–डा . बाबुराम ज्ञवाली
मानिसको अन्तिम इच्छा महत्त्वपूर्ण मात्र होइन संवेदनशील हुन्छ । बालकृष्ण समले अन्तिम इच्छा कवितामा यसरी व्यक्त गरे,
इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्यु शैया जली,
मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छटपटी ।
त्यो बेला मुखमा बुटीहरु परुन् नेपाल कै केवल,
जे जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।।
माधव घिमिरेले इच्छा गरे
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका किरण
त्यसरी होओस् मरण
प्राण जाने समयमा उसँग कस्तो व्यवहार गरियोस् भन्ने चाहना कसैले गर्छ, त्यसलाई अन्तिम इच्छा भनिन्छ । एक सामाजिक प्राणीको रुपमा प्रत्येक मानिसले आफ्नो शरीरको अन्तिम संस्कारका बारेमा केही इच्छा गरेको हुन्छ । युरोप र खाडीदेशहरुका बासिन्दाहरु जसको परिवारमा चिहान (कब्र, सिमेट्री) को परम्परा छ, उनीहरुले एउटा चिहान बक्स र अन्तिम सुत्ने स्थानको चिन्ता गर्छन् । पवित्र ठाउँमा सधैं सुतिरहन पाइयोस् अथवा मृत्यु पछि पनि पवित्र ठाउँ तिर फर्केर सुतिरहन पाइयोस् भन्ने इच्छा र सो अनुसारको व्यवस्था गर्ने गराउने चलन छ ।
“समग्र मणिग्राम क्षेत्र लामो यज्ञ परम्परा, मठ मन्दिरहरुम नियमित पूजा प्रवचन हुने गरेका र २०० वर्ष पुराना सम्मका मन्दिरहरुको अस्तित्त्व भएको ठाउँ भएकोले यो क्षेत्र पनि पवित्र बनेको छ ।”
पर्सियनहरु धेरै जसोले अन्तिम समयमा लासलाई कुनै पवित्र र खुल्ला ठाउँमा राख्ने संस्कार खोज्छन् । यसलाई उनीहरुले आकाशको चिहान भन्दछन् । प्रसिद्ध परमाणु वैज्ञानिक होमी जहाँगीर भाभाको मृत्यु फ्रान्समा छँदा भएको हो । पेरिसमा नै टावर अफ साइलेन्स बनाएर शरीरको अन्तिम संस्कार गरिएको थियो । मृत शरीर पनि प्रकृतिको काममा आओस् भन्ने उनीहरुको धार्मिक मान्यता छ । तर जोरोस्ट्रीयन भइकन पनि रतन टाटाले लासलाई जलाउने र खरानी पवित्र नदीमा प्रवाहित गर्न इच्छा व्यक्त गरे । यसरी मानिसको अन्तिम इच्छा नै अन्तिम शरीर संस्कारको एक प्रमुख आधार हो ।
गृहस्थ हिन्दुहरुले सामान्यतया मृत शरीरको संस्कार पवित्र नदी तीर्थमा होस् भन्ने चाहन्छन् । नजिकमा नदी नभए जलाएको अस्तुलाई पवित्र नदीमा बगाइयोस् भन्ने इच्छा गर्छन् । जवाहरलाल नेहरुलाई नास्तिक मानिन्छ तर उनको अन्तिम इच्छा निकै प्रसिद्ध छ । जसमा उनले आफ्नो खरानी हिमालय पहाड र गंगानदीमा छरीदिन भनेका थिए ।
गीताप्रेसका संस्थापक मध्येका एक स्वामी रामसुखदासले एउटा सानो पुस्तिका आफ्नो जीवनकालमा नै प्रकाशित गरेका थिए र त्यो अहिले नेटमा राखिएको छ । यस सुन्दर इच्छामा उनले भनेका छन्– मेरो अन्तिम संस्कार कसरी गर्ने यस पुस्तिकामा मैले स्पष्ट गरिदिएको छु । यदि गंगानदीभन्दा धेरै टाढा यस शरीरको अन्त भयो भने छिटोभन्दा छिटो सकभर गंगानदीमा पुर्याएर अत्यन्त सादा तरिकाले अन्तिम संस्कार गरियोस् । भीडभाड मानिस जम्मा गर्ने यस्ता काम पटक्कै नगरियोस् । यदि गंगा नदी टाढा रहेछ भने अन्तिम संस्कार यस्तो ठाउँमा गरियोस जहाँ गाईहरु ओहोर दोहार गर्छन्, त्यो नभए त्यस ठाउँमा गरियोस् जहाँ गाई आराम गर्न बस्छन् । गाईको पाइला परेको ठाउँमा सूर्यका प्रकाशको साक्षीमा बिना तडक भडक अन्तिम संस्कार गरियोस् । कुनै पनि दृष्टिले मेरो लासलाई धेरै बेर राख्ने काम गर्दै नगरियोस् ।
उनले कडा निर्देशन दिएका छन्– मेरो कुनै स्मृति चिन्ह, खराउ केही नराख्नु, सबै जलाई दिनु । मेरो स्मृतिमा गौशाला, पाठशाला, धर्मशाला बनाएर मेरो नाम उल्लेख गर्ने काम नगर्नु । उनले के पनि भनेका छन् भने मेरो अन्तिम संस्कारका समयमा कुनै प्रकारको भीडभाडयुक्त शोक सभा नगर्नु बरु त्यसको सट्टा ईश्वरको नाम जप्नु र भजन कीर्तन भने गर्नु ।
अहिले नेपालमा मृतकको नाममा प्रतिस्पर्धात्मक शोकसभा र धार्मिक संस्कारमा नभएको भाषणबाजी धेरै बढेको छ । मृतकका बारेमा सानो जानकारी दिनु यो गौण कुरा हो । तर यी गौण कुराहरु सबभन्दा प्रमुख भएका छन् । किरिया बसेका मानिस अगाडि राखेर घण्टौं भाषणबाजी मृतक संस्कारको विरुद्ध विषय हो । यस विषयमा कुनै श्राद्ध विशेषज्ञले नै राय दिन सक्छन् किनभने लेखकलाई कर्मकाण्डको जानकारी छैन । यस विषयमा सबैले अन्तिम संस्कारका धार्मिक संस्कारलाई कठोर रुपमा पालन गर्नु नै सबभन्दा उचित हुन्छ ।
इतिहासकार दिनेशराज पन्तका अनुसार, राजा पृथ्वीनारायण शाहको मृत्यु जहाँ भयो अन्तिम संस्कार पनि सोही ठाउँ देवीघाटमा गरिएको थियो । जङ्गबहादुरको मृत्यु र अन्तिम संस्कार दुवै पत्थर घट्टामा भएको थियो । राजा महेन्द्रको मृत्यु नारायणी नदीको तीरमा भएको थियो तर अन्तिम संस्कार आर्यघाटमा गरिएको थियो ।
बीपी कोइरालाले थाईल्याण्डमा औषधि गराउँदा गाह्रो हुन थाले पछि मर्ने बेलामा शरीर नेपाल पुर्याइयोस् भनेर अनुरोध गरेका थिए । जुद्ध शम्शेरले अन्तिम दिन रिडीमा बिताउन चाहेका थिए तर कुनै कारणले उनले त्यो ठाउँ छोडेर देहरादून बस्न थाले । उनको अन्तिम संस्कार हरिद्वार गंगानदीमा गरिएको छ। आज पनि उनको अस्तु माथि गंगानदी बगिरहेकी छन् । राजा राजेन्द्रले अन्तिम दिन बनारस गंगानदीको छेउमा बिताउन चाहेका थिए । अहिले मृत्यु उपरान्त अंग दान दिने वा शरीर दान दिने पनि गरेका छन् । केही मानिसले आफ्नो शरीर मेडिकल कलेजलाई दान दिएको पनि सुनिन्छ ।
अन्तिम समयमा पवित्र स्थानमा लगियोस् र अपवित्र ठाउँमा अन्तिम साँस लिन नपरोस् भन्ने चाहना धेरैको हुन्छ । त्यसैले मानिसहरु रिडि, आर्यघाट, गण्डकी तीर, बनारस, हरिद्वार, गंगानदीको तीरमाजीवनका अन्तिम समयमा गएर बस्ने नै गर्छन् । भारतका केही साधु सन्तहरुले आफ्नो अस्तु नेपालको देवघाटमा राखियोस् भनी इच्छा गरेका समाचार पनि आएका हुन् ।
भारतमा गंगा नदी र नेपालमा गण्डकी नदीलाई पुराणहरुमा पवित्र मानिएको छ । केही ठाउँलाई धार्मिक रुपमा पवित्र नभएको मान्यता पनि छ । जस्तै पाल्पा माडीको अन्नलाई पास्नीका लागि पवित्र मानिँदैन । त्यसै गरी आसामको ब्रह्म पुत्र, बिहारको कर्मनाशा नदी, चीनमा मानसरोवर नजिकको राक्षस ताललाई तीर्थ स्थान मानिँदैन ।
भारतको बनारस क्षेत्र नै तीर्थ स्थल मानिन्छ भने मगहरमा मर्नेहरुको असल गति हुँदैन भने मानिन्छ । यस सम्बन्धमा कबीरको अन्तिम इच्छा अचम्मको मानिएको छ । बनारसमा मर्नेहरु स्वर्ग जान्छन् र मगहरमा मर्नेहरु नर्कमा जान्छन् भन्ने मान्यता प्रति विद्रोह गर्दै कबीरदास, जो बनारसमा जन्मे रत्यहीं पूरा जीवन बिताए, उनी मर्ने बेलामा मगहर गएर बसे । आज बनारस बाहेक मगहर कबीरपन्थीहरुको ठूलो तीर्थ बनेको छ ।
नेपालमा कालीण्डकी, बागमती आदि पवित्रतम नदी हुन् । गण्डकीलाई पुराणहरुले पवित्रतम नदी भनेका छन् । त्यसैले अधिकांश नेपालीले अन्तिम संस्कार गण्डकीको तटमा होस् भन्ने चाहन्छन् । त्यसमा पनि रिडी, रामदी, देवघाट, त्रिवेणी अन्तिम संस्कारका लागि विशेष प्रसिद्ध छन् । यी ठाउँहरुमा कल्पवास बस्ने मानिसहरुको कमी छैन । सोही अनुसार, देवघाट आदि पवित्र ठाउँहरुमा उनीहरुको इच्छा अनुसार बसोबास र अन्तिम शरीर संस्कार गरीदिने परम्परा छ ।
तिलोत्तमा नगरपालिका दुईवटा पवित्र नदीको बीचमा छ, तिनाउ र रोहिणी । तिलोत्तको उल्लेख पुराणमा र रोहिणीको उल्लेख बौद्ध ग्रन्थमा छ ।
मणिग्राम क्षेत्रका पुराना बासिन्दा थारुहरुले यहाँका यिनै पवित्र नदी छेउछाउ अन्तिम संस्कार गर्ने परम्परा छ ।
यसैलाई अनुसरण गर्दै भैरहवाका बासिन्दाहरुले डण्डाखोला तटमा र बुटवलका बासिन्दाले तिनाउ नदी तटलाई घाट मानेर शरीरको अन्तिम संस्कार गर्दछन् । धेरैजसोले यसलाई सामान्य परम्पराको रुपमा लिएका छन् भने केहीले यसलाई अन्तिम इच्छाको रुप पनि दिएका छन् । उदाहरणका लागि यस क्षेत्रमा हिन्दु राष्ट्रका लागि निरन्तर आन्लोलनरत रोमणि प्रसाद पाठकले केही समय अघि अन्तिम इच्छा के गरेका थिए भने शरीरको अन्तिम संस्कार नजिकको तिनाउमा गरियोस् । यसअघि तात्कालिक गृहमन्त्री बालकृष्ण खाणले आफ्ना बुबाको अन्तिम संस्कार तिनाउमा गरेका थिए।
समग्र मणिग्राम क्षेत्र लामो यज्ञ परम्परा, मठ मन्दिरहरुम नियमित पूजा प्रवचन हुने गरेका र २०० वर्ष पुराना सम्मका मन्दिरहरुको अस्तित्त्व भएको ठाउँ भएकोले यो क्षेत्र पनि पवित्र बनेको छ । तिनाउ नजिकमा धेरै मन्दिरहरु छन् । सिद्धबाबा धाम, मुक्तिनाथ धाम, मोक्ष धाम जस्ता तीर्थहरु यस नदीका तटमा छन् । निश्चित रुपमा अन्तिम इच्छा प्रति सम्मान राख्नु आश्रितहरुको कर्तव्य हो भने विशिष्ट व्यक्तिको अन्तिम इच्छाले समाजको मार्गदर्शन गर्छ।


