शिकार खेल्न जाँदा विश्वभर मानिसहरु विभिन्न उपकरण र हतियार आफ्नो साथमा लैजान्छन्। शिकार खेल्ने भू-भाग र त्यहाँको स्थानले समेत कुन हतियारको प्रयोग गर्ने भन्ने निर्धारण गर्दछ। कुनै बेला शिकारीहरु खाली खुट्टा, घुँडा, र हातको सहाराले शिकार खेल्ने स्थानमा पुग्छन्। कुनै बेला भने डुंगा, गाडी जस्ता सवारी साधनको साथमा शिकार खेल्ने स्थान पुग्ने गरिन्छ।

हिमाली भेग, चट्टानयुक्त र कमजोर जमिन भएकोस्थानमा शिकारका लागि घोडाको प्रयोगलाई उपयुक्त मानिन्छ। लामा घाँस तथा भासिने स्थानमा मानिस हिँडेर जान कठिन हुने भएकाले यस्ता ठाउँमा हात्तीको प्रयोग हुन्छ। यसबाहेक शिकारीहरु रुखको टुप्पामा बसेर, नदी किनार नजिक लुकेर तथा बंकरमा लुकेर पनि शिकार गर्नसक्छन्।
जनावरहरु बस्ने स्थान थाहा भएमा शिकारीले सजिलै शिकार गर्न सक्छन्। यसका लागि शिकारीले लुकेर बस्ने, जनावरले थाहा नपाउने स्थानको खोजी गर्नुपर्छ। केही शिकारीले झाडीमा लुकेर समेत शिकार गर्ने गर्दछन्।
शिकारीहरुले राइफल बाहेक घरेलु हतियार समेत शिकार गर्नका लागि प्रयोग गर्छन्। भाला, तीर लगायतको प्रयोग शिकार खेल्न प्रयोग हुन्छ। यसबाहेक, खुकुरी तथा पासोले पनि शिकार खेल्ने गरिन्छ।मलाई रातको समयमा शिकार खेल्ने तरिका व्यावहारिक र जायज लाग्दैन। रातको समयमा शिकारी नै जनवारको शिकार बन्ने संभावना बढी हुन्छ। चमकदार बत्तीको प्रयोगले जनावरहरु आफूतर्फ आकर्षित हुनसक्छन्। यस्तोबेला आफूसँग पालुवा तथा प्रशिक्षित जनावर भए संभावित खतरबाट बच्न सकिन्छ। प्रशिक्षित कुकुर, बाज चरा, तथा चितुवालाई हामी शिकार खेल्न जाँदा साथै लैजान सक्छौँ। किनभने, एक पालुवा कुकुरले कहिल्यै तपाइको साथ छाड्दैन। अर्काेतर्फ तिनले टाढाका शिकारहरु तपाइँ नजिक ल्याइदिन मदत गर्छन्।
‘नेपालमा बाघको शिकार’ एक विशेष कार्य हो। बाघको शिकार गर्न विभिन्न तरिका अपनाइन्छ। बाघ शिकारको तरिका र विधि विश्वभर सधैँ एकैनासले अपनाइदैन। नेपालको हिमाली क्षेत्रमा कस्तुरी मृग, हिमाली बाख्रा, नीलो भेडा र हिम चितुवाको शिकार लोकप्रिय छन्। तर, हिमालमा जान नसकिने हुनाले त्यहाँ शिकार त्यति प्रभावकारी छैन। तर हामी हिमाली क्षेत्रको शिकारलाई चाँडै सहज बनाउनेछौ।
माथि नै मैले उल्लेख गरिसकेँ, बाघको शिकार गर्नु एक कला हो। यसका लागि शिकारीमा शिकार गर्ने गुण हुनुपर्दछ। मैले मेरा पाठकलाई यसका बारेमा वर्णन गर्नैपर्छ।
हामी धेरै राम्रा शिकारी हुनसक्छौँ। तर केहीले मात्र बाघको शिकार गर्ने मौका पाउँछन्। बाघको शिकार गर्नमात्र होइन, हेर्नपनि उत्तिकै रमाइलो हुन्छ।
बाघ भएको स्थान पहिचान गर्न पहिला हामीले बाघ प्रायजसो हिँडिरहने तथा बाघले पानी पिउने स्थानमा जिउँदो भैँसी चारोको रुपमा राखिदिनुपर्छ। त्यसपछि विहानै भैँसी जिउँदो छ कि छैन भनेर हेर्न जानुपर्छ। यसबाट बाघ अथवा चितुवाको खुट्टाको चिन्ह हेरेर त्यो शिकार कहाँ छ भनेर पत्ता लगाउन सक्छौँ।त्यसपछि हामीले भैँसी मरेको वरिपरि हात्ती लगेर घेर्नुपर्छ। ४ देखि ५ फिट अग्लो सेतो कपडा समेत त्यसको वरपर लगाउनुपर्छ। यसपछि प्रशिक्षित हात्तीले झाडीमा लुकेको बाघको खोजतलास गर्छ। यदि बाघ त्यहाँ छ भने त्यो रिसाउँछ। रिसाएको बाघ सधैँ गर्जिन्छ।
बाघ गर्जेमासचेत हुनुपर्दछ। बाघ गर्जेपछि बाघको शिकार गर्न खटिएका शिकारीलाई खबर गरिन्छ। जब शिकार गर्ने व्यक्ति त्यस घेरामा आइपुग्छ, उ हात्तीमा चढ्छ, ताकि हात्तीमाथि रहेर बाघको सम्पूर्ण क्रियाकलापलाई माथिबाट देख्न सकियोस्।
त्यसपछि सबै हात्ती बाघ भएको स्थानतिर अघि बढ्नुपर्छ। सबै हात्तीले बाघलाई झाडी तथा लुकेको स्थानबाट बाहिर निकाल्ने प्रयास गर्छन्। जब बाघ नजिक देखापर्छ, तब शिकारीले बाघमाथि गोली प्रहार गर्छ।
यसरी हेर्दा बाघको शिकार सहज देखिएपनि वास्तवमै यो कार्य जटिल छ। अधिकांश समय शिकारीको गोलीले बाघलाई लाग्दैन। बाघ झाडीमै लुकेर बस्छ। यसले गर्दा शिकार गर्न कठिन हुन्छ। बाघको शिकार गर्न अनुभव र शिकारीमा त्यही खालको कौशल चाहिन्छ। बाघलाई देखिने स्थानमा ल्याएर नजिकैबाट गोली प्रहार गर्न सकेमात्र बाघको शिकार हुन सक्छ।
अग्ला सेता कपडा तथा हात्तीले घेरिएको हुनाले बाघ भाग्ने समस्या हुँदैन। यद्यपी रिसाएको बाघले कहिलेकाँही उफ्रिएर हात्तीलाई नै आक्रमण गर्न सक्छ। बाघको शिकार आफैले गरेपछि मात्र मानिसले नेपालको जंगलमा बाघको शिकार गर्नुको महत्व थाहा पाउँछन्।
सामान्य रुपमा, नेपालमा बाघको शिकार नोभेम्बर र फेब्रुअरीमा गरिन्छ। यद्यपी मार्च, अप्रिल र मे महिनामा समेत बाघको सिकार गरिन्छ। तर त्यसबेला मौसम गर्मी र सुख्खा हुन्छ।
(शिकारका सौखिन स्व. राजा महेन्द्रको पुस्तक अ ह्याण्डबुक अफ बिग हण्टिङ’ बाट अनुदित। यो पुस्तक बिसं २०२४ का प्रकासित भएको थियो। हाल नेपालमा बाघ लगायत बन्यजन्तुको शिकार प्रतिबन्धित छ।)
-नेपाल खबर

