–डा. बाबुराम ज्ञवाली
मलाई संझना छ सुरुमा मैले लेखेका लघुकथाहरु सहकर्मीहरुबीच चर्चित थिए । भाषा, विषय वस्तुको क्रम, प्रवाह इत्यादि नमिलेको हुंदो हो तर पनि साथीहरुले प्रशंसा गर्थे । नौसिकुवालाई प्रोत्साहनका लागि नै भए पनि मैले यसलाई वास्तविक प्रशंसाको रुपमा लिएको थिएं ।
मेरो पहिलो कथा थियो– जोईटिङ्ग्रे । जसमा मैले नवविवाहित जोडीका प्रेमलाई परम्परागत पारिवारिक समाजमा कसरी हेरिन्छ भन्ने कुराको चित्रण गर्न खोजेको थिएँ ।
त्यो कथा काठमाडौंबाट निस्कने संरक्षक भन्ने एक साप्ताहिक पत्रिकामा वि.सं.२०३५ सालमा प्रकाशित भएको थियो । त्यसका सम्पादक थिए श्रीधर खनाल । कथा एक जना व्यक्तिले पढेका रहेछन् । जसलाई हामी सम्मानपूर्वक भीमलाल माष्टर भन्ने गर्थ्यौं । उनले सोधे– यो कथा तपाईंले लेख्नु भएको हो ?

उनले त्यति मात्र भनेका थिए । तर यसबाट म उत्साहित भएँ । लेखनको त प्रतिक्रिया हुँदो रहेछ । त्यस बेला पत्रपत्रिका सितिमिति देख्न पाईंदैनथ्यो । लेख्ने मानिसको पनि उस्तै अभाव थियो । तीस चालिसवर्ष अघिका आँखाले भन्ने हो भने नेपाली साहित्यको वर्तमान उन्नति पत्याइ नसक्नु छ ।
वि.स.२०३५–३६ ताका पाल्पाबाट पाहुर र श्रीनगर दुईवटा साहित्यिक पत्रिका प्रकाशित हुने गर्थे । दुवैका सम्पादक विनय कसजु थिए । साहित्यमा रुचि भएकोले मैले ती दुवै पत्रिका रुचिपूर्वक पढ्थें । पाहुरमा मैले केही लघु कथा र एउटा अनूदित लोककथा प्रकाशनार्थ पठाएको थिएं । मलाई त्यस बापत प्रकाशनबाट पारिश्रमिकस्वरुप तीनवटा पुस्तकहरु प्राप्त भएका थिए ।

रचना पठाउनु र त्यो प्रकाशित हुनुका बीचको समय दूरी लामो हुने गथ्र्यो । हातले लेखेर साफी गर्दै हुलाक मार्फत् पठाउनु पर्थ्यो । हुलाकले ढिलो गरी सम्पादकको पोष्ट बक्समा पुर्याउंथ्यो । सम्पादकले संकलन गरेर ल्याटर प्रेसमा पठाउंदासम्म महिनौं लागिसक्थ्यो । कहिलेकाहीं रचना पठाएको कुरा नै बिर्सिन्थ्यो ।
शान्ति माविको वार्षिक मुख पत्र नानीमा पनि मेरा केही लघु कथा प्रकाशित छन् । ती सबैलाई साथीहरुले सकारात्मक प्रतिक्रिया दिएका थिए । खास गरी मूसा मार्न ल्याएको बिरालो लघुकथा शान्ति पाण्डेले निकै मनपराएको बताएकी थिइन् । त्यस कथामा बिरालोले मूसा नखाएर दूध खाइदिन्छ ।
वि.सं.२०३९–४० सालतिर शान्ति मा.वि.का एक जना मित्र हेमराज पराजुली ले भने– कार्तिक २२को उपलक्ष्यमा एउटा नारी अंक पत्रिका निकाल्ने कुरा छ । त्यसमा एउटा लेख दिनुस् है ।
मैले पनि महिलाको बारेमा नै केही लेख्नु उचित होला भनेर एउटा लेख लेखें – राष्ट्रिय आयमा महिला सहभागिता । यो मेरो पहिलो आर्थिक लेख थियो । तर त्यसलाई सम्पादक अशोक श्रेष्ठ लगायत पत्रिका सम्पादन–प्रकाशनमा लागेका व्यक्तिहरुले सारै प्रशंसा गरेको जानकारी पराजुलीजीले दिएका थिए । रानी ऐश्वर्यको जन्मोत्सव विशेषांकमा त्यो फोकस आलेख नै बन्न पुग्यो ।
वि.सं.२०४६ मा नेपाली, हिन्दी र संस्कृत भाषाका विद्वान् र १०० भन्दा बढी पुस्तकका लेखक कृष्ण प्रसाद घिमिरे (विद्यावारिधि) ले मलाई एउटा पत्र पठाएका थिए । जसमा मेरा लेख उहांको दृष्टिमा परेको कुरा उल्लेख थियो । त्यो पढे पछि मलाई बल्ल रचनाको बारेमा संझना भयो । मैले द्रौपदी र भगवद्गीतामा आहारबारे मेरा दुई दृष्टिकोणयुक्त लेख गुणराज स्मारक ग्रन्थका लागि हुलाक मार्फत् (वि.सं.४०–४२ सालतिर) पठाएको थिएं । शायद यिनै दुईवटा लेख थिए होला, अनुमान लगाएँ । यद्यपि ती दुवै लेख प्रकाशित भए वा वा भएनन् मैले कुनै औपचारिक जानकारी आजसम्म पाएको छैन ।
वि.सं.२०४५ मा मैले शान्ति मा.वि.बाट एक वर्षे बिदा लिएर बाग्लुङ क्याम्पसमा अस्थायी नियुक्ति लिएर पढाउन थालें । यसबाट मेरो स्थानीय पत्रपत्रिकासंगको नाता केही समयलाई टुट्यो । बाग्लुंगमा कुनै पत्रिकासँग मेरो सम्पर्क हुन सकेन । त्यसैले साहित्यिक लेखनको क्रमभंग भयो । तर बाग्लुङमा नयाँ कुरा लेख्ने अभ्यास मलाई भयो । त्यहाँ राजा वीरेन्द्रको जन्मोत्सवको उपलक्ष्यमा आर्थिक विषयका कार्यपत्र तयार पारें । नेपाल भारत सम्बन्धमा उत्पन्न गतिरोध विषय कार्यपत्र र सरकारको अडानको समर्थन गर्दै नेपाल प्राध्यापक संघको कार्यक्रममा एउटा विशेष कार्यपत्र प्रस्तुत गरें । तर २०४५ देखि २०४७ अवधिमा मैले कुनै लेख, कथा वा पुस्तक लेखेको छैन । त्यस पछि मैले त्रिभुवन क्याम्पस पाल्पामा सरुवा लिएँ । त्यहाँ स्नातकोत्तर तहमा अध्यापन गर्नु परेकोले आफैंले कति धेरै पढ्नु पर्ने भयो भने मैले साहित्यिक लेखन तर्फ ध्यान दिन पाइनँ । यद्यपि तानसेनमा साहित्यिक गतिविधि हुने गर्थे । त्यहाँ बी पी कोइरालाको राजनीतिक विचारबारे कार्यपत्रमा टिप्पणी लेखनको कार्य गरें । यी सबै मेरो लागि नयाँ अनुभव थिए ।
बुटवल क्याम्पस सरुवा भएपछि मेरो साहित्यिक र विषयगत लेखनले पुन निरन्तरता पायो । चौतारी दैनिक (वि.सं.२०५२) का अंकहरुमा टार्जन सिरीज उपन्यासको अनुवाद प्रकाशित भयो । यो एक दिन बिराएर प्रकाशित हुने गर्थ्यो । उपन्यासको अनुवाद मैले धेरै अघि गरिसकेको थिएँ र प्रकाशन गर्ने बारेमा सोच्दै थिएँ । जम्मा जम्मी ८० अंकमा यो अनुवाद पूरा भयो । पाठकहरुले यो कथा नियमित पढ्थे ।
त्यस बेलासम्म बुटवलमा आर्थिक विषयको लेखन शून्य प्रायः थियो । पत्रिकाहरुले आर्थिक विषयका लेखहरु माग गर्थे । त्यसैले सामयिक र आर्थिक विषयहरुमा विस्तारै मेरो लेखन आवृत्ति बढ्न थाल्यो । वि.सं. २०४९ मा नेपालको जनगणना तथ्यांकको विश्लेषणबारे लेखें । वि.सं. २०५० मा नेपालको औद्यागिक नीति विषयमा लेखें । आर्थिक सर्वेक्षणको सारांश प्रकाशित गरें । वि.सं.२०५२–५३ मा अरुण–३ विद्युत योजनाको विवाद चरम चुलीमा थियो । आइ एन जी ओ र प्रतिपक्षी दल एमालेको तीव्र विरोधका अगाडि सरकार झुक्यो । त्यो योजना ल्याउने प्रयास त्यतिखेरका अर्थमन्त्री लगायत डा. रामशरण महतको पनि थियो । त्यो एक महत्त्वपूर्ण योजना थियो । तर त्यो योजना कार्यान्वयन हुन सकेन । यसबाट दुखी भएर महतले लोकतन्त्रको पक्षमा भन्ने पुस्तक समेत प्रकाशित गरे जसमा अरुण तीन विवादको विस्तृत विवरण छ । बुटवल क्याम्पसमा बी एल द्वितीय वर्ष कानून विषयका विद्यार्थीहरुले कानुन भन्ने पत्रिका प्रकाशन गरेका थिए । त्यसका सम्पादक उद्धव गौतमले लेख मागेका थिए । पत्रिकामा अरुण ३ को समर्थन गर्दै त्यो आयोजनालाई कार्यान्वयन गर्नु पथ्र्यो भन्ने आफ्नो विचार लेखें । पछि एक जना विद्यार्थीले मलाई भेटेरै अरुण तीनको समर्थन गर्ने भन्दै तीव्र रोषपूर्ण प्रतिक्रिया दियो । आफ्ना कुनै रचनाको नकारात्मक प्रतिक्रिया सुनेको त्यो मैले प्रथम पटक थियो ।
विषयगत लेख लेख्ने क्रममा मेरो लेख वि.सं.२०५३ मा अर्थशास्त्र केन्द्रीय विभागको इकोनोमिक जर्नल अफ् नेपालमा पनि प्रकाशित भयो । यो मेरा लागि ठूलो घटना थियो । त्यस बेलाका विभागीय प्रमुखको नाम हो प्रा. विष्णु प्रसाद शर्मा । त्यसको शीर्षक थियो कुलाही टेकनीक इन छत्तीस मौजा फार्मर म्यानेज्ड इरिगेशन सिस्टम इन रुपन्देही । त्यो लेख स्वीकृत भयो । त्यस समयमा अमेरिकी अर्थशास्त्री इलिनोर ओस्ट्रमको नेपाल ओहोर दोहोर हुने गर्थ्यो । पछि उनले छत्तीस मौजाले गरेको व्यवस्थापनलाई कमन पूल रिसोर्स नाम दिइन । यस विषयमा नै उनले नोबेल पुरस्कार प्राप्त गरेकी थिइन् ।
वि.सं.२०५५ साल ताका दूध होली डे हुने गर्थ्यो । त्यसबाट किसान दिक्क थिए । दुग्ध व्यवसायको विकास र किसानहरुको होली डेको समस्या बारे दुइवटा शोध लेख प्रकाशन गरें । यस क्षेत्रमा दुग्ध व्यवसायलाई सहकारी उत्पादनको रुप दिने व्यक्ति बालानन्दको नाम उल्लेख गरेको थिएं । उनले मलाई भेटेरै उक्त पत्रिकाबारे थप जानकारी र अंक प्राप्त हुने स्थानबारे जानकारी लिएका थिए । चौतारी बन्द भए पछि बुटवलबाट एउटा पत्रिका अच्युत वाग्लेको सम्पादनमा निस्कन्थ्यो जसको नाम थियो श्रीदेउराली । यो बुटवल तथा काठमाडौं दुवै ठाउंबाट निस्कन्थ्यो । मेरो त्यो लेख त्यसैमा छापिएको थियो ।
वि.सं.२०६२ मा पं.नारायण प्रसाद पोखरेलमा रामापुर क्याम्पसमा भागवत कथाको व्यासपीठमा हत्या भए पछि धेरै व्यथित भएं । त्यसै व्यथित र क्षुब्ध मानसिक अवस्थामा एउटा लेख लेखें । जसको शीर्षक थियो– धार्मिक आस्थालाई चढाइएको सूली । यो लेख पोखराबाट प्रकाशित हुने दैनिक पत्रिका समाधान र बुटवलबाट प्रकाशित हुने पत्रिका जनसंघर्षमा प्रकाशित भयो । यस लेखलाई धार्मिक शहीद पं. नारायण प्रसाद पोखरेल क्याम्पस रामापुरको स्मारिका समर्पणमा पुनः प्रकाशित गरिएको थियो ।
नेपालीहरुको औसत आयु बढ्दो छ । त्यसैले विस्तारै नेपाली समाज एउटा नयां समस्यामा प्रवेश गर्दै छ । यसलाई मद्धेनजर गर्दै बुटवल टु डेमा वि.सं.२०६२ मा बुढेसकालको धर्मशास्त्र र अर्थशास्त्र भन्ने शीर्षकमा एउटा लेख प्रकाशित भयो । यसमा मैले औसत आयु बढ्दै गए पछि यसका धार्मिक, सामाजिक र आर्थिक प्रभाव हुन्छन् भन्ने विषयहरु बारे लामो लेख लेखें । लेखको बुटवल निवासी कृष्ण बहादुर रानाले ज्यादै सकारात्मक प्रतिक्रिया दिएर मलाई प्रोत्साहित गरेका थिए । त्यसका सम्पादक जीवलाल सापकोटाले मलाई भेटेर भनेका थिए– पहिलो लेखमा यस्तरी सकारात्मक प्रतिक्रिया सितिमिति पाईंदैन, ज्ञवाली सर । यो ठुलो कुरा हो । बुटवल टुडेमा यो मेरो सुरुआती लेख थियो ।
पछि बुढ्यौली विषयमा प्युठान स्मारिका र हाम्रो पुरुषार्थमा लेखहरु प्रकाशित भए । प्युठान स्मारिकाका सम्पादक थिए विष्णु पोखरेल । उनले मलाई भेटेर लेख मागेका थिए । तम्घासबाट पचास वर्षदेखि निरन्तर प्रकाशित हुने हाम्रो पुरुषार्थ शशि पन्थीको सम्पादकत्वमा निस्कन्थ्यो । हाम्रो पुरुषार्थमा बुढ्यौली विषयमा मेरो पहिलो लेख प्रकाशित भएको थियो । त्यस लेखले नै शशि पन्थीसंग मेरो भेट गरायो । यससंग सम्बन्धित एउटा लेख अर्थशास्त्र शिक्षा केन्द्रीय विभागको पत्रिका आर्थिक सम्प्रेषणले प्राथमिकता साथ प्रकाशित गर्यो । पत्रिकाका सम्पादक थिए श्रीधर सुवेदी । त्यो लेख लेख्न मेरा पूर्व विद्यार्थी मीनराज पौड्यालले आग्रह गरेका थिए । पौड्यालले अर्को पत्रिका समर्पणका लागि पनि लेख लेख्न आग्रह गरेका थिए । जसमा मैले अंग्रेजी लेख डेफिनिशन्स अफ् इकोनोमिक्स रिभिजिटेड लेख दिएं । यस लेखमा मैले अर्थशास्त्रका पूर्वीय परिभाषा जुन कौटिल्य र शुक्रले दिएका छन्, बारे चर्चा गरेको थिएँ । यी दुई लेख छापिएपछि केही अन्य पत्रिकाहरुले पनि काठमाडौबाट लेख मागेका थिए ।
यसै समयमा दैनिक जागरणमा गुञ्जेश्वरी प्रसादको माक्र्स सम्बन्धी एउटा लेख देखें । त्यो मलाई मन पर्यो । अनि अनुवाद गरेर तिलोत्तमामा पठाएं । यो १५ साउन २०६४ मा प्रकाशित भयो । मार्क्सको तथ्यपूर्ण आलोचनायुक्त लेख थियो त्यो । पत्रिकाले मार्क्सको ठूलो चित्र सहित प्रकाशित गरेको थियो । क्रिस्पेन्डो नामको कुनै पाठकले त्यस लेखको बडो तीव्र प्रतिक्रिया पठाएको कुरा सम्पादक रामराज पोखरेलले बताए । यो सुनेर मलाई एक प्रकारको प्रसन्नता भयो । मेरो लेखको यो दोस्रो नकारात्मक प्रतिक्रिया थियो । तर कुन्नी किन हो यस नकारात्मक प्रतिक्रियाको मलाई सकारात्मक अनुभूति भयो । मैले तुरुन्त त्यसलाई प्रकाशित गरीदिन अनुरोध गरें ।
सोही वर्ष भदौ १९ को घटना हो । नेपाल बैंक लिमिटेडबाट फोन आयो– सर हुनुहुन्छ ?
मैले मोबाइलमा जवाफ दिएं– बोल्दै छु ।
– सरको दामी लेख रैछ । बोल्ने शैली चिनेको जस्तो लाग्यो ।
मैले सोधें– के हो र ?
उनले भने– सर म शिव प्यासी बोल्दै छु । तपाईंको लेख पढ्दैछु । लुम्बिनी दैनिकमा छापिएको रहेछ ।
अनि मैले सम्झें कौटिल्य र मार्क्सको तुलना गर्दै मैले एउटा लेख पठाएको थिएं । त्यो छापिएको रहेछ ।
वास्तवमा मार्क्सलाई मैले एक महान अर्थशास्त्रीको रुपमा सम्मान गर्छु । तर समाजशास्त्र र राजनीतिशास्त्रको मार्क्सीय दृष्टिकोण मलाई बिलकुलै अपूर्ण लाग्छ । त्यस दृष्टिले मैले कौटिल्यलाई जति सम्मान अरुलाई दिन सक्दिनं जस्तो लाग्छ । त्यसैले यी दुवैका विचारको तुलना गर्दै एउटा लेख लेखेर लुम्बिनीलाई दिएंको थिएं । तर त्यो छापिने नछापिने निधो थिएन । त्यसका सम्पादक प्रकाशक कर्ण बहादुर कार्की थिए । किशोर खनालको सम्पादनमा निस्केको अर्को पत्रिका पर्रोहा दीपमा पनि कौटिल्य र मार्क्सको तुलना गर्दै लेखेको लेख छापिएको थियो ।
अर्को संझना छ शान्ति मा.वि.को मुखपत्र नानी स्वर्ण जयन्ती विशेषांक (२०६५) संग । यसका सम्पादकद्वय थिए– स्थानेश्वर बस्याल र चन्द्रकान्त पराजुली । दुवैले बुटवलको एउटा प्रेस कार्यालयको सम्पादन कक्षबाट रमाइलो मान्दै भनेका थिए– तपाईंलाई गोरखपुरमा टोके जस्तै बुटवलका लामखुट्टेले हामीलाई टोके । मैले नानीको रजत जयन्ती विशेषांक प्रकाशनको अनुभव लेखेको थिएं । त्यसमा मैले गोरखपुरका लामखुट्टेले खाटमा हिंड्दै हिँडदै आएर टोक्ने अनि हिँडेरै फर्केर जाने गरेको देखेको थिएँ । यस्ता अनेक साना ठुला चर्चा भए जसले मेरो कलमलाई गतिवर्धनको काम गर्यो ।
स्वदेश नेपाल डटकमले केही अनलाइन लेखहरु माग्यो । मैले त्यसमा भगवान् राम, भगवान् कृष्ण, भगवान् बुद्ध, गुरु नानक र महावीर जैनले भनेका कुराहरुको सार, गीता अध्याय एक देखि अध्याय १८ सम्मको श्लोक अर्थ र व्याख्या लेखि पठाएँ । जुन अहिले पनि अनलाइन राखिएको छ ।
किरण पुस्तकालयबाट दुई पुस्तक आधा जिस्ता र बृहस्पति सूत्र प्रकाशित गरें । अहिले यी दुवै पुस्तक अलनलाइन समेत पढ्न पाइन्छ । यसरी पछिल्लो लेखन अनलाइनसम्म पुग्यो र जुमबाट पनि केही साहित्य चर्चा गर्ने मौका मैले पाएँ ।
तथापि पूर्वीय आर्थिक दर्शनमा नेपाल संस्कृत विश्वविद्यालयबाट शोध अध्ययन पूरा गरे पछि मासिक शैक्षिक पत्रिका पाठशालाका दुई जना सम्पादक– कृष्ण मल्ल र युवराज कँडेलले आफ्नो पत्रिकाका लागि मेरो अन्तर्वार्ता लिन चाहे । सो क्रममा एक जनाले मलाई सोधेका थिए– कथा साहित्य लेख्न किन छोड्नु भयो ।
जुन कुरा मैले उनीलाई भनेको थिएँ त्यही कुरा आज फेरि दोहार्याउँछु– साहित्यिक आनन्दलाई अर्थशास्त्रको चिन्तनले बिर्साईदियो । खै अब त चिन्तन नै अर्थशास्त्रमय भै सकेको छ तथापि लेख्ने कोशिश भने जरुर गर्दै रहूँला ।

