–डा. बाबुराम ज्ञवाली
अन्तिम संस्कारलाई हामी दुई भागमा विभाजन गर्न सक्छौं । पहिलो मृत शरीरसँग गरिने धार्मिक संस्कार, जलाउने, गाड्ने इत्यादि । अर्को त्यस पछि मृतकका परिजनले क्रियाकलाप । यस लेखमा पहिलो क्रियाकलापबारे चर्चा छ । यस चर्चालाई भौगोलिक दृष्टिले मणिग्राम क्षेत्रको सन्दर्भमा व्याख्या गरिएको छ ।

एक सामाजिक प्राणीको रुपमा प्रत्येक मानिसले आफ्नो शरीरको अन्तिम संस्कारका बारेमा केही इच्छा गरेको हुन्छ । युरोप र खाडीदेशहरुका बासिन्दाहरु जसको परिवारमा चिहान (कब्र, ग्रेभिया, सिमेट्री) को परम्परा छ, उनीहरुको एउटा चिहान बक्स (ग्रेभ भल्ट) र अन्तिम स्थान (बरियल ग्राउन्ड) को चिन्ता हुन्छ । पवित्र ठाउँमा सधैं सुतिरहन पाइयोस् अथवा मृत्यु पछि पनि पवित्र ठाउँ तिर फर्केर सुतिरहन पाइयोस् भन्ने इच्छा र सो अनुसारको व्यवस्था गर्ने गराउने चलन छ ।
पर्सियन (जोरोस्ट्रीयन) हरु अहिले आफ्नो मूल ठाउँ ईरानबाट विस्थापित भएर संसार भरि छरिएका छन् । जहाँ जहाँ विस्थापित भएका छन्, उनीहरुले त्यहीं आफ्नो शरीरको अन्तिम संस्कार गर्न थालेका छन् । उनीहरुको अन्तिम संस्कारको विधि हो कुनै पवित्र ठाउँमा लासलाई खुला राखिदिनु । यसलाई उनीहरुले आकाशको चिहान (स्काइ बरियल) भन्दछन् । प्रसिद्ध परमाणु वैज्ञानिक होमी जहाँगीर भाभाको मृत्यु फ्रान्समा छँदा भएको हो । पेरिसमा नै टावर अफ साइलेन्स बनाएर शरीरको अन्तिम संस्कार गरिएको थियो । मृत शरीर पनि प्रकृतिको काममा आओस् भन्ने उनीहरुको धार्मिक मान्यता छ । तर जोरोस्ट्रीयन भइकन पनि रतन टाटाले अन्तिम संस्कार हिन्दु विधिले गरे । यसरी मानिसको अन्तिम इच्छा नै शरीरको अन्तिम संस्कारको एक प्रमुख आधार हो ।
गृहस्थ हिन्दुहरुले सामान्यतया मृत शरीरको संस्कार पवित्र नदी तीर्थमा होस् भन्ने चाहन्छन् । नजिकमा नदी नभए जलाएको अस्तुलाई पवित्र नदीमा बगाइयोस् भन्ने इच्छा गर्छन् । जवाहरलाल नेहरुको अन्तिम इच्छा निकै प्रसिद्ध छ । जसमा उनले आफ्नो खरानी हिमालय पहाड र गंगानदीमा छरीदिन भनेका थिए । अर्को प्रसिद्ध इच्छा गीताप्रेसका संस्थापक मध्येका एक स्वामी रामसुखदासको छ । यस सुन्दर इच्छामा उनले भनेका छन्- यदि गंगानदीभन्दा धेरै टाढा यस शरीरको अन्त भयो भने छिटोभन्दा छिटो सकभर गंगानदीमा पुर्याएर अत्यन्त सादा तरिकाले अन्तिम संस्कार गरियोस् । यदि गंगा नदी टाढा रहेछ भने अन्तिम संस्कार यस्तो ठाउँमा गरियोस जहाँ गाईहरु ओहोर दोहार गर्छन् वा आराम गर्न बस्छन् । गाईको पाइला परेको ठाउँमा सूर्यको प्रकाशको साक्षीमा बिना तडक भडक अन्तिम संस्कार गरियोस् । कुनै पनि दृष्टिले मेरो लासलाई धेरै बेर राख्ने काम गर्दै नगरियोस् भनेका छन् । तडक भडक मानिस जम्मा गर्ने यस्ता काम नगरियोस् ।
उनले कडा निर्देशन दिएका छन्- मेरो कुनै स्मृति चिन्ह, खराउ केही नराख्नु, सबै जलाई दिनु । मेरो स्मृतिमा गौशाला, पाठशाला, धर्मशाला बनाएर मेरो नाम उल्लेख नगर्नु ।
उनले के पनि भनेका छन् भने मेरो मृतक संसकारका समयमा कुनै प्रकारको शोक सभा नगर्नु, त्यसको सट्टा ईश्वरको नाम जप्नु र भजन कीर्तन भने गर्नु । अहिले नेपालमा मृतकको नाममा प्रतिस्पर्धात्मक शोकसभा र धार्मिक संस्कारमा नभएको भाषणबाजी धेरै बढेको छ । यी गौण कुराहरु प्रमुख हुँदै गएको छन् । यस विषयमा स्वामी रासुखदासको यस इच्छाबाट समाजले केही सिक्नु पर्ने भने जरुरी देखिएको छ ।
मानिसको अन्तिम इच्छा महत्त्वपूर्ण मात्र होइन संवेदनशील हुन्छ । बालकृष्ण समले अन्तिम इच्छा कवितामा यसरी व्यक्त गरे-
इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्यु शैया जली,
मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छटपटी ।
त्यो बेला मुखमा बुटीहरु परुन् नेपाल कै केवल,
जे जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।।
माधव घिमिरेले इच्छा गरे-
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका किरण
त्यसरी होओस् मरण
अहिले मृत्यु उपरान्त अंग दान दिने वा शरीर दान दिने पनि गरेका छन् । केही मानिसले आफ्नो शरीर मेडिकल कलेजलाई दान दिने अन्तिम इच्छा गरिएको पनि सुनिन्छ ।
इतिहासकार दिनेशराज पन्तका अनुसार, राजा पृथ्वीनारायण शाहको मृत्यु जहाँ भयो अन्तिम संस्कार पनि सोही ठाउँ देवीघाटमा गरिएको थियो । जङ्गबहादुरको मृत्यु र अन्तिम संस्कार दुवै पत्थर घट्टामा भएको थियो । राजा महेन्द्रको मृत्यु नारायणी नदीको तीरमा भएको थियो तर अन्तिम संस्कार आर्यघाटमा गरिएको थियो । बी पी कोइरालाले थाईल्याण्डमा औषधि गराउँदा गाह्रो हुन थाले पछि मर्ने बेलामा शरीर नेपाल पुर्याइयोस् भनेर अनुरोध गरेका थिए ।
जुद्ध शम्शेरले अन्तिम दिन रिडीमा बिताउन चाहेका थिए तर कुनै कारणले उनले त्यो ठाउँ छोडेर देहरादून बस्न थाले । उनको अन्तिम संस्कार हरिद्वार गंगानदीमा गरिएको छ। आज पनि उनको अस्तु माथि गंगानदी बगिरहेकी छन् । राजा राजेन्द्रले अन्तिम दिन बनारस गंगानदीको छेउमा बिताउन चाहेका थिए ।
भारतमा गंगा नदी र नेपालमा गण्डकी नदीलाई पुराणहरुमा पवित्र मानिएको छ । केही ठाउँलाई पवित्र नमानिए जस्तै केही नदीलाई अन्तिम संस्कारका लागि तीर्थ मानिँदैन । पाल्पा माडीको अन्नलाई पास्नीका लागि अपवित्र मानिन्छ । अन्यत्रबाट चामल मगाएर पास्नी गरिन्छ भन्ने जनश्रुति डा. टीकाराम पन्थीले उल्लेख गरेका छन् । त्यसै गरी ब्रह्म पुत्र नद, कर्मनाशा नदी, मानसरोवर नजिकको राक्षस ताललाई तीर्थ मानिँदैन ।
भारतको बनारसमा मर्न पाउनु पवित्रतम भएको मान्यता छ । किनभने बनारसमा मर्नेहरु स्वर्ग जान्छन् तर बनारसमा पूरै जीवन बिताएका कबीरले यस मान्यता प्रति विद्रोह गरेर मर्ने बेलामा मगहर गएर बसे किनभने मगहरमा मर्ने मानिस कदापि स्वर्ग जान्न भन्ने मान्यता थियो । कबीरले गर्दा अहिले मगहर कबीरपन्थीहरुको तीर्थ बनेको छ ।
नेपालमा कालीण्डकी, बागमती आदि पवित्रतम नदी हुन् । गण्डकीलाई पुराणहरुले पवित्रतम नदी भनेका छन् । त्यसैले अधिकांश नेपालीले अन्तिम संस्कार गण्डकीको तटमा होस् भन्ने चाहन्छन् । त्यसमा पनि रिडी, रामदी, देवघाट, त्रिवेणी अन्तिम संस्कारका लागि विशेष प्रसिद्ध छन् ।
यी ठाउँहरुमा कल्पवास बस्ने मानिसहरुको कमी छैन । सोही अनुसार, देवघाट आदि पवित्र ठाउँहरुमा उनीहरुको इच्छा अनुसार बसोबास र अन्तिम शरीर संस्कार गरीदिने परम्परा छ तिलोत्तमा नगरपालिका दुईवटा पवित्र नदीको बीचमा छ, तिनाउ र रोहिणी । तिलोत्तमाको उल्लेख पुराणमा र रोहिणीको उल्लेख बौद्ध ग्रन्थमा छ ।
मणिग्राम क्षेत्रका पुराना बासिन्दा थारुहरुले यहाँका यिनै पवित्र नदी छेउछाउ अन्तिम संस्कार गर्ने परम्परा छ । यसैलाई अनुसरण गर्दै भैरहवाका बासिन्दाहरुले डण्डाखोला तटमा र बुटवलका बासिन्दाले तिनाउ नदी तटलाई घाट मानेर शरीरको अन्तिम संस्कार गर्दछन् ।
रोमणी प्रसाद पाठक एक यस्तो नाम हो जसले धर्म निरपेक्षताको खिलाफ आवाज उठाउन नेपाल विद्वत परिषद, नेपाल ब्राह्मण समाज, नेपाल विद्वत् परिषदका कार्यक्रमहरुको अगुवाईमा कार्यक्रम गरे । स्वयं सनातन वैदिक हिन्दु धर्म आधारित वर्ण आश्रम प्रति समर्पित भएर साधु सन्तहरुलाई सम्मान दिलाउने कुरामा मणिग्रामको समाजलाई सचेत गराए । उनी आफैंले अन्तिम इच्छा के गरे भने शरीरको अन्तिम संस्कार मणिग्रामको पश्चिममा रहेको तिनाउको घाटमा गरियोस् । र सोही अनुसार उनको परिवारले सागरमा अन्तिम संस्कार गरेको थियो । यस अघि तात्कालिक गृहमन्त्री बालकृष्ण खाणले आफ्ना बुबाको अन्तिम संस्कार बुटवल नजिकको मगरघाटमा गरेका थिए ।
समग्र मणिग्राम क्षेत्र लामो यज्ञ परम्परा, मठ मन्दिरहरुमा नियमित पूजा प्रवचन हुने गरेका र २०० वर्ष पुराना सम्मका मन्दिरहरुको अस्तित्त्व भएको ठाउँ भएकोले यो क्षेत्र पनि पवित्र बनेको छ । त्यसैले यहाँ मोक्षधाम तीर्थ बनाउनु पर्छ भनेर रोमणी प्रसाद पाठकले धेरै परिश्रम गरेर नेपालका चार तीर्थ र भारतका चार तीर्थ गरी आठ तीर्थको प्रतिकृति बनाउने कामको सुरुआत गरेको धेरैलाई विदित छ । यस अनुसार पवित्र पोखरी, मुक्तिनाथ धाम, शिव मन्दिर र शालग्रामको संकलन भएको छ । तर यसको धेरै काम अझै बाँकी छ । अब मोक्षधामका उनका उत्तराधिकारीहरुको जिम्मामा यो काम आएको छ ।
यस क्षेत्रका धार्मिक र राजनीतिक व्यक्तिहरुले अन्तिम संस्कारका लागि तिनाउ र रोहिणीलाई रोज्ने जुन उदाहरणीय काम गरेका छन् त्यसमा स्थानीय निकाय र स्थानीय समाजले पनि योगदान गर्नु पर्ने देखिएको छ । तिनाउ र रोहिणीमा जल प्रवाह रहिरहोस् यसका लागि नीतिगत प्रयास गर्नु परेको छ । घाटको छेउमा घाम र पानीबाट सुरक्षाका लागि टहरा, लास जलाउने लकडी र अन्तिम संस्कारका लागि चाहिने सामान किन्ने सुविधाजनक पसलहरु स्थापना गर्नु जरुरी छ भने नजिको यी तीर्थलाई अधिकतम उपयोग गरेर आफू र आफ्ना परिजनलाई सजिलो बनाउन पनि सबै सचेत हुनु जरुरी देखिएको छ ।
(बुटवल टु डेबाट साभार र संशोधित )

