-चोग डीबी गुरुङ
१. परिचयः वरिष्ठ संस्कृतिविद् प्राज्ञ डा. जगमान क्ह्रोँगिलम गुरुङ, ‘जिउँदो सम्पदा’को जन्म विस २००४ साउन २४ गते सुक्रवार साँझ मकर लग्न तथा मेष राशिको उदय हुँदा मामाली गाउँ कास्कीको लामाडाँडामा भएको थियो । उनको माता जोगमाया गुरुङ कास्की लामडाँडा पुच्छार घरका श्री बिर्तासिँह चोलुह्रोँ घोताने गुरुङका जेठी छोरी हुनुहुन्छ । त्यसबेला घर र मामालीमा साना बालक कोही नहुँदा दुबैतिराको वहाँ नै प्यारो हुनुहुन्थ्यो ।
उनको पैतृक थलो साविक लमजुङ तथा हाल कास्की जिल्लाको ६ गाउँ याङजकोट, कोटालेटोलको कोटघर हो । अहिले पनि वहाँको स्थायी बसोबास त्यही नै छ । मादी नदीको पूर्वपट्टिको डाँडामा याङजकोट अवस्थित छ । उनको पिता पूर्खहरु ६ गाउँ याङजकोटको मीर उमरा हुनुहुन्थ्यो ।
अधि परम्परादेखि धर्माधिकारी अथवा राजाका गुरु परोहितका प्रतिनिधि ब्राहमण पुरोहितले संकल्प वाक्य भन्ने र राज्यका राज्याधिकारी गद्दीनसिन राजाका प्रतिनिधि मीर उमराले पानी समाएर कोटको मौलो पूजा गर्ने चलन चलिआएको रहेछ । मौलोले चर्चेको इलाका मीर उमराको क्षेत्रधिकार भित्र पर्दथ्यो । त्यसकारण ताङतिङदेखि पाख्रिकोटसम्मका ताङतिङ, ध्याम्राङ, याङजकोट, भाचोक, नागिधार र पाख्रिकोट यी ६ ओटा गाउँ याङजकोटको अम्बल भित्र पर्दथ्यो । अहिले त्यस क्षेत्रमा नामर्जुङ देउराली, थुमाको डाँडा, सैमाङ, भाचोक र मिजुरेडाँडा गरी ५ ओटा गाउँ विकास समिति रहेका छन् । अधि लमजुङ र कास्कीको सीमाना मादी नदी थियो । विस २०३२ सालमा लमजुङको ६ गाउँ इलाका कास्कीमा गाभियो ।
अधि लमजुङगे राजाको पालामा कास्की अथवा पश्चिमतिरको लडाइँ भिडाइँ, घा, सन्धि आदि कार्यहरु याङजकोटको मोहोडाबाट सञ्चालन गरिन्थ्यो र त्यस कार्यमा याङजकोटका मीर उमराको मुख्य दायित्व रहन्थ्यो । विस २०२२ सालमा भूमिसुधार व्यवस्था लागु भएर तालुकीप्रथा हटेपछि उनको जेठाबा ६ गाउँ याङजकोटका मीर उमरा हर्कजंङ गुरुङको पालादेखि उमराको परम्परा हटे तापनि याङजकोटको मौलो पूजा भने अहिलेसम्म पनि यथावत चलिरहेको छ । जेठोबाको शेषपछि वहाँको आज्ञाबाट ६ गाउँ याङजकोटको मौलो पूजा अहिले मैले चलाइरहेको छु, डा. गुरुङ भन्नु हुन्छ ।
२. प्राथमिक शिक्षाः त्यस बखत गाउँमा स्कूल थिएन । गाउँको माझको एउटा ठूलो घरको पिँडीमा गुन्द्री ओछ्याएर कास्की अर्घौ झाँजरमारेका बिचारी शेखरनाथ त्रिपाठीले पढाउँनु हुन्थ्यो । उनलाई आफ्नै पिता शेरजंग गुरुङले घरैमा कखरा पढाउनु भएको थियो । त्यसपछि बाह्रखरी पढने बेलादेखि त्यही पाठशालामा गए ।
त्यसबखतको शिक्षा प्रणाली अनुसार बाह्रखरी पढिसकेपछि कपाली तमसुक, भर्पाई, राहदानी र राजिनामा लेख्न सिकाइन्थ्यो । यसैगरी ज्योतिषशस्त्रको चुचेचोला अश्विनी आदि अबहडाचक्र र अरु श्लोकहरु कण्ठ बनाउन लगाइन्थ्यो । दशै ताका दुर्गाकवच पढन सिकाइन्थ्यो । जोड, घटाउ, गुणन र भाग गर्ने हिसाब सिकाइन्थ्यो । राजिनामा लेख्न र बालकको नाम जुराएर टिप्पनी लेख्न जानेपछि उक्त गाउँले पाठशालाको पढाई पुरा हुन्थ्यो ।
विस २०१३ सालमा भारतीय सेनाका पेन्सनवालाहरुको संस्था ‘सोल्जर्स बोर्डद्धारा सञ्चालित प्राइमरी स्कूल’ उनको गाउँमा स्थापना भयो । त्यसपछि गाउँले पाठशालाका विद्यार्थिहरुलाई उमेर र पढाईअनुसार त्यस प्राइमरी स्कूलमा भर्ना गरियो । त्यसक्रममा उनी कक्षा एकमा भर्ना भए ।
३. माध्यमिक शिक्षाः विस २०१८को माघमा तात्कालिन सोल्जर्स बोर्ड हाई स्कूल तथा वर्तमान अमरसिँह उच्च माध्यमिक विद्यालय रामघाट पोखरामा ६ कक्षामा मर्ना भएर पढन थाल्नु भयो । त्यस बखत उनका गाउँका र वरिपरिका गाउँका साथीहरु मिलेर पोखरा रानीपौवा र माटेपानीमा डेरा लिएर बस्नु हुन्थ्यो । उनकै गाउँको एउटी बुढी आमाले भात पकाएर खुवाउँथिन् । चामल, दाल, भट्ट र सुख्खा तरकारी गाउँबाटै ल्याउनु हुन्थ्यो । दाउरा र अन्य आवश्यक सामान मात्र पोखरामा लिनु हुन्थ्यो । घरभाडा दामासाहीले तिर्नुहुन्थ्यो । जगमान गुरुङको भनाइ अनुसार सोल्जर्स बोर्ड हाई स्कूलको अनुशासन ज्यादै कडा थियो । त्यसैले पढाईका अतिरिक्त पिटिमा पनि भाग लिनु हुन्थ्यो । विस २०२२ सालमा एस.एल.सी पास गर्नु भयो ।

४. उच्च शिक्षाः उनले विस २०२५ सालमा पृथ्वीनारायण कलेजबाट आइ.ए., २०३० सालमा बि.ए. र विस २०३६ सालमा ‘नेपालको एकीकरणमा गुरुङहरुको भूमिका शीर्षक’मा शोधपत्र लेखेर त्रिभुवन बिश्वविद्यालय काठमाडौँबाट प्रथम श्रेणीमा प्रथम भइ एम.ए. पास गर्नु भयो । उक्त शोधपत्र स्तरीय र प्रकाशन योग्य भएकोले ‘डा. हर्क गुरुङको मन्तब्य’ सहित बौद्ध अर्घौ सदन, पोखराले प्रकाशित ग¥यो ।
५. विद्यावारिधिको अनुभव र उपाधिः प्राज्ञ डा. गुरुङको जेठोबाको घर र उनको घरको धुरी र पाली जोडिएको र आगान एउटै छ । उनको जेठोबा बिहानभरी घरको पिँडीमा बसेर हेरकोर गर्नुहुन्थ्यो । तन्त्रमन्त्र र जन्त्र लेख्नु हुन्थ्यो । वहाँको संग्रहमा उनी भन्दा ८ पुस्ता अधिका उनका पुर्खा चामु क्ह्रोँगिलामा गुरुङले विस १८५२मा लखेको तन्त्रमन्त्रको संग्रह भएको जन्त्रवली नामक पुस्तक थियो । त्यसैको आधारमा वहाँले मानिस र पशुका लागि विभिन्न रोग निवारण गर्न जन्त्र लेख्नु हुन्थ्यो । अहिले त्यो पुस्तक उनको संग्रहमा रहेको छ ।
पुरानो चलन अनुसार खाना खाएपछि दिउँसो आँगनमा कचहरी हुन्थ्यो । हर्कजंग प्रधानपञ्च भएपछि सामाजिक दायित्व अझ बढ्यो । दिउँसो कचहरी, बेलुका इतिहासको छलफल, सरकारी कर्मचारीहरु आएमा ऐन कानुन र मुद्धा मामिलाको कुरामा छलफल हुन्थ्यो । वरपरका ठूलाबडा, नाता कुटुम्ब र इष्टमित्रहरु आएमा थितिरीती र संस्कारहरुको कुरा हुन्थ्यो । बाहुन र जोगीहरु आएमा धर्मशास्त्र, ज्योतिषशास्त्र र तन्त्रमन्त्रको कुराहरुमा छलफल हुन्थ्यो । वहाँकहाँ कास्की, मान्द्रेढुंगका रुद्रगिरी गुरु बराबर आइरहनु हुन्थ्यो । वहाँ ज्योतिष, तन्त्र र आयुर्वेदको ज्ञाता हुनुहुन्थ्यो । वहाँबाट डा. गुरुङले शिवपञ्चाक्षरी मन्त्रको दिक्षा लिनु भएको थियो । यसरी हर्कजंगको घर परिवार नभएर एउटा ‘सिंगो संस्था’ जस्तो थियो । उनले चाहेर नचाहेर पनि ती कुराहरु सुन्न र देख्न पथ्र्यो भनेर डा. गुरुङ भन्नु हुन्छ ।
एक ताका उनको जेठाबा शाहकारी हुनुभयो । त्यसबेला यो पशुबलि दिएर गरिने कोटको मौलो पूजा म गर्दिन, तिमिले गर भनेर भन्नु भयो रे । केही वर्षपछि वहाँले शाकाहारीब्रत फुकाउँनु भयो र कोटको पूजा पनि आफै गर्न थाल्नु भयो । विस २०३९को असोजमा उनको पिता शेरजंग गुरुङ दिवंगत हुनु भयो । जेठोबा हर्कजंग पनि वृद्ध भइसक्नु भएको थियो । उनले पनि नेपाली इतिहास, संस्कृति र पुरतत्व विषयमा एम.ए. पास गरीसक्नु भएको थियो । आफुले पढेको विषय, घरको कुल परम्परा र आफ्नो इच्छा पनि भएकोले तीनओटै कुरा मिल्यो ।
डा. गुरुङले वंश परम्परादेखि चल्दै आएको ज्योतिषशास्त्र र तन्त्रविद्याको अपुताली पार्न भएन, पितृले सराप्ला भनेर त्यस विषयतिर बढी चासो राख्न थाल्नु भयो । त्यसैले, जेठोबा र लालबहादुर गुरुङसंग वंश परम्परामा चलिआएको ज्योतिष र तन्त्रमन्त्रका कुराहरु सिकेपछि वहाँहरुसंग रहेको वंशवली पुस्तकको सरोट गरी आफ्नो संग्रहमा राख्नु भयो । त्यसपछि उनको फुपाज्यू कास्की, सिकलेस धप्राङटोलका जिमु रतनसिँह रिज्येह्रोँ घोताने गुरुङसंग पनि गुरुङको इतिहास, थितिरीति र ज्योतिषशास्त्र सिक्नु भयो ।
त्यसभन्दा अधि बढेर उनका गुरुबा शेखरनाथ त्रिपाठीका भान्जा पञ्चाङ्ककर्ता ऋषिराम कोइराला, पं. चिरञ्जीवी त्रिपाठी र राष्ट्रिय अभिलेखालयका पं. देवीप्रसाद लम्सालसंग ज्योतिष सम्बन्धी धेरै कुराहरु सिक्नु भएको रहेछ । यसैगरी त्रि–चन्द्र वहुमुखी क्याम्पस, इतिहास शिक्षण विभागका प्रमुख केवि उदयसंय ज्योतिष सम्बन्धी वहाँको आफ्नो निजी पद्धति र नेपालमण्डलका परम्पराहरु सिम्नु भएछ । यसरी ज्योतिषको बारेमा इच्छा जाग्दै जाँदा ज्यो. तिलकराज पौडेलसंग चिनजान भएछ । वहाँ राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति, नेपालको अध्यक्ष हुनुहुन्थ्यो । वहाँसंग सम्पर्क भएपछि उक्त समितिको सदस्यता प्राप्त गरेपछि केन्द्रीय कार्यसमितिको सदस्य पनि हुनु भएछ ।
यसरी ज्योतिषीय कृयाकलपहरुमा संलग्न हुँदै जाँदा डा. लोकराज पौडेलसंग चिनजान भएछ । वहाँ आकाशदर्शन पञ्चाङ्कको पञ्चाङ्ककर्ता, नेपाल ज्योतिष परिषद्को राष्ट्रिय अध्यक्ष, पुर्विय दर्शन विद्यापीठको प्राचार्य र कलकत्ता स्थित विश्व ज्योतिष विद्यापीठको विभागीय सदस्य हुनुहुन्थ्यो । अतः वहाँको योग्यता र कृयाकलपबाट उनी अत्यन्तै प्रभावित हुनु भएछ । यही सिलसिलामा पुर्व जिल्ला शिक्षा अधिकारी डा. पुण्यप्रसाद दंगालसंग परिचय भएछ । वहाँले कलकत्ताको विश्व ज्योतिष विद्यापीठबाट ज्योतिषशास्त्रमा विद्यावारिधि गर्नु भएकोेछ । त्यसपछि डा. गुरुङले वहाँसंग त्यो विद्यापीठ सरकारी मान्यता प्राप्त हो हाइन भनेर सोध्द, विश्वविद्यालय सरहको सरकारी मान्यता प्राप्त शैक्षिक संस्थ हो भनेपछि उनले वैधानिकताको बारेमा अध्ययन गर्नु भयो ।
भारतको कलकत्ता स्थित विश्व ज्योतिष विद्यापीठ भारत सरकारको कानून, न्याय तथा कम्पनी मन्त्रालय, कम्पनी एफेर्स विभागको कम्पनी ऐन सन् १९५६को सेक्सन २५ अन्तर्गत पश्चिम बंगाल सरकार, कम्पनी रजिष्ट्ररको कार्यालय, कलकत्तामा दर्ता भई भारत सरकारको मानव संसाधन विकास मन्त्रालयसंग सम्बन्धन प्राप्त भएको पाइयो । यसैगरी “विश्व ज्योतिष विद्यापीठको ऐनको दफा ३को उपदफा (जे)मा यस विद्यापीठले ज्योतिषशास्त्रमा पूर्व मध्यमादेखि विद्यावारिधि (पिएचडि)सम्मको अध्ययन एवं अनुसन्धान गराई तदनुसारको उपाधि दिन सक्ने” उल्लेख भएको र त्यसलाई भारत सरकारले स्वीकृति र मान्यता दिएको पाइयो । यस विद्यापीठद्धारा प्रदान गरिने उपाधिजन्य प्रमाणपत्रहरुमा “An International University of Astrological Science Registered under the Government of India.” लेख्ने परम्परा भएको पाइयो ।
त्यसताका आचार्य डा. रामरञ्जन मुखोपाध्याय विश्व ज्योतिष विद्यापीठको कुलपति हुनुहुन्थ्यो । त्यस अधि वहाँ तिरुपति बालाजी विद्यापीठको उपकुलपति हुनुहन्थ्यो । आचार्य डा. रामकृष्ण शास्त्री उपकुलपति र श्री गोपाल चक्रवर्ती कुलसचिव हुनुहुन्थ्यो । प्रत्येक वर्ष फरवरी महिनामा विश्व ज्योतिष विद्यापीठद्धारा कलकत्ताको महात्मा गान्धी रोडमा अवस्थित महाजाति सदनमा पूर्विय दर्शन एवं सम्पदा र ज्योतिषशास्त्र सम्बन्धी चार दिवसिय अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरिन्छ । अन्तिम दिनमा विद्यापीठको दीक्षान्त समरोह हुन्छ ।
यसरी सबै कुरा बुझेर पक्का भएपछि सन् २००७ को जनवरीमा उनले विश्व ज्योतिष विद्यापीठ, कलकत्तामा विधिवत् शोधप्रस्ताव प्रस्तुत गरी विद्यावारिधि अनुसन्धानको लागि दर्ता गर्नु भयो । उनको विद्यावारिधि अनुसन्धानको विषय “A Studu on Sino–Tibetan Astrological System among the Gurung of Gandaki region in western Nepal.” थियो ।
उनको विद्यावारिधि अनुसन्धानको शोध निर्देशक विश्व ज्योतष विद्यापीठ कलकत्ताका विभागीय सदस्य आचार्य डा. लोकराज पौडेल हुनुहुन्थ्यो । प्रत्येक विश्वविद्यालय र शैक्षिक संस्थाका आ–आफ्नै नियम हुन्छन् । अतः उनको अनुसन्धानको विषय र कार्यक्षेत्र नेपालमा भएको र शोध निर्देशक पनि नेपालमै रहने हुनाले विद्यापीठको नियमानुसार सामयिक रुपले मात्र कलकत्तामा रही बढी समय नेपालमा नै रहेर अनुसन्धान सम्पन्न गर्नु भयो ।
शोध निर्देशकको सिफारिससाथ प्रस्तुत शोधपत्रमा “विश्व ज्योतिष विद्यापीठको उपकुलपति आचार्य डा. रामकृष्ण शास्त्री, बाह्य परीक्षक एशियन एष्टोलोजर कांग्रेसका सभापति डा. सत्य विश्वास र शोध निर्देशक आचार्य डा. लोकराज पौडेल सदस्य रहेको शोधपत्र परीक्षण समितिले” उनको शोधपत्र स्वीकृत ग¥यो ।
विश्व ज्योतिष विद्यापीठ, कलकत्ताको ३२औँ वार्षिकत्सवको उपलक्ष्यमा सन् २००९ फरवरी ८ तारिखका दिन कलकत्ताको महात्मा गान्धी रोड स्थित महाजाति सदनमा आयोजित विद्यापीठको दीक्षान्त समरोहमा उनले जयोतिषशास्त्रमा विद्यावारिधि (पिएचडि)को उपाधि प्राप्त गर्नु भयो । आफ्नो विद्यावारिधिको शोधपत्र प्रकाशन गर्ने लक्ष्य रहेको प्राज्ञ डा. गुरुङले बताउनु भयो ।
६. प्रशासनिक सेवाः १. मुखिया, गण्डकी हुलाक नियन्त्रण कार्यालय, पोखरा २०२४–२६ । २. हेड असिस्टेन्ट, पृथ्वीनाराणा क्याम्पस, पोखरा २०३०–३१ । ३. सहायक प्रशासक, पृथ्वीनारागण क्याम्पस, पोखरामा २०३१–३२ । ४. कामु उपप्रशासक, पृथ्वीनारायण क्याम्पस, पोखरा, २०३३–३५ । ५. सहायक प्रशासक, नेपाली र एशियाली अनुसन्धान केन्द्र काठमाडँैँ, २०३९ ।
७. पारिवारिक अवस्थाः परिवारको वारेमा भन्नु पर्दा, श्रीमती, दुइ छोरा र एक छोरी छन् ।
८. उत्कृष्ट कृतिहरुः (क) प्रकाशित कृतिहरुः १. गुरुङ जाति तथा संस्कृति २०३४, काठमाडौँ, नेपाल । २. नेपालको एकीकरणमा गुरुङहरुको भूमिका २०४४, काठमाडौँ, नेपाल । ३. ब्लो (मुस्ताङ)को सांस्कृतिक सम्पदा २०५७, काठमाडौँ, नेपाल । ४. नेपालको राष्ट्रिय समिकरणको परिपेक्षमा गण्डकीप्रसवन क्षेत्रका तीर्थस्थलहरुको विश्लेषणात्मक अध्ययन २०६१, काठमाडौँ, नेपाल । ५. गण्डकी प्रसवण क्षेत्रको सांस्कृतिक सम्पदा २०६७, काठमाडौँ, नेपाल । ६. तमुवानको ऐतिहासिक वृतान्त २०६७, काठमाडौँ, नेपाल ।
(ख) अप्रकाशित कृतिहरुः १. नेपालको राष्ट्रिय समीकरणमा अखण्ड शिव–बुद्ध समन्वयवादको भूमिका । २. A Study on Sino–Tibetan Astrological System Among the Gurung of Gandaki Region in Western Nepal.
९. प्राध्यापन एवं अनुसन्धानहरुः १. अनुसन्धान, इतिहासविद् धनबज्र बज्राचार्यको मातहतमा विधिवत् अनुसन्धानको थालनी, २०३५ ।
२. सहायक प्राध्यापक, नेपाली इतिहास, संस्कृति र पुरातत्व केन्द्रीय विभाग, २०४२ । ३. अनुसन्धान, पशुपतिक्षेत्रको सांस्कृतिक सम्पदा विषयमा कला, वस्तुकला र मुद्रपक्षमा प्रतिवेदन । ४. अनुसन्धान, गण्डकी प्रसवणक्षेत्रको सांस्कृतिक सम्पदाको सर्वेक्षण प्रतिवेदन ।
५. सहप्राध्यपक, नेपाल र एशियाली अनुसन्धान केन्द,्र काठमाडौँ, २०५५ ।
१०. मानसम्मान, अभिनन्दन एवं विभूषणहरुः १. महेन्द्र विद्याभूषण सवर्ण पदक (ख)२. गोकुलचन्द्र स्वर्ण पदक । ३. रमा–कृष्ण सृजना प्रतिष्ठान र अभिनव साहित्य समाज पुरुस्कार । ४. पश्चिमाञ्चल क्षेत्रीय प्रतिभा पुरस्कार २०६७ । ५. अभिनन्दन, सनातन धर्म सेवा समिति, नेपाल २०५५ । ६. अभिनन्दन, नेपाल तण्डुकार समाज, काठमाडौँ २०५९ । ७. सम्मानपत्र, राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति, नेपाल २०५६ ।
८. कदरपत्र, रिभान चौर नथु प्रहलाद परिवार समिति, पोखरा २०५७ । ९. प्रशंसापत्र, श्री बौद्ध अर्धौ सदन, पोखरा २०५९ ।
११. सेवामा संलग्न संस्थाहरुः १. राष्ट्रिय आध्यात्मिक संयोजक, श्री सत्य साई केन्द्रीय परिवार, नेपाल । २. प्राज्ञ सभा सदस्य, नेपाल प्रज्ञा प्रतिष्ठान । ३. महासचिव, चिनिय–तिब्बती ज्योतिष प्रतिष्ठान, नेपाल । ४. सभापति, सल्लाहकार समिति, लमचुँ प्रतिष्ठान, काठमाडौँ ।
५. सभापति, सल्लाहकार समिति, नथु प्रह्लाद परिवार, पोखरा । ६. सल्लाहकार, बौद्ध अधौँ सदन, रमाधाट, पोखरा । ७. सल्लाहकार, तमु बौद्ध सेवा समिति, अनामनगर, काठमाडौँ । ८. सल्लाहकार, तमु राष्ट्रिय परिषद्, काठमाडौँ । ९. सहअध्यक्ष, विश्व सनातन धर्म एकता महासंघ, पशुपितनाथ, कैलाश । १०. आजीवन एवं केन्द्रीय सदस्य, राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति, नेपाल । ११. आजीवन सदस्य, एस्ट्रोलोजिकल रिसर्च प्रोजेक्ट, कोलकत्ता । १२. संरक्षक, तमु प्यक्ष्या धीँ, अमेरिका ।
१२. लेख, रचना, अन्र्तवार्ता, सेमिनर एवं गोष्टिहरुः १. लमजुङ जिल्लाको नामाकरण एक विवेचना । २. कुलमण्डन शाह, कास्कीदेखि गोरखासम्मको ऐतिहासिक बृतान्त । ३. प्रज्ञा, इन्दु धारणी पत्रिकामा लेख रचाहरु प्रकाशित । ४. धर्मोदय सभाद्धारा लुम्बिनीमा आयोजित दोश्रो राष्ट्रिय बौद्ध सम्मेलनमा ‘नेपालका बौद्धहरु’ शीर्षकमा कार्यपत्र प्रस्तुत, २०४६ । ५. नाटक, वीर झागल गुरुङ ।६. सेमिनरपत्र, १५ वटा ।
७. अनुसन्धान प्रतिवेदन, ४ वटा ।८. अनुसन्धानात्मक लेख, ५४ वटा ।
१३. प्राज्ञिक सेवाः
ग्रहा राज्य प्रयच्छन्ति ग्रहा राज्यं हरन्ति च ।
ग्रेहैव्याप्तमितं सर्व त्रैलोक्यं सचराचरम् ।
(अर्थात ग्रहहरुले राज्य प्रदान गर्दछ र ग्रहहरुले नै राज्य हरण पनि गर्दछ, किनभने यो सबै चराचर जगत सहित त्रिलोक ग्रहहरुद्धारा व्याप्त छ)
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउबा, माननीय भरत मोहन अधिकारी अर्थमन्त्री र माननीय दीपक कुमार उपाध्याय संस्कृतिमन्त्री भएको संयुक्त सरकारले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका लागि प्राज्ञ सदस्यहरु मनोनयन गर्नका लागि राष्ट्रकवि माधव घिमिरे, प्रा.डा. रामनिवास पाण्डेय र पुर्वमन्त्री भुवनलाल प्रधान सहित तीन सदस्य रहेको प्राज्ञ सदस्य मनोनयन समिति गठन ग¥यो ।
प्राज्ञ डा. जगमान गुरुङको प्राज्ञिक विद्धताको बारेमा नेपालको शीर्षस्थ प्राज्ञिकहरु र राजनेताहरुलाई राम्ररी थाहा थियो । त्यही विद्धताको सम्मान गर्दै जगमान गुरुङलाई विस २०६६ माघ २१ गतेदेखि प्राज्ञ सदस्यमा मनोनित ग¥यो ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्यमा मनोनयन भएपछि वहाँले प्रतिष्ठानको पचास वर्षको इतिहासमा सबभन्दा पहिले वैदिक मंगलचरणबाट संगोष्ठी शुभराम्भ गर्ने परम्परा बसाल्नु भयो । वहाँले प्रा.डा. राधाकृष्ण अधिकारीलाई मानव जीवनमा धर्मशासत्रको महत्व, प्रा.डा. दुर्गा प्रसादलाई वैदिक संस्कृतिमा, राष्ट्रवाद र विनय कुमार शर्मालाई सत्यं परं धीमहि भगवत्तत्व विबेचना शीर्षकमा पुस्तक तयार गर्न लगाउनु भयो । यस वाहेक “कर्णाली प्रदेशको जडान, खसान, थारुवान, गुरुङहरुको पर्यावरणीय गीत, बुढा सुब्बाको सांस्कृतिक महत्वका साथै नेपालको पूर्वाञ्चल विकास क्षेत्र र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको अमूर्त सांस्कृतिक सम्पदाको पनि अनुसन्धान” सम्पन गराउनु भएको थियो । एउटा गुरुङको छोराले बाहुनहरुलाई काम दिए । उनी बाहुनवाद हुन् भनेर चर्चा पनि चल्यो तर मैले कुनै अनुचित काम गरेको थिएन भनेर, वहाँ भन्नु हुन्छ ।
त्यसताका, अहिले र जहिले सुकै पनि फलाना जातको मान्छेले लेखेको हुनाले हाम्रो इतिहास बिगा¥यो र हाम्रो संस्कृतिको अपव्यख्या गरियो भन्ने गुनासाहरु सुनिन्थ्यो । त्यसकारण वहाँले जुन जातको इतिहास हो, त्यही जातको व्यक्तिले लेख्ने र जुन जातको संस्कृति हो, त्यसलाई पनि त्यही जातको व्यक्तिले व्याख्या गर्ने परिपाटी बसाल्नुका साथै इतिहासको लेखन, संस्कृतिको चिन्तन र व्याख्या राष्ट्रियताको ध्रुवमा स्थिर रहनु पर्छ भन्ने आचार सहिता पनि कायम गर्नु भएको थियो ।
यसैगरी जाति विशेषको पर्वमा आयोजना गरिएको गोष्ठीमा त्यही जातिको भेषभूषामा सजिएर त्यही जातको व्यक्तिले उनीहरुकै भाषामा मंगलचरण गर्ने परिपाटी बसाल्दा बसाल्दै समय बित्यो । आफुले भने सग्लो खालको अनुसन्धान गर्न सकिएन भनी दुखेसो पनि गर्नु भयो ।
यति हुदै थियो, राजा ज्ञानेन्द्रले सत्ता हातमा लियो । त्यस अघिको सरकारको पालामा मनोनित भएका विभिन्न निकाय र संघ संस्थाका पदाधिकारीहरुले राजनिामा नदिइ काम गरी नै रहे । हामीले पनि आफ्नो कामलाई निरन्तरता दियौँ । कबिवर वैरागी काइलाले भने साझा प्रकाशनको अध्यक्ष पदबाट राजीनामा दिनु भएको थाहा पाइयो ।
त्यसपछि नेपालमा गणतन्त्र स्थापनाको लागि आन्दोलन शुरु भयो । हामीले त्यस आन्दोलनको नैतिक समर्थन गर्दै उक्त आन्दोलनको सफलताको लागि संयुक्त रुपमा विज्ञप्ति जारी ग¥यौँ । उपकुलपतिज्यू र अन्य केही साथीहरुले विज्ञप्तिमा हस्ताक्षर गर्नु भएन । आन्दोलन सफल भएपछि सम्माननीय गिरिजा प्रसाद काइराला प्रधानमन्त्री र माननीय प्रदीप ज्ञवाली संस्कृति मन्त्री हुनु भयो । सरकारले तीनओटा प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने नीति लियो । सरकारको यो नीति तथा कार्यक्रमलाई सहज र सरल बनाउँनका लागि हामीले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सदस्य पदबाट राजीनामा दियौँ । यतिखेर पनि उपकुलपतिज्यू र एकजना साथीले राजीनामा दिनु भएन ।
समय र परिस्थिति अनुसार सरकारलाई राय सुझाव दिने, जनसमुदायलाई वास्तविकता सुसूचित गराउँने र सरकारको नीतिलाई अवलम्बन गरी देशलाई अग्रगमनको दिशातिर अग्रसर गराउँनु प्रत्येक प्राज्ञिक संघ संस्था र प्राज्ञिक व्यक्तिहरुको परम् कर्तव्य हो । यस्तो बेलामा आड्को थाप्न हुँदैन । परिस्थितिलाई सहज र सरल बनाइदिनु पर्छ । अतः यही नियतबाट हामीले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्य पदबाट रानीनामा दिएर सरकारलाई सहयोग गरेका हौँ, डा. गुरुङ भन्नु हुन्छ ।
१४. डा. गुरुङको विशिष्ठता र विद्धताः नजिकको तीर्थ हेला हुन्छ भन्ने कुरा नेपालीमा उखान नै छ । त्यही उखान अनुसार गुरुङहरुले प्राज्ञ डा. गुरुङको प्राज्ञिक विद्धतालाई राम्ररी चिन्न र बुझ्न सकेका छैनन् । हुन पनि हो, लिखित भाषा र साहित्य नै नभएका समूह, त्यै पनि बसाइ सराइँको चपेटामा परेका र प्रवासमा रमाउँन चाहनेहरुले कोइला भित्र लुकेर रहेको वहुमुल्य हिराको मुल्याङक गर्ने पनि कसरी ? यहाँनिर एउटा पेचिलो प्रश्न छ ?
कटु शब्दमा भन्नु पर्दा, गुरुङ समुदायमा प्राज्ञिकहरुको खडेरी नै परेको छ । यस्तो विसम् अवस्थामा पनि कठोर त्याग र तपस्य गरेर मौलाएको डा. गुरुङको ‘विशिष्टता र विद्धता’लाई शब्दहरुले वर्णन गर्नै सकिन्न । संक्षेपमा भन्नु पर्दा, वहाँको सरल स्वभाव, निष्कलङ्क जीवन, प्रखर वक्ता, आत्मास्वभिमाणी, वैदिक ज्ञानको भण्डार, राष्ट्रवादी भावनाले ओतप्रोत भएको ज्योतिर्विद् एवं ज्योतिमय विद्धानको पंत्तिकर साष्टाङ्ग दण्डवत् गर्दछ । यस्तो “गुणिलो विद्धान गुरुङ कुलले मात्र हैन राष्ट्रले पनि पहिचान गरी मानसम्मान” गर्न कुनै कन्ज्युस्यई गर्नु हुँदैन । किनभने यस्तो प्रखर राष्ट्रवादी विद्धानको हर युगमा जन्म हुँदैन ।
मेरो व्यक्तिगत रुचि भाषा, साहित्य, संस्कृति र इतिहास भएकोले प्राज्ञ डा. गुरुङको विशिष्ठता र विद्धताको मलाई ज्ञान भएपछि वहाँसंग मेरो सम्पर्क २०५३ सालदेखि २०७३ सम्म निरन्तर रही आएको छ । यो दुई दसकको लामो यात्राको दौरानमा वहाँको अन्तरात्मालाई मैले नजिकैबाट अनुभव गरेको छु । त्यसैले, मलाई पूर्ण विश्वास छ, वहाँलाई गुरुङ समुदायले ब्राह्मणवादी विद्धान भन्दछन् । गुरुङ समुदायमा उनको प्रशंसकहरु भन्दा निन्दा गर्नेहर धेरै छन् । किनभने ‘ब्रह्मण, ब्राह्मण र ब्राह्मणवाद’को भावार्थ र यसको सार तत्व के हो ? गुरुङ समुदायका अधिकंश मानिसहरुलाई यस वारे जानकारी छैन । केही विद्धानहरुलाई जानकारी भए तापनि अर्थ खुलाउन चाहदैनन् । यही गुड रहस्या खोतालेर चौतर्फि मुख खोल्नका लागि यो रचनाको आवश्यक महशुस भएको हो ।
अवको प्रसंग ‘ब्राह्मण र ब्राह्मणवाद’को हुने छ । नेपालका अधिकंश मानिसहरुको दिमागमा के कुरा बसेको छ भने, ब्राह्मण कुलमा जन्मेका मानिसहरुमात्र ब्राह्मण हुन् भन्ने भ्रमको शिकार भएका छन् । त्यो त जन्मको आधारमा हुने ब्राह्मण हो । उनलाई ब्राह्म ज्ञानको जानकारी नभए तापनि ब्राह्मण नै भनिन्छ । किनभने उनी जन्मजाति नै ब्राह्मण हुन तर यस प्रसंगमा कर्म क्षेत्रबाट कसरी ब्राह्मण बन्दछ भन्ने कुराको पुष्टि गर्न खोजिएको छ ।
नेपाली समाज सनातनदेखि वैदिक परम्परा र सिद्धान्तमा आधारित छ । सो सिद्धान्तमा “ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र” गरी ४ समुहमा विभाजन गरिएका छन् । यो विभाजन जात, जाति र कुलको आधारमा नभएर कर्म क्षेत्रलाई प्रमुख आधार मानिएको छ । जस्तैः
१. जुनसुकै कुल घरानामा जन्म लिए तापनि झुट्टा व्यवहार, अनैतिक कर्म, हिंस, आतंक, सामाजिक अपराध गर्ने, धर्म अधर्म र पाप पुण्यको विभेद जान्न नसक्ने चरित्र भएका व्यक्तिलाई शुद्र भनिन्छ ।
२. जुनसुकै कुल घरानामा जन्म लिए तापनि नैतिकताको आधारमा आफ्नो योग्यता र क्षमताको उपयोग गरी साधारण खेती किसान, ज्याला मजदुरी, जागिर र स्वतन्त्र व्यवसाय गरी जीवन यापनका लागि उन्नति प्रगति गर्ने व्यक्तिलाई वैश्य भनिन्छ ।
३. जुनसुकै कुल घरानामा जन्म लिए तापनि आफ्नो योग्यता, क्षमता, तीष्ण बुद्धीको उपयोग गरी साम, दाम दण्ड र भेदको प्रयोगबाट राज्य सञ्चालमा आधिकारीक प्रशासक, शासक र अधिपति बन्न सफल हुने व्यत्तिलाई क्षेत्री भनिन्छ ।
४. जुनसुकै कुल घरानामा जन्म लिए तापनि उच्च शिक्षा हाँसिल गरी आफ्नो योग्यता र क्षमताको आधारमा कुशल कर्म गर्ने, स्वच्छ आचरणद्धारा वैदिक ज्ञानको अध्ययन र अभ्यास गरी सोही अनुसारको जीवन पद्धती अनुसरण गर्न सक्ने विशुद्ध चरित्र भएका व्यक्तिलाई ब्राह्मण भनिन्छ ।
अर्थात ब्रह्म भनेको ‘नित्य, अनश्वर, निर्विकर, चेतनतत्व, परमात्मा, सर्वशक्तिमान र सर्वव्यापी रहने परम् आनन्दमय इश्वर’ हो । त्यसैले जुन व्यक्तिमा ब्रह्मतत्व वा ब्रह्मज्ञान प्राप्त गर्न सक्ने योग्यता र क्षमता हुन्छ, उनी ब्राह्मण हुन् तर यहाँनिर शब्दभेद अनुसार ‘ब्राह्मण नाम र ब्रह्मण विशेषण’ हुन आउँछ । प्राज्ञ डा. जगमान गुरुङको जीवन शैलीलाई नजिकैबाट अध्ययन गरी हेर्दा “कुशल कर्म गर्ने, स्वच्छ आचरणद्धारा वैदिक ज्ञानको अध्ययन र अभ्यास गरी सोही अनुसारको जीवन पद्धती” अनुसरण गरेको पाइन्छ । अतः डा. गुरुङको ‘विशिष्ठता र विद्धता’ अनुसार उनी ब्रह्मज्ञ प्राप्त गरेका कर्मब्रह्मण हुन् । अर्थात ‘वेदान्ती बोधिसत्व’ हुन । बौद्ध दर्शन अनुसार बोधिसत्वहरुले दशपारमिता पार गरेपछि बुद्धत्व प्राप्त गर्दछन् ।
अबको प्रसंगमा साधारण मानिसले पनि कर्म क्षेत्रबाट उत्कृष्टता हाँसिल गरी कर्मब्रह्मत्व कसरी प्राप्त गरी ब्रह्मण बन्दछ भन्ने कुराको चर्चा हुनेछ । उदाहरणको लागि केही अधिको मात्र कुरा हो । नेपालको पूर्वि पहाडमा राइ परिवारमा जन्मीएको ‘काले राइ’ भनेर चिनिने व्यक्ति आफ्नो योग्यता र क्षमताको आधारबाट ‘गुरु प्रपन्नचार्या’ भए । लमजुङको तराचे गाउँमा जन्मीएको ‘हर्क गुरुङ’ भूगोविद्को नामबाट चर्चित भए । नेपालको हिमालको नामहरु उनैले नामकरण गरे । एउटा चुचुरोको नाम डा. हर्क पिक पनि भनिन्छ । एउटा साधारण परिवारमा जन्मीएकी विष्णु कुमारी वाइवा ‘परिजात’ भइन । एउटा हरिजन परिवारमा जन्मीएको भमिराव डा. अम्वेडकर बनेर भारतको ‘सविंधान निर्माता र महाथेरा’ बने । विश्वमित्र राजाबाट ‘राजर्षि र महार्षि भई नयाँ स्वर्ग’को स्थापना गरे । सिद्धार्थ गौतमले राजदरबार त्यागेर ‘बुद्धत्व’ पाप्त गरे । यसरी कर्मक्षेत्रबाट गरेको त्याग र तपस्यबाट नै ‘ब्रम्हत्व अर्थात बुद्धत्व’ प्राप्त गर्न सकिन्छ ।
१५. भ्रमणः वहाँले भारत, हङकङ, चीन र यु.के. आदि देशहरुको भ्रमण गर्नु भएको छ ।
१६. व्यक्तिगत रुचिः प्राज्ञ डा. गुरुङले इतिहास, सांस्कृति, पुरतत्व, ज्योतिष र पूर्विय दर्शनमा अध्ययन र अनुसन्धान गर्न बढी रुचि राख्नु हुन्छ । त्यसैले, पशुपति क्षेत्रको कैलाशमा बसेर निःशुल्क ज्योतिष सेवा, नेपाल र एशियाली अनुसन्धान केन्द्रमा प्राध्यापन, श्री सत्य साई केन्द्रीमा आध्यात्मिक भजन किर्तन र प्रवचन, सनातन मौलो पूजा र गुरुङको मौलिक संस्कृतिलाई संरक्षण गर्दै ज्योतिषशास्त्रमा विद्यावारिधि गरी क्ष्लय–त्ष्दभतबल ब्कतचययिनष्अब िक्थकतझ ब्mयलन तजभ न्गचगलन या न्बलमबपष् च्भनष्यल ष्ल ध्भकतभचल ल्भउब’ि बिघामा एउटा नयाँ आयम थप्न सफल हुनु भएको छ । यस महान कार्यको लागि वहाँ इतिहासमा सधै अमर रहनु हुने छ ।
१७. उपसंहारः राज्यको स्रोत उपभोग गर्नुका अतिरिक्त राष्ट्रलाई आ–आफ्नो क्षेत्रबाट केही न केही योगदान दिनु प्रत्येक नागरिकको परम कर्तव्य हो । अहिले नेपाली राष्ट्रियता कचपचिएको छ र नेपाल राष्ट्र विखण्डनको दिशातिर धकेलिएको छ । अतः राष्ट्र निर्माण र राष्ट्रियताको प्रबोधन एवं प्रवद्र्धनका लागि भावनात्मक एकता अत्यावश्यक छ । समन्वयात्मक अध्यात्मवादको पृष्ठभूमिमा समन्वयात्मक नेपाली संस्कृतिको विकास भएको छ । त्यही समन्वयात्मक नेपाली संस्कृतिको धरातलमा नेपाल राष्ट्रको संरचना र नेपाली राष्ट्रियताको विकास भएको छ । यही वास्तविकतालाई ह्रदयंगनगरी उनले ‘नेपालको राष्ट्रिय समीकरणमा अखण्ड शिव–बुद्ध समन्वयवादको भूमिका’ शीर्षकको पुस्तक तयार पार्दै हुनुहुन्छ ।
नेपालमा शैवमत र बौद्धमतको विकास, शैव दर्शन र बौद्ध दर्शनबीचको अन्तर सम्बन्ध । यसैगरी शैवतन्त्र र बौद्धतन्त्रबीचको अन्तर सम्बन्ध र त्यस दार्शनिक एवं तान्त्रिक अन्तर सम्बन्धबाट विकसित समन्वयात्मक नेपाली संस्कृति र त्यस आधारमा निर्माण भएको नेपाल राष्ट्र र विकास भएको नेपाली राष्ट्रियताको सन्दर्भलाई उक्त पुस्तकमा विवेचना गर्ने वहाँको प्रयास रहेको छ । द्यौरालीलाई पाती भने झै उनको यो प्रयासले नेपाल राष्ट्रको निर्माण र नेपाली राष्ट्रियताको विकासलाई अखण्डित एवं दिगो बनाउँने काममा अलिकति भए पनि टेवा दिन सक्यो भने यसलाई उनले आफ्नो अहोभाग्य सम्झनेछु, अत्यन्तै भाबुक हुदै डा. गुरुङले भन्नु भयो ।
डा. गुरुङसंग लेखकको २०५३ देखि २०७३ सम्म दुई दशक लामो व्यक्तिगत अनुभवको आधारमा यो ‘विशिष्ठता र विद्धता’ शीर्षकमा यो जीवन कथा तयार गरिएको हो । यसमा अपुग भएका सामग्रीहरुको हकमा भने विद्धान पाठकहरुलाई जिम्म दिन चाहन्छु । वहाँको विद्धतामा केही अधुरो देखिए खुल्ला मनले प्रतिक्रिया दिनु होला । धन्यवाद ।
-गुरुङ्र राईटरडटकम बाट

