
इटहरी -२० तरहरामा नेपालमै सबैभन्दा बढी पुरस्कार राशिको कविता प्रतियोगिता सम्पन्न भएको छ ।

बैशाख १२ गते सुक्रबारका दिन श्री जनसहयोग माबि २०५० समूहले आयोजना गरेको ‘स्व. नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता’का लागि प्राप्त भएका ४०६ कवितामध्ये १० वटा कविता छनोट गरी वाचन सहित अन्तिम प्रतिष्पर्धा गरिएको थियो ।

उक्त राष्ट्रिय कविता प्रतियोगितामा कवि अविनाश भट्टराईको कविता ‘झ्यालको सौन्दर्यशास्त्र’ले प्रथम पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा अविनाश भट्टराई प्रथम
निर्णायकहरु मनु मञ्जिल, ठाकुर बेलवासे, बद्री भिखारी सहितको टोलीले भट्टराईको कवितालाई प्रथम स्थानको ताज दिएका हुन।

प्रतियोगितामा खोटाङका कवि शुभचन्द्र राईको ‘आशा’ शीर्षकको कविता द्धितीय भयो । यस्तै, रसुवाकी कवि एलिसा एकलासको ‘पृथ्वीको अन्तिम रूख’ शीर्षकको कविताले तृतीय स्थान प्राप्त गर्यो। यसैगरी सप्तरीकी रोमा लम्साल नुराको ‘मानिसलाई रूखको अन्तिम प्रश्न’ र दैलेखका दीपिन सिजापतीको ‘सङ्घर्ष र सङ्कल्प’ सान्तवना भयो ।

श्री जनसहयोग २०५० समूह तरहराले आयोजना गरेको प्रतियोगितामा प्रथम हुने कवि भट्टराईलाई नगद ५१ हजार एक सय सहित पुरस्कृत गरियो।

यसैगरी द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार (दुई जनालाई) क्रमशः ४१ हजार एक सय, ३१ हजार एक सय र ११ हजार एक सय प्रदान गरियो।

उत्कृष्ट १० मा छनोट भएका गोरखाका निशान निष्कर्षको ‘प्रकृतिको व्यायामशालामा आमा,’ सिन्धुपाल्चोकका सुन्दर शिरीषको ‘अनि खतरा बन्छ अक्षर,’ सिन्धुपाल्चोककी डा. स्मिता श्रेष्ठको ‘ईश्वरलाई अपिल,’ इलामका सुवास राई बाङ्देलको ‘ईश्वर भेटिएको वक्तव्य,’ र धनकुटाका अनिल सुवेदीको ‘भगवानको म्याराथुन’ शीर्षकको कवितालाई नगद पाँच हजार एक सयसहित पुरस्कृत गरियो ।

सो समारोहमा उदायीमान साहित्यकार रुद्रअधिकारी निर्दोषीको लघुकथा संग्रह मनश्चक्षुको समेत विमोचन गरिएको थियो। डा.अस्मिता बिष्टले पुस्तकबारे परिचर्चा गरेकी थिइनँ ।
लघुकथासङग्रह “मनश्चक्षु”को लोकार्पण कार्यक्रममा प्रमुख अतिथि अग्रज कवि एवम् संस्कृतिविद् तुलसी दिवस, इटहरी उप-महानगरपालिकाका अध्यक्ष हेमकर्ण पौडेल, वडा नं २० का वडाध्यक्ष मणीराम शेष्ठ, लेखक डा. अस्मिता बिष्ट, डा. धनकेशर खड्का, नेता प्रकाशचन्द परियार, चलचित्र निर्देशक नवल नेपाल, बरिष्ठ पत्रकार तथा अग्रज कवि कृष्णबिनोद लम्साल, श्री जनसहयोग मा. बि.का पुर्व शिक्षिकाद्वय कमला सुब्बा,कमला चापागाँई , लघुकथाकारका पिता हरीलाल अधिकारी र माता खड्गकुमारी अधिकारीले संयूक्त रुपमा गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि अग्रज कवि एवम् संस्कृतिविद् तुलसी दिवसले विजयीहरुलाई पुरस्कार प्रदान गरे।

सो समारोहमा तरहरा मुल निवासीको हैसियतबाट विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्दै स्थानीय,राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जीवनमा योगदान गरेका चलचित्र निर्देशक नवल नेपाल,नेता तथा अधिकारकर्मी प्रकाशचन्द्र परियार, नेता तथा समाजसेबी मणिराम श्रेष्ठ, डाक्टर धनकेशर खड्का, पूर्व प्रअ कमला सुब्बा,पूर्व शिक्षिका कमला चापागाँई लगायतलाई प्रमुख अतिथि तुलसी दिवसले सम्मान गरेका थिए।

सन्तोष श्रेष्ठको अध्यक्षता र मुक्तिनाथ घिमिरे ‘पथिक’को संयोजकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कवि गणेश घिमिरे ‘प्रयासी’ले गरेका थिए । श्री जनसहयोग माबि २०५० समूहको योगदान प्रशंसनीय छ ।

भिडियोमा कवि अविनाश भट्टराईको कविता ‘झ्यालको सौन्दर्यशास्त्र’प्रथम
कवि शुभचन्द्र राईको कविता `आशा´ द्वितीय
कवियत्री एलिसा एकलासको ‘पृथ्वीको अन्तिम रूख’ तृतीय
रोमा लम्साल नुराको ‘मानिसलाई रूखको अन्तिम प्रश्न’ सान्तवना

