-डम्मर सिंगक लिम्बू , आश्फोर्ड केन्ट, बेलायत
नेपालको पूर्वी भागमा अवस्थित से,मुक्ति मुक्ति कोक्मा/मुक्कुमलुङ अर्थात् पाथीभरामा केवलकार बनाउने या नबनाउने सवालले अब गम्भीर रुप लिएको छ।
यो गम्भीर सवालको पृष्ठभूमि हेर्दा इतिहास शिरोमणि बाबुराम आर्चायका अनुसार महालंगुर दक्षिण फेदीबाट रसाएर निस्केको दुधकोसीमा नुहाउँने आर्य पुरुषहरुमा सबै भन्दा पहिले मुकुन्द सेन (राज्यकाल इ.सन १६१०–५६) का सैनिक देखिन्छन्। मकुन्द सेनका कान्छा छोरा लोहाङ सेन (बि.सं.१६६६–१६९८) ले पूर्वी क्षेत्रमा अधिपत्य जमाउन थालेपछि मात्र उनका सेनाहरू दुधकोसी पूर्वको लिम्बूवान क्षेत्रमा प्रवेश गरेका थिए।
योगी नरहरिनाथको लेखोट (सन्धीपत्र संग्रह–वि.सं.२०२२) अनुसार गोर्खालीहरूले वि.सं. १८३१ सालमा पूर्वमा सभा खोला साँध लगाएका थिए। इतिहास शिरोमणि बाबुराम आर्चायको इतिहास अनुसार आर्य समुदाय पूर्व लागेको करिव ४०० वर्ष र गोर्खाली राज्य विस्तारको गणनामा करिव २५० वर्ष पुगेको देखिन्छ। यस अर्थले पनि हाल विवादमा आएको पाथीभरा डाँडा त्यहीँका रैथानेहरुको मुन्धुम र आस्थासँग जोडिएको देखिन्छ। उनीहरूकै स्वामित्व र भोगचलनमा रहेको देखिन्छ। गोर्खाली सेनामा आवद्ध गुरुङ समुदाय पनि गोर्खाली सेना,पिपा साथै अन्य सहयोगीका रुपमा ताप्लेजुङ पुगेका थिए। उनै एक जना गुरुङ गोठालोको भेडा हराउँदाको उत्पति कथा जोडेर हिन्दू धर्मको कालीका देवीसँग से, मुक्ति मुक्ति कोक्मा/मुक्कुमलुङ अर्थात् पाथीभरा डाँडालाई जोडिएको छ।

वास्तवमा हजारौँ वर्षदेखि बस्दै आएका रैथाने याक्थुङबाहरुले (लिम्बूहरुले) पाथीभरालाई से,मुक्ति मुक्ति कोक्मा/मुक्कुमलुङ भनेर चिन्दै आएका थिए। याक्थुङ भाषामा मुक्कुमलूङ भनेको शक्तिशाली ढुङगा हो। यो भाष्य पनि खासै पुरानो होइन। या (येबा र येमा) हरूको अनुसार उक्त कोक्मा (शिखर,थूम्को) को वास्तविक नाम मुक्कूम लूङ् नभएर से,मूक्ति से,मूक्ति कोक्मा हो। भनिन्छ, ह्वाङ् ती भन्ने शब्द २५०० वर्ष अघि वर्तमान चीनको “शाङ् तङ्” सम्म जोडिन्छ। याक्थुङ मुन्धुमले स्पष्टरुपमा “से,मूक्ति से,मूक्ति कोक्मा” भनेर उल्लेख गरेको छ। जहाँ याक्थुङबाहरुको अनादी अदृश्य सर्वमान्य ईश्वर तागेरानिङवाफुमाङ युमा खेली हिँड्ने डुली हिँड्ने र कुनै समय तान बुन्दै बसेका थिए भन्ने मुन्धम र जनविश्वास यद्यपि छँदैछ।
अहिले पनि तिर्थालुहरुले कसैले ठूलोफेदी र कसैले सानो फेदीबाट काँचो धागो (तानको रुपमा) टाङ्दै पाथीभराको शिखरमा पुग्ने गरेका छन्। शुरुआती दिनमा त्यहाँ कुनै देवी देवताको मूर्तिहरू स्थापना गरिएको थिएन। त्यहाँको रैथानेहरुको आस्थामा ढुङ्गा गाडेर हावा, आगो, पानी, पोखरी, तलाउ, सूर्य, चन्द्रमा, तारा मण्डल र धर्तीको शक्तिलाई सेवा प्रार्थना गर्ने गरिन्थ्यो।
बि.सं. २०३४ सालसम्म प्राकृतिक रुपमा ढुङ्गाहरू मात्र ठडाइएका थिए। त्यहाँका स्थानियवासीहरुका अनुसार खस नेपाली भाषामा पाथीभरा नाम राखिएको (पाथीमा अन्न भरिए जस्तो थुम्को डाँडा) करिव ९० वर्ष जति मात्र भएको छ।
याक्थुङ (लिम्बू) धर्म संस्कृतिको खोज अनुसन्धानकर्ता प्रसिद्ध फ्रेन्च समाजशास्त्री फिलिप सेगान्तका अनुसार प्राचीन तिब्बतीहरुमा झैँ लिम्बूहरूमा पनि हिमाल,पहाड धरतीका स्थानविशेष चट्टान,रुख,पोखरी,पानीको मूल र नदीनालाहरूमा देवीदेवताहरू हुने विश्वास गर्दछन्। उनीहरु प्रकृतिका अनुपम,अद्भुत,अनौठा र अनकण्टार वस्तुहरू साथै ठाउँहरूलाई अलौकिक एवं पवित्र शक्ति तथा सामर्थ्यशाली देवस्थल मान्दछन्।
समाजशास्त्री फिलिप सेगान्तको खोज अनुसन्धानमा भनिए जस्तै लिम्बुवान क्षेत्रको गाउँ ठाउँमा ठूलठूला रुखको फेद,ओढार,डाँडाको थुम्को र पानीका मुलहरुमा चिल्ला र अनौठा ढुङ्गाहरु गाडेर माङयुक्नाहरू (माङधान- देवीथान) स्थापना गरिएको थियो। गोर्खाली राज्यविस्तार पछि तिनै माङयुक्ना अथवा माङधानहरु देवीथानको रुपमा स्थापना भएका थिए। याक्थुङ मुन्धुममा माङधानको वर्णन पाइन्छ तर माङहिमवारे (देवताको घरवारे) उल्लेख भएको पाइदैन। माङधान भनेको तागेरानिङवाफुमाङ्ले सिर्जना गरेको हिमाल,पहाड धरतीका स्थानविशेष चट्टान,रूख,पोखरी,पानीको मूल र नदीनालाहरू हुन्। जसले जे भने पनि याक्थुङ मौलिक संस्कार संस्कृति र परम्परा भनेको पितापुर्खाहरूले मान्दै आएको सत्य अनुभवका ज्ञान अथवा प्रकृतिमा सिर्जित ज्ञानहरु हुन्। तिनै ज्ञान र विश्वासले याक्थुङ समुदायलाई प्रकृतिसँग सुमधुर सम्बन्ध कायम गर्दै संयम र सन्तुलित भईरहन सक्ने बनाएको थियो।
यस्तो प्रकृति र मानवसँग गाँसिएको आस्थाको धरोहर से,मुक्ति मुक्कुमलुङ अर्थात् पाथीभरामा कहिलेदेखि विचलन आउन थाल्यो।
पहिलो त जब गोर्खाली राज्यविस्तार सम्पन्न भयो र राज्यले राज्यको धर्मलाई सहयोग गर्न थाल्यो। खोला नाला,पहाड पर्बत र गाउँ ठाउँहरुको नामहरु खस पर्बते वा गोर्खा भाषामा उच्चारण गर्न थाल्यो। उदाहरणको लागि हजारौ वर्षदेखि ईश्वरको वास भएको भनेर मान्दै आएको फक्ताङलुङ हिमाललाई महाभारतको एक सुताहा पात्र कुम्भकर्ण भनेर नामाकरण गर्यो। जो कि उनका कुनै पिता पुर्खाले करिव २ सय पचास वर्ष अघि मात्र देख्न पाएको थियो। यसरी विस्तारै अतिक्रमणको रंगिन जात्रा शुरु भएको थियो। करिव ५० को दशक अघिसम्म कालीको मूर्ति निर्माण गरिएको थिएन। पाथीभरा थानमा भेटीको रुपमा जम्मा भएको सुन,चाँदी र पैसा कसैले लगे बज्रले प्रहार गरेर मार्छ भन्ने जनविश्वास थियो। जसले गर्दा जे जति भेटीको रुपमा चढाइन्थ्यो त्यहीँ रहने गर्दथ्यो। तर सुन,चाँदी र पैसा संकलन गर्न थालिएपछि लोभी पापी र भ्रष्टहरुको मनमा अझैँ धेरै कमाउने लालसा बढ्दै गयो र हाल केवलकार बनाएर अझ धेरै कमाउने धन्दासम्म पुगेका चन्द्र ढकाल देखिने पात्र हुन। केवलकार निर्माण गर्ने कार्यमा ठूलो राजनैतिक पार्टी नै लागेका छन्।
पाथीभरामा केवलकार बनाउदा के हुन्छ ? नबनाउदा के हुन्छ ?
केवलकार बनाउदा के के हुन्छ?
(क) भैगोलिक भूबनौट तथा प्राकृतिक संरचनाहरु विनास हुनेछन्।
(ख) भूक्ष्य हुन गई बाढी पहिरोबाट पाथीभरा वरिपरीका गाउँ ठाउँहरू विनास हुनेछन्।
(ग) हाल बग्दै गरेका खोला खोल्सा या पानीका मुहानहरू सुक्दै जानेछन्।
(घ) बढे बढे फलामका खम्बा र तारहरु टाङगिएपछि पाथीभराको प्राकृतिक सुन्दरता गुम्नेछ।
(ङ) हजारौँ वर्षदेखि संरक्षण गरिएका हजारौँ गुराँस,चाँप जस्ता अन्य सबै बोट बिरुवाहरू मासिने छन्।
(च) आइ.एल.ओ. १६९ बिपरीत भौतिक संरचनाहरू निर्माण गर्दा स्थानिय लोक विश्वास साथै उनिहरुको आस्था बिपरित कार्य हुने छ। जसले कुनै व्यापारी या पार्टिलाई फाईदा पुग्ने भए पनि हजारौँ वर्ष लगाएर संगालिएका लोक विश्वास र आस्थाहरू माथि तुसारो पात गर्नुका साथै समाप्त गर्ने छ।
(छ) लोकल होटल व्यावसायी तथा मजदुरहरुले गर्दै गरेको काम गुमाउनेछन्।
(ज) भारतको धेरै मन्दिरहरु लगभग पाथीभराकै उचाईमा भएर पनि केवलकार निर्माण गरिएको छैन। त्यहाँ खच्चड र मान्छेले नै तिर्थयात्रीहरुलाई बोकेर लगिन्छ। भारतमा जस्तै पाथीभरामा पनि प्राकृतिक मैत्रीपूर्ण बनाइनु पर्दछ।
(झ) ठूलो फेदी या सानो फेदीसम्म सडक,आराम गर्ने चौतारा र खाजाघरहरू निर्माण गरि तिर्थयात्रीहरूलाई आरामदायी एवं सुविधायुक्त बनाउनुपर्दछ।
(ञ) ठूलो फेदी या सानो फेदीबाट पैदल यात्रा गरेर शिखर पुग्नुको मजा र आनन्द नै अर्कै हुन्छ।
(ट) केवलकार बनाउँदा पाथीभरा तिर्थस्थल भन्दा लभ स्पोटको रुपमा विकास हुनेछ। जसले गर्दा अनैतिक कार्यले बढावा पाउने सम्भावना रहन्छ।
केवलकार नबनाउदा के हुन्छ?
(बनाउनु पर्दछ भन्नेहरुको तर्क)
(क) केवलकार बनाउँदा जिल्लामा ठूलो विकासको मूल फुट्छ। कस्तो विकास हो? त्यसको स्पष्ट चर्चा र व्याख्या गरिएको छैन्।
(ख) असक्त तिर्थालुहरूलाई सहज हुन्छ।
(ग) देश विदेशका पर्यटकहरू बढ्नेछन्। जसले गर्दा जिल्लाको आयमा बृद्धि हुन्छ।
(घ) केवलकारबाट जिल्लाको ढुकुटीमा राजस्व संकलन हुनेछ।
प्रसिद्ध इतिहासकार तथा लेखक थोमस मेकउले र मिलले भारतीय इतिहासकारहरू इतिहास लेखनका लागि असक्षम छन् भनेका थिए। नेपालमा पनि त्यहि आँखाले हेरियो भने नेपालका इतिहासकार र अर्थविदहरु पनि त्यो दृष्टिबाट पर भाग्न सक्दैनन्। वास्तवमा केवलकारबाट राज्यलाई न भरथेक ठूलो राजस्व संकलन हुन्छ न ग्रासरुटका आम स्थानिय जनताले रोजगार पाउनेछन्। अर्थ संकलन भए उनै चन्द ढकाल साथै कबोल गरिएको पार्टीले कमिसन पाउने हुन्।
आफूलाई लागेको कुरा खुलस्त पारियो। हालसालै शिलन्यास गर्ने मूख्य नाइके को को थिए? कसले प्रयोग गर्दैछ भन्ने स्पस्टैछ। तर अव नेपालमा नाजी र जङ्गे शासनले जनतालाई जुवामा नार्न सकिँदैन भन्ने ज्ञात होस्। सांस्कृतिक एवं धार्मिक अतिक्रमणले अति गरेपछि अव स्थानिय जनताहरू चुप लागेर बस्दैनन्। यो पुस्तालाई सैनिक शासन लगाएर केवलकार बनाए पनि यही पुस्ताले ढाल्नेछन्।
पाथीभरा देवीको नामले पुकारिनु भन्दा अगाडी “युमा युङदने इदेन” (युमा बस्ने घुम्ने ठाउँ) पञ्चकालिकादेवी (पञ्चकन्या रक्तकाली) अथवा जे जे भने पनि सबैले मानौँ। तर केवलकार बनाएर त्यो ठाउँलाई अपवित्र बनाई व्यापार गर्ने थलोको रुपमा भने विकास नगरौँ।
यदि जबरजस्ती केवलकार निर्माण गरियो भने देशका शासक तथा तिनका झोलेहरूलाई से,मुक्ती, मुक्ती कोक्मा/मुक्कुमलुङ अर्थात पाथीभराको ठूलो फेदीमा जम्मा गरेर एक एक गर्दै तारो हान्ने दिन आउनेछ।

