भनिन्छ, इतिहास क्रूर हुन्छ । इतिहासको कठघरामा सबै उभिनु पर्दछ, राजादेखि रंकसम्म । जो कोही शासक वर्गले आफ्नो शासनकालमा आफूले राम्रो गरेका जतिसुकै प्रशस्ती गाउन लगाएपनि, लेख्न लगाएपनि जब काल आफ्नो वश वा नियन्त्रणभन्दा बाहिर गइसकेको हुन्छ, त्यतिबेला मात्रै यो वा त्यो नभनी शासक वर्ग जीवनवृत्तको सही इतिहास लेखिन्छ, सायद त्यतिबेला लेखिने इतिहास नै चोखो र सही मानेमा सत्यताको नजिकमा पुगेको हुन्छ ।
नेपाल राज्यको सिर्जना कालदेखि वर्तमान अवस्थामा पुग्दा जेजस्ता घटना, परिघटनाहरू भएका हुन्छन्, इतिहासका अन्वेषकहरू वास्तविकता र सत्यताको खोजीको अनन्त यात्रामा तल्लीन रहन्छन् । र, उनीहरूले अर्वाचीन, प्राचीन कालमा उल्लेख्य, अनुलेख्य मनोहर घटनालाई सप्रमाण उजागर गरी तत्कालीन समाजलाई वास्तविकताको बोध गराउने कोसिस गर्दछन् । जसलाई इतिहासका विद्यार्थीहरूले उनीहरूलाई ‘इतिहास संशोधन मण्डल’ को संज्ञा दिएर सम्मान गर्ने गरिन्छ ।
नेपाली सेनाका पूर्वसहायक रथि डा. प्रेमसिंह बस्नेत पनि नेपालका युद्धकालीन इतिहासका उपासक हुन् । उनका अध्ययन र विश्लेषणले इतिहासको गर्भकालमा लुकेका, छिपेका घटनाका शाश्वत पक्षलाई आधुनिक नेपालका इतिहासका साधकलाई समृद्ध बनाएको भन्दा अत्युक्ति नहोला ।
नेपाल आजको नियमित स्तम्भ ‘स्ट्रेट फरवार्ड’ मा ‘नेपाल–अंग्रेज युद्ध’ का सम्बन्धमा डा. प्रेमसिंह बस्न्यातले नेपाल-अंग्रेज युद्धका अलिखित र आजसम्म उद्घाटित नभएका ऐतिहासिक घटनाक्रमहरूको उजागर गरेका छन् । डा. बस्न्यातले नेपाल-अंग्रेज युद्धका बेलामा नेपाल र चीनबीच भएको बेत्रावती सन्धिअनुसार चीनले नेपाली सेनालाई मद्दत नगरेर गल्ती गरेको उल्लेख गरेका छन् ।
“नेपाललाई सहयोग गर्न नआउनु चीनको कमजोरी थियो”
बेत्रावती सन्धिका अनुसार नेपालमाथि कुनै राज्यले हमला अथवा आक्रमण गरेको खण्डमा नेपालले सहयोगको याचना गरेको अवस्थामा चीनले त्यो हमला वा आक्रमण आफूमाथि नै भएको ठानेर सैन्यलगायत अन्य सहायता गर्ने उल्लेखित रहेकाले त्यतिबेला चीनले नेपाललाई सहयोग नगर्नु गल्ती नै भएको डा. बस्न्यातको ठहर छ ।
नेपाल-अंग्रेज युद्ध कालको सूक्ष्म विश्लेषण गर्दै डा. बस्न्यात भन्छन्, ‘चीनले नेपाललाई अंग्रेजसँगको युद्धमा मद्दत नगर्नाका कारण तत्कालीन अवस्थामा चीनको मित्रशक्तिको रूपमा रहेका बहादुर शाहको रहस्यात्मक र षड्यन्त्रपूर्ण हत्या थियो ।
बहादुर शाहको हत्यापछि तत्कालीन महारानी ललित त्रिपुरा सुन्दरी र भीमसेन थापामाथि चीनको भरोसा नहुनु हो ।’ रणबहादुर शाह र भीमसेन थापाको महत्वाकांक्षाका कारण अंग्रेजसँग नेपालले युद्ध हार्नु पर्यो र पचास प्रतिशतभन्दा बढी जमिन हामीले गुमाउनु पर्यो ।’
उनले पृथ्वीनारायण शाहको मृत्युपश्चात् तत्कालीन शासनकालमा राजारानी, मन्त्री, प्रधानमन्त्री र सेनामा चरम गुटबन्दी रहेको अवस्थामा भीमसेन थापाले अंग्रेजसँग युद्ध गर्ने घोषणा परिबन्ध मिलाउनु कमजोरी भएको औंल्याउँदै उनले भने, ‘उनान्सय प्रतिशत युद्धको मानसिकतामा नहुँदा नहुँदै युद्धमा धकेलिनु नै नेपालले अंग्रेजसँग युद्ध हार्नुको द्योतक हो ।’
नेपाल-अंग्रेज युद्धको घटनाक्रमलाई विश्लेषण गर्दै डा. बस्न्यातले भने, ‘वृटिसको इस्ट इण्डिया कम्पनी तिब्बत र मंगोलियाबाट नेपालको बाटो भएर आएको सुन, ऊन र नुनमाथि कब्जा जमाउन चाहन्थे । त्यसकारण इस्ट इण्डिया कम्पनी ह्लासा जाने बाटो खोज्दै थिए । नेपाल, अंग्रेज तत्कालीन युद्ध त्यसैको उपज हो ।’
‘नेपाल अंग्रेज युद्ध व्यापार कै कारण भएको वृटिस र चाइनिज भनेको पैसाका लागि जन्मेका हुन्’, उनले भने, ‘हामी वृटिससँग लडेको तर, वृटिसले भारत छोडेपछि पनि हाम्रो त्यत्रो भूभाग भारतले नै उपयोग गरिराखेको अवस्था छ ।’
डा. बस्न्यातले भने, ‘सुगौली सन्धिले काठमाडौं खाल्टो बचेको नत्र भए वृटिसले कब्जा गर्थ्यो ।’

