–जगन्नाथ काफ्ले
हरेक ठाउँको भौगोलिक बिशेषता, बनावट तथा संरचना फरक फरक हुन्छन । जुन प्रकृतिको संरचना छ सोहीअनुसार रुपान्तरण र समृद्दिको खाका तयार गरेर काम गर्नु पर्ने हुन्छ । जहिले पनि केन्द्रीय सरकारको बाटो हेरेर बस्यौं भने हाम्रो गाउँ तथा नगर अनि देशको रुपान्तरण सम्भव हुन सक्दैन, आज सम्म भई रहेको त्यहि हो । हरेक स्थानीय तहले आफ्नो आफ्नो गाउँ तथा नगरको आफैंले रुपान्तरण गर्न सफल भयौं भने समग्र देश कै रुपान्तरण द्रुत गतिमा हासिल गर्न सम्भव हुन्छ । जसरी एउटा ईन्जिनियरले कुनै पनि संरचना निर्माण गर्नु भन्दा बास्तु चित्र कोर्छ अथवा आर्किटेक्चर नक्सांकन गर्छ त्यसै गरी आफ्नो गाउँ अथवा नगर भित्र कुनै पनि ठाउँ, बस्तु तथा श्रोत बिशेषसंग सम्बन्धित सामाजिक, आर्थिक, भौगोलिक तथा प्रकृति प्रदत्त बिशेषताहरुको पहिचान गरेर चित्र अथवा नक्सामा उतार्नु पर्दछ ।
हामीसंग जस्तो प्रकारको स्थानीय श्रोत र क्षमता उपलब्ध हुन्छ, त्यहि अनुसाररुपान्तरणको लागि क्षेत्र पहिचान तथा स्थानीय बिशेषताहरुको नक्सांकन गर्नु समृद्दी अभियानको अर्को महत्वपुर्ण काम हो; किनकि चित्र अथवा नक्शा आफैं बोल्छ । स्थानीय तह संग भएको क्षमता र विशेषता लाई नक्सांकन गरेपछि के के कुरामा कसरी साधन तथा श्रोतलाई परिचालन गर्दा छिटो रुपान्तरण गर्न सम्भव हुन्छ भन्ने कुरा नक्शांकनले धेरै सहज बनाउँछ । के के कुराको नक्सांकन गर्दा छिट्टो नतिजा आउछ भन्ने कुरा तलका बुँदाहरु बाट प्रष्ट पारौं :

१ – गाउँ/नगरपालिकाको क्षेत्र नक्सांकन: हामीले रुपान्तरण गर्न खोजेको स्थानीय ईलाका बिशेष गरी गाउँ/नगर पालिका, जिल्ला, प्रदेशको नाम पहिचान संगै के कति कस्ता बस्ती, टोल, वडा अथवा के कस्ता क्षेत्र छन्, सो पत्ता लगएर नक्सांकन गर्नु पर्दछ । विद्यमान अवस्थामा के कस्ता बस्ति संरचनाहरु छन्अ थवा स्थानीय अवस्थितिको पहिचान गरेर नक्सांकन गर्नु पर्दछ ।
२- भौगोलिक बिशेषताको नक्सांकन: भू बनोट, भौगर्भिक अवस्थिति, नदी, पहाड, उपत्यका, डाँडा, भीर/पाखा, समथर, जस्ता प्राकृतिक विशेषताहरु के कस्ता अनि कति छन्, राम्रोसंग पहिचान गर्नु पर्दछ । यसरी आफ्नो गाउँ/नगर ईलाका भित्र रहेका हरेक भौगोलिक बिशेषताहरुको प्रष्ट संग नक्सांकन गर्नु पर्दछ ।
३- जलबायु नक्सांकन: आफ्नो गाउँ/नगर क्षेत्रमा बर्ष भरी के कस्तो हावापानी र मौसम रहन सक्छ त्यो पहिचान गर्नु पर्दछ । त्यस्तै ऋतु परिवर्तन संगै के कस्ता परिवर्तन आउन सक्छन् त्यसको प्रभाव सहितको नक्सा कोर्नु पर्दछ | हिउँ पर्ने ठाउँ छ कि, अथवा बाढी पहिरोले सताउन सक्ने छ कि अथवा डुवान हुन सक्ने ठाउँ पो छ कि त्यस्तै हरेक आर्थिक सामाजिक क्रियाकलाप मैत्री छ या छैन जस्ता ठण्डा, गर्मी तथा हावापानी बिशेषताहरुलाई चित्रमा उतार्नु पर्दछ ।
४- भू उपयोगिता नक्सांकन : विद्यमान अवस्थामा हाम्रो गाउँ/नगर क्षेत्र भित्रको भुमीलाई कसरी उपयोग गरिरहेको छौं अथवा विद्यमान जमिनलाई उपयोगिताको आधारमा आवासीय, कृषि, प्रशासनिक, औद्योगिक(ब्यबसायिक), व्यापारिक, सार्वजनिक (नदी नाला, पर्ति, चरन, उद्यान, पार्क, बगैचा, ट्रयाक, खेल मैदान, सार्बजनिक प्रयोग समेत), बन र आरक्षित् जग्गामा कसरी बर्गिकरण गरी उपयोग गरिरहेका छौं सो तथ्यलाई पनि नक्सांकन गर्नु पर्दछ ।
५- प्राकृतिक संसाधन नक्सांकन: आफ्नो गाउँ/नगर क्षेत्र भित्र के कस्ता प्राकृतिक तथा खनिज साधन तथा श्रोत हरु छन् , अहिले सम्म के कसरी उपयोग भई रहेका छन् सो को समेत नक्सांकन गर्नु पर्दछ ।
६- उत्पादन क्षेत्र नक्सांकन : अहिले सम्म के कस्ता स्थानीय उद्यम तथा ब्यबसयाहरु छन् सो नक्सांकन गर्नु पर्दछ । यसै गरी आफ्नो स्थानीय बिशेष मौलिक रैथाने उत्पादनहरु के कति र कस्ता छन् अथवा कुनै बिशेष सम्भावित निश्चित उत्पादन क्षेत्र (Pocket Area) समेत छन् भने सो को समेत प्रष्ट नक्सांकन गर्नु पर्दछ ।
७- यातायात सम्बन्ध नक्शांकन: आफ्नो गाउँ/नगर पालिकाको क्षेत्र र अन्य गाउँ/नगरपालिका, जिल्ला सदरमुकाम, प्रदेश सदरमुकाम एबम राजधानीसंग यातायात सम्बन्ध के कस्तो छ अथवा अहिलेको अवस्थामा यातायात उपलब्धता र पहुँच/निकास (transportation accessibility/connectivity) छ
छैन या कस्तो छ? सो तथ्यको पनि नक्सांकन गर्नु पर्दछ ।
८- मौलिकताको नक्शांकन: आफ्नो गाउँ/नगर क्षेत्र भित्रको जे जति पृथक संस्कृतिक, सामाजिक, धार्मिक, परम्परागत अथवा स्थानीय बिशेष मौलिक विशेषताहरु छन्, तिनीहरुको पनि पहिचान गरेर नक्सांकन गर्नु पर्दछ ।
९- सामरिक एबम बिशेष महत्व नक्शांकन: कुनै विशिष्ट प्रकृतिको सामरिक र राष्ट्रिय/अन्तर्राष्ट्रिय महत्वको कुनै चिज/बिशेषता भए सो को समेत नक्सांकन हुनु पर्दछ ।
१०- प्राकृतिक साधन श्रोतको पहिचान: आफ्नो गाउँ/नगर भित्र उपलब्ध जुनसुकै खनिज एबम प्राकृतिक श्रोतको उपलब्धता छ भने सो को समेत पहिचान पहिचान गरेर नक्शांकन गर्नु पर्दछ ।
११- भावी योजनाको नक्शांकन : जब हामीसंग हाम्रो गाउँ/नगर पालिकामा विद्यमान बस्तुगत तत्वहरुको नक्सांकन गरिसक्छौं, त्यसपछि आगामी दिनमा अब गर्नु पर्ने भावी योजनाहरुको नक्सांकन गर्नु पर्दछ ।
नम्बर १ देखि १० सम्मका नक्सालाई र अरु थप रुपान्तरण गरिने क्षेत्रहरु पहिचान गरेर निश्चित अवधि: १ बर्ष, ५ बर्ष, १० बर्ष अनि २० बर्ष भित्र हासिल गर्नु पर्ने लक्षहरुको नक्सांकन गर्नु पर्दछ । हरेक बर्षको प्रगति बिवरण अनुरुप नक्शाहरु परिवर्तन हुन्छन । शुरुको लक्षित् नक्सा र परिवर्तित नक्साले के कति कसरी सकारात्मक अथवा नकारात्मक बिचलन(Variation) आयो सो पत्ता लगाएर लक्षित उद्देश्य हासिल गर्न सफल हुनु पर्दछ ।
झट्ट हेर्दा महत्वहीन जस्तो लाग्ने नक्सांकन पद्दती जब हामी प्रयोग गरेर हेर्छौं, अत्यन्तै ठुलो महत्व पाउछौं । जसरी कुनै संरचना बनाउन बस्तुकला (Architrecture) को महत्व हुन्छ, कुनै पनि संरचनागत रुपान्तरण अथवा समृद्द नेपाल निर्माणको सन्दर्भमा नक्शांकन पद्दति दीर्घकालमा ज्यादै महत्वपुर्ण हुन्छ ।

