विना लामा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद हुन्। क्रिस्चियन धर्म मान्ने विना नेपालको पहिचान हिन्दु राष्ट्रको रूपमा हुनुपर्ने मत व्यक्त गर्छिन्।
विना २०७४ सालमा धादिङको रूवीभ्याली गाउँपालिकाबाट उपाध्यक्षमा निर्वाचित भएकी व्यक्ति हुन्। यसपटक उनलाई राप्रपाले समानुपातिक तर्फबाट सांसद बनाएको हो। सेतोपाटीका मनोज सत्यालले उनीसँग गरेको कुराकानी:
राप्रपाले हिन्दु राष्ट्रमा विश्वास गर्छ। तपाईं इसाई धर्ममा विश्वास राख्नुहुँदो रहेछ। तपाईंलाई नेपालमा धर्मनिरपेक्षता हुनुपर्छ भन्ने लाग्दैन? किन हिन्दु राष्ट्र हुनुपर्छ भन्ने लाग्छ?
म दाजुभाइ/दिदीबहिनीहरूलाई सोध्न चाहान्छु- धर्मनिरपेक्ष भनेको के हो? धर्मसापेक्ष भनेको के हो? धर्म मानेनौं भने हामी अनुशासनमा बस्न सक्दैनौं। जे गरे पनि भयो। जे बोले पनि भयो। पाप धर्मको कुरै आउँदैन।
त्यसैले धर्मनिरपेक्ष हुनु राम्रो मानिदैन। पहिचानका रूपमा हाम्रो पार्टीको जुन अजेण्डा रहेको छ- हिन्दु राष्ट्रको कुरा। एउटा हिन्दु धर्म भनेर राखेको छैन। सर्वधर्म हिन्दुराष्ट्र भनेको छ। त्यसलाई नै अंगालेर म २०७४ सालदेखि सक्रिय भएर लागेको छु।
म क्रिस्चियनको भोट पाएर जितेको। म आफैं क्रिस्चियन भएर पनि हाम्रो नेपाललाई चिनाउनका लागि हिन्दु राष्ट्र चाहिन्छ।
सांस्कृतिक हिसाबले हाम्रो धनी देश हो। विश्वमा कतिपय मुस्लिम राष्ट्र छन्। क्रिस्चियन राष्ट्र छन्। तर हिन्दु धर्मको बाहिरको मानिसहरू पनि पशुपतिनाथमा आउँछ भने राष्ट्रको नाममै हिन्दु राष्ट्र राख्यो भने पर्यटकीय हिसाबले र आर्थिक हिसाबले माथि पुग्न सक्छौं। त्यसैले पहिचानको रूपमा हिन्दु राष्ट्र हुनुपर्छ भनेर अंगालेर म अघि बढेको हो।