-डा. बाबुराम ज्ञवाली
पं. श्रीराम शर्माआचार्यले गायत्री मन्त्रका प्रत्येक अक्षरको व्याख्या गर्दा वि अक्षरको व्याख्यामा धनको उचित उपयोग गरेर वास्तविक सम्पन्नता प्राप्त गर्ने जुन तरिका बताएका छन् । त्यो यहाँ प्रस्तुत गरिएको छ । वि को व्याख्या गर्दै उनले भनेका छन् –
वित्त शक्तातु कर्तव्य उचिताभाव पूर्तयः ।
न तु शक्त्या न या कार्य दर्पोद्धात्य प्रदर्शनम् ।।
अर्थात्, धन उचित अभावको पूर्तिका लागि हो, त्यसबाट अहङ्कार र अनुचित कार्य गर्नु हुँदैन ।
१.धन किन कमाउने ?

आफ्ना र अरुका उचित आवश्यकताहरुको पूर्तिका लागि धनको आवश्यकता पर्छ। शरीर, मन, बुद्धि र आत्माको विकासका लागि,सांसारिक उत्तरदायित्व पूरा गर्नका लागि धनको उपयोग हुनु पर्दछ र यसैका लागि धन कमाउनु पर्दछ । धन कमाउने उचित तरीका के हो भने त्यसमा मनुष्यको शारीरिक र मानसिक श्रम लागेको होस्, अरुको हक अपहरण नगरिएको होस् । कुनै चोरी छल, प्रपञ्च, अन्याय, दबाव आदिको प्रयोग नगरिएको होस् । समाज र राष्ट्रको कुनै अहित नहोस् । यस्तो कमाईले उपार्जित पैसा बढ्छ र त्यसले मानिसको सच्चा उन्नति हुन्छ ।
जसरी धनको उपार्जनमा त्यसको औचित्यलाई ध्यानमा राख्नु पर्छ, त्यसै गरी खर्च गर्नमा र उपयोगमा पनि सावधान रहनुपर्छ । आफ्नो र आफ्ना परिजनहरुको आवश्यक विकासका लागि धनको उपयोग गर्नु नै कर्तव्य हो । रवाफ देखाउन वा दुव्र्यसनहरु सन्तुष्ट गर्न धन लगाउनु मानिसको अवनति, अप्रतिष्ठा र दुर्दशाको कारण बन्न जान्छ ।
आफ्नो उचित शारीरिक, मानसिक, आत्मिक र सांसारिक आवश्यकताहरुको उपेक्षा गरेर जुन मानिसहरुले अधिकाधिक धन बटुल्ने तिर्सनामा बसिरहन्छन् र सात पुस्ताका लागि सम्पत्ति छोडेर जान चाहन्छन् उनीहरुले बाटो बिराएका छन् । सित्तैको धन पाउनाले आउने पुस्ता अल्छी व्यसनी, अपव्ययी तथा अन्य खराबीको शिकार हुन सक्छ । जुन पैसालाई कसैले पसीना बगाएर कमाएको छैन उसले त्यस पैसालाई चिन्न पनि सक्दैन । छोराछोरीहरुको नाममा सम्पत्ति थुपारी राख्नुभन्दा उनीहरुलाई सुशिक्षित, स्वस्थ र स्वावलम्बी बनाउनमा खर्च गर्नु श्रेष्ठतर काम हो ।
२.धनको तिर्सनाबाट जोगिनु
धनलाई खराब कुरा ठान्नु हुँदैन । वर्तमान समाजको स्वरुप कस्तो भइसकेको छ भने बिना धन मानिसको जीवन निर्वाह चल्नै सक्दैन तर धन त्यतिबेलासम्म मात्रै शुभ र हितकारी हुन्छ जतिबेलासम्म त्यसलाई ईमानदारीपूर्वक कमाएर त्यसको सदुपयोग गरिएको हुन्छ । यसका विपरीत यदि हामीले जसरी पनि धन कमाउन खोज्छौं र चारैतिरबाट बटुलेर त्यसलाई ढुकटीमा थुपार्ने कामलाई मात्रै आफ्नो लक्ष्य बनाइदिन्छौ. अथवा आफ्नो पैसाको जेजस्तो उपयोग गरे पनि हुन्छ भन्ठान्छौं र त्यसलाई दुव्र्यसनहरुमा लगाउ“छौं भने त्यो धन हामीलाई अभिशाप हुनजान्छ । यस्तो गर्ने मानिसले आफ्नो पतनलाई मात्र निम्त्याउँदैन अरु मानिसकहरुलाई उनीहरुको उचित अधिकारले वञ्चित गरेर उनीहरुको विपत्तिको कारण पनि बन्छ । तर अचेल के देखिन्छ भने जो बढी बाठो छ र जो अलि बढी शक्तिशाली छ उसले के कोशिस गर्छ भने संसारको बढीभन्दा बढी सुखभोगको सामग्री मेरो कब्जामा भइजाओस् । आफ्नो यस वासनालाई पूरा गर्न उसले आफ्नो वरिपरिका मानिसहरुको अधिकारमाथि आक्रमण गर्छ र उनीहरुका हातको रोटी, मुखको गास खोसेर धन जम्मा गर्छ ।
एक जना धनी बन्नुमा अनेकौं मानिसको क्रन्दन, रुवाई, निर्धाहरुको शोषण, र अनेक अधिकार अपहरण भएका हुन्छन् । एउटा ठूलो घर बनाउँदा थुप्रै माटो लाग्छ र जहाँ जहाँबाट त्यो माटो खनेर निकालिएको हुन्छ त्यहाँ त्यहाँ खाडल पर्ने निश्चित छ । यस संसारमा जति प्राणी छन् त्यसै हिसाबले परमात्माले वस्तुहरु उत्पन्न गरेका छन् । यदि एकजनाले आफूलाई चाहिनेभन्दा बढी वस्तु थुपार्छ भने यसको अर्थ हो अरु मानिलाई चाहिने कुराहरु खोसिएका छन् । गत विश्वयुद्धहरुमा कुनै कुनै सरकार तथा पूँजीपतिहरुले अन्नको अधिकाधिक स्टक जम्मा गरे पछि अन्य ठाउंमा अन्नको कमी हुन गएको थियो । फलस्वरुप बङ्गाल र अन्य केही स्थानहरुमा लाखौं मानिस भोकमरीले गर्दा मरे । गतः शताब्दीमा ब्रिटेनको धन सम्पन्नता भारत र अन्य उपनिवेश देशहरुको दोहनबाट भएका थियो । जुन जुन देशहरुको शोषण भयो उनीहरु बिचरा दीनहीन, गरिबी, बेरोजगारी, भोकमरी र रोगले तबाह भइरहेका थिए ।
संसारमा त्यतिनै वस्तुहरु छन् जसबाट सबले समान रुपले सुखपूर्वक गुजरा गर्न सक्छन् । एक व्यक्तिसँग मालमत्ता थुप्रिन्छ भने भने यो हुनै सक्दैन कि अरु कैयौं मानिस गरिबीको सिकार नभइ त्यो सम्पन्नता हुनै सक्दैन् । यस सामान्य सत्यलाई हाम्रा पुर्खाहरुले राम्ररी बुझेका थिए । त्यसैले उनीहरुले मानव धर्ममा अपरिग्रहलाई महत्त्वपूर्ण स्थान दिएका थिए । वस्तुको कमभन्दा कम संग्रह गर्नु नै वैदिक सभ्यताको आदर्श थियो । ऋषिगण न्यूनतम वस्तुले काम चलाउंथे । उनीहरु कौपीन लगाएर खरको छानामुनि बसोबास गर्थे । राजा जनकले आफ्ना हातले आफैं खेती गरेर आफ्ना परिवारको निर्वाहकालागि अन्न कमाउने गर्थे । प्रजाको सामूहिक धन राज्यकोषमा केवल प्रजाको काममा मात्र खर्च हुन्थ्यो । व्यापारीहरुले आफूलाई जनताका धनको ट्रष्टी मान्दथे र मौका पर्दा त्यस धनलाई किञ्चित नमानी जनतालाई सुम्पिदिन्थे । भामाशाहले राणा प्रतापलाईलाई खाँचो पर्दा आफ्नो सम्पदा दिन गएका थिए । (अकबरसंगको युद्धमा सम्पूर्ण राज्यशक्ति गुमाएका राणाप्रतापका परिवारले वनका फलफूल खाएर पेट भर्नु पर्ने दिन आएको थियो । यस्तोमा मेवाडका एक जना धनी व्यक्तिले युद्धलाई चाहिने धनको ठूलो सहयोग गरेका थिए । उनको नाम भामाशाह थियो । नेपालमा पृथ्वीनारायण शाहलाई निराशाका क्षणहरुमा बिसे नगर्चीले आर्थिक सहयोगको बाटो देखाएका थिए ) जनताको नासो जनताको खाँचो पूरा गर्न बिना हिचकिताहट फिर्ता गरिएका यस्ता अनेकौं उदाहरण पाइन्छन् ।
आजको दृष्टिकोण भने बेग्लै छ । मानिसहरु धन कमाउने होडमा लागेर केही नदेख्ने भएका भएका छन् । नीति–अनीति, उचित–अनुचित, धर्म–अधर्मको प्रश्न जुठेल्नामा मिल्काइ दिएका छन् र सबैले छिटोभन्दा छिटो धनपति हुन बलगरिरहका छन् । धन, अझ बढी धन, छिटो धन, धन, धन, । यसलाई घोक्दा घोक्दा मानिसले आफ्नो होश गुमाइसकेका छन् । पागल फ्याउरो झैं धनको खोजीमा उन्मत्त भएर चारैतिर फन्फन्ती घुमिरहेका छन् ।
पाप एक सरुवारोग हो । यो एक मानिसबाट अर्कोमा सर्दै जान्छ र महामारीझैं बढ्छ । एउटालाई धनी हुनका लागि धुनपत्ता गरेको देखेर अरु अनेकलाई पनि त्यस्तै गर्न मनलाग्छ । अनुचित तरीकाले धन थुपार्ने लुटेराहरुको सङ्ख्या बढ्दै जान्छ अनि लुटिएका र लुट्न पल्केकाहरुको बीचमा संघर्ष हुन्छ । लुट्न पल्केकाहरु आपसमा पनि तँछाडमछाड गर्न थाल्छन् । यसरी तीनतीनवटा मोर्चाहरुमा लडाई शुरु हुन थाल्छ । घरघरमा, गाउँगाउँमा, जातिजातिमा, वर्गवर्गमा । सबैतिर जसरी तसरी छिटोभन्दा छिटो धनी हुनका लागि लुछाचुँडी सुरु हुन्छ । व्यक्तिगत सम्पन्नतालाई सबैकुरा ठान्नुको एउटै निश्चित परिणाम हो कलह र झैझगडा । जसलाई हामीहरुले आफ्ना चारैतिर ताण्डव नृत्य गरेको देखिरहेको छौं ।
जबसम्म मानव जातिले यो गतिविधिलाई सुधार गर्दैन तबसम्म ऊ कठिनाईहरुबाट पार पाउन सक्दैन । एउटा गाँठो फुकाउन नपाउँदै अर्को गाँठो बल्झिनेछ । एउटा संघर्ष शान्त हुन नपाउँदै अर्को संघर्ष सुरु हुनेछ । न लुटिएकालाई निद्रा पर्ने छ, न लुटनपल्केकालाई शान्ति मिल्ने छ । एउटा धनी हुनु भनेको अरु अनैकौंका मनमा ईष्र्याको, डाहाडको, जलनको आगो बाल्नु हो । के सत्य घाम झैं छर्लंग्ग छ भने एउटालाई धनी बनाउनु भनेको अनेकोंलाई गरीब राख्नु हो । यस खराबीलाई रोक्न हाम्रा पूर्वजहरुले स्वेच्छाले स्वीकृत अपरिग्रहको शासन स्थापित गरेका थिए । आजको संसारं राजसत्ताद्वारा जबरदस्ती समाजवादी प्रणालीको स्थापना गर्न खोजिरहेको छ ।
वस्तुतः जीवनयापन गर्नका लागि एक निश्चित मात्रामा धनको खाँचो पर्छ । यदि लुछाचुँडी नगर्ने हो भने थोरै प्रयासलले प्रत्येकले आफ्नो आवश्यकताका वस्तुहरु प्राप्त गर्नसक्छ । शेष समयमा विविध प्रकारका उन्नतिहरुको साधना गर्न सकिन्छ । मानव शरीर धारण गर्नका लागि आत्मा जुन लोभको कारणले तैयार हुन्छ, त्यस रसलाई त्यस बेलामात्र अनुभव गर्न सकिन्छ जुन बेला धन सञ्चयको ज्वरो ओर्लिन्छ । अनि यस ज्वरोका साथै अन्य अनेक जुन उपद्रवहरु उम्रिएका हुन्छन् तिनीहरुको पनि अन्त हुन जान्छ । परमात्मा समदर्शी छ । उसले सबलाई समान सुविधा दिन्छ । हामीले त्यति मात्र भौतिक पदार्थहरुको सञ्चय गर्नु पर्दछ जति उचित तरीकाले कमाउन सकिन्छ र वास्तविक आवश्यकताहरुका लागि जरुरी छन् । यसभन्दा बढी सामग्रीको सञ्चयको तृष्णा गर्नु हुँदैन किनभने यो तृष्णा ईश्वरीय इच्छा विपरीत छ र यसले अनेक कलह उत्पन्न गर्छ ।
३. धन विपत्तिको कारण पनि हो
यसरी हामीले के देख्छौं भने वर्तमान समयमा संसारका अधिकांश मासिहरुले धनलाई उसको वास्तविक स्थानभन्दा धेरै अग्लो आसनमा बसालिदिएका छन् । आजको अवस्था देखेर हामीलाई के लाग्छ भने मानव जीवनको सबभन्दा ठूलो शत्रु धन हो । यो कुरा मान्नै पर्छ । ईसाले के गलत भनेका छैनन् भने स्वर्गमा धनीको प्रवेश असम्भव छ । यसको अर्थ कति मात्र हो भने धनले मानिसलाई अन्धो बनाइदिन्छ अनि संसारका सबै कर्तव्यहरुबाट ऊ तल खस्न जान्छ । धनको महत्त्व के मा छ भने त्यो लोक सेवामा खर्च हुनुपर्छ ।
श्रीमद्भागवतमा भनिएको छ–
स्तेयं हिंसानृतं दम्भः कामः क्रोधः स्मयो मदः ।
भेदोः वैरमविश्वासः संस्पर्धा व्यसना नि च ।।
एते पञ्चदशानर्था ह्यर्थमूला मता नृणाम् ।
तस्मादनर्थमर्थाख्यं श्रेयो अर्थी दूरस्त्यजेत् ।।११ । २३ । १८–१९।।
(धन) ले मानसिहरुमा चोरी, हिंसा, झूठ, दम्भ, काम क्रोध, गर्व, मद, भेद, बुद्धि, वैर, अविश्वास, स्पर्धा, लम्पटता, जुआ, र रक्सी जस्ता अनर्थ उत्पन्न हुन्छन् । त्यसैले कल्याण कामी मासिहरुलाई अर्थ नामधारी अनर्थलाई टाढैबाट त्याग्नु पर्छ ।
आज संसारमा बहुतै कम मानिसहरुलाई सुखी भन्न सकिन्छ । विगतमा हाम्रो जीवन केवल रोटी कमाउनमा खर्च भयो । अब हामीलेले समाजमा आफ्नो ठाउँ बनाउन खर्च गर्नु पर्छ । केवल धन र समृद्धि मात्र जीवनको लक्ष्य हुनु हुँदैन । लक्ष्य के हुनु पर्छ भने कहिल्यै दुखी नहुनु, सधैं प्रसन्नचित्त रहनु । हरेकको जीवनमा सबभन्दा महान प्रेरणा के हुनु पर्छ भने कि हाम्रो जीवन प्रकृतिको नजीकभन्दा नजीक हुन जाओस्, तर्क तथा बुद्धिभन्दा टाढा पुगोेस् । हामीले आफ्नो जीवनमा काम गर्नुको आदर्श बुझ्नु पर्छ । यो आदर्श पेटको धन्दा होइन, सेवा हुनु पर्छ । सर्वकल्याण, समाजसेवा सामाजिक जीवन तथा शिक्षा नै हाम्रो कार्यक्षेत्र हो । हामीले यस्तो युगको कल्पना गर्नु पर्छ जब हाम्रो जीवनको लक्ष्य केवल जीविकोपार्जन मात्र होइन । जीवन केवल अर्थशास्त्र वा प्रतिस्पर्धाको वस्तु मात्रमा सीमित हुनुहुँदैन ।
व्यापारका नियम बदलिएर जानुपर्छ । एउटा काम गर्ने अनेक मानिस हुनपर्छ् र अनेक मानिसहरुले एउटैकाम गर्न सक्नु पर्छ । मालिक र नोकरमा काम गर्ने समयको कचकच कहिल्यै हुनुहुँदैन् । मानिस केवल शरीर होइन उसको आत्मा पनि हुन्छ । उसको देवता पनि हुन्छ । उसको इहलोक र परलोक पनि हुन्छ ।
यदि हामीले आफ्नो र अर्काको हृदय भित्र बसेर यो कुरा बुझ्यौं भने हाम्रो जीवन कति सुखी हुन्छ कति ? तर आज हामीले यस्तो गर्दैनौं, किन? यसको कारण धनको विपत्ति नै हो । धनको दुनियाँमा निर्धनको व्यक्तित्व समाप्त हुन जान्छ ।
जबसम्म आफ्ना व्यक्तित्वका विकासको अवसर पाईंदैन मानिस सुखी हुन सक्दैन । सुख त्यो सुगन्ध हो जुन अरुलाई लगाउनु अघि आफैले लगाउनु पर्छ । यो सगन्धित त्यसबेला हुन्छ जब हामीले आफ्ना कामहरु अर्कालाई सघाउने भावले गर्छौं । बरु आफ्नो इच्छा दमन गर्नु परोस् तर हामीले अर्काका सुखको आदर गर्नु पर्छ । सुखको सबभन्दा ठूलो साधन निःस्वार्थ सेवा हो ।
संसारमा धनको सबभन्दा ठूला उपासक यहुदीहरु मानिन्छन् । तर यहुदी समाजमा पनि अब धनका विरुद्ध जेहाद सुरु भएको छ । यरुशलम मित्र संघको तर्फबाट ‘चूज’ (Choose) अर्थात् छनौट गर शीर्षक एक पुस्तक प्रकाशित भएको छ जसको लक्ष्य हो, तिमी ईश्वर र शैतान दुवैलाई संगै उपासना गर्न सक्दैनौ । यसका लेखक आर्थर ई जोन्सले भनेका छन्–’कस्तो कुबेलामा रुपैयाँ पैसा संसारमा आयो कुन्नी? जसले आज हामीमाथि कति अधिकार जमाएको छ भने हामी उसको अंग हुन पुगेका छौं । मैले संसारमा समृद्धिको सबभन्दा ठूलो बाधा रुपैयाँ हो भन्दा पुराना मानिसहरुले अप्ठारो मान्लान् । तर आज संसारमा जे जति पीडा छ, त्यो यसै नीच देवताको कारणले हो । खाद्य सामग्रीको संकट रोगव्याधि सबको कारण यही हो किनभने सुखको सबै सामग्री यसैबाट प्राप्त गर्न सकिन्छ त्यसैले संसारमा यतिविधि कष्ट छ । जति समय उपभोगको सामग्री उत्पादन गर्नमा लाग्छ त्यसभन्दा कैयौं गुना बढी समय ती वस्तुको विक्रीको दाउपेंचमा लाग्छ । व्यापारको दुनियांमा यस्ता करौडौं नरनारी व्यस्त छन् जसले उत्पादनको नाममा केही झिंगो मार्दैनन् ।’
विपत्ति के हो भने मानिसहरुले एक अर्कालाई प्रेम गर्दैनन् । यदि स्वार्थी भावनाको स्थानमा प्रतिपादनको भावना हुनजान्छ भने हर एक वस्तुको आर्थिक महत्त्व समाप्त हुनजानेछ । आज लाखौं मानिसहरु हिसाब किताब, र खातापाताको काममा परेशान छन् र लाखौं मानिस फौज, पलटन वा पुलिसमा केवल खाता र त्यसका कोष रक्षाका लागि नियुक्त छन् । जेल तथा पुलिसको खाँचो रुपैयाँको दुनियाँमा हुन्छ । यदि यिनै मानिसहरु आफैं उत्पादनको काममा लाग्छन् र आफ्ना उत्पादनको आर्थिक मूल्य प्राप्त नगरेर शारीरिक सुख मात्र प्राप्त गर्छन् भने संसार कति सुखमय होला ?
आज संसारमा अटूट सम्पत्ति उच्च अट्टालिकाहरुमा, बैंक तथा वित्तीय कम्पनीहरुको भवनमा सेना, पुलिस, जेल तथा रक्षकहरुहको दल लागेको छ । यदि सम्पत्ति र त्यसको बढ्दो मायाजाल संसारको पेट भर्नमा खर्च हुन्थ्यो भने आजको दुनियां कस्तो हुन्थ्यो? अस्पतालहरुमा लाखौं नरनारी रुपैयांको मारले वा अभावले बिरामी परेका छन् तथा लाखौं नरनारी धनका लागि जेल सजायं भोगिरहेका छन् । प्रायः हरेक परिवारमा यसको झगडा छ । मालिक तथा नोकरमा यसको झगडा छ । यदि धनको मर्यादा हुदैनथ्यो भने यो संसार कति मर्यादित हुन्थ्यो होला?
के कुरा सत्य हो भने संसारबाट पैसा एकदम हटेर जाओस् यसको संभावना भने छैन । तर पैसाको विकास, त्यसको महत्ता तथा त्यसकोे रजाईंलाई रोक्न सकिन्छ । यसका लागि हामीले आफ्नो मोह हटाउनु पर्ने छ। स्वार्थको ठाउँमा परार्थ, समृद्धिको झुट्ठा सपनाको ठाउंमा त्याग तथा भाग्यको ठाउंमा भगवानको शरण लिनु पर्नेछ । होइन भने आजको हाइ हाइ, जसले हाम्रा जीवनको सुख नष्ट गरिसकेको छ, त्यो अब हाम्रो आत्मा पनि नष्ट गर्न लागिपरेको छ । अरु सब दिएर भए पनि हामीले आफ्नो आत्मा बचाउनु छ ।
४. धन के हो ? के होइन ?
कुरा के हो भने झुक्किएर हामीले रुपैयाँ पैसालाई धन ठानेका छौ, स्थावर सम्पत्तिको नामकरण हामीले धनको रुपमा गरिभ्याएका छौं र हाम्रो जीवनको केन्द्रबिन्दु, आनन्दको स्रोत यस स्थावर जङ्गमको रुपमा हामी ठान्दछौं । हाम्रो प्रवाहले बाटो नै बिराएको छ । के हाम्रो अमूल्य श्वास प्रश्वासका केही क्रियाहरुका नापको तुलना लोकको कुल सम्पत्तिबाट गर्न सकिन्छ ? कुबेरको सारा खजाना पनि जीवनरुपी धनको चरण रजभन्दा तुच्छ किन नभन्ने ? सच्चा धन हाम्रो स्वास्थ्य हो । विश्वका सम्पूर्ण उपलब्ध सामग्रीको अस्तित्व जीवन धनको योग्य शक्तिमा आधारित छ । मानिसहरु अप्राप्यका लागि मरिमेटि गर्छन् भने प्राप्यलाई बेवास्ता गर्छन् । हामीसँग जे छ त्यसका लागि सुखको साँस लिदैनौं, सन्तोष गर्दैनौं । बरु के छैन यसका लागि चिन्तित र दुखी हुन्छौं । परेशान हुन्छौं । मानवीय स्वभावका अनेकौं दुर्बलतामध्ये प्राप्यप्रति असन्तोषी हुनु उसको स्वभावजन्य पद्धति मानिएको छ ।
मानिस आदिकालदेखि मस्तिष्कबाट टाटपल्टेको छ । हेर्नुस न, एक दिन एक हृष्ट पुष्ट माग्ने जसको बलियो शरीर सबल अभिव्यक्तिको प्रतीक थियो, एक गृहस्थ ज्ञानीको ढोकामा गएर आफ्नो दरिद्रताको, आफ्नो अपूर्णताको बडो जोडदार तरीकाले बयान गरिरहेको थियो । यसले के बुझिन्थ्यो भने त्यो मानिस असाध्यै गरिब छ । र यसका लागि विश्व निर्माता ईश्वरलाई दोष दिइरहेको थियो ।
अचानक ज्ञानीे गृहस्थले भने– बाबु, मलाई मेरो भाइका लागि आँखाको एउटा नानी चाहिएको छ । एक शय दिन्छु , मलाई दिनुहुन्छ । माग्नेले तुरन्तै हुन्न भनिहाल्यो र भन्यो उसले दस हजार रुपैयांमा पनि आफ्ना शरीरका अमूल्य अङ्गहरु दिन तैयार छैन ।
एक छिन पछि गृहस्थले फेरि भने– मेरो छोराको मोटर दुर्घटनामा देब्रे गोडा भांचिएको छ, तपाईंले दस हजार रुपैयाँ दिएर आजै अस्पताल पुगेर त्यसलाई गोडा दिनु भए बडो गुन मान्थें ।
यो सुनेर माग्ने रिसले मुर्मुरिंदै भन्न थाल्यो– दस हजार होइन, एक लाख होइन, दस लाखमा पनि मैले मेरो अमूल्य शारीरिक अवयव दिन तैयार छैन । यति भनेर रिसाएर फर्कन थाल्यो ।
ज्ञानीले माग्नेलाई रोकर गम्भीरतापूर्वक भन्न थाले– बाबु, तिमी त बडो धनी रहेछौ । तिम्रा दुई अङ्गको मोल ५० लाख रुपैयाँ बराबर छ भने तिम्रा पूरै शरीरको मोल त अरबौं रुपैयाँ हुने भयो नि । तिमीले आफ्नो दरिद्रताको झ्याली पिट्दै हिँडेका छौ । लाखौं रुपैयाँ मिल्काउंदै हिंडिरहका छौ । हेर जीवन अमूल्य छ ।
हामीले आफ्नो सोच ठीक बनाउनु पर्छ । माटाको डल्लालाई, जड वस्तुलाई धन मानेर त्यसको रक्षाका लागि चौकीदार राखेर विशाल ढुकुटीहरुमा सुरक्षित गरिएका छन् । चोरबाट, डाकुबाट अनेक गरेर हामीले त्यस माटोलाई जोगाइरहेका छौं तर प्रतिदिन नाशवान हाम्रो शरीरको जीवन दीपको तेल प्रत्येक दिनका अशोच्य क्रियाकलापद्वारा थोपाथोपा सकिँदै गइ यो निभ्दै छ । निर्वाण दीपे किम तैल्य दानम् । यो बत्ती निभ्यो भने तेलको के गर्ने?
हामीलाई आलस्य अकर्मण्यता आदि स्वास्थ्यलाई हानि पुर्याउने दैनिक क्रियाहरुद्वारा यस जीवन धनको रक्षा गर्नु पर्नेछ । व्यसन, व्याभिचार, संयमहीनताका डाकुहरुले कहीं लुटेर नलैजाउन । सतर्कता साथ जागरुक रहनु पर्छ ।
रुग्ण शैयामा पल्टेका रोमका अन्तिम सम्राटलाई राजवैद्यद्वारा अन्तिम निराशाजनक सूचना प्राप्त भयो– हजुर अब संसारमा केही क्षणका पाहुना हुनुहुन्छ ।
मन्त्रीहरुलाई साम्राज्ञीले कैयौं पटक आग्रह गरिन् । राजकीय कोषको आधा भाग राजवैद्यको चरणमा टक्र्याइन् र भनिन्– दुई घण्टा अरु जिउँदो राखिदिनु पर्यो ।
राजवैद्यको उत्तर थियो– त्रैलोक्यको सम्पूर्ण लक्ष्मीले समेत सम्राटलाई एक छिन थप साँस दिन सक्दैन ।
के हाम्रा आंँखाको ज्ञानको ज्योति निभ्यो ? के उपर्युक्त कथनले स्पष्ट हुंदैन जीवन धन अनमोल छ, बहुमूल्य छ । अखिल ब्रह्माण्डको कुनै पनि वस्तुको तुलनामा यो महान छ ।
५. धनको सच्चा स्वरुप चिनौं
धन किन जम्मा गर्नु पर्दछ ? सदुपयोगका लागि । र त्यस सदुपयोगबाट सुख र सन्तोष प्राप्त गर्नका लागि । तर यदि धनजम्मा गर्ने लालसा बढेर तृष्णाको रुप धारण गर्छ तथा मानिसलाई धर्म अधर्मलाई वास्ता नगरी पैसा थुपार्ने अथवा आफ्ना आवश्यकतालाई उपेक्षा गरेर धन जम्मा गर्ने कञ्जुसीको बानी परेको छ भने त्यस्तो धन धुलो बराबर हो । कुनै मानिस निकै धनी हुनसक्छ तर उसमा मनुष्यताका लागि आवश्यक गुणको विकास नहुनसक्छ । ऊ अत्याचारी बेइमानी वा लम्पट नै भइरहन्छ अर्थात् धनमा वृद्धि हुँदा उसमा सद्विचार, सद्वृत्ति विकसित हुँदैनन् । यस्तोमा के बुझ्नुभने त्यो धन जम्मा गर्नु निरर्थक गयो । किनभने उसले धनलाई साधन
नबुझेर साध्य बुझेको छ । धनको गुण उदारता बढाउनु हो, हृदय विशाल पार्नु हो । कञ्जुसी वा बेइमानीको भाव जुन कमाईसंग जोडिएको छ त्यो कमाई केवल दुःखदायी सिद्ध हुनेछ ।
जसको हृदय दुर्भावनाहरुबाट कलुषित भएको छ यदि उसले कञ्जुसी गरेर धन जोडिहाल्छ भने पनि उनका लागि त्यस धनले कुनै सुख दिने छैन । बरु त्यो धन दुख कष्टको कारण हुने छ । यस्ता धनवान्लाई हरिकङ्गाल नै भन्नु पर्छं किनभने पैसाबाट शारीरिक र मानसिक सुखसुविधा जुन पाउनु पर्ने हो त्यो त उसले पाएन पाएन बरु उल्टै त्यसको रखवारीको भारी र जोखिम टाउकोमा बोकेर हिंडिरहेको हुन्छ । जसले आफ्नो आराममा, स्त्रीको स्वास्थ्यमा, सन्तानको पढाईमा कौडी खर्च गर्न चाहंदैन उसलाई कसले धनवान् भन्न सक्छ?
अर्काको कष्टमा ढुङ्गो भएर बस्छ तर शुभकार्यमा केही दान गर्ने नाममा जसको प्राण निस्किन्छ यस्तो अभागी मक्खीचूसलाई कदापि धनी भन्न सकिंदैन । यस्ता मानिससंग सीमित मात्रामा सिक्का जम्मा हुन सक्छन् किनभने त्यसबाट उसले ब्याज कमाउने आँट गर्न सक्छ। बरु यस कमाइमा घाटाको जोखिम छ ।
कञ्जुस त डराइरहन्छ– मेरो पैसा डुब्छ कि? त्यसैले उसले आफ्नो छातीबाट निक्लेर कुनै कारोबारमा लगाउने आँट गर्न सक्दैन । यी सबै कारणले कुनै पनि कञ्जुस स्वभावको मानिस ठूलो धनी बन्न सक्दैन । तृष्णा कुनै अन्त छैन । वासना छायाँ जस्तै हो । जसलाई आजसमम कसैले समात्न सकेको छैन । छायाँको पछाडि जति दगुरिन्छन् त्यो झन्् टाढा भाग्छ । मानिसका जीवनको उद्देश्य केवल पैसा थुपार्नु होइन, बरु यो भन्दा केही बढी हो ।
पोम्पेइ नगरका खण्डहरुहरुलाई उत्खनन गर्दा एउटा यस्तो मानव कङ्काल भेटिएको थियो जसले हातमा सुन डल्लो मुठी कसेर समातेका थियो । (इटालीको विकसित नगर पोम्पेइ नगरमा विसुभियस नाम गरेको ठूलो जालामुखी विस्फोट भएर धेरै मानिसहरुको लाभामा परिमृत्यु भएको थियो । जमीनमा गडेको यस नगरको बारेमा अठारौंशताब्दीको उत्खनन पछि जानकारी भएको हो।) मानिसहरुले के अनुमान गरेका छन् भने त्यस मानिसलाई मर्ने बेलामा सुनको रक्षाका लागि बढी चिन्तित रहेछ । एउटा पानीजहाज समुद्रमा डुब्न थालेको थियो । सबै मासिहरु ससाना डुङ्गाहरुमा बसेर जिउ जोगाउन थालेका थिए तर एक जनाले
भने जहाजको खजाना बटुल्न थाल्यो । साथीहरुले भने– ए साथी, भाग । नत्र डुब्छस । तर उसले सुनेन । खजाना बटुल्नमा लागिरह्यो
। फलस्वरुप पानी जहाजसंगै समुद्रमा डुब्यो ।
एक कञ्जुसको तपस्याबाट प्रसन्न भएर भगवान शङ्करले उसलाई यस्तो थैली दिनु भयो जसमा जति निकाले पनि एक रुपैयाँ बाँकी रहन्थ्यो । साथै भगवान शङ्करले के चेतावनी पनि दिनु भयो भने हेर् बाबु, जबसम्म यस थैलीलाई नष्ट गरिंदैन, त्यस बेलासम्म खर्चको सुरुआत नगर्नु ।
त्यस गरीबले एक एक गरेर रुपैयाँ निकाल्दै गर्यो, निकाल्दै गर्यो । कहाँसम्म भने रुपैयाँ निकाल्दा निकाल्दा अत्तालिएर उसको मृत्यु भयो ।
एक पटक लक्ष्मीजीले एक भिखारीलाई आएर भन्नु भयो, तिमीलाई जति सुन चाहिन्छ लैजाउ । तर यो भुईंमा खस्नु हँुदैन । भुईंमा खस्नासाथ यो सुन माटो हुन जानेछ । भिखारीले आत्तिएर आफ्नो थोत्रो झोलामा सुन भर्न थाल्यो । भर्दा भर्दा त्यो झोली च्यातियो र सबै सुन भुईंमा खस्यो, आखिर माटो भयो ।
मोहम्मद गौरी जुन दिन मर्न थालेको थियो उसले आफ्नो सारा खजाना आँखा अगाडि फिँजाएर राख्न लगायो । अनि त्यो खजाना आँखा च्याति च्याति हेर्न थाल्यो । उसका आँखाहरुबाट बर्बर आँसु बग्न थाले । तृष्णाले सताइएका कञ्जुसहरु सधैं माग्ने भिखारी भन्दा कम हुँदैनन् भलै उनीहरुको तिजोरी सुनले भरिएको होस् । सच्चा दौलतको बाटो आत्मालाई दिव्य गुणबाट सम्पन्न गर्नु हो । हृदयका सत्प्रवृत्तिहरु छोडेर बाहिर कही. पनि सुख शान्ति छैन, यो नै सत्य हो । झुक्किएर हामीले बाहिरबाहिर सुख खोज्न गएका हुन्छौं ।
हुनत केही नीच र निकम्मा मानिसहरुले पनि अनायास थुप्रै धन आर्जन गर्न सक्छन् तर तिनीहरु वास्तविक धनपति होइनन् । यथार्थमा उनीहरु दरिद्र भन्दा पनि बढी दद्रिता भोग्नेहरु हुन् । उनीहरुको धन बेकार छ । अस्थिर छ । र निकै अंशमा त्यो उनका लागि दुखदायी नै हुनेछ । दुर्गुणी धनवान अरु केही होइन केवल एक मागीखाने भिखारी हो । मर्ने बेलासम्म जो धनवान हुन्छ उसलाई बडो भाग्यमानी भन्छन् तर उसलाई अभागी भन्नु पर्छ किनभने अर्को जन्ममा आफ्ना पापको फल त उसले भोग्नै पर्छ । त्यस अभागीले धनलाई न भोग गर्न सक्यो न संगै लैजान सक्यो । जसका हृदयमा सत्प्रवृत्तिको वास छ, उसले जति नै गरिबीको जीवन बिताए पनि उही सबभन्दा बढी धनवान् हुन्छ । सद्गुणी निश्चय नै सुखी हुन्छ । समृद्धि उसको स्वागतका लागि ढोका खोलेर उभिएको हुन्छ । यदि तपाईं कहिल्यै नसकिने सम्पत्ति चाहनुहुन्छ भने धर्मात्मा बन्नुहोस् । लोभमा परेर अझ पैसा थप्नका लागि दुष्कर्म गर्नु कङ्गालीको ओरालो बाटो हो । होश गर्नु, सुनको लोभमा कमाउन जाँदा माटोमात्र हात पर्ला ।
एडिसनले एक पटक भनेका थिए– देवताहरुले जब मनुष्य जातिमाथि कुनै ठुलो कृपा गर्न चाहन्छन् भने आँधिबेहरी, हुरी र दुर्घटनाहरु दिन्छन् । यसबाट मानिसहरुमा लुकेको पौरुष प्रकट हुनजान्छ । र उनीहरुले आफ्नो विकासको अवसर प्राप्त गर्छन् । कुनै ढुङ्गा त्यस बेलासम्म सुन्दर मूर्ति बन्दैन जबसम्म उसलाई घन र छिनाले हजारौं पटक साना ठूला घाउ लगाएर राम्ररी कुँदिएको हुँदैन । एडमण्ड बर्कले भन्छन्- कठिनाई व्यायामशालाको त्यस उस्तादको नाम हो जसले आफ्ना शिष्यहरुलाई पहलमान बनाउन खुद आफू उनीहरुसंग लड्छ । र उनीहरुलाई पटक पटक पछारेर उनीहरुलाई कति मजबूत बनाउंछ भने उनीहरुले अरु पहलमानलाई सजिलै पछार्न सक्छन् ।
जोन बानथनले ईश्वरको प्रार्थना यसरी गर्दथे– हे प्रभु, मलाई अझ कष्ट दे यसबाट मैले अझ बढी सुख भोग्न सक्छु । के देखिएको छ भने जुन वृक्ष ढुङ्गा र कठोर भूभागमा उत्पन्न हुन्छन्, र बाँच्नका लागि सर्दी–गर्मी, आँधी–बेहरी आदिसंग निरन्तर युद्ध गर्छन् तिनीहरु बलिया र बढी समय बाँच्ने हुन्छन् । जसलाई कठिन अवसरहरुको सामना गर्नु पर्दैन उनीहरुले जीवनभर कुनै महत्त्वपूर्ण कार्य गर्न सक्दैनन् ।
एक तत्वज्ञानीले भन्ने गर्दथे– महापुरुष दुखको कोक्रोमा झुल्छन् र विपत्तिहरुको तकिया राख्छन् । विपत्तिहरुको अग्निले हाम्रा हड्डीलाई फलाम जस्तो बलियो बनाउँछन् ।
एक पटक एक युवकले एक अध्यापकलाई सोध्यो– के म एक दिन प्रसिद्ध चित्रकार बन्नसक्छु ?
अध्यापकले असहमतिमा टाउको हल्लाए– अहँ ।
अनि त्यस युवकले दङ्ग परेर सोध्यो– किन ?
अध्यापकले उत्तर दिए– किनभने तिमीले बाबुबाजेको सम्पत्तिमा घर बसी बसी धन कमाइरहेका छौ । पैसाको झिलिमिलीमा मानिसले आफ्नो कर्तव्य पथ भेटाउँदैन । अनि बाटो बिराएर कहाँबाट कहाँ पुग्न जान्छ ।
कीमती हतियारहरु फलामलाई पटक फटक आरनमा तताएर बनाइन्छन् । काट्ने हतियार त्यसबेला बल्ल धारिलो बन्छ जब त्यसलाई ढुङ्गोमा बेसरी उदाइन्छ । मेसिनमा राखेर हीरालाई बारम्बार काट्ने र तलास्ने नगरीकन हीरा चम्किदैन । चकमक पत्थरलाई रगडिएन भने त्यसभित्र को अग्नि बाहिर आउँदैन । परमात्माले मानिसलाई अनेक बहुमूल्य वस्तु दिएका छन् । यसमा सबभन्दा महत्त्वपूर्ण गरिबी, कठिनाई, आपत्ति र असुविधा हुन् । किनभने यिनैले मानिसले आफ्ना सर्वोत्तम गुणहरुको विकास गर्ने मौका पाउँछ । केही गरी परमेश्वरले सबैकाम सजिलो बनाइदिएको भए भने निश्चय नै अल्छी भएर हामीहरु उहिल्यै सखाप भइसक्थ्यौं ।
यदि तपाईंले बेइमानी गरेर लाखौं रुपैयांको सम्पत्ति जम्मा गर्नु भयो भने के ठुलो काम गर्नु भयो ? दुखी गरिबहरुको रगत चुसेर आफ्नो पेट भरेको छ भने यो के ठूलो सफलता भयो । तपाई अमीर बन्दा यदि अन्य अनेक व्यक्ति गरिब हुन गए र तपाईंको व्यापारले अन्य अनेक मानिसको जीवन पतित भएको छ, अनेकौंको सुख शान्ति नष्ट भएको छ भने यस्तो अमिरीलाई धिक्कार छ ।
हेक्का राख्नुहोस्, एक दिन तपाईंलाई सोधिने छ, धन कसरी कमाउनु भएको थियो ? कसरी खर्च गर्नु भएको थियो ? के नबिर्सनु होस्भ ने तपाईलाई एक दिन न्यायको तुलामा जोखिने छ । त्यसबेला आफ्नो गलतीमा पछुतो मान्नु पर्ला । अनि बल्ल थाहा पाउनु हुनेछ जस्तो हुनु पर्ने थियो त्यो नभएर अर्कै पो भइएछ ।
तपाईंलाई अचम्म लाग्ला । के बिना पैसा कोही धनवान हुन सक्छ ? तर सत्य के हो भने यस संसारमा अनेक मानिसहरु यस्ता छन्ज सको खल्तीमा एक पैसा छैन वा जसको खल्ती नै छैन तर पनि उनीहरु धनवान् छन् । र कति धनवान भने उनको समता कसैले पनि गर्न सक्दैन । जसको शरीर स्वस्थ छ, हृदय उदार छ र मन पवित्र छ यथार्थमा धनवान उही हो । स्वस्थ शरीर चाँदी भन्दा कीमती छ । उदार हृदय सुनभन्दा बढी मूल्यवान छ र पवित्र मनको मूल्य रत्नहरुभन्दा कैयौं गुना बढी छ ।
लार्ड कलिंगवुडले भन्थे, अरुलाई धनमाथि मर्न देउ । म बिना पैसाको अमीर छु । किनभने मैले जे कमाउँछु राम्रो कामले कमाउँछु ।
सिसेरोले भनेका छन्, मसंग ईमानदारीसाथ कमाएका थोरै पैसा छन् तर तिनीले मलाई करोडपतिभन्दा बढी आनन्द दिन्छन् ।
दधिची, वशिष्ठ, व्यास, वाल्मीकि आदि बिना पैसाका अमिरहरु हुन् । उनीहरुलाई के थाहा थियो भने मानिसको सबै आवश्यक भोजन मुखबाट मात्र प्रवेश गर्दैन, आनन्द दिने सबै वस्तु पैसाले किन्न सकिंदैन । ईश्वरले जीवनरुपी पुस्तकको प्रत्येक पृष्ठमा अमूल्य रहस्यलाई अंकित गरिराखेको छ । यदि हामीले चाहन्छौ भने त्यो चिनेर जीवनलाई प्रकाशपूर्ण बनाउन सक्छौं । एक विशाल हृदयको र उच्च आत्मा भएको मानिस झुप्रोमा पनि रत्नको जगमगाहट बनाउन सक्छ । जो सदाचारी छ र परोपकारमा प्रवृत्त छ, ऊ यस लोकमा धनी छ र परलोकमा पनि धनी छ चाहे उसको पासमा द्रव्यको अभाव होस् । यदि तपाईं विनयशील प्रेमी निस्वार्थ र पवित्र हुनुहुन्छ भने विश्वास गर्नु होस् तपाईं अनन्त धनका स्वामी हुनुहुन्छ ।
“जो संग पैसा छैन उसलाई गरिब भनिन्छ तर जो संग केवल पैसा छ ऊ त हरिकंगाल नै हो ।”
के तपाईंले सदुबुद्धि र सद्गुणहरुलाई धन मान्नु हुन्न ? अष्टावक्र आठ ठाउंमा बांगा थिए र गरीब थिए । तर जुन दिन जनकको सभामा गएर आफ्नो गुणको परिचय दिए राजा उनको शिष्य हुन बाध्य भए । द्रोणाचार्य जुन दिन धृतराष्टको दरबारमा पुगेका थिए उनको शरीरमा कपडा पनि थिएनन् । तर उनका गुणहरुले उनलाई राजकुमारका गुरुको सम्मानपूर्ण पद प्रदान गर्यो ।
महात्मा डायोजनीजका अगाडि गएर विश्वविजयी सिकन्दरले निवेदन गर्यो– महात्मन तपाईंलाई के दिउं ?
उनले भने– मेरो घाम नछेक र अर्कातिर उभिउ । त्यो कुरा मसंग नखोस, जो तिमीले मलाई दिन सक्दैन ।
अनि सिकन्दरले भन्यो– यदि म सिकन्दर हुंदैनथें भने डायोजनीज हुन रुचाउंथें ।
गुरु गोविन्दसिंह, छत्रपति शिवाजी, राणा प्रताप आदिले धनका लागि आफ्नो जीवन उत्सर्ग गरेका थिएनन् । तत्वज्ञहरुको भनाई छ– हे ऐश्वर्यको इच्छा गर्नेहरु हो, आफ्ना तुच्छ स्वार्थहरुलाई सडेगलेको थोत्रो लुगा जस्तै फुकालिदेउ । प्रेम र पवित्रताका नवीन परिधान ग्रहण गर । रुन, कल्लाउन, आत्तिन र निराश हुन छोड । विपुल सम्पदा तिमी भित्र छ । धनवान बन्न चाहन्छौ भने उसको सांचो बाहिर होइन भित्र खोज । धन अर्थोक केही होइन सद्गुणहरुको सानो प्रदर्शन मात्र हो । लोभ, क्रोध, घृणा, द्वेष छल र इन्द्रिय लिप्सा त्याग । प्रेम पवित्रता सज्जनता नम्रता दयालुता धैर्य र प्रसन्नतालाई आफ्नो मनमा भर अनि दरिद्रता तिम्रो ढोकाबाट पलायन हुन्छ । निर्बलता र दीनताको दर्शन हुने छैन । भित्रबाट एक यस्तो अगम्य र सर्वविजयी शक्तिको आविर्भाव हुने छ जिसका विशाल वैभव टाढासम्म जाने छ ।
६. ईमानको कमाई टिकाउ हुन्छ
जसले धनको विषयमा अध्यात्मको दृष्टिकोण बुझ्छ उसले कहिल्यै पनि धनलाई सर्वोपरी स्थान दिन सक्दैन । यसको अर्थ के होइन भने उसले संसारलाई त्याग गरीदिन्छ अनि निर्धनता र दरिद्रताको जीवनयापन गर्न थाल्छ । यस भनाईको आशय के मात्र हो भने धनका लागि नीति र न्यायका नियमहरुको अवहेलना कदापि गर्नु हुँदैन । जहाँ धर्म र अधर्म, सत्य र असत्यको कुरा आउँछ त्यहाँ, धनको लाभ होस वा हानिको चिन्ता नगरी, सधैं धर्म र सत्यको पक्ष ग्रहण गर्नु पर्छ । धन कमाउनु पर्छ । त्यसको उचित उपभोग पनि गर्नु पर्छ तर पूरा ईमानदारीपूर्वक ।
धन भनेको नदी जस्तै हो । नदी सदा समुद्रतिर अर्थात् तलतिर बग्छ । यसैगरी धनलाई पनि जहाँ आवश्यकता छ त्यहीँ जानु पर्छ । तर जसरी नदीको गति बदलिन सक्छ त्यसै गरी धनको गतिमा पनि परिवर्तन हुनसक्छ । कति नदिहरु यताउति बग्न जान्छन् । यताउति नबगेर पानी जम्मा भइरह्यो भने त्यहाँको हावा विषालु र रोगी हुनजान्छ । तर त्यसै नदीमा बाँध बाँधेर जता खाँचो छ उतै पानी लग्यो भने त्यही पानीले जमीन उब्जाउ र वरिपरीको वायुलाई स्वास्थ्यकर बनाउँछ । यसै गरी धनको मनपरि व्यवहार हुँदा खराबी बढछ । गरिबी बढछ अर्थात् धन पनि विषतुल्य हुनजान्छ । तर यदि त्यसै धनको गति निश्चित गरिन्छ र नियमपूर्वक व्यवहार गरिन्छ भने बाँधिएको नदी जस्तै त्यो सुखप्रद बन्न जान्छ ।
अर्थशास्त्रीहरुले धनको गतिको नियन्त्रणका नियमहरुलाई भुसुक्कै बिर्सिदिन्छन् । उनीहरुको शास्त्र केवल धन प्राप्तिको शास्त्र हो । तर धन अनेक प्रकारले प्राप्त गर्न सकिन्छ । कुनै समयमा युरोपमा धनीहरुलाई विष खुवाएर उनीहरुको धनको मालिक आफूहुने प्रचलन थियो । अचेल गरिबहरुलाई जुन खाद्य पदार्थ तैयार गरिन्छ त्यसमा व्यापारीले मिसावट गरीदिन्छन्, जस्तै दुधमा स्वाग, पिठोमा आलु, कफीमा चोकर, घिउमा बोसो इत्यादि । यो पनि विषदिएर धनी हुनु जस्तै हो । के यसलाई हामीले धनवान हुने कला वा विज्ञान भन्न सक्छौं ?
तर के बुझनु पर्छ भने अर्थशास्त्रीहरु सफा लूटले पनि धनी हुने कुरा गर्छन् । उनीहरुको तर्फबाट के भन्नु ठीक छ भने उनको शास्त्र कानून संगत र न्याययुक्त उपायबाट धनवान हुने उपाय सिकाउने शास्त्र हो । तर यस जमानामा के पनि हुन्छ भने अनेक कुरा जायज हुँदा हुँदै पनि विवेक बुद्धिले विपरीत हुन्छन् । त्यसैले न्यायपूर्वक धन आर्जन गर्नु सच्चा बाटो भन्न सकिन्छ । र यदि न्यायले नै पैसा कमाउने कुरा ठीक छ भने न्याय अन्याय को विवेक उत्पन्न गर्नु मनुष्यको पहिलो कर्तव्य हुनुपर्छ । केवल लेनदेनका व्यावसायिक नियमले काम लिनु वा व्यापार गरेर मात्र पुग्दैन । यो काम माछा, ब्वाँसा र मुसाहरुले पनि गर्छन् । ठुलो माछाले सानो माछालाई निल्छ । मुसाले ससाना किराफट्याङ्ग्रा खान्छ । र ब्वाँसाले मानिसलाई नै खाइदिन्छ । उनको यही नियम हो । तिनीहरुलाई अर्को केही ज्ञान छैन । तर मानिसलाई ईश्वरले न्यायबुद्धि दिएको छ । त्यसैले मानिसले अरुअरुलाई भक्षण गरेर, ठगेर उनीहरुलाई भिखारी बनाएर आफू धनवान हुनु हुंदैन ।
धन साधन मात्र हो । त्यसले सुख र दुख दुवै प्राप्त गर्न सकिन्छ । असल मानिसको हातमा पर्छ भने त्यसबाट खेती हुन्छ, अन्न उत्पादन हुन्छ । किसानले निर्दोष मजदुरी गरेर सन्तोष प्राप्त गर्छन् । राष्ट्र सुखी हुन्छ । तर खराब मानिसको हातमा धन पर्नाले त्यसबाट गोला बारुद जस्ता कुरा बन्छन् । जसले सर्वनाश हुन जान्छ । गोला बारुद बनाउने राष्ट्र र जसमाथि त्यसको प्रयोग हुन्छ त्यो, ती दुवैले हानि उठाउँछन् र दुख पाउंछन् ।
त्यसैले हामीले के देख्छौं भने सभ्य मानिस नै धन हो जुन राष्ट्रमा नीति छ त्यो धन सम्पन्न छ । यो जमाना भोग विलासको होइन । हरेकले जति काम गर्न सक्छ, त्यतिनै गर्नु पर्छ ।
सुन चाँदी जम्मा गर्नेले कुनै राज्य पाउने होइन । के भुल्नु हुंदैन भने पश्चिममा सुधार भएको भर्खर १०० वर्ष मात्र भएको छ । बरु साँच्चै भन्ने हो भने यति दिनमा नै पश्चिमको जनता वर्णसंकर जस्तो देखिन थालेको छ ।
व्यापारीको काम पनि जनताका लागि जरुरी छ तर हामीले के मानेका छौं भने उसको उद्देश्य केवल आफ्नो घर भर्नु हो । कानून पनि के दृष्टिले बनाइन्छन् भने व्यापारीले झटपट धन बटुल्न सकोस् । तरिका पनि के बनेको छ भने ग्राहकले कमभन्दा कम दाम दिन खोज्छ र व्यापारीले जहांसम्म हुन्छ बढाएर माग्छ । मानिसहरुले व्यापारमा आफैं यस्तो बानी पारेका छन् र अब त्यसलाई उनीहरुको बेइमानीको कारण अरुले नीच दृष्टिले हेर्छन् । यस प्रचलनलाई बदल्नु पर्छ । यो कुनै नियम होइन । व्यापारीले आफ्नो स्वार्थ साधन गर्न धन नै बटुल्नु पर्छ छैन । यस तरिकाको व्यापारलाई हामीले व्यापार नभनेर चोरी भन्नु पर्छ । जसरी सिपाहीले राज्यको सुखलाई ज्यान दिन्छ उसैगरी व्यापारीहरुले जनताको सुखका लागि धन खर्च गर्नु पर्छ । प्राण पनि दिनु पर्छ। सिपाहीको काम जनताको रक्षा गर्नु हो । धर्मोपदेशकको उनीहरुलाई शिक्षा दिनु हो । चिकित्सकको जनतालाई स्वस्थ राख्नु हो र व्यापारीको काम यी सबैका लागि आवश्यक मालसामान जुटाउनु हो । यी सबैको कर्तव्य के हो भने खाँचो पर्यो भने अरुलाई सर्वस्व नि तैयार रहनु ।
७. फजुलखर्ची गर्नु हुँदैन
ईमानदारी र सत्य व्यवहारको उपदेश सुनेर पनि बहुसङ्ख्यक मानिसहरुले यसको पालना गर्दैनन् । यसको मुख्य कारण हाम्रो फजुलखर्चीको बानी हो । जुन जुन मानिसलाई अर्काको देखासिकी गरी आफ्नो सामथ्र्यभन्दा बढी शान देखाउने, थरी थरीका बेकारका काममा खर्च गर्ने बानी परिसकेको छ उनीहरु चाहँदा चाहँदै पनि ईमानमा टिक्न सक्दैनन् । यस्ता मानिसहरुको आर्थिक अवस्था किन सुधार हुनसक्दैन त्यसको एक विवरण यहाँ दिइएको छ ।
(मानौं) तपाईंले १०००० रु मासिक कमाउनु हुन्छ । छिमेकीहरुले तपाईंलाई आर्थिक दृष्टिले सम्पन्न मान्दछन् । तपाईंको हातमा रुपैयाँ आउंछ जान्छ । तर तपाईं यो देखेर अत्यन्त दुखी हुनुहुन्छ कि तपाईंको वेतन महिनाको २० दिन मात्र पुग्छ । अन्तिम १० दिन तानतुन, सापटी, अप्ठेरो र कठिनाईले पूरा हुन्छन् । तपाईंले बजारबाट उधारो सामान ल्याउन सुरु गर्नुहुन्छ । जीवनरक्षक पदार्थ पनि तपाईं किन्न नसक्नेमा पुग्नु हुन्छ ।
तपाईंको सेवक, छोराछोरी, पत्नीले तपाईंसंग पैसा माग्छन् । बजारवालाले तकाजा गर्छन् । तपाईं कुनै तरीकाले मुख लुकाएर टालटुल गरिरहनुहुन्छ । र निकै उत्सुकतापूर्वक महिनाको पहिलो दिनको प्रतीक्षा गर्नु हुन्छ । वर्षका बारै महिना यो क्रम चलिरहन्छ । केही पनि बचत हुँदैन । वृद्धावस्थामा अरुको भरमा बाँच्नु पर्छ । छोराछोरीको विवाहसम्म गर्नु सक्नुहुन्न । छोराको उच्च शिक्षा वा आफ्नै महत्त्वाकाङ्क्षा पूरा गर्न पाउनु हुन्न । किन ?
कहिल्यै तपाईंले सोच्नु भएको छ ? तपाईंको वेतन २०दिनमा नै किन सकिन्छ ? तपाईं असन्तुष्ट भइ झिंझो झर्को मानेर किन बस्नु हुन्छ ? आफ्नो घरका नजीक चुरोट पानको पसल छ नि, त्यसको बिल हेर्नुस । महिनामा कति रुपैयाँ तपाईंले चुरोट पानमा खर्च गर्नु हुन्छ ? प्रतिदिन कम्तीमा पाँच छ सिगरेट र दुई चार पान तपाईं प्रयोग गर्नुहुन्छ । असल चुरोट, बिडी, सलाई तपाईंको गोजीमा रहेकै हुन्छ । यदि चार पाँच आउने दिन पनि त्यो खर्च गर्नु भयो भने महिनाको आठ दस रुपैयाँ चुरोटमा उडाउनु हुन्छ । चुरोटको यो न्यूनतम खर्च हो । बढीमा १५० देखि २०० रुपैयाँ खर्च गर्नु हुन्छ ।
चाट पकौडीवाला, चियावाला, काफी हाउस, रेस्टुरां, चुस्की, सोडा शर्बत, सोडा, आइसक्रीम, लाइट रिफ्रेसमेन्टसंग बुझ्नुहोस्उ नीहरुले तपार्इंको कमाईको कति हिस्सा लैजान्छन् । यदि एक्लै जानु भयो भने ५०– ७५ रुपैयाँको नत्र सयं सवा सय रुपैयांको बिल साथीहरुसंग गएमा बनिहाल्छ । एक कप चिया (वा प्रत्यक्ष विष) खरीद गरेर तपाईंले आफ्नो पसिनाको कमाई व्यर्थ गुमाउनु हुन्छ । चुस्की, सोडा, शर्बतले एक छिनका लागि चटोरी बानीलाई तृप्त गर्छ । तर इच्छा फेरि पनि अतृप्तै रहन्छ । मिठाईले ताकत पनि दिन्न र कुनै स्थायी फाइदा पनि गर्दैन । बरु उल्टै पेटमा भारी विकार उत्पन्न गर्छ ।
सिनेमा हाउसको टिकट बेच्ने र त्यहाँको गेट कीपरले तपाईंलाई राम्ररी चिन्छ । तपाईंलाई हेर्ना साथ ऊ मुसुक्क हांस्छ । हाँसेर दुई चार कुरा गर्छ । फिल्म अभिनेत्रीहरुको तारीफमा आकास पाताल बाँध्छ । तपाईंले त्यो फिल्म हेरिहाल्नु हुन्छ र अर्काको नमूना देखेर नयाँ फिल्म हेर्ने बीउ मनमा लिएर आउनु हुन्छ । एक पछि अर्को अनि तेस्रो फिल्म हेर्ने धुन तपार्इंमा सवार रहन्छ । र रुपैयाँ खर्च गरेर तपाईंले सिनेमाबाट लिएर आउनु हुन्छ वासनाहरुको ताण्डव । कुत्सित कल्पनाको वासनामय चित्र । फोहोरी गीतहरु । रोमान्टिकभावनाहरु । नटखटे बानी । साथै आफ्नो नेत्र ज्योति पनि बर्बाद गरेर आउनु हुन्छ । मुक्त रुपबाट वासना पूर्तिका उपायहरु सोच्दै दिमागी ऐयाशी गर्दै र रोगग्रस्त मृत्युलाई प्राप्त हुनुहुन्छ ।
बिरामी हुँदा तपाईं महिनामा पाँच सातशय रुपैयाँ खर्च गर्नु हुन्छ । कसैलाई ज्वरो छ भने कसैलाई रुघा खोकी लागेको छ, कसैको टाउको दुखेको छ अथवा कसैलाई टन्सिल छ । पत्नी प्रदर वा मासिक धर्मको रोगबाट दुखी छ । तपाई आफैं तुष, कब्जियत वा अन्य कुनै गुप्त रोगका सिकार हुनुहुन्छ । अनि त भन्नै परेन, कहिले इन्जेक्शन, कहिले ताकतको दवाई चलि नै रहन्छ ।
केही रोग यस्ता पनि हुन्छन् जसलाई तपाईलें नै हुर्काउनु भएको छ । तपाईंले दाँत सफा गर्नुहुन्न । अनि दिनक्कै नयां दाँत लगाउन हिंड्नु हुन्छ अथवा पुरानै इलाज गराइरहनु हुन्छ । दाँतको डाक्टर तपाईंको लापरवाही र अल्छीपनमा पालिएको हुन्छ । के तपाईंले कहिल्यै सोच्नु भएको छ– तपार्इंका शहरमा दवाईका यति धेरै पसल किन बढेका बढ्यै छन् ? आफ्नो पैसा रोगको सिकार भएर हामीले नै उनीहरुलाई दिन्छौं । यसरी उनी उनीहरुलाई पाल्छौँ । विवाहको खर्च, शान देखाउनु, धनी छिमेकी सँगको प्रतियोगिता, सयल मार्नु, यात्रामा घुमफिर, उत्सव, र दान इत्यादिमा नचाहिंदो धेरै खर्च गर्नु हुन्छ कि के भन्ने ? घरमा कसैले साडी,गहना वा अरु महँगो कुरा चाहियो भने आफ्नो खल्ती नहेरेर केवल उसलाई प्रसन्न गर्नलाई मात्र तुरन्त कुनै पनि सोखको चीज किनिहाल्नु हुन्छ । तपाईंले दिनमा एक रुपैयाँ कमाउनु हुन्छ तर भोजन, वस्त्र अथवा घर राम्रोभन्दा राम्रो खोज्नुहुन्छ । फेशनमा पनि अन्तर गर्नुहुन्न । आराम र विलासिताका वस्तुहरु, क्रीम, पाउडर, शेविङ्ग, सिनेमा, रेशमी कपडा, सूट–बुट, सुगन्धित तेल, सिगरेट पनि घटाउन चाहनुहुन्न । अनि भन्नुहोस ऋण लाग्छ कि लाग्दैन ?
तपाईंको धोबीले महिनामा १०० रुपैयाँ तपाईबाट कमाउँछ । तपाईले दुई दिनसम्म पनि एक पटक धोएको कमीज लगाउनु हुन्न । पाइन्टको क्रीज रङ्ग एकै दिनमा बिगार्नु हुन्छ । हरेक सप्ताह हेयर कटिङ्गलाई जानु हुन्छ । प्रतिदिन जुत्तामा पालिस गर्नुहुन्छ । बिजुलीको पङ्खा र रेडियो बिना तपाईंको काम चल्दैन । पैसा नभए पनि अखबार किन्नु हुन्छ । साथीहरुलाई घरमा बोलाएर केही नकेही चटाइ रहनु हुन्छ । रिक्शा टाङ्गा, ट्राम, र साइकलको सवारीमा तपाईंको धेरै पैसा खर्च हुनजान्छ । जति तपाईंको आवश्यकता बढ्छ त्यति तपाईंलाई खर्च बढी चाहिन्छ । आजकाल कृत्रिम आवश्यकताहरु बढेका छन् । ऐश आराम, देखासिकीमा मिथ्या गर्व प्रदर्शन, विलासिता, सोख, मेला, तमासा फेशन, मादक द्रव्यमा फजुलखर्ची खूब चम्किएका छन् । यी सबै क्षणिक आनन्दका वस्तुहहरु हुन् ।
कृत्रिम आवश्यकताहरुले हामीलाई दास बनाउँछन् । यसले गर्दा हामीले महँगी र अभाव अनुभव गर्छौं । किनभने कृत्रिम आवश्यकताहरुमा हामीले आफ्नो अधिकांश आम्दानी खर्च गरिदिन्छौंं । हामीलाई जीवनरक्षक र अनिवार्य पदार्थ खरीद गर्ने बेलामा महँगाई प्रतीत हुन्छ । साधारण सरल र स्वस्थ जीवनका लागि निपुणतादायक पदार्थ अपेक्षाकृत आज पनि सस्तै छन् । जीवनरक्षाका पदार्थ, अन्न, वस्त्र, वास इत्यादि साधारण पनि हुन सक्छन् । जसमा सजिलै गरी तपाईंले निर्वाह गर्न सक्नुहुन्छ । अतः जति जति जीवनरक्षक पदार्थको मूल्य बढ्दै जान्छ उति उति तपाईंलाई विलासिता र ऐश आरामका वस्तुहरु त्याग गर्नु पर्छ । तपाईंले केवल आवश्यक पदार्थमा दृष्टिमा राख्नुहोस् । जुन मूल्यमा पनि त्यो किन्नु होस् । तर विलासिता र फजुलखर्चीबाट बच्नुहोस् । बनावटी, अस्वाभाविक रुपबाट अर्कालाई भ्रममा राख्न अथवा आकर्षणमा फँसाउनकालागि जुन मायाचार चलिरहेको छ त्यसलाई त्याग गर्नुहोस् । भडकिलो पोशाकबाट मुक्ति पाएमा तपाईंलाई सज्जन भनिने छ ।
तपाईंले सोध्नु हुनेछ कि अनिवार्य आवश्यकताहरु, आरामदायक वस्तुहरु र विलासिताका चीजमा के अन्तर छ? मानिसलाई सबभन्दा मूल्यवान उसको शरीर हो । शरीरमा उसको आफ्नो सम्पूर्ण कुटुम्ब पनि सम्मिलित छ । ऊ आफ्नो र आफना परिवारको शरीर(स्वास्थ्य र अधिकतम सुख) राम्रो राखिरहने चिन्तामा रहन्छ । उपभोगका आवश्यक पदार्थ ती वस्तुहरु हुन जुन शरीर र स्वास्थ्यकालागि जरुरी छन् । मानिसकालागि जरुरी चीज यिनै हुन् । जीवनरक्षक पदार्थ भनेका तीन चीज हुन्छन्– १.भोजन, २.वस्त्र, र ३.घरबास ।
खानका लागि भोजन पाइयोस् । शरीर ढाक्नका लागि वस्त्र होस् र सर्दी गर्मी वर्षाबाट जागिन घरबास होस् । यी वस्तुहरु ठीक छन् भने जीवन रक्षा र निर्वाह चलिरहन्छ । जीवनको रक्षाका लागि यी वस्तुहरु अनिवार्य छन् ।
यदि यिनै पदार्थको किसिम राम्रो छ भने शरीर रक्षाका साथै निपुणता पनि प्राप्त हुन्छ । काम गर्ने थप शक्ति प्राप्त हुन्छ । कार्यशक्ति, स्फूर्ति, बल, उत्साहमा वृद्धि हुन्छ । शरीर निरोग हुन्छ र मानिस दीर्घजीवी रहन्छ । यो निपुणतादायक पदार्थ के हो त? असल पोसिलो भोजन, जसमा अन्न, फल, दुध, तरकारी, घृत आदि प्रचुर मात्रामा होस । टिकाउ वस्त्र, जसले सर्दीबाट बचाउन सकोस, हावादार स्वस्थ वातावरणमा ठडिएको घरवास जसले शरीरलाई उचित घाम, हावा, जल प्रदान गर्न सकोस् । यदि तपाईंको आम्दानी यति छ कि निपुणतादायक चीज (असल अन्न, घिउ, फल, हावादार घर, स्वच्छ वस्त्र, अलिकति केही मनोरंजन) किन्न सक्नुहुन्छ भने आरामका चीजहरु पनि अवश्य लिनुहोस । यिनले तपाईंको कार्यकुशलता बढ्ने छ तर त्यस अनुपातमा बढ्ने छैन जुन अनुपातमा तपाईंले तिनीहरुमा खर्च गर्नु हुन्छ ।
८.विलासिता खर्च हानिकार
विलासिताका वस्तुहरुबाट खर्चको तुलनामा निपुणता र कार्यकुशलता कम प्राप्त हुन्छ । बरु कहिलेकाहीं कार्यकुशलता ह्रास हुनसक्छ । मानिस अल्छी र विलासी बन्न जान्छ । काम गर्न चाहँदैन । रुपैयाँ धेरै खर्च हुन्छ, त्यसको तुलनामा उपलब्धि थोरै हुन्छ । विलासितको श्रेणीमा यस्ता वस्तुहरु हुन्छन्– भव्य महल, रेशमी जरी लगाएको महँगो र भडकिलो पोशाक, थरी थरीका मिठाई, मेवा, चाट, पकौडी, रक्सी, चियाकफी, थरी थरीका अचार, मुरब्बा, मासु, नयाँ फेशनका कुरा, मोटर, तमाखु, पान, गहना, जन्मोत्सव र विवाहमा जथाभावी खर्च । दिनमा दुई पटक फेर्ने कपडा, अनेक साडी अत्यधिक घरेलु सजावट, नोकर चाकर, मनोरञ्जनका महँगो सामान, घोडागाडी, किमती कलम, सुनको घडी, होटल रेस्टुराँमा खानु, सिनेमा, सिगरेट, पान, वेश्यागमन, नाच, रागरङ्ग, व्याभिचार, शृङ्गारिक पुस्तक, सिनेमाका महँगा पत्र पत्रिकाहरु, महँगा पेन्टिङ्ग, आफ््नो हैसियतभन्दा बढी दान, हावाखोरी सफर, घुमफिरका यात्राहरु, राम्रो महँगो रेडियो, अनेक थरी पहिरन, क्रीम, पाउडर, अत्तर आदि ।
उपर्युक्त, वस्तुहरु जीवन रक्षा वा कार्य कुशलताका लागि आवश्यक छैनन् तर रुपैयाँको अधिकताले गर्दा बानी पर्न गई मानिसले मनपरी खर्च गर्छ । अनि यी कुराको खाँचो अनुभव हुन थाल्छ । यी कस्ता वस्तुहरु हुन् भने यिनी माथि सबभन्दा बढी कर लाग्ने गर्छ त्यसैले यी महँगा हुन्छन् । यी सबै कृत्रिम आवश्यकताबाट सुरु हुन्छन् ,बढ्छन् र हुर्कन्छन् । यिनीहरुबाट सावधान रहनुपर्छ । हामीले के देख्छौं भने मानिसहरु बिहेबारी, चाडबाड, उत्सव, प्रीतिभोज जस्ता समयमा अरु अरुलाई आफ्नो हैसियत देखाउन मनपरी खर्च गर्छन् । भोकै मर्ने मानिसले पनि ऋण लिएर आफ्नो बडो ठालु अमीरले झैं प्रदर्शन गर्दै धूमधामले खर्च गर्छ । यस्तो धूमधाम गर्दा आफ्नो नाक ठूलो भएको ठान्छ र यस्तो नगर्दा नाक काटिएको झैं गर्छ ।
देशमा गरिबी छ । तर गरिबीभन्दा कैयौं गुना धेरै मूढता, अन्धविश्वास, रुढिवादी, मिथ्या प्रदर्शन, घमंण्ड, धर्मलाई गरिएको तोडमरोड, देखावटीपना र अशिक्षा छ । हाम्रा देशवासीहरुको औसत आय थोरै छ । यसै आयमा हामीले भोजन, वस्त्र, घर तथा बिहेबारीमा खर्च गर्नु पर्छ र थोरै बचत पनि गर्नु पर्छ । पैसाको कमीले गर्दा हाम्रा देशवासीहरुले दुखले मात्र दुध, घिउ, फल खानसक्छन् । उनीहरु धेरै जसो स्वच्छ घरमा पनि बस्न पाउँदैनन् । राम्रा कपडा प्राप्त गर्न सक्दैनन् । केटाकेटीलाई असल शिक्षा दिन सक्दैनन्् । बिरामी हुँदा राम्रोखाले औषधि गराउन सक्दैनन् । यात्रा, अध्ययन, मनोरंजनका साधनहरुबाट वञ्चित रहन्छन् । फेरि पनि दुखलाग्ने कुरा के हो भने उनीहरुले विवाहको बेलामा यो सब भुसुक्क बिर्सन्छन् । ऋण लिएर भए पनि मृतकभोज गर्छन् । मुद्दा लड्न हजारौं रुपैयाँ खर्च गर्छन् । त्यसपछि त्यो खर्च पूरा गर्न उनीहरुले धेरै वर्ष पेट काटेर एक एक कौडी जोड्नु पर्छ । कर्जा लिनु पर्छ, अथवा अन्य कुनै अनीतिमूलक पेशा गर्नु पर्ने हुन्छ ।
९.आर्थिक सफलता साँचो
यदि तपाईंले धनको वास्तविक रुपलाई बुझिसक्नु भएको छ र त्यसको दुरुपयोग गर्नबाट बचेर रहनु हन्छ भने उचित प्रयत्न गर्दा तपाईंले सफलता प्राप्त गर्न नसक्ने कुनै कारण हुनसक्दैन । तपाईं आर्थिक रुपले सफल हुन चाहनु हुन्छ भने समृद्धिका विचारलाई बहुतायतले मनोमन्दिरमा प्रविष्ट गराउनुहोस् । के नठान्नु होस्भ ने तपाईंको सरोकार दरिद्रता, क्षुद्रता र नीचतासँग छ । संसारमा कुनै चीज सबभन्दा निकृष्ट छ भने त्यो विचार दारिद्रय नै हो । जुन मानिसको विचारमा दरिद्रता छिर्यो ऊ रुपैयाँ पैसा भए पनि सधैं भाग्यमाथि रोइ रहन्छ । दरिद्रताका अनिष्टकारी विचार हाम्रो समृद्धिका बाटोको तगारो हुन् । यिनले दरिद्र नै बनाई राख्छन् ।
तपाईं दरिद्र, गरिब अथवा अनाथ, हीन अवस्थामा बाँच्न पृथ्वीमा आउनु भएको होइन । तपाई केवल एक मुठी अन्नका लागि दासवृत्ति गर्न जन्मनु भएको होइन । गरिब सधैं दीन अवस्थामा किन रहन्छ ? यसको खास कारण के हो भने उसले उच्च आकाङ्क्षा, उत्तम कल्पना, स्वास्थ्यदायक, स्फूर्तिमय विचारलाई नष्ट गरिसकेको हुन्छ । आलस्य र अविवेकमा चुर्लुम्म डुबेको हुन्छ । हृदयलाई सङ्कुचित, क्षुद्र, प्रेमविहीन र निराश बनाउँछ । सीमाक्रान्त दरिद्रता आउँदा जीवन ठहरिन जान्छ । प्रगति अवरुद्ध हुन्छ । मानिस ऋणबाट थिचिएर निष्प्रभ र हतप्रभ हुन जान्छ । उसलाई आफ्नो गौरव, स्वाभिमानलाई पनि सुरक्षित राख्न गाह्रो लाग्न थाल्छ ।
दरिद्री विचार राख्नेहरु बेलै नपुगी वृद्ध भएको देखिएका छन् । जुन केटाकेटी दरिद्र घरमा जन्म लिन्छन् उनीहरुको गुप्त मनमा दरिद्रताको गुप्त मानसिक ग्रन्थि कति जटिल हुन जान्छ भने उनीहरुले जीवनमा केही पनि उच्चता वा श्रेष्ठता प्राप्त गर्ने आँट गर्दैनन् । दरिद्रताले कमल जस्तो ताजा उज्यालो अनुहारलाई पनि ओइलाइदिन्छ । सर्वोत्कृष्ट इच्छाहरु नाश हुनजान्छन् । यस दुःसह मानसिक दरिद्रताले मानिसलाई पिल्साई दिन्छ । सयकडौं मानिस यसै क्षुद्रताको खाडलमा डुबिरहेका छन् ।
आर्थिक सफलताका लागि एक मानसिक परिस्थिति, योग्यता रं प्रयत्नशीलताको खाँचो पर्छ । लक्ष्मीको आवाहन गर्न पनि मानसिक दृष्टिले तपाईंले केही पूजाको सर्जाम एकत्रित गर्नु पर्छ । जसरी तिहारमा लक्ष्मी पूजनको अवसरमा तपाईंले घर सफा गर्ने, लिप्ने, पोत्ने र सजाउने गर्नु हुन्छ । नयाँ नयाँ चित्र र कलात्मक वस्तुहरुले घरलाई सजाउनु हुन्छ । आफ्नो शरीरमा सुन्दर सुन्दर वस्त्र र आभूषण धारण गर्नु हन्छ । यसै गरी मानसिक पूजा पनि गर्नुहोस् । अर्थात् मनको अन्तर कुन्तरबाट दरिद्रता, गरिबी, परवशता, क्षुद्र्रता, सङ्कुचितता, र ऋणको जालो विवेकको कुचाले सफा गर्नुहोस् । मानसिक पटललाई आशावदिताको सेतोले पोत्नुहोस् । मानसिक घरमा आनन्द, आशा, उत्साह, प्रसन्नता, हास्य, उत्फुल्लता, खुशमिजाजीको मनोरम चित्र लगाउनु होस् । अनि श्रम र मितव्ययिताका नियम अनुसार लक्ष्मीदेवीको साधना गर्नुहोस् । अर्थिक सफलता तपाईंको हुनेछ । सबै विद्याहरुमा शिरोमणि त्यो विद्या हुन्छ जसले हामीलाई पवित्रता दिन्छ र निकृष्ट विचारबाट मनलाई सफागर्न सिकाउँछ ।
परमपिता परमात्माले कहिल्यै उसका सन्तान आर्थिक दृष्टिले पनि अर्काको दास बनिरहुन् भन्न चाहँदैनन् । हामीलाई उनले विवेक दिएका छन् । जसलाई धारण गरेर हामीले उचित अनुचित खर्चको अन्तर बुझ्न सक्छौं । विषय वासना र लागू पदार्थबाट मुक्त हुनसक्छौं । आफ्नो नचाहिंदो खर्च, विलासिता र फेशनमा हुने खर्च घटाउन सक्छौं । घरमा हुने नाना प्रकारका अपव्ययलाई रोक्न सक्छौं । आफ्नो आय वृद्धि गर्नु हाम्रो आफ्नै हातको कुरा हो । जति हामीले परिश्रम गर्छौं, जति आफ्नो योग्यतालाई बढाउँछौं, आफनो विद्यामा जति सर्वोत्कृष्टतां, मान्यता, र निपुणता प्राप्त गर्छौं सोही अनुपातमा हाम्रो आय आफैं बढ्दै जान्छ । सबैलाई उसको आफ्नो योग्यता र निपुणता अनुसार धन प्राप्त हुन्छ । अनि हामीले आफ्नो योग्यता किन नबढाउने ? आफूलाई सबैतिरबाट योग्य किन प्रमाणित नगर्ने ?
श्री ओरसिन मार्डनले आफनो पुस्तक शान्ति, शक्ति र समृद्धिमा कैयौं आवश्यक तत्वहरुतर्फ ध्यान आकर्षित गर्दै लेखेका छन्ः– विश्वका अनेक दरिद्रहरुको कारणहरु पत्ता लगाउँदा के थाहा पाइयो भने उनीहरुमा आत्मविश्वासको कमी थियो । उनीहरुले आफ्नो दरिद्रताबाट मुक्ति पाउन सक्छन् भन्ने विश्वास नै थिएन । हामीले गरिबलाई के बताउन चाहन्छौं भने उनीहरु जस्तोसुकै कठोर परिस्थितिमा पनि आफूलाई उन्नत बनाउन सक्छन् । सयकडौं होइन बरु हजारौं मानिस यस्तो स्थितिमा उन्नत धनवान बनेका छन् । त्यसैले हामीले के भन्छौं भने गरिबहरुका लागि पनि आशाका किरणको कमी छैन । उनीहरुले दुर्धर्ष परिस्थितिलाई बदल्न सक्छन् । संसारमा आत्मविश्वास नै यस्तो साँचो हो जसले सफलताको ढोका उघार्न सक्छ ।
संसारमा जति पनि श्रेष्ठ शक्तिहरु छन् ती भगवानद्वारा प्रदान गरिएका शक्तिहरु हुन् । धनको शक्ति पनि उनैद्वारा उत्पन्न गरिएको हो । र उनले लक्ष्मीको रुपमा सारा संसारको कल्याणका लागि प्रेरित गरेका छन् । मानिसको कर्तव्य के हो भने उसले यस शक्तिलाई भगवानको नासो ठानेर व्यवहार गर्नु पर्छ । यति मात्र होइन उसले के पनि ध्यानमा राख्नु पर्छ भने यो शक्ति यस्ता मानिसहरुको हातमा नजाओस् जसले यसको दुरुपयोग गरेर अर्काको अनिष्ट गर्छन् ।
हामीले सधैं धनको प्रशंसा र निन्दा दुवैकुरा सुन्दै आएका छौं । सन्तहरुले कामिनी र काञ्चनलाई आत्मिक पतनको कारण बताएका छन् भने अर्कातिर सांसारिक कविहरुले सर्वे गुणः कञ्चनमाश्रयन्ति को सिद्धान्त बताएका छन् । यी दुवै कुरा सत्य छन् । यदि हामी धनमा आसक्त भएर त्यसलाई सार वस्तु बुझ्छौं र त्यसको प्राप्तिका लागि पाप र पुण्य छुट्ट्याउँदैनौं अथवा जानीजानी त्यसको दुरुपयोग गर्छौं भने निश्चय पनि त्यो नर्कको बाटो हो । तर यदि धनलाई केवल सांसारिक आवश्यकता पूर्तिको एक साधन मानेर चाहिंदो काममा त्यसको उपयोग गर्छौं भने त्यही धन कल्याणकारी बन्न सक्छ । त्यसैले आत्म कल्याणका इच्छुकहरुले सधै धनको वास्तविकतालाई ध्यानमा राख्दै त्यसको सदुपयोग गर्नु पर्छ ।
वित्त शक्तातु कर्तव्य उचिताभाव पूर्तयः ।
न तु शक्त्या न या कार्य दर्पोद्धात्य प्रदर्शनम् ।।

