–बिपुल विक्रम , इतिहास तथा मानव विकाश शास्त्र अध्येता
ऐतिहासिक तथ्यहरू र पुरातात्त्विक साक्षहरूको आधारमा यदि कुनै धर्मका प्रवर्तक प्रमाणित छन् भने त्यो केवल बुद्ध मात्रै हुन् । बुद्धको जन्म ५६३ ई.पू मानिन्छ र यसको प्रमाणका लागि बुद्धको जन्मभूमि, बुद्धले महानिर्वाण लिएको स्थल, ज्ञान पाएको र प्रथम उपदेश गरेको स्थलहरू मात्रै नभएर बुद्धको दाहसंस्कार पछि अस्तुका रूपमा बचेको उनको दाँत, कपाल र हड्डीका अवशेषहरू समेत छन्, जसलाई अजातसत्रु लगायत अन्य मल्ल र शाक्य राजाहरूले आ-आफ्नो राज्यमा लगेर भारत र नेपालका आठ ठाउँमा गाडेर त्यहाँ माथि स्तूप बनाएका थिए र ती स्तूप अझै छन् । यस मध्ये केही स्थानहरूमा उत्खनन गरेर यसको प्रमाणिकता जाँच गरिसकिएको छ भने नेपालको पिप्रहवा सिद्धार्थनगरमा रहेको अस्तु उत्खनन भने अहिलेसम्म भएको छैन । सम्राट अशोकले बुद्ध धर्म अपनाएपछि ती सातै ठाउँका बुद्धका अस्तुहरूलाई ८४ हजार स्थानमा गाडेर स्तूप बनाएका थिए भन्ने एक भनाई पनि छ । यी मध्ये बुद्धको दाँत अझै पनि श्रीलङ्कामा सुरक्षित नै छ । यसको विपरीत बुद्धभन्दा साढे पाँच सय वर्ष पछाडि जन्मेका जिजस क्राइस्ट र जिजस भन्दा ६०० वर्ष पछि जन्मिएका हजरत मुहम्मद दुवैको हालसम्म पनि कुनै ऐतिहासिक तथ्यहरू र पुरातात्त्विक साक्षहरू भेटिएका छैनन् । यी दुवैको आधारमा जिजस र मुहम्मद मात्र नभएर बाइबल र कुरानका बारेमा समेत थुप्रै कन्ट्राेभर्सिहरू र कन्स्पिरेसिहरू छन् । बुद्धले सारा उपदेश मौखिक रूपमा दिएका थिए, जसलाई उनका शिष्यहरूले आफ्नो जीवनकालमै कण्ठ गरेर राखेका थिए । बुद्धका उपदेश दुई प्रकारका थिए, पहिलो साधारण धम्म र दर्शनका विषयमा (धम्म) र दोश्रो भिक्षु भिक्षुणीहरूको नियमका रूपमा (विनय) । धम्म र विनय दुवैलाई बुद्ध निर्वाणकै वर्ष राजगृह पटनामा भएको प्रथम संगीतिमा संगायन गरिएको थियो, जुन आजसम्म अक्षरशः सुरक्षित छन् । प्रथम संगीतिमा धम्ममा लेखिएका कुरा अथेन्टिक छन् या छैनन् भन्ने कुरा जाँच्ने कार्य बुद्धकै चिर-अनुचर र व्यक्तिगत सहायक आनन्दसँग गरिएको थियो भने विनयमा भएका नियमहरू ऋथेन्टिक छन् या छैनन् भन्ने निर्णय बुद्धले प्रशंसा गरेका शिष्य उपालीले गरेका थिए । यसरी बुद्धको निर्वाणकै साल धम्म र विनयको संगायन गरिएको हुँदा यी बुद्धकै वाणी हुन् भन्ने ठोस प्रमाणहरू हुन् । यसको विपरीत कुरान मुहम्मदको मृत्युको डेढ सय वर्षपछि लिखतमा उतारिएको हो भने बाइबल पनि “ओल्ड र न्यु टेस्टामेन्ट” हुँदै थुप्रै पटक संशोधन भइसकेको हुँदा कुरानमा लेखिएका कुराहरू लामो समयको अन्तरको कारण मुहम्मदले नै ठ्याक्कै भनेका कुराहरू हुन् भन्न र त्यसमा कुनै परिवर्तन भएको छैन भन्न कठिन छ भने बाइबल त थुप्रै पटक संशोधन भइसकेको हुँदा त्यसका वचनमा जिजसको बचनका कति सत्यता छन् भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ ।

जति बेला बुद्ध भएका थिए त्यति बेला भाषा भए पनि लिपिको भने विकास भइसकेको थिएन । यसैले बुद्धका दर्शन र वाणीहरू पनि कण्ठस्थ गरेर श्रुति परम्परामै राखिएको थियो । केही वामपन्थी विचारधाराका व्यक्तिहरू त्यति बेला संस्कृत भाषा पनि थिएन र वेद पनि बुद्ध पछिको ग्रन्थ हो भन्ने दाबी गरेर अनेकन कुराहरू गर्दछन्, जुन सरासर झुटो हो । संस्कृत भाषा त्यति बेला पनि थियो, वेद त्यति बेला पनि थियो तर त्यो त्रिवेदको रूपमा मात्रै थियो, जसको उल्लेख स्वयं बुद्धले नै गरेका छन् । बुद्ध स्वयंले आफ्नो प्रवचनहरू संस्कृत भाषामा नगरेर जनमानसको सहजताका लागि लोक भाषा मागधीमा गर्ने निर्णय लिएका थिए र उनका प्रवचनहरू, धम्म र विनयहरू त्रिपिटकको रूपमा मागधी भाषामै पहिलो पटक लेखिएको छ ।
बुद्ध कालमा लिपिको विकाश नभइसकेको हुँदा बुद्ध वचनहरू र वेद पनि त्यति बेला श्रुति परम्परामा कथ्य रूपमै थियो । र यो पनि सत्य हो कि भाषाको आधारमा हेर्दा संस्कृत भाषामा त्यति बेलाका थुप्रै प्राकृत भाषाका शब्दहरू पनि परिमार्जन गरेर लिइएका थिए जुन ब्राह्मण ग्रन्थहरू र उपनिषदमा देख्न सकिन्छ । बुद्धकै समयमा उपनिषदहरू लेखिन थालिएको थियो जसको प्रभाव बुद्धको बिचारमा पनि परेको देखिन्छ । बुद्धको पञ्चशीलमा छान्दोग्य उपनिषदको छाप देख्न सकिनछ भने आष्टाङ्ग मार्गमा तैत्तरिय उपनिषदको । यसै गरेर बुद्धका बिचारहरूमा, शील आचरण र सम्यक बिचारमा अवेस्ताको पनि झलक देख्न सकिन्छ जुन बुद्धभन्दा अगाडिको हो । बुद्धलाई दुई ब्राह्मणहरू आलाम कालाम र उद्रक रामपुत्तले योग, तप र ध्यानका केही विधिहरू सिकाएका थिए । सम्यक मार्गको आधारमा बुद्धले पुनर्जन्मलाई अव्यक्त रूपमा स्वीकारेका छन् ।
बुद्ध धम्म वास्तवमा धर्म नभएर दर्शन, नैतिकता, शील (आचरण) र मानवताका लागि गरिएको उपदेश हो । जति बेला बुद्धको उदय भयो त्यति बेला ब्राह्मण धर्म (सनातन शब्द बुद्धले प्रयोग गरेको शब्द हो, जसलाई ब्राह्मणहरूले प्रयोग गर्दै ब्राह्मण धर्मलाई सनातन भन्न थाले) याज्ञिक क्रिया र कर्मकाण्ड प्रधान थियो । त्रिवेद र कर्मकाण्डको संस्कृत भाषा केवल ब्राह्मणहरूको अधीनमा थियो, यसैले भाषाको उपयोग गर्दै गरिने कर्मकाण्ड र यज्ञहरू सरल साधारण जनमानसले नबुझ्ने थियो भने मन्त्रहरूको प्रयोग पनि ब्राह्मणहरू आफ्नो आडम्बर र स्वार्थका लागि प्रयोग गर्दथे, “सर्वम् एवा विशिष्यते” मन्त्रलाई “सर्वम् मेवा विशिष्यते” अर्थ लगाएर मेवा जति आफै हसुर्थे । एक प्रकारले ब्राह्मणहरू अगोचर देवताहरू र मानव बिचका सम्पर्क एजेन्ट थिए, जसको बिना भगवानलाई पाउनु या भगवानबाट आशीर्वाद लाभ लिन असम्भव थियो र यिनलाई नपत्याउनु पनि पाप थियो भने पत्याउनुमा कुनै तुक थिएन । ब्राह्मणहरूले यज्ञ, हवन, पूजापाठ, उपासना दान व्रत तीर्थ सबैमा केही न केही सर्त राखिदिएका थिए भने भाषाको कारण पनि सर्वसाधारण उनैको शरणमा पर्नु पर्दथ्यो । दान दक्षिणा लगायत अन्य लाभ लिनका लागि ब्राह्मणहरू किसिम किसिमको व्यर्थ क्रियाहरूमा जनमानसलाई अल्झाउँथे, यसो हुँदा जनमानसहरूमा धर्मप्रति बिरक्ती र विरोधको भाव उत्पन्न भइसकेको थियो भने धर्म आफैमा खोक्रो भइसकेको थियो ।
वेद र कर्मकाण्डका धर्म सिद्धान्तहरू निक्कै माथिल्ला स्तरका थिए भने भाषाका कारण जनमानसले वेद र कर्मकाण्डका कथनहरूलाई सरल रूपमा बुझ्न सकिरहेका थिएनन् ।
यस्तैमा बुद्धको उदय भयो उनको दर्शन र बिचारहरू वेदका भन्दा सरल ज्ञानका थिए भने कर्मकाण्डको स्थानमा बुद्धले नैतिक आचरण, शील, ज्ञान, तर्क र बुद्धिको प्रयोगलाई अपनाउन आग्रह गरे र त्यसलाई सरल रूपमा व्याख्या गर्दै अनपढ जनमानसलाई पनि बुझाउन उपमा, उदाहरण तुलनाहरूको प्रयोग गर्दै प्रवचनमा दिन थाले । यज्ञादि र कर्मकाण्डी बोझमा डुबेका मानिसहरूले बुद्धको सरल सहज ज्ञान साधारण सजिलै बुझे र बुद्धप्रति आकर्षित हुन थाले । यज्ञ, दान, बलि आदिको माध्यमबाट धर्म हुने र अर्को स्वर्ग पाउन आशामा लुटिएकाहरूलाई बुद्धले सहज रूपमा यसै जन्ममा आफै निर्वाण पाउन सक्ने ज्ञान दिँदै परलोकको मोह हटाई दिए । बुद्धले वेदका अब्याकृत प्रश्नहरू (Metaphysical questions), जसलाई लिएर त्यति बेलाका ब्राह्मणहरू पनि मगज खियाइ रहेका थिए, लाई चटक्कै छोडिदिए र पञ्च ज्ञानेन्द्रिय र मन गरेर षडायतनलाई नै प्रमाण माने । यसले तत्कालीन ब्राह्मण वर्गको मोहभङ्ग भयो भने सर्वसाधारणले पनि सरल ज्ञानको गङ्गामा डुबुल्की लगाउन थाले । यो बुद्ध शिक्षाकै प्रभाव थियो कि बुद्ध सारा एसिया भरी विख्यात भए । बुद्धको प्रभाव यति थियो कि बुद्धत्व पाइसकेपछि बुद्धका पिता गणपति शुद्धोधनले आफ्ना भतिजलाई भने, “म तिमीलाई बुद्धकहाँ पठाउँदै छु, मलाई थाहा छ बुद्धको दर्शन पाएपछि तिमी पनि फर्कनौ, संन्यास लिने छौ, तर पनि बुद्धलाई एक पटक यता आउन निम्ता देऊ ।”
जबसम्म बुद्ध जीवित थिए तबसम्म यो दर्शनको प्रभाव टाढा टाढासम्म फैलिएको थियो र बुद्धको महापरिनिर्वाणपछि पनि अशोकको कारण बुद्ध दर्शन पूर्वमा इन्डोनेसियादेखि पश्चिममा सिरियासम्म फैलिएको थियो । यति हुँदाहुँदै पनि बुद्ध दर्शन जुन रूपमा प्रसारित भएको थियो त्यही रूपमा ह्रास हुन पुग्यो । जसको कारण तल उल्लेख गरिने छ ।
ब्राह्मण धर्मको ठाडो विरोध: बुद्धले ब्राह्मण धर्मलाई तर्कको आधारमा अस्वीकार गरेका थिए । बुद्धले वेदलाई प्रमाण मात्र मानेनन् तर यसको ठाडाे विरोध गरेनन्, निन्दा गरेनन्, खाली तर्क, उदाहरण, उपमाका आधारमा खण्डन मात्रै गरे । बुद्धको महानिर्वाण पश्चात् भने बुद्धमार्गिहरूले वेद र ब्राह्मण वर्गको खुलेरै विरोध र निन्दा गर्न थाले । यसको प्रभाव के भयो भने ब्राह्मण धर्मले भित्रभिकै यसका दोषहरू हटाउन सुरु गर्यो, बलि प्रथामा रोक लगायो मांस भक्षणलाई निन्दनिय ठहराउँदै सुधार गर्न थाल्यो ।
सैद्धान्तिक कमजोरी: बुद्धले धम्म र विनयका लागि बनाएका नियमहरू कठोर र कठिन थिए । बुद्धले जे जति दर्शन र विनयहरू बनाए त्यसलाई नैतिक रूपमा आफूले अटुट पालना गरिरहे । आफूले बनाएका शील र नियमहरूमा बुद्ध कतिसम्म सचेत थिए भने उनले एउटै माटोको भिक्षा पात्र ४५ वर्षसम्म प्रयोग गरेका थिए, जुन महापरिनिर्वाण लिनु अगाडि चिनोको रूपमा दान दिएका थिए । बुद्ध पछि यो सचेतता पछिका बुद्धमार्गिहरूमा कम हुँदै जान थाल्यो । बुद्धको सादा जीवनको अनुकरण, विनयको पालना पछिका बुद्धमार्गिहरूले छोड्दै गए । बुद्धले बनाएका शिलहरू पछि गएर भिक्षुहरूको लागि कठिन हुँदै गयो, संघमा धनको सुविदाले गर्दा भिक्षुहरू आलसी हुँदै गए, भिक्षाको भरमा जीवन निर्वाह गर्न कठिन मान्न थाले, जीवन विलासी हुँदै जान थाल्यो, र प्रथम संगीति (सम्मेलन) पछि नै वुद्धले बनाएका शीलको अवज्ञा हुन थाल्यो । वुद्धले संघका भिक्षुहरूलाई यदि बाँच्नको लागि कुनै उद्योग गर्न लगाएको भए ती स्वावलम्बी हुन्थे ।
नैतिकताको पतनः कनक (सुन) र कामिनी (नारी) योगिहरूको कमजोरी हो भन्ने बुझेका बुद्धले संघमा नारीको प्रवेषलाई वर्जित गरेका थिए । तर बुद्ध कालमै नारीको प्रवेश र पछि संघमा थुप्रिन थालेको कनकले बुद्धमार्गिहरूमा विकृति ल्याउन थाल्यो । संघमा थुप्रिएको अपार धन, स्त्री सानिध्यता, बुद्ध दर्शनको बढीचढी व्याख्या, हठ योगको गलत प्रयोग आदिले बुद्ध मार्गिहरूमा विचलन बढ्दै नैतिकता पतन तिर उन्मुख गरायो ।
पुष्यमित्र सुङः भारतमा फायानको पालासम्म बुद्ध दर्शनको अवस्था अत्यन्त सुन्दर थियो । यतिबेला सम्म बुद्ध मार्ग राजपरिवारबाटै संरक्षित थियो, संघको लागि जमिनहरू प्रशस्त उपलव्ध गराइन्थे, धनकुवेर व्यापरीहरू बुद्धका अगाडि धन, जमिन दान गर्दथे, नालन्दा र विकमशीला जस्ता महाविद्यालयहरू स्थापित थिए, कुशीनगरको संघमा सात-आठ सय बौद्ध विद्यार्थी थिए भन्ने कुरा फायानले नै उल्लेख गरेका छन् । जहाँसम्म पुष्यमित्र सुङले बुद्ध मठहरू जलाएको, भन्तेहरूको आमहत्या गरेको कुरा छ त्यसमा आंशिक सत्यता छ । सम्राट अशोक र उनका पुत्रको कालसम्म भारतवर्ष भरी बुद्ध धम्मकाे अधिपत्य थियो । अशोकले बुद्ध मार्ग अवलम्बन गरेपछि पनि राज्य सीमा नबढेको होइन्, बढेको थियो तर बिचार, विमर्ष र आपसी सहमतिद्वारा बृहत् शक्तिशाली राज्य निर्माणको लागि । पुष्यमित्र मागि ब्राह्मण थिए, जो अशोकका नाति बृहद्रथको सेनापति थिए । त्यतिबेला यवनहरूले भारतमा आक्रमण गर्न खोजिरहेका थिए, तर विशाल मगध राज्यको डरका कारण आँट गरिरहेका थिएनन् । यस्तैमा यवनहरूका केही जासुसहरू संघमा बुद्धमार्गि बनेर भेष बदलेर लुकेर बसेका थिए र ती संघका संरक्षणमा थिए । अशोकले वुद्धमार्ग अपनाए पनि उनका अधिनका कतिपय राज्यहरूमा त्यतिबेला पनि ब्राह्मण धर्म नै कायम थियो । यवनले भारत विजय पश्चात सारा भारतमा बुद्धमार्गलाई राष्ट्रिय धर्मको रूप दिने प्रलोभनमा ती जासुसहरूलाई संरक्षण दिइएको थियो । यस्तैमा यवनहरूले आक्रमण गर्ने खबर पाएका पुष्यमित्रले राजा बृहद्रथलाई बारम्बार युद्धको लागि सचेत गराईरहेका थिए तर बृहद्रथले आफू बुद्ध मार्गि भएकोले युद्धको लागि नमानेकाले पुष्यमित्रद्वारा उनको हत्या भयो । पुष्यमित्र राजा बनेपछि उनले यवनहरूको विरुद्ध युद्ध गरे, लुकेका ती जासुसहरू र संरक्षक भिक्षुहरूलाई मृत्युदण्ड दिए, भागेर गएका बुद्धभिक्षुहरूलाई पनि समातेर मृत्युदण्ड दिए । तथापि, यसबारेमा जति बढाइचढाई गरेर भनिने गरिन्छ त्यति सही होइन् । पुष्यमित्र पछि आएका फायानको वर्णनले पनि त्यतिबेलाको बुद्ध मार्गिहरू, भिक्षुहरू र संघको अवस्थाका बारेमा लेखेका छन्, जसले यसको खण्डन गर्छ । विशाल राज्यको राजा भएकाले समाजिक व्यबस्था खल्बलिन नदिन पनि पुष्यमित्रले हजारौँ बुद्धभिक्षुहरूको हत्या गरेको कुरा सहजै पत्याउन सकिन्न । ह्वेनसांग र इत्सिंगको वर्णनले पनि सातौँ शताब्दिसम्म भारतमा वुद्धमार्गिहरूको अवस्था राम्रै रहेको उल्लेख गरेका छन् । वुद्धमार्गिहरूले भन्ने गरेझैँ पुष्यमित्रकै कारण वुद्ध दर्शनको ह्रास भएको होइन, अपितु पुष्यमित्रको कारण मगध जस्तो ठूलो देशमा एकपटक फेरि ब्राह्मण समर्थक राजा भएकाले ब्राह्मणहरूले सन्तोषको सास लिएर पुनः ब्राह्मण धर्मको उन्नयन गर्ने मौका पाए भने राष्ट्रप्रेमी जनता र सर्वसाधारणहरू पहिलो पटक प्रतक्ष्य रूपमा बुद्ध धर्मावलम्बी र संघसँग रुष्ट हुन पुगे ।
ब्राह्मण धर्मसँग प्रतिश्पर्धा: बुद्ध दर्शनको ह्रास हुनुको प्रमुख कारण भने यही हो । सातौँ शताव्दिसम्म आइपुग्दा पनि भारतमा बुद्ध मार्गिहरूको अवस्था राम्रो थियो, तर यतिबेलासम्म भने माथि उल्लेख गरिएका विकृतिहरू पनि भित्रिसकेका । बुद्ध मार्गिहरूको चर्या ब्राह्मण धर्म र ब्राह्मणहरूको विरोध गर्नु हुन गयो । संघमा भित्रिएको अकूत धन र राजकिय संरक्षणका कारण ब्राह्मणहरू दबेका थिए । बुद्धको महापरिनिर्वाण पछि नै मतभेद नहोस भनेर प्रथम संगीतिमा विनयका केही नियमहरूको जुन संगायन गरिएको थियो, यसको सय वर्ष पछि नै वैशालीका भिक्षुहरूले यसको अवहेलना गर्न थालिसकेका थिए । यतिबेला संघहरू बिभाजित भइसकेका थिए, सबैको आ-आफ्नो राय कायम गरिसकेका थिए । धम्म र विनयका विवादग्रस्त विषयहरूलाई लिएर दोश्रो संगीति गरियो तर थुप्रै भिक्षुहरू सहमत भएनन् र कौशाम्बीमा छुट्टै सम्मेलन गरे, जसलाई महायान या महासांघिक भनियो भने बुद्धको विनय र शीललाई जस्तातस्तै मान्ने बृद्ध भिक्षुहरूका (स्थविर) कारण पुरानो संघलाई स्थविरवाद भनियो, महायानीहरूले यस संघका मानिसहरूको मति हीन भएको घोषण गर्दै यस मार्गलाई हिनयान भनि सम्बोधन गरे । यसरी बुद्धमतमा पछि अठाह्र निकायहरूको जन्म हुन गयो, त्यस मध्ये हिनयान, महायान र बज्रयान प्रमुख छन् ।
बुद्ध मत र दर्शनलाई अबलम्बन गरेर अहिलेसम्म बढीरहेको हिनयान या स्थविरवाद नै बुद्ध मार्ग हो । दोश्रो संगीतिपछि जन्मिएका अन्य निकायहरूमा विनय र अभिधम्मलाई लिएर ठूलो मतभेद हुन थाल्यो, उनिहरूको मान्यता अनुसार विनय र धम्ममा पनि बिभिन्न भेदहरू देखिन थाले । यसमा सबैभन्दा अगाडि महायान आयो । बुद्ध मानव थिए भन्ने मतलाई त्यागेर महायानीहरूले बुद्ध अद्भुत लोकोत्तर दीव्य शक्तियुक्त भगवान मान्न थाले । जहाँ हिनयानीहरू पुरानै रूपमा बुद्धको मत र दर्शन लिएर हिँडिरहेका थिए, त्यसको विपरित महायानीहरूले ब्राह्मण धर्मसँग प्रतिश्पर्धा गर्दै ब्राह्मण धर्मकै सिको गरेर बुद्धलाई भगवान बनाउन बुद्धको अमानुषिक लिलायुक्त ग्रन्थहरूको रचना र समर्थन गर्न थाले । बुद्धले आत्मा, आत्मा र शरीरको सम्बन्ध, शंसारको नित्य अनित्यता, मृत्युपछिको जीवन आदि अव्यकृत प्रश्नहरूको उत्तर दिएनन् या त्यसको बारेमा मौन बसे । यसको विपरित महायानिहरू यिनै अव्यकृत विषयमा अधिक आकर्षित हुन थाले ।
ब्राह्मण धर्मको एउटा विशेषता के हो भने समयानुकूल परिवर्तन र अन्य धर्मका कुराहरूलाई पनि आत्मसात गर्नु र त्यसलाई आफ्नै बनाउँदै लैजानु छ । शीव वैदिक देव नभए पनि उनलाई आत्मसात गरिएको छ, प्रमुख देव बनाइएको छ, यससँग जोडिएको तन्त्र र यन्त्रलाई पनि गाभिएको छ । महायानीहरू चौथो शताब्दिको सुरूवात देखि नै तन्त्र मार्गप्रति आकर्षित हुन थालिसकेका थिए, पाँचौ शताब्दि देखि त तन्त्रमार्गकै अनुशरण गर्न थाले, यसका लागि अनेक मन्त्रहरू र विधिहरूको निर्माण भयो । ब्राह्मणहरूको बाक्लै प्रवेशको कारणले दुवै यानहरूका त्रिपिटक र अन्य ग्रन्थहरू पनि ब्राह्मणहरूकै प्रिय भाषा संस्कृतमा उल्था भइसकेका थिए । अवतारवाद र चमत्कारका कथाहरू प्रचलित हुन थालिसकेको थियो । बुद्धले बुद्धत्व प्राप्तीको लागि भनेका मार्गहरू परिवर्तित भएर मन्त्र र तन्त्रमा महायान मत दगुर्न थाल्यो ।
महायानीहरूको तन्त्र मतको अनुशरण गर्दै यहीँबाट अर्को हाँगा निस्कियो बज्रयान । बज्रयानीहरूले तन्त्रमन्त्रलाई मात्र नअङ्गालेर हठ योगलाई पनि भित्र्याए, अर्थात् बुद्धको निर्वाणको बाटो नै बदलियो र तन्त्र नै मोक्षको बाटो भयो ।
तन्त्रमा कुण्डलिनी जागरण योग प्रयोग हुन्छ । योग भगवान शंकरको देन हो भनिन्छ । योगी आदिनाथले तप गरेर भगवान शंकरलाई प्राप्त गरेर उनीबाट योग दीक्षा र शिवको कुण्डलको छायाँ प्राप्त गरे, यसैले नाग सम्प्रदायका योगीहरू कनफट्टा हुन्छन्, कुण्डल लगाउँछन् । आदिनाथका चेला मत्स्यन्द्रनाथ हुन् भने उनका चेला गोरखनाथ । यिनै गोरखनाथले हठ योगलाई पुनः सुसंस्कृत गरेर विश्वव्यापि बनाए । योग दुई प्रकारका छन् हठ योग र पतञ्जली योग । हठ योगका प्रवर्तक गोरखनाथ हुन् भने पतञ्जलि योगका प्रवर्तक पतञ्जली । हठ योग काया सुद्धिलाई जोड दिन्छ, यसका नियमहरू, साधनाहरु कठिन् छन् भने पतञ्जलि योगले चित्त सुद्धिलाई जोड दिन्छ, तर दुवैको उदेश्य कुण्डलीनि जागरण नै हो । हठ योगमा पञ्च मकारको (मत्स्य, मास, मुद्रा, मदिरा र मैथुन) पनि प्रयोग गरिन्छ ।
हठ योगमा पञ्चमकारको अर्थ र प्रयोग भिन्न छ । तर यही हठयोगमा बज्रयानीहरूले पञ्चमकारलाई विकृत रूपमा प्रयोग गरेको मान्यता छ । पञ्चमकारका वस्तुहरूको अत्यधिक उपयोग प्रयोगले चित्तमा यसप्रति वितृष्णा जाग्दछ र कुण्डलिनि जागरण हुन्छ भन्ने धारणाबाट पञ्चमकारको सिधा प्रयोग गरियो, अर्थात् मासु, माछा, मदिरा, मुद्रा र मैथुनको पनि सिधा प्रयोग गरियो । यसमा संघका भिक्षुणीहरूले पनि भाग लिए । तन्त्रमा मसान साधना पनि प्रयोगमा आउन थाल्यो । यसले समाजमा नकारात्मक प्रभाव पर्न थाल्यो, मानिसहरू भयले उनिहरूलाई हेर्न थाले । ब्राह्मण धर्ममा भएका पहिला जे कुराहरूले त्यसप्रति वितृष्णा र अश्रद्धा जागेको थियो, त्यही कुराहरू विस्तारै भिक्षुहरूले अपनाएकाले जनमानसमा यसप्रति श्रद्धा र समर्थ खस्कन थाल्यो ।
अर्कोतिर ब्राह्मण धर्मले सुधार गर्दै लग्यो । बुद्ध दर्शनका थुप्रै कुराहरूलाई लिँदै गयो, भक्ति मार्गको सुरूवात गर्यो । सातौँ शताब्दिमा बादरायण देखा परे, जसले आचार्य गौणपादको ब्रह्मसूत्रको भाष्य लेखे । बादरायण नै वास्तवमा व्यास हुन् र यिनैले महाभारत र पुराणहरू लेखेका हुन् भन्ने पनि विद्वानहरूको भनाई छ । रामायण लेखिसकिएको थियो र घरघरमा पुगिसकेको थियो भने महाभारत र पुराणहरूले संसकृत भाषाको पुरुत्थान मात्र नगरेर ब्राह्मण धर्मलाई नै पुनः जनसमक्ष श्रद्धेय बनाउन थाल्यो । यसै समय कुमारिल भट्टले बुद्ध धर्मको दिक्षा लिएर त्यागे र बौद्ध तर्क शास्त्रकै प्रयोग गरेर बुद्ध मतको खण्डन गर्न थाले । आठौँ शताब्दिमा शंकराचार्यको उदय भयो, उनले कुमारिल भट्टको चेला मण्डन मिश्रको सहायताले बिभिन्न बौद्धाचार्यहरूलाई शास्त्रार्थमा हाराए, बुद्धको न्यायशास्त्रको खण्डन गरेर ब्राह्मण धर्मलाई स्थापित गराउन लागे ।
आठौँ शताब्दि पछि पुनः ब्राह्मण धर्मको उदय भयो । बुद्धलाई नवौँ अवतारका रूपमा प्रचार गर्न थालियो बुद्ध दर्शनलाई ॐकार परिवार भित्रको मान्य थालियो । ब्राह्मण धर्ममा बुद्ध दर्शनको व्यापक प्रयोग हुन थाल्यो । अर्थात् बुद्धको दर्शन र ब्राह्मण दर्शनमा पनि भित्रिनु र ब्राह्मण धर्मका थुप्रै कुराहरू बुद्ध मतमा भित्रिनुले दुवैमा समानता देखिन गयो । बुद्धले यसै जन्ममा निर्वाणको जुन सरल मार्ग बताएका थिए, महायान र ब्रयानले त्यसको विपरित मोक्षको धारणलाई लिएर अर्कै बाटोको अबलम्बन गर्यो ।
राजकिय संरक्षणको अभावः आठौँ शताब्दिपछि भारतको राजनैतिक अवस्था बदलियो । अशोकको बृहत भारत भित्रका राज्यहरू अलग भए, अलग भएका राज्यहरू बीच युद्ध हुन थाल्यो । राजनीतिमा युद्धकाे कारण अहिंसक बुद्ध दर्शन अनुपयोगी भयाे, यसैले पहिलेका कतिपय राजाहरूले पुनः ब्राह्मण धर्म नै अबलम्बन गर्न थाले भने ब्राह्मण धर्म नै अबलम्बन गरिरहेका राजाहरूले पनि बुद्ध मतलाई पन्छाउन थाले । यसले गर्दा समाजमा बुद्ध दर्शन र मतको अवस्था खस्किदै जान थाल्यो । दक्षिण र मध्य भारतका राजपूतहरूले पनि बुद्ध मतमा अरुचि देखाउन थालेकाले बुद्ध मतको अवस्था झन नाजुक बन्यो । आपद माथि बिपद भनेझैँ हुण र मुगलहरूको आक्रमणमा बुद्ध मतका महाविद्यालयहरू, मठहरू ध्वस्त हुन थाले, यसले भिक्षुहरूलाई पलायन हुन बाध्य बनायो ।
बुद्धले अवतार मूर्तिपूजा आदिलाई अस्वीकार गरेका थिए, महायान शाखाको विस्तारसँगै यवनहरूको संसर्गले बुद्ध महापरिनिर्वाणको चौथो शताब्दिमा कनिष्कको समयमै बुद्धका अवतारका अनगिन्ती मूर्तिहरू बनेर स्थापित भए । मानव स्वभाव मूल रूपमा साकार या आकार खोज्दछ । पत्र मञ्जुषामा चिठि हाले पश्चात मान्छे त्यो चिठि प्रापकले प्राप्त गरेको र पढेको समेत ठानेर चाँडै नै त्यसको उत्तर आउने प्रतिक्षामा हुन्छ । यो स्वाभाविक मानव स्वभाव हो । दर्शन, ब्याख्या, प्रवचन या शब्दमा मात्र बुद्धलाई जीवित राख्न कठिन हुन थालेकोले बौद्ध मार्गिहरूले बुद्धको मूर्ति बनाउन थाले । यसैको सिको गर्दै हिन्दुहरूले पनि आ-आफ्ना देवताहरूको मूर्ति बनाउन थाले ।
समग्रमा बुद्धले निर्वाणका लागि जुन विनय, शील, दर्शन र नियमहरू बनाएका थिए, बुद्ध पछि त्यसमा अडिग रहिरहन भिक्षुहरूले सकेनन्, धन, सम्पन्नता, आपसी द्वेष र मतभेद, एकै मतमा पनि आपसी होड, बुद्ध मार्गबाट विचलन, अन्य धर्मसँग प्रतिश्पर्धा, द्वेश र अनुकरण र बुद्ध मत विपरितको मत तथा सरल मार्गको नाममा भित्रिएको अपचलनहरूले बुद्ध धर्मको ह्रास हुन गयो । स्थविरवादी या हिनयानीहरूले अझै बुद्ध मतालाई अबलम्बन गरिरहेका छन् भने अन्य मताबलम्बीहरूले बुद्ध मतलाई विकृत बनाइसकेका छन् । यसले जनमानसमा वास्तविक बुद्ध मत र दर्शन के हो भन्ने भ्रमलाई झनझन गहिरो बनाउँदै लगिरहेको छ ।

