काठमाडौं । चैतदेखि थला परेको घरजग्गा व्यावसायलाई कोरोनाको दोस्रो लहरले झनै डामाडोल बनाएको छ। गत चैतदेखि जारी लकडाउनका कारण थलिएको घरजग्गा व्यावसाय असारमा लकडाउन खुकुलो भएसँगै ५० प्रतिशतसम्म कारोबार हुन थालेको थियो। तर साउन तेस्रो साताबाट कोरोना संक्रमणको ग्राफ पुनः उकालो लागेसँगै उपत्यकासहित धेरै जिल्लामा अहिले कारोबार रोकिएको छ। कारोबार भएका ठाउँमा पनि अहिले २० देखि ३० प्रतिशत हाराहारीमात्रै कारोबार भइरहेको छ।
समुदायस्तरमा कोरोना फैलिएको आशंका भइरहेका बेला सेवाग्राहीको धेरै भिडभाड हुने मालपोत कार्यालय तत्काल सञ्चालनमा आउने छैनन्। सञ्चालनमा आए पनि पूर्ण क्षमतामा सञ्चालनमा नआउने पक्का छ। जसका कारण थलिएको घरजग्गा कारोबार तत्काल तंग्रिने सम्भावना निकै कम छ। कोरोना महामारीसँगै विश्वका सबै देशको आर्थिक गतिविधि ठप्प छ। रेमिट्यान्समा आधारित नेपाली अर्थतन्त्र उकासिन वैदेशिक रोजगारीमा सहजता आउनै पर्छ।
जुन अहिलेसम्म सहज हुने कुनै संकेत छैन। कामविहीन भएपछि वैदेशिक रोजगारीमा गएका नेपालीहरु दैनिक हजारौको संख्यामा स्वदेश फर्किरहेका छन्। उनीहरुले पठाएको रेमिट्यान्सको ठूलो हिस्सा घरजग्गामै लगानी हुने गरेको थियो। नेपालमा मध्यम आय भएका डाक्टर, वकिल, इन्जिनियर, पाइलट आदि पेशामा भएका मध्यमवर्गले घरजग्गा जोड्ने हुन्। यी पेशा रहेकाहरू कसैको पनि आम्दानी विगत ६ महिनादेखि राम्रो छैन । त्यसैले घरजग्गा जोड्ने गरी आम्दानी हुन वा रेमिट्यान्स आउन वर्षौ लाग्न सक्ने भएकाले खरिदकर्ता नहुँदा अबको २-३ महिनाभित्र घरजग्गाको मूल्यमा ४० देखि ५० प्रतिशतसम्मकै गिरावट आउन सक्ने रियलस्ेटट व्यवशायी दिलिप न्यौपानेको भनाइ छ ।
४० देखि ५० प्रतिशतसम्मै मूल्य घट्न सक्छ
कोरोना महामारीसँगै विश्वका सबै देशको आर्थिक गतिविधि ठप्प छ। रेमिट्यान्समा आधारित नेपाली अर्थतन्त्र उकासिन वैदेशिक रोजगारीमा सहजता आउनै पर्छ। जुन अहिलेसम्म सहज हुने कुनै संकेत छैन। कामविहीन भएपछि वैदेशिक रोजगारीमा गएका नेपालीहरु दैनिक हजारौको संख्यामा स्वदेश फर्किरहेका छन्। उनीहरुले पठाएको रेमिट्यान्सको ठूलो हिस्सा घरजग्गामै लगानी हुने गरेको थियो।
नेपालमा मध्यम आय भएका डाक्टर, वकिल, इन्जिनियर, पाइलट आदि पेशामा भएका मध्यमवर्गले घरजग्गा जोड्ने हुन्। यी पेशा रहेकाहरू कसैको पनि आम्दानी विगत ६ महिनादेखि राम्रो नभएको न्यौपानेले बताए। पहिलो कुरा स्वास्थ्य सुरक्षा हो भने दोस्रोमा जीविकोपार्जन गर्ने हो। त्यसपछि मात्रै मानिसले घरजग्गा जोड्ने उनको विश्लेषण छ।
त्यसैले घरजग्गा जोड्ने गरी आम्दानी हुन वा रेमिट्यान्स आउन वर्षौ लाग्न सक्ने भएकाले खरिदकर्ता नहुँदा अबको २/३ महिनाभित्र घरजग्गाको मूल्यमा ४० देखि ५० प्रतिशतसम्मकै गिरावट आउन सक्ने न्यौपानेको विश्लेषण छ। अहिलेसम्म पुर्ख्यौली सम्पत्तिलाई घरजग्गामा लगाएका व्यवसायीलाई कुनै समस्या देखिएको छैन। तर ऋण लिएर घरजग्गामा लगानी गर्नेहरुलाई भने समस्या देखिन सुरु भइसकेको छ।
अनौपचारिक क्षेत्रको आम्दानीले २/४ महिनाको बैंक ब्याज तिरे पनि अब २/४ महिना अरु प्यानिक हुने बित्तिकै साना ठूला सबै घरजग्गा व्यवसायीमा समस्या देखिने न्यौपानेले बताए।
काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रका जग्गाको मूल्यांकन पुरानै कायम भएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को नेतृत्वमा गठित समितिले आर्थिक वर्ष २०७७/०७८ का लागि जग्गाको नयाँ मूल्याङ्कन गरेको छ । कोरोना भाइरस -कोभिड-१९) ले समग्र क्षेत्रमा असर परेको भन्दै समितिले अधिकांश क्षेत्रको न्युनतम् मूल्याङ्कनमा परिवर्तन गरेको छैन । केहि क्षेत्रको थोरै बढाईएको छ ।
भक्तपुरमा १२ हजारदेखि २४ लाखसम्म
जग्गाको न्युनतम मूल्यांकन समितिले भक्तपुर जिल्लामा प्रति आना १२ हजार १०० रुपैयाँदेखि २३ लाख ७६ हजार रुपैयाँसम्म मुल्यांकन तोकेको छ । भक्तपुरको साविक सिपाडोल गाविसको अरनिको राजमार्गसँग जोडिएका जग्गाहरुको न्युनतम् मूल्य प्रतिआना रु.२३ लाख ७६ हजार तोकिएको छ ।
सोहि क्षेत्रभित्र प्लानिङ भएको ठाउँमा पक्की बाटो भएको जग्गाहरुका लागि प्रति आना ८ लाख ७१ हजार २०० रुपैयाँ तोकिएको छ भने कच्ची बाटो भएको क्षेत्रहरुमा प्रतिआना ६६ हजार ६०० देखि ७ लाख २६ हजार रुपैंयासम्म तोकिएको छ ।
उपत्यकाकै सस्तो ललितपुरमा
काठमाडौं उपत्यकाका ३ जिल्लामध्ये ललितपुरका विकट क्षेत्रहरुमा जग्गाको मूल्य निकै सस्तो रहेको मूल्याङ्कन प्रतिवेदनले देखाउछ । ३ आनाको घँडेरी किन्न काठमाडौंमा करोडौं रकम खर्चिनु पर्छ । ललितपुरको गोटीखेलमा भने प्रति आना १२ सय न्युनतम् मूल्याङ्कन भएको छ । मालपोत कार्यालय गोटीखेल मातहतका क्षेत्रमा तोकिएको यो प्रति आना जग्गाको मुल्य काठमाडौंका होटलमा २ जनाले मासुभात खाए बराबर छ ।
गोटीखेलसहित गिम्दी, चन्दनपुर, ठुला दुर्लुङ, बुखेल, मानिखेल, शंखु लगायतका गाउँका जग्गाको लागि आव ०७७/७८ को न्यूनतम मुल्याङ्कन हो यो । यो क्षेत्रमा गत आवमा पनि यही मूल्याङ्कन थियो । कोभिड-१९ ले सबै क्षेत्रमा असर गरेको भन्दै समितिले जग्गाको मूल्यांकन नबढाएको बताएको छ ।
गोटीखेल क्षेत्रमा सबभन्दा महंगो भनेको रोपनीको ३ लाख ५० हजार रुपैयाँ हो । पिच सडक भएका ठाउँहरुमा ३ लाख ५० हजार रुपैयाँ प्रति रोपनी तोकिएको छ भने अरु ठाउँमा रु.२० हजार प्रति रोपनी । यो दरले एक आनालाई १२ सय पर्छ ।
काठमाडौंमा कति पर्छ ?
काठमाडौंका पनि अधिकांश क्षेत्रको जग्ग्ााको मूल्यांकन गत आवकै कायम गरिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार कम भयो भन्ने गुनासो आएका क्षेत्रहरुको बढाइएको छ बाँकी क्षेत्रको पहिलेकै मुल्यांकन राखिएको छ । काठमाडौंको हनुमानढोका, रत्नपार्क, ठमेल, इन्द्रचोक, न्यूरोड, माइतिघर, दरवारमार्ग, कमलादीलगायत क्षेत्रमा प्रतिआना ६० लाख रुपैयाँसम्म मूल्याङ्कन गरिएको छ ।
काठमाडौंमा सस्तो भनेको दक्षिणकाली नगरपालिका क्षेत्रका जग्गा देखिएको छ । दक्षिणकाली नगरपालिकामा बाटो नभएको जग्गाको मूल्याङ्कनप्रति आना २५ हजार रुपैयाँ तोकिएको छ । राम्रो सडक भएको ठाउँमा भने प्रति आना ४ लाख ५० हजार रुपैयाँसम्म मूल्याङ्कन गरिएको छ । काठमाडौं जिल्लामा सबभन्दा सस्तो जग्गा भनेको प्रति आना २५ हजार रुपैयाँ भएको छ ।
राजश्वको लागि मात्र मूलांकन !
सरकारी मूल्यांकन जति भए पनि खरिदकर्ताले त्यो मूल्यमा जग्गा पाउदैनन् । जग्गा किनबेच गर्दा सरकारलाई तिर्नुपर्ने राजश्व भने यही मूल्याङ्कनअनुसार निर्धारण गरिन्छ ।ललितपुरको महाकाल गाउँपालिकामा पनि एक रोपनीको मूल्यांकन जम्मा २० हजार रुपैयामात्र छ ।
गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहाल आफ्नो क्षेत्रमा अहिलेसम्म कसैलाई कोरोना संक्रमण नभएको बताउँछन् । जग्गाको मूल्यांकन भने कोरोनालाई नै कारण देखाउदै गत वर्षकै कायम भएको उनले बताए । ‘तर, यो मूल्याङ्कनअनुसार जग्गा पाइँदैन’, दाहाल भन्छन्, ‘यो त राजस्व तिर्नका लागि मात्र हो ।

