विकासवादी चिन्तक एवं अर्थशास्त्रका ज्ञाता जगन्नाथ काफ्लेद्वारा लिखित चर्चित पुस्तक ‘’समृद्ध नेपालको मार्गचित्र” ले अबको बीस वर्षमा हाम्रा गाँउपालिका एवम् नगरपालिकाहरु कस्ता बनाउने भनेबारे समृद्धीका ठोस आधार सम्बन्धित एक सोधमुलक पुस्तक हो । १६७ पृष्ठ लामो सो पुस्तकमा सुशासन, दीगो विकास, स्थानीय निकायको जिम्मेवारी, व्यवसायिक उद्यमशीलता र विविध राजनीतिक विकासका कुराहरु सम्मिलित छन । काफ्लेद्वारा लिखित उक्त पुस्तकको पुरै भागलाई हरेक शनिबार प्रकाशित गर्ने छौ – स्वदेश नेपाल ।
३. आफ्नै आत्मा समिक्षा

समृद्द नेपाल चाहने हर कोही नेपाली नागरिकले आ-आफ्नै आत्मा समिक्षा गर्नु जरुरी छ । के गर्नु पर्दछ के गर्नु पर्दैन भनेर अरुलाई सिकाउन बडो सजिलो हुन्छ तर आफुले चाहिं, के गर्नु पर्छ के गर्नु पर्दैन अथवा के गर्न हुन्छ या के गर्नु हुदैन भन्ने आधारभूत नागरिक जिम्मेवारीबाट आफुलाई नै भने पृथक राखेका हुदा रहेछौं ।
सर्वप्रथम म, समृद्द नेपालको मार्गचित्र कोर्न उत्प्रेरित व्यक्ति, ले आफ्नो आत्मा समिक्षा कसरी गरें, मेरो व्यक्तिगत आत्मा समिक्षा राख्ने अनुमति चाहन्छु । पहिलो पक्ष, आफु एक अर्थशास्त्रको अभ्यास कर्ता भएकोले बिकसित, विकासशील र अविकसित मुलुकहरु तथा बिकासको विभिन्न आयाम हरुमा परिचित थिएँ । दोश्रो पक्ष, आफ्नो देशमा संसारकै एक बिपन्न मुलुकक गरिबीको कुचक्रमा पिल्सिएको बिकट गाउँ देखि अस्त व्यस्त राजधानी शहरको तीसौं बर्षको भोगाईबाट आफ्नो मुलुकको हरेक दुर्गम ग्रामिण तथा शहरी परिवेश हरुसंग पूर्ण भुक्त भोगी थिएँ। तेश्रो पक्ष, अध्ययन एबम कामको दौरानमा संसारकै समृद्द मुलुकहरु मध्येको एक फिनल्याण्डमा लगभग एक दशक भन्दा बढी रहंदा समृद्द समाज र अर्थतन्त्रको हरेक पक्षमा नजिकैबाट सिक्ने मौका पाएँ । विकासको उत्कर्ष, बिज्ञानको बरदान, प्रविधिको उच्चतम सदुपयोग र सुशासनको वास्तविक प्रयोग भएको सम्भ्रान्त मुलुकको लगभग एक दशकको प्रत्येक्ष भोगाई मेरो लागि आफ्नो बिपन्न समाज र त्यो समृद्द समाजको बिचको खाडल बनाउने कारक तत्व बुझ्ने पाठशाला बन्यो ।
देश भन्दा बाहिर निस्किए पछी आफ्नो देशको झनै धेरै मायाँ लाग्दो रहेछ, यो मेरो व्यक्तिगत अनुभव हो । आफुले समृद्द मुलुकको विलासी जिन्दगी तथा सुख सुबिधा उपभोग गरिरहे तापनि आफ्नो देशको कम्जोर ब्यबस्थापन संयन्त्रको कारणले खरबौं खर्बको श्रोत खेर गई रहेको अनि म जस्तै लाखौं देश निर्माण गर्न समर्पित हुनु पर्ने युवा श्रमशक्ति जीवन निर्वाह र उज्वल भविष्यको खोजि गर्दै संसारको कुना कुनामा भौतारिंदै भड्किनु परेको परिस्थितिले मलाई असह्य पीडा दिई रह्यो । म पनि आफ्नो भबिष्य खोज्दै पुगेको मुलुक फिनल्याण्ड, कहिले स्विडेन त कहिले रसियाको उपनिवेश भएर केवल १०० बर्ष अगाडी मात्र स्वतन्त्र मुलुकको रुपमा अस्थित्वमा आएको रहेछ । स्वतन्त्र भएपछी पनि भयानक गृहयुद्दको चपेटामा परेर केहि दशक अगाडी सम्म लगभग ध्वस्त भएको दर्दनाक पीडा यो मुलुकले व्यहोरेको रहेछ । यस्तो मुलुकलेआज प्राप्त गरेको बिकासको उत्कर्षको पछाडी त्यो मुलुकका नागरिकहरुले के कति र कस्ता आ आफ्ना नागरिक दायित्व पुरा गरेछन्, मैले नजिकबाट बुझ्ने मौका पाएँ । मेरो अध्ययन, अनुसन्धान, भुक्तभोगी नागरीकहरु संगका अनुभव आदान प्रदान अनि मेरो आफ्नै भोगाई मेरो आत्मा समिक्षा गर्ने उत्प्रेरक उर्जा बन्यो र एक नेपाल आमाको सन्तान भएको हैसियतले बिदेशमा नै बसेर सुख भोग गरेर बस्दा आफु कर्तब्य बाट भागेको जस्तो अनुभूतिले टोकासी रह्यो । कुनै पनि देशको समृद्दी त्यहि देशको नागरिकहरुको तन, मन, धन र बिज्ञान बाट मात्र सम्भव हुन्छ भन्ने कुरा यिनै अध्ययन र अनुभवले मलाई सबुद प्रमाण पेश गर्यो ।
आफुले जति सुकै सफलता र सुख सुख सुबिधा प्राप्त गरे पनि आफ्नो घर छोडेर हिडेपछि आफ्ना जन्मदाता बुवा आमाको र देश छोडेर हिडेपछि मातृभूमिको भन्दा बढी कसै केहीको पनि माया लाग्दो रहेनछ । घरबाट टाढा हुदा आफ्नो जन्मदाता बुवा आमाको आँखाको डिलले छेक्न नसकेर जन्मभूमि सिंचित गरेको त्यो आँसुको मूल्य र प्रतिभावान आफ्ना सन्ततिको पलायनको उपजबाट जन्मभुमिले भोगेको विपन्नताको पीडा आफ्नो व्यक्तिगत उपलब्धि र सुख सयल भन्दा तेजिलो हुदो रहेछ । बृद्द बृद्दा बुवा आमा र जन्मभूमी प्रतिको मायाको कारणले हुन सक्छ आफुलाई बिषालु काँढाले घोचे झैं हृदयमा बिझाई रहँदो रहेछ । जीवनको यहि कर्तब्य बोधले गर्दा के कसरी आफ्नो जन्मभूमीको समृद्दिको निमित्त योगदान गर्न सकिन्छ जसले म जस्ता लाखौँ घर र देश छोडेर हिड्न बाध्य हुनुभएका छोरा छोरीको थोरै मात्र भए पनि समस्या सम्बोधन गर्न सकिन्छ कि भन्ने हेतुले आफ्नै आत्मा समिक्षाको परिणाम स्वरूप सम्पूर्ण समृद्द चाहने नेपाली नागरिकहरुलाई आ आफ्नो आत्मा समिक्षा गरेर सकारात्मक परिवर्तनको निमित्त आफुलाई समर्पित गर्न उत्प्रेरित गर्न चाहन्छु ।
अधिकांस नेपाली दाजु भाई तथा दिदी बहिनीहरुका मुखबाट बारम्बार सुनिदै आई रहेको छ कि “हे भगवान ! एक्कईसौं सताब्दीमा पनि मेरो देश समृद्द बनेन !”
आखिर, तथ्य के हो त ? सरकारले गरेन ? छिमेकी देशले गरेनन/गर्न दिएनन् ? नेताहरु भ्रष्ट छन् ? कर्मचारीहरु भ्रष्ट छन् ? कसैले केही राम्रो काम गरेनन् ?
गुनासो जायज हो, तर हामी आफु त हाम्रो लागी समृद्द हुने काम गर्दैनौं भने अरुले हाम्रो लागी किन काम गरिदिने ?
हो, सर्बप्रथम हामीले हाम्रो मानबीय सोच्ने तरिका बदल्नु (Attitude Wash) पर्दछ । हामी जतिसुकै धनी भएपनि मन अथवा सोचाई गरीब छ भने हामी कहिल्यै समृद्द बन्निने छैनौं । “हामीलाई जति भए पनि पैसाले पुग्दैन, जसरी भए पनि धेरै भन्दा धेरै सम्पत्ति थुपार्नु पर्छ । जसरी भए पनि सरकारलाई सके सम्म कर नतिर्ने, नसके पनि कम भन्दा कम कर तिर्नु छ । समाजमा देखासिकी गर्नु छ; सके सम्म युरोप अमेरिका, नसके कुनै पनि देश, त्यो पनि ? नसके शहर पस्नु छ । सन्तानलाई प्लस टु सक्ने बित्तिकै विदेश पठाउनु छ, सकेसम्म कुनै पनि काम चाहिं गर्नु नपरोस, सम्पत्ति चाहिं जसरी भए पनि कम्मियोस । ”
यस्ता विद्यमान विकृत संस्कार बदल्नु (Cultural Shift) जरुरी छ ।
पहिला कर्तब्य अनि मात्र अधिकार : व्यक्तिको कर्तब्य समाजप्रति, अनि मात्र समाजबाट अधिकार व्यक्ति प्रति (व्यक्ति भन्दा समाज र समाज भन्दा देश सदैब माथि हुन्छ) देश भन्दा समाज गौण, समाज भन्दा व्यक्ति गौण हुने प्राकृतिक नियम हो । यदी देशको रक्षा गर्नै पर्ने अवस्था आयो भने समाज गौण हुन्छ र समाज बचाउनु छ भने व्यक्तिको अधिकार गौण हुन्छ; अत्यन्तै संकटको बेला आई पर्यो भने व्यक्ति आफु मरेर पनि समाज र समाज मरेर पनि देश बचाउनु पर्छ । म त पशुले पनि भन्छ, आफ्नो जिबिका त पशुले पनि चलाएको छ, आफ्नो परिवार त पशुले पनि हुर्काएको छ । हो, हामी सामाजिक प्राणी हौँ । मेरो लागि होईन, हाम्रो लागि सोच्नु पर्दछ, हाम्रो लागि काम गर्नु पर्दछ । हाम्रो समाज समृद्द भयो भने ‘म अवस्य समृद्द हुन्छु’ भन्ने कुरा सबैले बुझ्नु जरुरी छ | आफ्नो दायित्व के हो ? आफ्नो व्यक्तिगत कर्तब्य के हो ? त्यो कुरा पहिला बुझ्नु पर्दछ ।
त्यस अर्थमा हरेक नागरिकको दिमागमा र ब्यबहारमा के कुरा निश्चित हुनु पर्यो भने: “पहिला आफ्नो कर्तब्य पहिचान गरौँ अनि मात्र आफ्नो अधिकार खोजौँ । आफुले सक्ने योगदान राज्यलाई गरौँ अनि मात्र राज्यबाट सुबिधा मागौं । अरुलाई सम्मान र इज्जत गरौँ अनि मात्र आफ्नो इज्जत खोजौँ । समाजमा अरुको स्थान सुनिस्चित गरौँ अनि मात्र आफ्नो स्थान सुरक्षित् हुन्छ; आफु भन्दा कमजोरको स्थान सुरक्षित् गरौँ ।”
तर, प्राणको हकमा आफु बाँचौं अनि मात्र अरुलाई बचाऔँ ! किन भने, आफु नबांची अरुलाई बचाउन सकिंदैन ।
– सकारात्मक विवेकको पवित्र आँखाहरु खोलौं: सुन्दरता नै सुन्दरता छन् ।
– राजनैतिक, आर्थिक, सामाजिक र प्राबिधिक ढोकाहरु खोलौं: चौतर्फी सम्भावनै सम्भावना छन् ।
– आफ्नो सीप र जाँगरको उच्चतम प्रयोग गरौँ: हरेक ठाउंमा अवसरै अवसर छन् ।
– अरुको आशा होईन, आफैं जिम्मेवार बनौं: जताततै काम नै काम छन् ।
हो, दोष अन्यत्र छैन, छ भने तपाई र म मै छ, हाम्रो विपन्नताको कारण अरु कोही होईन, तपाईं र म नै हो । सबै भन्दा पहिले तपाईं र मैले आफ्नो सोच बदल्नु पर्छ । सोचाईको विपन्नता त्याग गर्नु पर्छ । आफ्नो लागि आफैँ जिम्मेवार बन्नै पर्छ । म/हामी मेरो/हाम्रो लागी आफैं जिम्मेवार बन्नु पर्छ । हल्ला होईन, तथ्य भेट्नु पर्छ; बिरोध होईन, सहयोग गर्नुपर्छ; प्रश्न होईन, उत्तर दिनु पर्छ; समस्या खोज्नु होईन,समाधान दिनु पर्छ ;अनि म, हामी, हाम्रो समाज हाम्रो राष्ट्र बन्छ ।

