्दा माथि नै रहेको छ । भिआइपी कोलोनीहरूमा त आनाकै ४५ लाख घटी जग्गा पाउन नसकिने स्थानीयवासी को भनाइ छ। यहाँ सिद्धार्थ कोलोनी , बुद्ध कोलोनी, टौलूंग, भंगाल, पासिकोट आदि क्षेत्रमा घर-जग्गाको माग उच्च रहेको छ।

३. थानकोट

पछिल्लो समय हटस्पट बन्दैछ थानकोट । पश्‍चिम क्षेत्रबाट काठमाडौं प्रवेश गर्ने मान्छेहरु थानकोट क्षेत्रमा बस्‍न रुचाउँछन् । एकातिर काठमाडौं प्रवेश गर्ने सबैभन्दा ठूलो पृथ्वी राजमार्ग र अर्कोतिर तुलनात्मक रुपमा सस्तोमा जग्गा पाइने भएकोले पनि थानकोट घरजग्गा किनबेचमा अग्रणी बन्‍न थालेको हो ।

नेपालहोम्स डटकमको वेवपोर्टलमा बिक्रीमा राखिएका घरजग्गाको सूचिमा थानकोटकै बाहुल्यता बढी देखिन्छ । काठमाडौं उपत्यकाका आवासीय क्षेत्रहरु भरिदै र महँगिदै गएपछि थानकोट क्षेत्र आवासीय हबको रुपमा चिनिदै गएको छ ।

सुरुङमार्ग लगायत विभिन्‍न विकासे परियोजना निर्माण भइरहेको हुनाले निकट भविष्यमै राम्रो प्रतिफल पाउने आशामा घरजग्गामा लगानी गर्ने बढ्दै गइरहेका छन् । त्यस क्षेत्रमा अहिले आवासिय प्रयोजनकै लागि बढी घरजग्गा किनबेच भइरहेको छ । चन्द्रागिरी केवलकारले पनि थानकोट क्षेत्रको आकर्षण बढाइदिएको छ । आवासीय एवम् लगानीका लागि प्रचुर सम्भावना बोकेको थानकोटमा अहिले जग्गाको मूल्य प्रतिआना १५–२० लाखभन्दा माथि रहेको छ ।

४. बालुवाटार

बालुवाटार एकदमै महँगो र भिआईपी एरिया हो । प्रधानमन्त्री निवास, विभिन्‍न राष्‍ट्रका राजदुतावास रहेकोले यस क्षेत्रमा स्थानीय बाहेक ठूलो आम्दानी भएका उच्चवर्गका मानिस बस्दै आइरहेका छन् । यस क्षेत्रमा विदेशी कुटनीतिक नियोगमा काम गर्ने विदेशी कर्मचारीहरुको बसोबास रहेको छ । घर तथा अपार्टमेन्ट भाडामा लिएर बस्‍नेको संख्या पनि उत्तिकै छ । त्यस ठाउँमा जग्गाको मूल्य सानो बाटोमा प्रतिआना न्यूनतम ७० लाख रुपैयाँबाट सुरु हुन्छ ।

५. सानेपा

रिङरोडभित्र रहेको अर्को आकर्षक आवासीय क्षेत्रमा सानेपा पनि पर्छ । विलासी आवास रुचाउने उपभोक्ता तथा विदेशी कुटनीतिक नियोगका कर्मचारीहरुको बसोबास स्थलमध्ये सानेपा प्रमुख क्षेत्रमा पर्छ । यस ठाउँमा ठूला अपार्टमेन्ट र हाउजिङ परियोजना छन् । सानेपा–झम्सिखेल अपार्टमेन्टको त हब नै भन्दा पनि हुन्छ । उपत्यकाका सबैभन्दा राम्रा स्कुलमध्येका अधिकांश सानेपा क्षेत्रमै छन् । यो ठाउँ प्रिमियम आवासीय क्षेत्र हो । यहाँ जग्गाको मूल्य प्रतिआना ६०–७० लाख रुपैयाँभन्दा माथिबाट सुरु हुन्छ ।

६. इमाडोल

पछिल्लो समय ललितपुरको इमाडोल क्षेत्र पनि हटस्पट आवासिय क्षेत्र बनिरहेको छ । रिङरोडबाट नजिक, यातायातको सहज पहुँच र अन्य क्षेत्रको तुलनामा केहि सस्तोमा जग्गा पाइने भएकाले यस ठाउँमा बस्ती बाक्लिदै गएको हो । इमाडोलमा मध्यमवर्गीय र उच्चबर्गीय परिवारको बसोबास छ । नेपालहोम्स डटकमका बिक्रीमा राखिएका इमाडोल क्षेत्रका जग्गाको मूल्य न्यूनतम प्रतिआना २५ लाख रुपैयाँबाट सुरु हुन्छ ।

७. हात्तिवन

शहरी कोलाहलबाट केहि पर शान्त वातावरणमा रहेको हात्तिवन आवासको लागि एकदमै उचित क्षेत्र मानिन्छ । अहिले हात्तिवन क्षेत्रमा पनि खाली जग्गा पाउन मुस्किल पर्न थालेको छ जसले गर्दा जग्गाको मूल्य अचाक्ली बढेको छ । यस क्षेत्रमा सामुदायिक आवास तथा अपार्टमेन्टहरु निर्माण कार्य जारी छ ।नजिकै रहेको धापाखेल हाउजिङ र अपार्टमेन्टको हब नै बनिसकेको छ ।

सातदोबाटोदेखि गोदावरीसम्म सडक बिस्तारको काम धमाधम भइरहेको छ । यसले गर्दा पनि यस क्षेत्रमा जग्गामा लगानीगर्नेको संख्या बढ्दै गएको हो । हात्तिवन आसपासमा अहिले जग्गाको मूल्य प्रतिआना ३५ लाख रुपैयाँभन्दा माथिबाट सुरु हुन्छ ।

८. लाजिम्पाट

लाजिम्पाट पनि धनाढ्य र भिआईपी बर्गको बसोबास स्थल हो । शहरको केन्द्रमा पर्ने लाजिम्पाटमा विभिन्‍न देशका राजदुतावास रहेका छन् । यो क्षेत्र आवासिय भन्दा पनि व्यवसायिक बढि भइरहेको छ । यो क्षेत्रमा विदेशी कुटनीतिक नियोगमा काम गर्ने विदेशी कर्मचारीहरु भाडाको घरमा बस्‍ने गरेका छन् । लाजिम्पाटका भित्रि आवासीय क्षेत्रमा गाडी जाने बाटो भएको ठाउँमा आनाको न्यूनतम ६०-६५ लाख रुपैयाँ पर्ने व्यवसायी बताउँछन्। मुख्य व्यापारिक क्षेत्रमा त आनाको डेढ करोड घटी जग्गा भेट्न मुश्किल पर्ने एजेन्सी बताउँछन्।

९. धापासी

बुढानिलकण्ठ भरिँदै गएपछि त्यो बस्ती धापासी हुँदै टोखासम्म फैलिन थालेको छ । पछिल्लो समय धापासी क्षेत्र पनि आवासको लागि मानिसले सर्वाधिक रुचाएको क्षेत्रमा पर्छ । ग्राण्डी हाउजिङ, ग्राण्डि भिल्ला, ग्राण्डी हस्पिटल आदिको निर्माणले पनि यस क्षेत्रप्रतिको आकर्षण बढेको हो ।

टोखा छहरे हुँदै नुवाकोट जाने बाटोको कारण पनि यहाँ नुवाकोटका मानिसले घर घडेरी जोड्ने गरेको पाइन्छ । टोखा–नुवाकोट सुरुङमार्ग बन्‍ने हल्लाले गर्दा पनि यस ठाउँमा मानिसको बसोबास बढ्नुको साथै जग्गाको मूल्य पनि आकासिएको हो । अहिले टोखामा आनाको २५ लाखभन्दा कम मूल्यमा जग्गा पाउन मुश्किल पर्छ ।

१०. महाराजगञ्‍ज

महाराजगञ्‍ज क्षेत्रमा विभिन्‍न राष्‍ट्रका राजदुतावास र आइएनजीओ रहेकोले भाडामा घर लिएर बस्‍ने विदेशीहरुको संख्या धेरैछ । राजदुतावास, देशकै ठूलो शिक्षण अस्पताल, कान्तिबाल अस्पताल, राष्‍ट्रपति निवास, प्रहरी अस्पताल, प्रहरी तालिम केन्द्र आदिले गर्दा पनि धेरै मानिसलाई महाराजगञ्‍ज बसाई सहज भएको हो । देशकै शक्ति केन्द्र भएकोले यो क्षेत्र सुविधा सम्पन्‍न र विकासशील भएको हो । यसले गर्दा मानिसको आकर्षण बढेको पाइन्छ । महाराजगंजमा घर किनेर बस्‍ने भन्दा पनि भाडाको घर तथा अपार्टमेन्टमा बस्‍नेको संख्या धेरै रहेको नेपालहोम्स डटकममा सूचिकृत भाडाका प्रोपर्टीले पनि पुष्‍टि गर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट