जगन्नाथ काफ्ले -स्थानीय उद्यमशीलता र आर्थिक बिकासको मध्यमबाट हाम्रो गाउँ/नगर आफैंले समृद्द बनाउन सकिने कुरामा त दूईमत भएन । के कस्ता आधारभूत र पुरक शर्त हरु पुरा गर्नु गरेर कस्ता कस्ता काम गर्नु भन्ने कुरामा पनि निश्चित भयौं । अब समृद्द नेपाल हुनको निमित्त हाम्रा गाउँ/नगर चाहिं हामी कस्तो बनाउछौं भन्ने तथ्य हेरौं । वास्तबमा समृद्द नेपाल बनाउन बनाउन हाम्रो गाउँ/नगरमा आधारभूत बस्तु तथा सेवा र सार्वजनिक सुबिधा सर्वसुलव उपलब्ध हुने नागरिक मैत्री, सभ्य, स्वास्थ्य, शिक्षित, सफा सुघ्घर, हराभरा, योजनाबद्द(Well Planned), सिर्जनात्मक तथा नवीनतम(Innovative), संजाल सहितको(राष्ट्रीय एबम अन्तर्राष्ट्रीय भगिनी सम्बन्ध भएको), सुरक्षित, सामन्जस्य(एक आपसमा मिलेको = Harmonized), उज्यालो, स्वाबलम्बी, उद्यमशील र जिम्मेवार नागरिक भएको बनाउनु पर्दछ । जसलाई तलका बुंधाबाट प्रस्ट पारौं :
नागरिक मैत्री गाउँ/शहर: समृद्द समाजका हरेक नागरिक राज्यको पहुँच र हरेक नागरिकको पहुँच राज्य संयन्त्रमा हुनु पर्दछ । आमाको गर्भमा आए देखि मृत्यु पर्यन्त हरेक बासिन्दाले राज्यको साथ पाउनु पर्दछ र हरेक नागरिकको साथ् राज्यले पाउनु पर्दछ । समाजको एक व्यक्तिले अर्को व्यक्तिलाई आफ्नो महशुश गर्न सक्ने वातावरण बनाउनु पर्दछ । समाजका हरेक सार्वजनिक सम्पत्तिमा अपनत्व सिर्जना गर्नु पर्दछ । अधिकारको सम्मान गर्नु पर्दछ र बाधा गर्नु हुदैन । आफु भन्दा कम्जोर व्यक्ति तथा बर्गको स्थान सरक्षित् गर्नु पर्दछ ।
सभ्य गाउँ/शहर: समृद्द समाजका नागरिकहरु सचेत, सभ्य र अनुशासित हुनु पर्दछ । हरेक नागरिकहरुमा आफ्नो अधिकार र कर्तव्यको बारेमा राम्रो जानकार हुन्छन्। आफ्नो अधिकारको बारेमा राम्रो चेतना त हुन्छ हुन्छ अरुको अधिकारको समेत उत्तिकै सम्मान गर्ने दायित्व बुझेका हुन्छन् । आफ्नो गाउँ/नगरमा बस्ने बालबालिका, बृद्द बृद्दा, कम क्षमतावान्, सिमान्तकृत, पृथक व्यक्तित्व, पृथक समाज र संस्कारका अन्य नागरिकहरु प्रति बहन गर्नु पर्ने दायित्व प्रति पनि त्यत्तिकै सचेत र सभ्य हुन्छन ।

सफा सुघ्घर गाउँ/शहर : समृद्द समाजमा फोहोर मैलालाई आधुनिक प्रबिधिद्वारा कुशल ब्यबस्थापन गरिएको हुन्छ । श्रोत बाटै फोहोर बर्गिकरण गरेर फोहोरको प्रकृति अनुसार ब्यबस्थापन गरिएको हुन्छ। बायु, पानी, जमिन र ध्वनी प्रदुषण हुन दिदैनन । ढल, नाली, बिजुली/टेलिफोनका तार जमिन मुनी बाट ब्यबस्थापन गरी सर्वसाधारणलाई बाधा रहित हुन्छ । समृद्द समाजमा सडक बाटो, घर आँगन, ब्यबसाय, सार्वजनिक स्थल सफा सुघ्घर हुन्छ ।
योजनाबद्द गाउँ/शहर : बैज्ञानिक पद्दती अनुसार भूउपयोगिता नीति निर्धारण गरी एकीकृतआवास, ब्यबसायिक कृषि, ब्यबस्थित बजार, सर्वसुलब प्रशासनिक केन्द्र, सामाजिक सेवा केन्द्र, ब्यबसायिक क्षेत्र, सार्वजनिक स्थल र संरक्षित क्षेत्र बर्गिकरण गरी तोकिएको क्षेत्रमा मात्र योजनाबद्द ढंगले संरचनागत निर्माण र ब्यबस्थापन गरिएको हुन्छ । यसैगरी सामाजिक, आर्थिक, प्रशासनिक, वातावरणीय लगायत हरेक क्षेत्रमा विकास निर्माण, पूर्वाधार विकास तथा कुनै पनि क्रियाकलाप योजनाबद्द रुपमा ब्यबस्थापन गरिएको हुन्छ ।
हराभरा(हरित) गाउँ/शहर: समृद्द समाजका हरेक घर, आँगन, टोल, छिमेक, सडक, पेटी, चोक, गल्ली र निश्चित क्षेत्रमा प्रसस्त बृक्षा रोपण, फलफूल बगैचाको ब्यबस्थापन गरिएका हुन्छन् । तोकिएका क्षेत्रमा हरियाली, खुला क्षेत्र, पार्क बगैचा, बोटानिकल गार्डेनको प्रसस्त ब्यबस्था गरिएको हुन्छ ।
सुन्दर गाउँ/शहर : समृद्द समाजका हाट, बजार, चोक, सडक, टोल, छिमेकमा स्थानीय मौलिक कला संस्कृति झल्किने गरी गाउँ तथा सहरको सुन्दरतालाई ध्यान राखिएको हुन्छ । कला, संस्कृति र मौलिकता साथै चटक्क सजी सजाउ पारिएको हुन्छ ।
उज्यालो गाउँ/शहर: समृद्द समाज अँध्यारोमा कहिल्यै बस्दैन । रात पनि दिन जस्तो झलमल्ल बत्ति बलेको हुन्छ । आफ्नै गाउँ/नगरमा ईन्धनको श्रोतको खोजी गर्दछ । जलविद्युत, सोलार, ग्यास, बायु, आणविक, पेट्रोलियम लगायत विभिन्न विद्युतीय एबम उर्जाको विकास गरेर आफैंले उत्पादन गर्छ र उपयोग गर्छ । प्रशस्त ईन्धन, सडक बिजुली, घर घरमा बिजुली, उद्योगमा, यातायातमा बिजुली ब्यबस्थापन गरेर उज्यालोमा बस्ने ब्यबस्था मिलाएको हुन्छ ।
सुरक्षित गाउँ/शहर: समृद्द समाजको अर्को महत्वपुर्ण सूचक हो हरेक व्यक्ति सुरक्षित् हुनु । सुरक्षित समाज तीन तरिकाले निर्माण हुन्छ । पहिलो तरिका समाज भित्र शान्ति सुरक्षा अमन चैन कायम हुनु, झैँ झगडा नहुनु, समाज विभाजित नहुनु हो । दोश्रो तरिका समाजमा तुलनात्मक कम्जोर बर्गलाई राज्यले सामाजिक सुरक्षा भत्ता तथा बिशेष सुबिधा प्रदान गरेर हरेक व्यक्तिको जीवन यापन सुरक्षित् गर्नु हो । यसै गरि तेश्रो तरिका चाहिं सम्भावित प्राकृतिक बिपत्तिहरु बढी, पहिरो, भूकम्प, आगलागी तथा अन्य भैपरि आउने परिस्थितिबाट सुरक्षा दिनु हो।
सुबिधा युक्त गाउँ/शहर: सामान्यतया एउटा विशिष्ट समाजलाई आवश्यकता पर्ने पिउने पानी, बत्ति, फोन, ढल, यातायात, स्वास्थ्य, शिक्षा, बैंकिंग, बस्तु तथा सेवा बजार तथा सहज उपलब्धता आफ्नै गाउँ घरमा आफैंले ब्यबस्थापन गरेको हुन्छ । समृद्द समाजले आफ्नो समाजलाई आवश्यक पर्ने सुख सुविधाहरु आफ्नै गाउँ नगरमा आफैंले व्यवस्था मिलाएको हुन्छ ।
सम्पन्न गाउँ/शहर: धेरै पैसा कमाउनु अथवा धनसम्पत्ति जोड्नु मात्र सम्पन्नता होईन । आर्थिक, सामाजिक, प्रशासनिक तथा वातावरणीय जस्ता मानवीय जीवनको हरेक पाटोमा समानुपातिक सम्पन्नता हुनु पर्दछ । मुख्य कुरा भौतिक सम्पन्नता को साथ साथै मानसिक सम्पन्नताको पनि उत्तिकै खाँचो हुन्छ । धनी मानिसको सोचाई गरिब भयो भने समाज झनै बर्वाद हुन्छ, त्यसैले समृद्द समाजमा भौतिक सम्पन्नताको साथ साथै सोचाईमा पनि सम्पन्नता हुनु पर्दछ ।
अवसरयुक्त गाउँ/शहर: समृद्द समाजमा आर्थिक क्रियाकलाप, रोजगारी तथा आम्दानीको अवसर तथा सम्भावना प्रसस्त हुनु पर्दछ । आफ्नै गाउँ/शहरमा भएका र बाहिरबाट ग्रहण गर्न सक्ने साधन श्रोत र प्रबिधि भित्र्याएर उद्यमशील समाज निर्माण गर्नु पर्दछ । हरेक बस्तु तथा सेवा उत्पादन र सिर्जना गर्न औद्योगिकीकरण गरेर आफ्नै गाउँ/नगरमा अवसर सिर्जना गर्न सक्षम् हुनु पर्दछ न कि अहिलेको नेपालको परिस्थिति जस्तो “राष्ट्र निर्माणमा जुट्नु पर्ने युवा शक्ति जिविकपर्जन र अवसरको खोजी गर्दै संसारको कुना कुना भड्किनु परोस ।”
समाबेशी गाउँ/शहर : समृद्द समाजमा वास्तबमा को मानिस कुन जात तथा वर्गको हो, कसैलाई पनि थाहा पनि हुदैन र सरोकार पनि हुदैन किन भने समाजका हरेक व्यक्ति र परिवारको हैसियत उक्त समाजमा बराबर हुन्छ । वर्ग विभेदको प्रश्न उठ्ने ठाउँ हुदैन । समाजका हरेक बस्तु, सेवा, सुबिधा र अवसरमा समान पहुँच हुन्छ । हरेक ठाउँ र क्षेत्र बाल मैत्री, बृद्द बृद्दा मैत्री, अशक्त मैत्री, सीमान्तकृत मैत्री हुन्छ । कारणवस पछाडी पर्नु परेको व्यक्ति तथा वर्गलाई राज्यले तथा समाजले बिशेष सुबिधा र अधिकार प्रदान गरि सामान्य मानिस सरह स्थान सुरक्षित् गरेको हुन्छ ।
नविनतम गाउँ/शहर: समृद्द समाजले संसारमा पत्ता लागेका नयाँ नयाँ आविस्कार, प्रबिधी तथा बिज्ञानको बरदानलाई ग्रहण गरेको हुन्छ अझ आफ्नै गाउँ/नगरमा भित्र्याएको हुन्छ । समाजका हरेक क्षेत्रमा प्रविधिको विकासले मानव जीवन अत्यन्तै सरल र सहज बनाएको छ । जुन समाज विज्ञानको उपलब्धिलाई भित्र्याउन र उपयोग गर्न जान्दछ त्यो समाज सदैब अगाडी हुन्छ ।
शिक्षित गाउँ/शहर: समृद्द समाजमा राज्य तथा समाजले हरेक व्यक्तिलाई शिक्षा तथा ज्ञान प्राप्तिमा समान अवसर र पहुँच दिएको हुन्छ । आफ्नै गाउँ/नगरमा प्रशस्त शैक्षिक संस्थाहरु हुन्छन । शिक्षा आर्जान गर्न देश विदेश भौतारिनु पर्दैन ।समाजका हरेक व्यक्ति सुबुझ र शिक्षित हुन्छन । देश बिदेशका समसामयिक घटनाक्रममा जानकार हुन्छन । समाजका हरेक व्यक्ति आधारभूत बिषयबस्तुमा जानकार हुन्छन ।
स्वास्थ्य गाउँ/शहर: स्वास्थ्य रहन पाउनु व्यक्तिको नैसर्गिक अधिकार हो भने स्वास्थ्य सेवाको पहुँचमा आफ्ना सम्पूर्ण नागरिकलाई समान अवसर दिनु समृद्द समाजको कर्तब्य हो । हरेक नागरिकको सहज पहुँच हुने गरि प्रसस्त स्वास्थ्य संस्थाहरु उपलब्ध गराउनु पर्दछ । प्रशस्त औषधि उपलब्ध हुनु जरुरी हुन्छ । स्वच्छ पिउने पानी, स्वच हावा तथा वातावरण, प्रसस्त खेल कुद तथा व्यायम सुबिधा हुनु पर्दछ । निरोगी समाज समृद्दिको सूचक हो ।
सम्बन्ध युक्त गाउँ/शहर: समृद्द समाजका व्यक्तिको सम्बन्ध देश बिदेशमा बिस्तातिर भएको हुन्छ । आफ्नो गाउँ/नगरको अन्य गाउँ/नगर बीच अन्तर सम्बन्ध स्थापना भएको हुनु पर्दछ अर्थात् अन्तर भगिनी सम्बन्ध स्थापना हुनु पर्दछ । आफ्नो देशमा मात्र नभएर नेपाल सरकारको सहमति लिएर देश बाहिरका गाउँ/नगर संग पनि भगिनी सम्बन्ध बिस्तार गरेर आफ्नो समाजलाई थप सक्रिय बनाउन समृद्द समाज सक्षम् हुन्छ ।
यसरी माथी उल्लिखित कामहरु आफैले गरेर हाम्रो नगर हाम्रो गाउँ, हामी आफैं समृद्द बनाऔँ !

