–डिल्ली आचार्य
अहिले नेपाल प्रहरी कमजोर बन्यो। सुरक्षाकर्मी नै कमजोर बनेपछि जनता कसरी सुरक्षित हुन्छन् भन्ने चिन्ता सर्वत्र देखिन्छ। यस्तो चिन्ता हुनु उचित हो। योसँगै यस्तो अवस्था कसरी आयो भन्ने विषय पनि थाहा पाउन आवश्यक छ।
एमाले नेता वामदेव गौतमले गृहमन्त्री हुँदा पार्टी चलाउन भनी विमानस्थलबाट सुन भित्र्याउन प्रहरी महानिरीक्षक (आईजीपी) अच्युतकृष्ण खरेललाई आईजीपी भएको ३६ दिनमै २०५४ वैशाखमा कारबाही गरी अनुसन्धान विभागमा सरुवा गरेका थिए।
पार्टी चलाउन सुन तस्करी गर्नलाई आईजीपी नै हटाउने कस्तो मानसिकता हो। सोच्नुहोस् त। एमालेका नेताहरू र कार्यकर्ता किन चुपचाप लागे? यस्तो कुरामा चुपचाप बस्नुको अर्थ के हुन्छ?

त्यसको ८ महिनामा २०५४ मंसिरमा फेरि गृहमन्त्रालय काँग्रेसको हातमा आयो। ध्रुवबहादुर प्रधानलाई हटाएर अच्युतकृष्ण खरेललाई ल्याउन गोविन्दराज जोशीले पैसा खाए। उनले पछिसम्म पनि इस्टकोट देखाउँदै थोत्ले बोलीमा हामीसँगै भन्थे। डेढ करोड रुपैयाँ यही खल्तीमा हालेको हुँ। गिलिजाबाबुलाई ५० लाख र नोना भाउजूलाई ५० लाख बुझाएँ। बाँकी ५० लाख मैले राखेँ। काँग्रेसीजनले यो कुरा सोचौँ त- आईजीपी सरुवा गराएर डेढ करोड घुस लिने। गिरिजाबाबु र नोना कोइरालासम्म पैसा उठाउने धन्दा। हामी कति भ्रष्ट रहेछौँ।
२०५६ को आमनिर्वाचन (वैशाख २० र जेठ ३ गते)का लागि प्रहरीलाई पैसा उठाउन काँग्रेस र एमालेले दबाव नै दिएका थिए। एकातिर नेपाल प्रहरी माओवादी विद्रोहीसँग लड्दै थियो, काँग्रेस र एमालेले त्यही प्रहरीलाई चुनाव खर्च उठाउन बाध्य बनाउँथे। सोच्न सक्नु हुन्छ, प्रहरीलाई भ्रष्ट बनाई बदनाम गराउन काँग्रेस र एमाले लिप्त थिए। गाउँमा आफ्ना कार्यकर्ता मारिँदा काठमाडौँमा गिरिजाप्रसाद कोइराला प्रहरीलाई भ्रष्टाचार गरेर भए पनि पैसा उठाउन लगाउँथे। आफ्नै कार्यकर्ता गाउँ छोड्न बाध्य हुँदा र मारिँदा समेत गिरिजाप्रसाद भ्रष्टाचार गरेर भए पनि पैसा उठाउन प्रहरीलाई आदेश दिन्थे।
आईजीपी खरेलले २०७५ सालमा सार्वजनिक गरेको आत्मकथामा २०५५ सालमा प्रहरी अधिकृत भरत जीसीमार्फत ४० लाख रुपैयाँ उठाई काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई ३० लाख र एमालेलाई १० लाख दिएको उल्लेख गरेका छन्। त्यसका लागि काँग्रेस र एमालेले उनलाई चुनाव खर्च उठाउन लगाएका थिए। ९ वर्षसम्म काँग्रेस र एमालेले यो कुराको खण्डन नगरी स्विकारेका छन्।
काँग्रेसी नेता कृष्णप्रसाद सिटौला गृहमन्त्री हुँदा सुडान काण्ड गराइयो। संयुक्त राष्ट्रसंघीय (यूएन) को शान्ति सेनामा नेपाली सुरक्षाकर्मी जाँदा घोटाला भएको छ। त्यो पैसा सिटौलाले लिन्थे। युद्धग्रस्त ठाउँमा राष्ट्रसंघको सेनामा प्रहरी पठाउँदा कमसल वस्तु दिएर पठाएर पैसा लिने सिटौलालाई नेता मान्दै छौँ। त्यसरी नेपाल प्रहरीलाई निरीह बनाएर युद्धग्रस्त क्षेत्रमा पठाउने व्यक्ति आजसम्म काँग्रेसी नेता छन्। त्यो मुद्दा काँग्रेस नेता सिटौला बाँचुन्जेल नखोल्ने गरी अदालतमा गुमनाम बनाइएको छ।
नेपालका तर्फबाट कसैले नबताए पनि संयुक्त राष्ट्रसंघमा कार्यरत केही मित्रहरूले त्यतिखेर नेपाल प्रहरीले पाउनुपर्ने ३ अर्ब रुपैयाँ खेर गएको जानकारी दिएका थिए।
त्यस्ता नेताहरूलाई जनताले चुनावमार्फत हराए पनि वामदेव गौतम र कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभामा ल्याइयो। चलखेल र भ्रष्टाचार गरी काँग्रेस र एमाले पार्टी चलाउन प्रहरीलाई भ्रष्टाचर गर्न बाध्य बनाएको पुरस्कार स्वरूप ल्याइएको होला, नत्र जनताले पाखा लगाए पनि राष्ट्रियसभामा ल्याउन के बाध्यता थियो?
डिआईजी बन्दादेखि रुपैयाँको चलखेल पूर्व एआईजीहरूलाई सोधे छताछुल्ल हुन्छ।
२ जना एआईजी हुने गरेको अवस्थामा १६ जनासम्म बनाइयो। त्यो सुरक्षाका कारण नभएर पार्टी चलाउन पैसा उठाउनलाई हो।
माओवादीका पूर्व महासचिव रहेका पछि एमालेका पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा नक्कली भुटानी शरणार्थी काण्डमा पक्राउ परे। माओवादी नेता गृहमन्त्री कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा सुन तस्करी काण्डमा संलग्न भेटिए। काँग्रेसका एकजना गृहमन्त्रीका छोराले चक्रपथ बाहिर घर भएकाले प्रहरीमा यही चलखेल गर्न दरबारमार्गमा भेटघाट गर्ने कोठा नै भाडामा लिएका थिए। अहिले उनी विदेशी नागरिक हुन्। गृहमन्त्री बालकृष्ण खाँणको मुद्दा जगजाहेरै छ।
अब सोच्नुहोस्, नेपाल प्रहरी कमजोर बनाउन कसको हात छ।
कुन कुन दलका कार्यकर्ता हौँ र हाम्रो पार्टी कसरी चलेको छ ? थाहा पाउनुभयो। यसरी खर्च उठाई चल्ने दलबाट शान्ति सुरक्षा, शान्ति सुव्यवस्था, विकास, भ्रष्टाचार उन्मूलन, उन्नति, प्रगति र समृद्धि हुन्छ?
-पत्रकार आचार्यको फेसबुकबाट साभार।

