-राम ढुंगाना
काठमाण्डौं उपत्यकामा मानिस बसाई सराई गरेर आउँनुको विभिन्न कारण मध्ये एक कारण बसोबासको लागी यहाँको अनुकुल हावापानी पनि हो।गर्मी-जाडो दुवै मौसममा यहाँको हावापानी मानिसको लागी उपयुक्त छ। धेरै जाडो र धेरै गर्मी नहुने भएकाले पनि यहाँको हावापानीले धेरै चिसो हुने हिमाली भेगमा बसोबास गर्ने र धेरै गर्मी हुने तराईका मानिसलाई आकर्षित गरेको हो।
यतिबेला,झापा,भैरहवा,नेपालगंज लगायतका जिल्लामा गर्मीले मानिसहरु उकुसमुकुस भएका छन्।गर्मीकौ कारण दिउँसो घर-बाहिर हिडडुल गर्न र खेतबारीमा काम गर्न समेत नसकिने अबस्था छ।
उपत्यकाको अनुकुल हावापानीको कुरा गर्दा अब पुराना दिन जस्तो छैन यहाँको हावापानी।उपत्यकाको तापक्रम विस्तारै उकालो लाग्दैछ।हिजो-आज ३३-३४ डिग्री पुगिसक्यो।भोलीका दिनमा उपत्यकाको तापक्रम झन् उकालो लाग्नेमा शंका छैन।

जसरी महिलाको सौन्दर्यलाई ओठको लिपिष्टिकले अझ सुन्दर देखाउँछ त्यस्तै आफैमा सुन्दर काठमाण्डौं उपत्यकालाई यहाँको अनुकुल हावापानीले अझ सौन्दर्यता थपेको थियो।तर,यो सौन्दर्य टिकिरहन सकेन।यहाँको बढ्दो तापक्रम र प्रदुषणले अब काठमाण्डौं उपत्यका प्रदुषित र तातो शहरमा परिणत भईसक्यो।
मध्यपूर्वमा रहेको निकै सानो देश हो इजरायल। इजरायलको वित्तिय राजधानी र प्राविधिक केन्द्र भनेर चिनिने सानो शहर हो तेलअभिव।तेलअभिवमा घर-जग्गाको मूल्य अमेरिकाको न्यूयोर्कको भन्दा महङ्गो छ भनिन्छ।त्यस्तो महङ्गो ठाऊँमा समेत केही किलोमिटरको दूरीमा दशौं किलोमिटर लम्बाई र चौडाईका पार्कहरु बनाईएका छन्।नेपालमा जस्तो खाली जग्गा देख्ने बित्तिकै कुनै न कुनै संरचना त्यहाँ ठड्याईदैन।
एकीकृत बस्तीको बीचमा समेत निकै ठूला प्रशस्तै हरियालीयुक्त सुन्दर पार्कहरु अनिवार्य रुपमा बनाउँनै पर्ने नियम नै छ।ठाउँ-ठाउँमा हरियाली सहित बनाईएका सुन्दर पार्कले तेलअभिव शहरको सौन्दर्य निकै बढाएको छ।त्यहाँका मानिसको जीवनशैली र स्वास्थ्य सँग यस्ता पार्कहरु र खाली ठाऊँ जोडिएका हुन्छन्।जहाँ मानिसले स्वास्थ्य रहन व्यायाम गर्ने,रमाईलो बेला गर्न खुला पार्कमा पिकनिक गर्ने,सांगितीक लगायतका कार्यक्रम गर्ने गर्छन्।यस्ता पार्क मानिसका दुःख-सुखका साथी पनि हुन्।जहाँ मानिस खुशी र दुखमा गएर समय विताउँन सक्छन्। गर्मीमा रुखका सितल छहारीको आनन्द लुट्ने गर्छन्।
ठूला-साना र व्यस्त शहरका सडक पेटीमा थोपा सिंचाई प्रणाली मार्फत प्रत्येक रुख विरुवाको जरामा पानी पुर्र्याएर रुख विरुवा हुर्काएका छन्।जस्ले शहरको सौन्दर्य बढाउँन भूमिका खेल्छन्।मरुभूमिको देश इजरायलमा जताततै हरियाली देखिन्छ,मानिस बस्न लायक शहर बनाएका छन्।
इजरायलमा अब्यबस्थित बसोबास कहिकतै पनि देखिन्न।एकीकृत-अव्यवस्थित बस्ती छ।जताततै खुला स्थान र हरियाली भेटिन्छ।त्यसैले त मध्यपूर्वमा रहेको मरुभूमिको देश इजरायलको जमीनमा आजभोली सितलता बढिरहेको छ।
प्रकृतिले नै अनुकुल हावापानी दिएको हाम्रो काठमाण्डौं उपत्यका जहाँ हामीले कुनै रुख-विरुवालाई इजरायलको जस्तो जरा-जरामा पानी हालेर हुर्काउँन र जोगाउँन पर्ने अवस्था छैन।यहाँ ढुङ्ङाको पहरामा समेत रुख-विरुवा उम्रिन्छन्।यस्तो ठाउँ अबको केही दशक भित्र मरुभूमि झैं तातोमा परिणत हुँदैछ भन्दा हतारोमा भनेको नहोला ! बढ्दै गएको तापक्रम यस्को ज्वलन्त उदाहरण हो।
जताततै अव्यवस्थित कंक्रिटका संरचना बनाइएका छन्।व्यवस्थित र एकीकृत बस्ती छैनन्।एकिकृत बस्तीको लागी जग्गा प्लटिङ्ग भएको ठाऊँमा समेत पर्याप्त खाली ठाऊँ छोडिएको छैन।राजधानीमा एक फन्को लगाउँने हो भने सडकपेटीमा रुख-विरुवा देखिदैनन्।बरु हिममानव ‘यती’ देखिएला रुख-विरुवा देख्न मुस्किल पर्छ।रुख मानिसको यो शहर मानिस बस्ने स्थान कम मुर्दाहरुको शहर जस्तो लाग्छ।
अर्को डर लाग्दो कुरा भनेको उपत्यकाको डाँडापाखामा भईरहेका डर लाग्दो प्लटिङ्ग हो।जस्को कारण पानीको मुल सुकेका छन्।वन विनास भएको छ।प्रकृतिको दोहन भएको छ। प्लटिङ्गको लागी स्विकृती नै दिन दिन नहुने ठाउँमा समेत स्विकृती दिएर स्थानीय सरकार र जनप्रतिनिधीले आफ्नै क्षेत्रमा विनाशको जग बसाएका छन्।
उपत्यका आसपासका जङ्गलबाट निस्किने साना खोल्सा र नदीहरुमा पहिलाको जस्तो पानी छैन।कति त सुकिसकेका छन्।जङ्गल भित्र भौतिक संरचना बन्नु,तिव्र रुख फडानी र आगजनी हुनु अनि उपत्यकामा जताततै वायु प्रदुषण फैलाउँने विभिन्न उधोगले पनि यहाँको तापक्रम बृद्धिमा सहयोग गरिरहेको छ।
खाली ठाऊँ देख्ने बित्तिकै त्यहाँ भौतिक संरचना बनाउँन सरकारकै अधिकारी तम्सिन्छन्।उनीहरुको दिमाखले खुला स्थानको कल्पना नै गर्दैन।अझ स्थानीय सरकार समेत हरियाली बढाउँने,खाली रहेको स्थानलाई संरक्षण गर्नमा भन्दा कमिसनको लागी त्यस्ता ठाउँमा कंक्रिटका भौतिक संरचना निर्माणमा अगाडी सर्छन्।
विकाशको नाममा जथाभावी रुख काटिएका छन्।रुखको महत्व बुझेकाहरूले पनि रुख-विरुवा जोगाउँन उदासीनता देखाएका छन्।पहिला हामीले वातावरण शिक्षा पढ्दा रुखको महत्व बुझाईन्थ्यो।हामीलाई सानैदेखी रुख विरुवा प्रति माया पलाउँथ्यो।सम्भवतःअहिले त्यस्तो खाले शिक्षा पनि पढाईदैन।
कुनै समय धर्तीको स्वर्गको रुपमा बर्णन गरिएको उपत्यका आज संसारकै प्रदुषित शहरमा सूचिकृत त भईसकेको छ।गर्मी थाहा नपाएका उपत्यकावासी अब अरब देशको जस्तो गर्मी भोग्न थालिसकेका छन्।
हरियाली विना समृद्ध र सुन्दर शहरको कल्पना गर्न सकिदैन।प्रचण्ड गर्मी भोगिरहेका हामी घामलाई दोष दिन्छौं तर हरियाली बढाउँने दायित्व हाम्रो आफ्नो भएको कुरा बिर्सिन्छौ।धेरै बिग्रिसकेको छ उपत्यका तर,अहिले पनि हामी धेरै कुरा गर्न सक्छौं।रुख विरुवा रोप्ने,भएका रुख विरुवा जथाभावी नकाट्ने,सरकारी स्तरबाट प्लटिङ्गको नाममा भईरहेको विनाश रोक्ने कुरामा सचेत हुने भने हामी बढ्दो तापक्रमलाई कम गर्न सक्छौं।
त्यसको लागी जनस्तर र सरकारी तर्फबाट अभियान नै थाल्नपर्ने आवश्यकता छ।

