के कुनै घडीले चौबीस बजाउँछ ? सामान्यतः घडीमा एक देखि १२ सम्म मात्र बज्छ । घण्टाघरको घडीमा पनि १२ सम्मका घण्टी बज्छन्, १३,१४,१५ घण्टा बजेको सुनिएको छैन । तर एउटा यस्तो घडी पनि छ जसमा एक देखि चौबीससम्मको समय हुन्छ । त्यस्तो भित्ते घडी एउटा मात्रै छ ।
आखिर १२ मात्र किन बज्छ घडीमा ? यसको उत्तर यस प्रश्नमा निहित छ – एउटा वृत्तमा ३६० डिग्री मात्र किन हुन्छ ?
संसारमा एम के एस नापको प्रणालीमा छ अहिले । अर्थात् लम्बाईको नाप मीटर, तौलको नाप किलो ग्राम तथा समयको नाप सेकण्डमा (६० सेकेण्ड बराबर एक मिनेट) निर्धारित छ । लम्बाई र तौलका सबै कुरा नाप डेसिमल (१०, १००) प्रणालीमा छन् भने समयलाई अपवाद किन बनाइएको होला ?

पृथ्वी, सूर्य र चन्द्र गतिमा आधारित नाप नै समयको नाप हो । पृथ्वी र चन्द्रमाको सूर्यको सापेक्षिक अक्ष र कक्ष गतिको आधारमा दिन र रात, वर्ष र ऋतु निर्धारित हुन्छन् । पृथ्वीले सूर्यको एक परिक्रमा गर्दा आफ्नो अक्षमा ३६० पटक घुम्छ सोही अवधिमा चन्द्रमाले पृथ्वीलाई १२ पटक घुमिसक्छ ।
समयका नापको एउटा स्थानीय र अर्को प्रमाणित नाप हुन्छ । उदाहरणका लागि नेपालको पूर्वमा जुन बेला सूर्य उदाउँछ, पश्चिममा त्यो भन्दा केही ढिलो हुन्छ, त्यसैले नेपालको लगभग बीचको समयलाई आधार मानेर पूर्व र पश्चिम सबैले एउटै नापलाई प्रामाणिक मानिन्छ । यस अनुसार नेपालको प्रामाणिक समय ग्रीनवीच समयभन्दा ५ घण्टा ४५ मिनेट छिटो छ । यसको अर्थ के हो भने ग्रीनवीचमा राति १२ बज्दा नेपालको घडीमा बिहानको ५.४५ बजिसक्छ । राति १२ बज्दा (२४ बज्दा) ग्रीनवीचको घडीले २४ न बजाएर शून्य बजाउँछ, त्यस पछि एक सुरु हुछ ।
सामान्यतः देशहरुको एउटा प्रामाणिक समय हुन्छ तर ठूला देशहरु जस्तै यु एस ए तथा रुसमा एकभन्दा बढी प्रामाणिक समयहरु हुन्छन् । एउटै देशमा कुनै ठाउँमा बिहान हुँदा अर्को ठाउँमा दिउँसो भइसक्छ । हरेक देशको स्थानीय र प्रामाणिक समय फरक भए जस्तै हरेक देशको र वैश्विक नाप फरक छ । वैश्विक नापलाई जी एम टी भन्ने गरिन्छ । जी एम टी को अर्थ हो ग्रीनवीच मीन टाइम । लन्दनको ग्रीनवीच पेनिन्सुलाको थुम्कोलाई आधार मानेर संसारको समय निर्धारित गरिन्छ । अर्को शब्दमा लन्दनको समय नै वैश्विक समय हो । मोबाइलमा समय सेट गर्दा हामीले जुन शून्य देख्छौं त्यो ग्रीनवीच, लन्दनको समय हो ।
आजभन्दा १४० वर्ष अघि (सन् १८८४) महारानी भिक्टोरियाको समयमा बेलायतले एउटा वैश्विक नाप निर्धारित गरेर त्यसको निश्चित ठाउँ लन्दन, ग्रीनवीचलाई बनायो । उसले निर्धारण गरेको राति १२ बजेको शून्य समय र स्थान सबैलाई मान्य छ । यस कुरालाई अझ स्पष्ट गर्ने हो भने ग्रीनवीचमा जुन देशान्तर रेखामा यो स्थान छ, त्यस रेखाको एक फुट दाहिने तिरको समय बढ्दै जान्छ र बायाँतिर घट्दै जान्छ । राति ठीक १२ बजे यस रेखाको बायाँतिर ३० गते भए दायाँतिर नयाँ महिना लागिसक्छ । त्यसै गरी वर्षको अन्तिम रातमा त्यस रेखाको दायाँ र बायाँमा पूरै एक वर्षको अन्तर हुनेछ ।
मलाई त्यस शून्य समयको ठाउँमा जाने इच्छा थियो । बेलायत भ्रमणको क्रममा त्यो अवसर जुर्यो । त्यहाँ पुर्याई दिने काम गरे प्रकाश पाण्डेले । जसले साँझमा समय निकालेर त्यहाँ पुर्याए । बेलायतमा काम गर्ने नेपालीहरुलाई सामान्यतः फुर्सत् हुँदैन । त्यसैले घुम्नका लागि उनीहरुले साँझको समयलाई अधिमान दिन्छन् । सामान्यतः बेलायत घुम्नेलाई त्यो समय ठीक छ । गर्मीको समयमा दिन लामा हुन्छन् । राति १०–११ बजेसम्म चहल पहल भइरहन्छ ।
भर्खर साँझ परे जस्तो लाग्छ । बत्ती बलेको समयमा लन्दनको सुन्दरता पनि देख्न पाइन्छ । लन्दन घुम्ने हो भने साँझ परे पछि नै घुम्नु पर्छ ।
अगस्ट २२, २०२३ मा प्रकाश, शीला, दीपिका, हरिकलासँग म ग्रीनवीच भन्ने ठाउँका लागि ग्रीनफोर्डबाट साँझ छ बजे प्रस्थान गरें । ग्रीनफोर्डबाट रेलवे स्टेशनसम्म बसमा । त्यस पछि बैंक भन्ने शहरसम्म ट्युबमा । भूमिगत रेललाई त्यहाँ ट्युब भन्दा रहेछन् । बैंक भन्ने शहर नाम अनुसारको बैंक हो। । संसारका सबै बै.कका शाखाहरु यस स्थानमा छन् । यस शहरमा बैंक र वित्तिय संस्थाहरुको कार्यालय मात्र छ । ठुल्ठूला भवनमा विशालतम बैंकिंग कार्यालय छन् । बैंकबाट रेल गाडी फेरेर ग्रीनवीचसम्म । बेलायतमा रेलको निकै सुविधा छ । अलग अलग नाम र कम्पनीका रेल एक एक मिनेटमा आइरहन्छन् । गाडीको भाडा तिर्ने माध्यम भने नगद हुँदैन केवल बैंकको डेबिट वा क्रेडिट कार्ड स्पर्श (टच्) गर्नु हो । एकातिरको प्लेटफर्ममा एक एक मिनेटमा विभिन्न रुटका रेलगाडीहरु आइरहन्छन् । अर्कोतिरको प्लेटफर्ममा विपरीत दिशा तर्फ गइरहन्छन् । तोकेको रुटमा लगातार हिँडिरहन्छन् । डिजिटल बोर्डमा सूचना दिइरहेको हुन्छ । कुन गाडी कहाँबाट कहाँसम्म जान्छ, त्यो सबै नक्शा दिएको हुन्छ । एउटा प्रवेशमा कार्डबाट पैसा तिरेको छ र रेलवे स्टेशनबाहिर गएको छैन भने दिनभरिलाई थप पैसा लाग्दो रहेनछ । स्टेशन भित्र छिर्दा र बाहिर निस्कँदा दुवै पटक कार्ड छुवाउनु भने पर्दो रहेछ, अन्यथा दोब्बर पैसा काट्दो रहेछ । प्रवेशको बेला धेरै पैसा काट्दो रहेछ, निकासमा पनि छोए पछि पैसा कम काट्दो रहेछ ।
बैंक स्टेशनबाट नयाँ किसिमको रेलमा चढ्न पाइयो– इन्जिन नभएको रेल, डी एल आर अर्थात् चालकरहित रेल । दुई डब्बाहरु मात्र छन् र यसलाई परीक्षणको रुपा चलाएको रहेछ । यसलाई कुनै केन्द्रिय ठाउँबाट नियन्त्रित गरिँदो रहेछ । डी एल आरबाट ओर्ले पछि एक छिन हिँडेर हामी ग्रीनवीच थुम्कोमा पुग्यौं । यसलाई तीन तिरबाट समुद्रले घेरेकोले पेनिन्सुला पनि भनिन्छ ।
हामीले सामान्यतः जी एम टी भनेर चिन्ने ठाउँलाई रोयल अबजर्वेटरी भन्दो रहेछ । गुगलमा यस नामबाट खोजी गर्ने हो भने शून्य समयको त्यो स्थान हेर्न सकिन्छ । त्यस अब्जरवेटरीको मूल ढोकामा २४ बजाउने घडी राखिएको छ । त्यस घडीमा एक देखि २४ सम्मका रोमन अक्षर अंकित छन् । त्यस घडीको हिसाबले २० बजेतिर हामी पुगेका थियौं ।
आज सर्वत्र मीटरको नाप प्रचलित छ । यो नाप पेरिसको म्युजियममा राखिएको काँसको छडमा आधारित छ । यस छडका १०० बराबर विभाजन गर्दा सेन्टीमीटर बनाइएन्छ । यस आधारमा सानो नाप सेन्टीमिटर र ठूलो नाप किलो मीटर बनाइन्छ । तर यस अब्जर्वेटरीमा लम्बाईको नाप राखिएको छ, तर गजमा । बेलायतमा लम्बाईको नाप मीटर, किलोमीटर होइन, गज र माइल हो । गज अर्थात् यार्ड ।
राजा हेनरी (१२औं शताब्दी) को बुढी औंठा देखि नाकसम्मको लम्बाईलाई एक गज नाप गर्ने बेलायती प्रचलन आज पनि कायम छ ।
ग्रीनवीचबाट लन्दनको सुन्दर दृश्य देख्न सकिन्छ किनभने यो थुम्को केही अग्लो ठाउँमा छ । त्यहाँ नजिकै लन्दन नगरपालिकाको मुख्य कार्यालय छ । जुन त्यहाँका मेयरको कार्यालय हो ।
तथ्यांक शास्त्रमा समयलाई शून्य लिने गरिन्न । तर ग्रीनबीचमा समय शून्य पनि हुने गर्छ । त्यस शून्य समयमा केही छिन बसेर आएको कुरा अनुभव गर्दै अब्जर्वेटरी बाहिर थुम्कोबाट लन्दनको मन्त्रमुग्ध पार्ने झिलीमिली दृश्य हेरेर राति १० बजे (२२ बजे) तिर घर फर्कियौं ।

