भारतमा लोकसभाको निर्वाचन आउँदो बिहीबार अर्थात अप्रिल ११ बाट सुरु हुँदैछ । लोकसभाको कूल ५४३ सीटका लागि ७ चरणमा निर्वाचन हुन लागेको हो । ११, १८, २३, २९ अप्रिल एवं ६,१२ तथा १९ मे मा चुनाव गर्न लागिएको हो ।
यो चुनावमा कसले जित्छ, कसले हार्छ र यसबाट नेपाललाई के अशर पर्छ भन्ने बिषयमा नेपालमा पनि चासो बढेको छ । खासगरी भारतका बर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भाजपाको अवस्था के हुन्छ भन्नेमै सबैको ध्यान केन्द्रीत छ । अझ कांग्रेस आई र बामपन्थी पार्टीको अवस्थाका बारेमा पनि मानिसहरुको चासो बढेको छ ।
बिश्लेषक अरुणकुमार सुवेदी भन्छन्, ‘ मोदीको अवस्था राम्रो छ । सकभर सुविधाजनक बहुमत नभए, ठूलो दलकारुपमा आगामी सरकार पनि भाजपाकै नेतृत्वमा हुन्छ ।’
बिधानसभा चुनावमा भाजपालाई झट्का लागेको भएपनि त्यसको खासै असर यो चुनावमा पर्नेछैन । बिधानसभा चुनावको परिणाम प्रान्तीय सरकारको काममा निर्भर हुने भएकाले केन्द्र सरकारका लागि हुने चुनावमा यसले त्यति ठूलो महत्व राख्ने छैन ।
सुवेदीका अनुसार बामपन्थीको अवस्था यसपटक पनि राम्रो छैन । २०१४ को चुनावमा सखाप भएको कांग्रेस आईको अवस्थामा सुधार आउन सक्छ । तर, बामपन्थीको अवस्था अहिले पनि खराब छ ।
उत्तर प्रदेशमा मायावती र अखिलेशको गठजोडका कारण बिजेपीलाई घाटा हुनसक्छ, तर त्यसको पूर्ती अन्य क्षेत्रबाट गर्न पनि भाजपालाई समस्या छ । उत्तर प्रदेशमा सिट संख्या बढी भएकाले त्यसको पूर्ती गर्न चुनौतीपूर्ण छ । क्रिश्चियनहरुको संख्या रहेको छत्तिसगढ र राँचीमा पनि भाजपालाई समस्या देखिएको छ ।
विश्लेषक सुवेदीका अनुसार अमेरिका मोदी र उनको पार्टी भाजपाकोबिरुद्धमा छ । भारतमा शक्तिशाली नेताको उदय नहोस भनेर नै अमेरिका मोदीलाई पतन गराउने गतिविधिमा लागेको छ ।
अमेरिकाले ‘करेन्सी वार’ थोपरेर मोदी र मोदी सरकारलाई खत्तम पार्न खोजेको होइन ? मानवअधिकारका नाममा अभियान, बिभिन्न आइएनजिओ, वेष्टर्न लिबरल र लिबरलहरुको अभियान आदि सबै मोदी बिरुद्ध संचालन गरिएका गतिविधि हुन् । ’
‘मोदी भारतमा रहुन्जेल रूसमार्फत चीन र भारतको सन्तुलित अवस्था रहने भएकाले पनि अमेरिकाको निशानामा मोदी परेका हुन् । ’ सुवेदीको भनाइ छ ।
चीन र रुस भने मोदी र उनको पार्टी भाजपाको पक्षमा छन् । चुनावका दौरान पाकिस्तानसंग भारतको तनाव थप बढ्न सक्ने उनको आशंका छ ।
प्रधानमन्त्री मोदी र कांग्रेसका आईका अध्यक्ष राहुल गान्धीबीच तुलना हुन सक्दैन । मोदी टावर पर्सनालिटीकारुपमा रहेको र गान्धी उनका अघि फुच्चे देखिएका छन् । राहुल उदीयमान राम्रा नेता भएपनि मोदीको पालामा उनी पर्नु दुर्भाग्य भयो । मोदीको व्यक्तित्वसामु राहुलको छवि ओझेल परेको छ ।
नेपालको फाइदाका लागि भाजपा र मोदीको विजय हुन जरुरी रहेको सुवेदीको तर्क छ । भाजपाको बिजयपछि नेपाल मामिलामा चीन र भारत एकठाउँमा उभिने निश्चित भएकाले यहाँको सकारात्मक परिवर्तनका लागि पनि भाजपाको जित अपरिहार्य छ ।
उनी भन्छन्, ‘नेपाललाई आत्महत्याको गन्तव्यबाट रोक्न मोदीले जिते परिस्थिति केही हदसम्म ठीक हुन्छ । मोदीले जिते भारत र चीन नेपाल मामिलामा एक हुन्छन्, यसले नेपाल र नेपालीको भलाईका लागि राम्रै हुन्छ । ’
यसले अमेरिकाको ‘इण्डो प्यासिफक स्ट्राटिजी’ को उल्झनमा पर्नबाट समेत नेपाल जोगिने छ ।
मोदीले जिते भने नेपालमाथि कुनै न कुनै प्रकारको ठूलो एक्सन हुने सुवेदीको दाबी छ । पुलमा घटनालाई लिएर पाकिस्तान र भारतबीच तनाव बढेकाबेला नेपाल सरकार र यहाँका दलहरुले जुन प्रकारको प्रतिक्रिया दिए, त्यसले नेपालमा भयङ्कर ठूलो संकट ल्याउने उनी बताउँछन् ।

