विराज महर्जन नेपाली राष्ट्रिय फुटबल टोलीका सबैभन्दा सफल कप्तान हुन्। २८ वर्षे विराजले सन् २०१६ मा नेपाललाई बंगलादेशमा भएको बंगबन्धु कप, मलेसियामा भएको सोलाडिरिटी कप र भारतमा भएको दक्षिण एसियाली खेलकुदमा पुरुष फुटबलको उपाधि दिलाएका थिए।
बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल साफ च्याम्पिन्ससिपमा मंगलबार पाकिस्तानसँग खेल्दै विराजले नेपाली राष्ट्रिय टोलीमा सर्बाधिक खेल खेल्ने खेलाडीको रुपमा पूर्व कप्तान राजुकाजी शाक्यको बराबरी गरिसकेका छन्।
सन् २००८ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका विराजले त्यसयता १० वर्ष निरन्तर नेपाली टोलीमा रहँदै मंगलबार ६८ खेल खेल्दै प्रशिक्षक समेत रहेका शाक्यको बराबरी गरेका थिए। साफ च्याम्पियन्ससिपमा बिहीबार हुने भुटानविरुद्धको खेलमा देखिए उनको नाममा देशका लागि सर्बाधिक प्रतियोगिता खेल्ने कोशेढुंगा जोडिनेछ।
एन्फा एकेडेमीका दोस्रो ब्याचको उत्पादन विराजले भारतविरुद्ध तीन वर्षअघि पुनेमा भएको मैत्रीपूर्णमा नेपालका लागि ५० औं क्याप जितेका थिए। उनले कप्तानीको जिम्मेवारी पाएको पहिलो खेल भने २०१५ मा भारतको केरलाको त्रिवेन्द्रममा भएको साफ च्याम्पियनसिपमा हो।
उक्त साफ च्याम्पियन्ससिफको पहिलो खेलमा अनिल अनिल गुरुङ कप्तान थिए। तर, भारतविरुद्धको खेलमा उनी सुरु देखि नै टोलीमा नपरेपछि कप्तानी ब्यान्ड लगाउने अवसर विराजले पाएका थिए।
दशरथ रंगशाला छेउ मै घर भएका विराजको परिवार पनि फुटबलसँग नै आवद्ध थियो। दाजु विक्रम महर्जन एन्फा एकेडेमीका पहिलो ब्याचका खेलाडी हुन्। यता, काका रत्नजित महर्जनले पनि नेपालका लागि उमेरसमूहका प्रतियोगिता खेलिसकेका छन्।
विराज हाल घरेलु फुटबलमा मनाङमस्र्याङ्दी क्लबसँग आवद्ध छन्। उनले लामो समय अर्को घरेलु फुटबलको सफल क्लब थ्रीस्टारबाट पनि खेलेका थिए।
उनी ब्राजेलियन खेलाडी रोबोर्टो कार्लोसबाट प्रभावित थिए। त्यसै अनुरुप विराजले उनकै जस्तै भूमिकामा आफूलाई ढाल्दै रक्षापन्तिमा दायाँ बायाँ र बीचको सबै भूमिकामा खेल्न पोख्त छन्। उनले अन्तराष्ट्रिय फुटबलमा नेपालका लागि एक गोल समेत गरेका छन्।
ढाकामा भुटानको खेलअघि अभ्यास खेलका क्रममा विराजसँग गरिएको कुराकानीः
भुटानविरुद्ध तपाई बिहीबार मैदान उत्रिए देशका लागि सर्बाधिक प्रतियोगिता खेल्नुहुनेछ। जुन ठूलो उपलब्धि हो। व्यक्तिगत रुपमा यसलाई कति ठूलो उपलब्धिको रुपमा लिनुहुन्छ?
देशका लागि खेल्न पाउनु सधैँ गर्वको कुरो हो भन्ने लाग्छ। खेलाडीका रुपमा यसलाई म ठूलो उपलब्धि मान्छु। कसैले चाहेरमात्रै देशको प्रतिनिधित्व गर्न पाउँदैन्। कतिले क्षमता भएपनि मौका पाउदैनन्। मैले सानोदेखिको मेहनत, परिवार, प्रशिक्षक र समर्थकहरुको मायाँले यस ठाउँसम्म पुगे। यो मेरालागि एकदमै गर्वको कुरा हो।
तपाईको खेल जीवनमा बुबा, दाई विक्रम, काका रत्नजितको पनि महत्वपूर्ण भूमिका छ। देशका लागि सर्बाधिक खेल खेलिरहदा उहाँहरुलाई कसरी सम्झनुहुन्छ?
सुरुदेखि नै मैले भन्दै आएको छु कि मेरो उपलब्धि भनेको मेरो परिवारको देन हो। खासमा बुबा, आमा, काका र दाईले मलाई ठूलो ढाडस दिनुभएको छ। उहाँहरुको मायाँले म यहाँसम्म पुगेको छु। म जुनै ठाँउमा भएपनि बुबा, दाईलाई कहिल्यै बिर्सिन्न। उहाँहरुले म सानो हुँदा जहाँपनि हात डोर्याएर खेल हेराउन लग्नुहुन्थ्यो। म दाईको पछिपछि खेल्न जादैँ हुर्किएको। त्यहीकारणले पनि मेरो फुटबल प्रतिको लगाव बढेको हो। उहाँहरुका कारण नै म यस स्थानमा उभिएको छु। जीवनमा जस्तो सुकै तल माथि अवस्था भएपनि म उहाँहरुलाई बिर्सन्न।
तपाईले राष्ट्रिय टोलीमा झण्डै एक दशक बिताउँनु भयो। नयाँ पुस्ताका खेलाडीहरुलाई तपाईले खेल जीवनमा सिकेको सन्देश के दिन चाहानुहुन्छ?
नयाँ पुस्तालाई म के भन्न चाहान्छु भने फुटबल या अन्य जुनसुकै खेलमा पनि अनुशासन एकदमै महत्वपूर्ण कुरो हो। कुनैपनि खेलाडीको खेलमात्रै राम्रो भएन हुँदैन। जबसम्म आफूभन्दा ठूलालाई सम्मान र आफू भन्दा सानालाई मायाँ दिन सक्दैन त्यो खेलाडीले जीवनमा अाशातित सफलता पाउन सक्दैन। मैले पनि सानो हुदा थुप्रै सिनियर दाईहरु, प्रशिक्षकहरुसँग खेल्ने मौका पाए। अहिले टोलीमा धेरै क्षमतावान भाईहरु हुनुहुन्छ। यदि उनीहरुले अनुशासनमा रहनु भएन भने आफूले सोचेको जति माथि जान सक्दैनन्।
तपाईको दशवर्षे करिअरमा महत्वपूर्ण कुरा अनुशासन रह्यो त त्यसो भयो?
हजुर, अनुशासन र समर्पण आफूले कहिलैपनि बिर्सनुहुदैँन्। र, म त के भन्न चाहान्छु भने आफ्नो विगत पनि कहिल्यै बिर्सनु हुँदैन।
यो चाही तपाईको व्यक्तिगत कुरा भयो, अब साफमा नेपालले पहिलो खेल पाकिस्तानसँग हारिसकेको छ। पहिलो खेलमा के कुराले हार्यौ जस्तो लाग्छ?
हिजोको खेल(पाकिस्तानविरुद्ध) हाम्रा लागि निकै महत्वपूर्ण थियो। हामीले कति चान्सहरु पाएका थियौं। त्यसलाई सदूपयोग गर्न सकेनौं। एक गोल खाएर पनि दोस्रो हाफमा फर्काउन सफल भएका थियौं। अन्तिम पाँच मिनेटमा आफूले आफूलाई सम्हालिन सकेनौं। पूरै टिममा जित्नैपर्ने भनेरमात्रै लाग्दा र आफूले आफूलाई कन्ट्रोल गर्न नसक्दा अन्तिममा गोल खानुपर्यो।
कप्तानका नाताले अबको सम्भावना के देख्नुहुन्छ?
अझै पनि हाम्रो सम्भावना छ। पहिलो खेल हार्यौ भन्दैमा सकियो भनेर बस्नु हुँदैन्। अझैपनि दुईवटा गेम छ। दुईवटा गेम जित्यौं भने हामी सेमिफाइनलमा पुग्ने छौं। गेममा जे पनि हुनसक्छ। सबै मिलेर पहिलो खेलको समिक्षा गर्दापनि अन्तिममा सम्हालिन नसक्दा हामी हार्नुपर्यो भन्ने कुरा आयो। सबैले आफ्नो ठाउँबाट के कमीकमजोरी भयो त्यो महसुस गर्यौ। अबका दिनमा ती कुराहरु नदोहोर्याइकन, योजनाहरु कार्यन्वायन गर्न सक्यौं भने अघिल्ला दुई खेलहरु जसरी पनि जित्दै अघि बढ्ने लक्ष्य लिएका छौं।
यो प्रतियोगिता सकिएपछि आफ्नो खेल करिअरलाई कसरी हेर्नुहुन्छ? कहाँसम्म बढाउनुहुन्छ?
मैले पनि धेरै भयो खेलेको। आफूले पनि मात्रै नभएर जुनियरहरुलाई पनि चान्स दिनुपर्छ भन्ने कुरा मैले पनि मनन गरेको छु। भोली मेरो या सिनियरको ठाउँमा केही उत्तराधिकारी आउँछ र उसले लिडिङ गर्न सक्छ भने अवश्य पनि मैले छोड्नुपर्छ, आफू ‘सेफ ल्याल्डिङ’मा जानुपर्छ भन्ने सोचेको छु। अब चाहीँ म पनि विचार गर्ने सोचमा छु। शारिरिक रुपले भ्याएसम्म खेल्छु। त्यसपछि फुटबललाईसँगै लगेर सेफ ल्यान्डिङ तर्फ जाने सोचमा छु।
नेपालखबरबाट

