अधिकृतका रुपमा २०१७ मा राजप्रासाद (राजदरवार) सेवामा प्रवेश गरेका रेवतीरमण खनालले २०५२ मा अवकास पाए, अवकासअघि उनी राजा वीरेन्द्रका प्रमुख सचिव थिए। अवकास पाएको ६ बर्षपछि नारायणहिटी राजदरवारमा यस्तो विभत्सकाण्ड भयो, जहाँ राजा वीरेन्द्रसहित उनको परिवारका सबै सदस्य र शाही परिवारका थप ६ जना मारिए। राजदरवार हत्याकाण्डको कारण के थियो, त्यसमा कसको भूमिका के रह्यो भन्ने लगायतका विषयमा नेपालखबरका सीताराम बरालसँग खनालले लामो कुराकानी गरेका छन्ः

राजदरबारभित्र त्यत्रो हत्याकाण्ड हुनु मामुली कुरा थिएन। मैले ६ वर्षअगाडि नै राजप्रासाद सेवाबाट अवकास पाइसकेको थिएँ । तरपनि त्यो काण्ड कसले गरायो भन्ने कुराको चासो भयो। मैले दरबार हत्याकाण्ड छानविन समितिको प्रतिवेदन पढें।
त्यो प्रतिवेदन पढेपछि मलाई के लाग्यो भने, दरबार हत्याकाण्डको छानविन राम्रोसँग भएन। यो कुरा पछि राजा ज्ञानेन्द्रलाई पनि भनेँ।
राजदरबार हत्याकाण्ड हुँदा कार्यकारी प्रमुख प्रधानमन्त्री (गिरिजाप्रसाद कोइराला) थिए, राजदरबार सम्बन्धी मन्त्री पनि प्रधानमन्त्री नै थिए। त्यत्रो हत्याकाण्ड भएपछि राजाले प्रधानमन्त्रीलाई भन्नुपर्थ्यो, ‘दरबारमा ठूलो दुर्घटना भयो, कहाँ कसले गरायो, राम्रोसँग छानविन गरेर त्यसको रिपोर्ट मलाई पनि देऊ, जनतालाई पनि थाहा देऊ। म संवैधानिक राजा हुँ, तिमी कार्यकारी प्रमुख हौ। कार्यकारी प्रधानमन्त्री भएकाले सर्वेसर्वा छौ’ भन्नुपथ्र्याे। सम्बैधानिक राजाले सबैथोक आफै गर्न हुँदैनथ्यो। उनी प्रधानमन्त्रीको अधिनमा बस्नुपर्थ्यो। प्रधानमन्त्री अनुकूल छैनन् भने सर्वाेच्च अदालतको सहयोग लिनुपर्थ्यो, जनताको सहारा लिनुपर्थ्यो। त्यसो गरेको भए उनको बचाउ हुन्थ्यो। छानविनको जिम्मा प्रधानमन्त्रीलाई जिम्मा दिएको भए दरबारलाई आरोप लाग्ने थिएन। राजा चोखो भएर बस्ने थिए।
तर राजा ज्ञानेन्द्रले त्यो गरेनन्। राजा ज्ञानेन्द्रले सबैथोक आफै गर्छु भन्दा दरबार हत्याकाण्डबारे राम्रोसँग छानविन भएन।
त्यो घटनाको कारक देवयानी हुन्। किनभने, युवराज दीपेन्द्रको एडिसी राजु कार्की थिए। उनी त्यसैदिन (१९ जेठ २०५८) मा विदेश जाँदै थिए। उनले दरबारबाट विदा पनि पाइसकेका थिए। त्यस्तो मान्छेलाई देवयानी के भन्छिन् भने, ‘युवराज सरकारलाई धेरै लागेजस्तो छ, तिमी गएर युवराजधिराजलाई सम्हाल।’ एडिसी कार्की के भन्छन् भने, ‘म त विदा भएर आइसकेँ। मेरो १२ बजे फ्लाइट छ। म आज जाने हो।’
तर ‘तिमी नारायणहिटी जाऊ, जानै पर्छ’ भनेर देवयानीले कर गरेकी छन्। त्यसपछि राजु कार्की दरबारमा गए। विदा भएर आइसकेको मान्छे उनी फेरि दरबार गए।
उनी दरबारभित्र पस्दा त्यो घटना भइसकेको थियो।
दरबारमा कुनै नाता नभएकी एउटी केटीले दरबारका एडिसीलाई अर्हाउन सक्ने अधिकार कसरी प्राप्त भयो? कसैले यस्तो गर्न सक्छ? देवयानीले भन्दैमा एडिसीले मानेको कसरी? कुनै अधिकार भएको मान्छेले भनेको न मान्ने हो। तर देवयानी कुनै अधिकार नभएको मान्छे। बाहिरको मान्छेले भनेको मान्ने भनेपछि ‘दालमा कुछ काला है’ भन्ने उखान यहाँनिर चरितार्थ भएको देखिन्छ।
मेरो मतलव के हो भने, देवयानी अन्तिमसम्म पनि दीपेन्द्रसँग सम्पर्कमा छिन्। यो कुरा राजदरबार हत्याकाण्ड सम्बन्धी प्रतिवेदनबाट पनि देखिन्छ।
त्यो घटना भएपछि देवयानी इण्डिया गइन्। छानविन समितिले अरु सबैको वयान गर्यो, देवयानीको चाहिँ बयान लिएन। यताबाट प्रश्न लेखेर पठाउने र उनले उताबाट बयान दिने काम भयो। समितिले देवयानीसँग ‘क्रश क्वेश्चन’ (प्रतिप्रश्न) नै गर्न पाएन। देवयानी यहाँ भएको भए ‘क्रश क्वेश्चन’ गर्न सकिने हुन्थ्यो।
युवराज दीपेन्द्रलाई आफू राजा हुन मन लागेको भए राजा वीरेन्द्रलाई मात्र सिध्याएको भए हुन्थ्यो होला, परिवारका अरु सबैलाई त्यसरी सिध्याउनु पर्ने थिएन। फेरि उनी आफैले गोली हानेर आफै मरे भनेको छ। प्रतिवेदनमा ‘देब्रे हातले आफैलाई गोली हाने’ भनिएको छ।
म आफै ल (कानून) को विद्यार्थी हुँ। ‘मेडिकल जुरिसप्रुडेन्स’ अनुसार जाँचबुझ गर्न पाएको भए तथ्य बाहिर आउँथ्यो होला। तर जाँचबुझ नै राम्रोसँग भएन। जनताको भनाई पनि त्यही छ, जाँचबुझ राम्रोसँग भएन। मेरो पनि त्यही भनाई छ, जाँचबुझ राम्रोसँग भएन।
मुख्य कुरा, देवयानीलाई यहीँ बोलाएर बयान लिनुपर्थ्यो। त्यो काम भएन।
अर्काे कुरा, सबै घटनाको अनुसन्धान जाँचबुझ ऐन अनुसार आयोग गठन गरेर गरिन्छ। जाँचबुझ ऐन छँदै थियो। तर, ऐन अनुसार जाँचबुझ आयोग गठन नगरी सम्बैधानिक राजाले हुकुम अनुसार समिति बनाइयो, जुन मिल्ने कुरा थिएन।
सम्बैधानिक राजाले समिति बनाए, समितिले छानविन गर्यो। समितिका तीन जना मध्ये एकजना (माधव नेपाल) जाँदै गएनन्। दुई जनाले मात्र छानविन गरे, प्रधानन्यायाधिस केदारप्रसाद उपाध्याय र तारानाथ रानाभाट (सभामुख) ले।
रानाभाटले दीपेन्द्रले यसरी गोली हाने भनेर हतियार देखाएर ‘भटट’ भनेका छन्। के त्यो उहाँले त्यो देख्नु भएको थियो? अन्दाजको भरमा जे मन लाग्यो, त्यो भन्न पाइन्छ? ‘ल’ (कानून) ले यो कुरा मान्दैन, कोर्ट (अदालत) मा गयो भने उसले पनि मान्दैन। कि म त्यहाँ थिएँ भन्न सक्नुगर्यो।
त्यसैले, मेरो बुझाइमा दरबार हत्याकाण्ड रहस्यमय छ। कि राम्रोसँग छानविन गरेको भए हुन्थ्यो, तर राम्रोसँग छानविनको प्रयासै भएन। किन गरिएन, म छक्क परेको छु।

