-डा. बाबुराम ज्ञवाली
कृष्णको अर्थ हुन्छ आकर्षक । कृष्णको मूर्ति बनाउँदा गाढा नीलो बनाउने रहस्य के हो ? यो भगवान् कृष्णको अथाह ज्ञानको प्रतीक हो । जुन अनुगीता, उद्धव गीता र भगवद्गीतामा प्रकट भएको छ । महाभारतमा गरिएको यथार्थ विवरणबाट के स्पष्ट हुन्छ भने भगवान श्रीकृष्णको व्यक्तित्व ऐहिासिक हो ।
श्रीकृष्णको नाम अगाडि भगवानको उपाधि उनकै समकालीन ज्ञानकोश व्यासले दिएको कुरा महाभारतको श्रीमद्भगवद्गीताको विवरणले स्प्ष्ट हुन्छ । त्यसको विश्वरुपदर्शनयोग त्यसको आधिकारिक प्रमाणको रुपमा प्रस्तुत गरिएको छ । दृढ निश्चयी महात्मा भीष्मले पनि कृष्णको अवतार स्वरुप चिनेका संकेत महाभारतमा छ । उनको रचना विष्णु सहस्रनाम यसको प्रमाण हो । जसमा भगवान् विष्णुका एक हजार नाममध्ये ५७ औं क्रममा कृष्ण उलेख छ । महात्मा विदुरले पनि ईश्वरीय रुपमा चिनेका थिए भन्ने विवरण महाभारतमा छ । अर्जुनले भने विश्वरुप पछि मात्र अवतार स्वरुपको चाल पाएको कुरा गीताबाट स्पष्ट हुन्छ ।
ऋग्वेदमा कृष्ण अवतारको संकेत एउटा ऋचालाई मानिएको छ– एक यस्तो गोठालो जो कहिल्यै च्युत हुदैन, मित्रवत् छ, सुन्दर वस्त्रले सजिएको छ । र यो समय समयमा पृथ्वीमा अवतरित भइरहन्छ । (ऋग्वेद १.२२.१६४)

भगवान श्रीकृष्णको रुप गाईगोठालोको रुपमा सुन्दरतम रुपमा अभिव्यक्त हुन्छ । ठीक यस्तै क्राइस्टको स्वरुप एक भेडागाठालोको रुपमा नै सुन्दरतम अभिव्यक्त हुन्छ । छान्दोग्य उपनिषद् (९०० वि.सं. पूर्व) मा देवकीपुत्र, पाणिनी अष्टाध्यायी (वि.सं. ५०० शताब्दी पूर्व), अर्जुन, वासुदेव, कौटिलीय अर्थशास्त्र (३०० वि.सं. पू.) विशेष पूजित कृष्ण, पातञ्जलि महाभाष्य (१५० वि.सं.पूं) मा वासुदेव, कृष्ण, अर्जुनको नाम प्रयोग गरेर उदाहरण दिइएको छ ।
सेल्युकसको दूत मेगास्थनीजको इंण्डिका पुस्तकमा ह्रीक्लियस शब्दको उल्लेख छ । जुन शब्द हरिकृष्ण वा हृषिकेशका लागि प्रयोग गरिएको हो । यूरोपको इतिहासको यो प्रामाणिक ग्रन्थ हो । यसका आधारमा पश्चिमी इतिहासका तिथि मितिहरु तय गरिन्छन् । यसका अतिरिक्त मेगास्थनीजले मैथोरा र क्लीइसोबोरा (कृष्णपुर) भनी दुइठूलो शहरको नाम पनि उल्लेख गरेका छन् । बौद्ध ग्रन्थहरुमा कृष्णलाई कान्ह शब्द प्रयोग गरिएको छ । पाकिस्तान सिन्ध प्रान्तको लरकाना जिल्लामा रहेको मोहन जो दारोको उत्खननमा एक बालकले दुइ वृक्षहरु उखेलेको र त्यसबाट दुई व्यक्तिहरु उत्पत्ति भएको चित्र अंकित छ । यो चित्र भागवत कथाको यमलार्जुन उद्धारको हो भनी मानिएको छ ।
कृष्णको जन्म जेलमा भएको हो । भाद्र कृष्ण अष्टमीको आधा रातमा जेलमा आठौं गर्भ जन्माउनका लागि थुनिएकी देवकीबाट उनको जन्म भएको हो तर उनको गर्भलाई सामान्य गर्भ मानिंदैन । क्राइस्ट कुमारी मरियमको गर्भमा प्रवेश गरेका थिए र यसको सङ्केत बेथलहेमको ताराले दिएको थियो भनिएको छ । बुद्धकी आमा मायावतीले बुद्ध गर्भमा आउनु अघि सेता हात्ती मुखबाट शरीर भित्र प्रवेश गरेका देखेकी थिइन् । यसै गरी श्रीकृष्णको जन्म हुनु धेरै अघि आठौं गर्भको रुपमा धराको अन्याय र अत्याचार नाश गर्न ईश्वरको अवतार हुने आकाशवाणी भएको घटना भागवत कथामा उल्लेख छ । आठौं गर्भ ज्यादै विशेष भएकोले सातौं गर्भमा त्यसको पूर्व तैयारी गरिएको थियो । तर पछि त्यस गर्भलाई ईश्वरीय विधिले रोहिणीको गर्भमा बलरामको रुपमा स्थानान्तरण गरिएको थियो । कृष्णलाई यशोदाको गर्भको बालिकासंग साटिएको थियो । वास्तविक जन्मको रुपमा कृष्णलाई आठौं गर्भ भन्न मिल्दैन तर एउटी बालिकाको बलिदान समेतलाई हिसाब गर्दा उनी आठौं नै हुन्छन् । यसरी भगवँन कृष्ण एक असाधारण गर्भ र असाधारण जन्म थिए ।
जन्म हुना साथ आमाको दूध मुखमा राख्न नपाइ छुट्टिनु परेको घटनालाई ध्यान दिने हो भने कुनै पनि दूध खाने बालकलाई यो भन्दा दुर्भाग्यको घटना अर्को हुन सक्दैन । जुन बालक जन्मनु अघि असुरक्षित छ र जन्मि सकेपछि पनि निरन्तर असुरक्षित छ भने उसको जीवनको संघर्षको जटिलतालाई शब्दमा बयान गर्न सकिंदैन । जीवनका भयंकर असुरक्षित क्षणहरुलाई नाचेर, गाएर, अर्काको घरमा आफ्नो घरमा भन्दा प्रिय वातावरण बनाएर हुर्कने बच्चाको असाधारण क्षमतालाई सामान्य मानवको आंखाले हेर्न सकिंदैन ।
कृष्णको जीवनका प्रत्येक घटनालाई विश्लेषण गरेर हर्ने हो भने पूतना वध, कालिय दमन, माखनचोर, गोवर्धन धारण, कंसवध एकभन्दा एक बढी अलौकिक घटनाहरु छन् । प्रत्येक घटनाको एक छुट्टै इतिहास, छुटटै विशेषता र प्रभाव छ । जसले कृष्णको अलौकिकता र, अतिमानवीयता र ईश्वरत्व प्रकट हुन्छ । कंसवध गरे पछि कंसका पितालाई नै राज्याभिषेक गर्नुले कृष्णलाई कुनै पनि घटनामा आफ्नो केही स्वार्थ नभएको स्पष्ट हुन्छ ।
भगवान कृष्णको जीवनमा दम्भ, अहङ्कार, र अनिर्णयको सानो गन्ध पनि कहीं पाईंदैन । पाण्डवहरु सधै. अनिर्णयको शिकार हुने हुंदा प्रत्येक चरणमा उनीहरुलाई निर्णायक भइ सहयोग गरेको पाइन्छ । अर्जुनले लक्ष्यवेध गरेपछि द्रौपदी स्वयंवरमा सारा क्षत्रियगणबाट अर्जुनको सुरक्षा तथा पांच पतिको पत्नीको रुपमा बस्नु पर्ने बाध्यता भए पछि कृष्णले पाण्डव, द्रौपदी र कुन्ती सबैलाई चित्त बुझाई दिएका थिए । सुभद्रा हरणमा सहयोग, उत्तराको अभिमन्युसंगको विवाह, जयद्रथ वध, भीष्म वध, कर्णवध, र दुर्योधन वधमा अर्जुनको अनिश्चयात्मिका बुद्धिलाई निर्णय गर्न कृष्णले सहयोग गरेका छन् । कृष्णमा क्राइस्ट जस्तो सौजन्य, मोहम्मद जस्तो निश्चयात्मिकता र बुद्ध जस्तो तार्किकता एकै ठाउँमा पाइन्छ ।
कुनै कुराको निर्णय गर्नु र गराउनु भनेको जिम्मेवारी लिनु हो । त्यस कर्मको फलको भागी हुनु हो तर कृष्णले कर्म गर्ने तर कर्मफल संग निःसंग रहने कर्मण्येवाधिकारस्ते… को नीति प्रत्येक पदमा अवलम्बन गरेका छन् । कृष्णलाई पूरै बुझ्न गीताको प्रत्येक श्लोकको अर्थ बुझे पुग्छ । अथवा कृष्णका जीवनको गहिरो अध्ययन गरे पछि गीता स्वतः.अनुभव हुन्छ । देवकी र वसुदेवको पुत्रको रुपमा तथा यशोदानन्दनको रुपमा कृष्णको भूमिका अद्वितीय छ । उनले आफ्ना पितामाताको उद्धार मात्र गरेनन् नन्दको पुत्रको रुपमा ब्रजमा नन्दवंशको गौरवमा निरन्तर अभिवृद्धि गरे । पुत्रको रुपमा उनले गरेका कामले गर्दा नै उनको नाम देवकीनन्दन र यशोदानन्दन प्रसिद्ध भएको हो ।
कृष्णको गोपिनीहरुसँगको प्रेम र सोह्र हजार रानीहरुको घटनालाई यदाकदा चर्चाको विषय बनाउने गरिन्छ । गोपीनी र राधासँगको प्रेम निश्चय पनि एक विशेष घटना हो र यदि कुनै प्रेमी र प्रेमिका त्यस उच्च कोटिमा पुगेका छन् जहाँ कृष्ण र गोपिनीहरु थिए भने त्यस प्रेमको वर्णन उनीहरुले गर्न सक्छन् । गोपिनीको प्रेमलाई मीराको प्रेमको रुपमा बुझ्न सकिन्छ अरु कुनै रुपमा त्यसको तुलना हुनसक्दैन । श्रीकृष्ण एक पूर्ण पुरुष थिए । उनी आकर्षक थिए । बहादुर थिए । निर्णायक थिए । असल रक्षक थिए । समाजका हित चिन्तक थिए । योग्य पुत्र थिए । योग्य मित्र थिए । गायक थिए, संगीतज्ञ थिए । नर्तक थिए । घिउदूधमा बालबालिकाहरुको पहिलो अधिकार स्थापना गरेर बाल अधिकारका प्रतिपादक बनेका थिए । त्यस्ता विशेष पुरुषलाई प्रेम गर्ने गोपिनीहरु धन्य भएका थिए । कृष्ण जस्ता अतिमानवको प्रेम पाएर गोपिनीहरु प्नि धन्य भएका थिए । भागवत ग्रन्थको रासलीलामा त्यो प्रेम ज्यादै सुन्दर र पवित्ररुपमा प्रकट गरिएको छ । राधाको चरित्र भागवतमा पाईंदैन । जयदेवको गीतगोविन्द पछि यो चर्चित भएको हो । राधा र कृष्णको प्रेमको अभिव्यक्ति गीत गोविन्दमा ज्यादै सुन्दर रुपमा अभिव्यक्त गरिएको छ । कंसको निम्तोमा मथुरा जाने समयमा प्रेमी कृष्णले प्रेमिका राधासंग अन्तिम विदाई लिएका छन् । बिदाईमा कृष्णले आफ्नो संगीतको आधार मुरली राधालाई दिन चाहन्छन् र राधालाई भन्छन् आजसम्म मेरो यो बांसुरीको गीत केवल तिम्रा लागि थियो । अब म बिदा हुँदै छु र अब यो गीत अरु कसैका लागि बज्ने छैन । त्यस पछि कृष्ण ओंठमा कहिल्यै पनि मुरली बज्न पाएन । यस्तो थियो कृष्णको राधा प्रतिको प्रेम ।
ब्रज छोडे पछि कृष्ण फेरि कुनै गोपिनीसंग भेट गर्न कहिल्यै पनि फर्केनन् । यसबाट कृष्णका प्रेमको पवित्रता स्पष्ट हुन्छ । कृष्णको प्रेम त्यागमा रुपान्तरित हुने प्रेम थियो वासनामा रुपान्तरित हुने प्रेम थिएन । गोपिनीले कुन स्तरको प्रेम गरेका थिए भन्ने उदाहरण मीराको कृष्ण प्रेमले दिन्छ । कृष्णले संसारमा एक कृष्ण बाहेक अरु कसैलाई पनि पुरुष देख्दैनथिन् । तर कृष्णले कुन स्तरको प्रेम गरेका थिए स्वयं कृष्ण बाहेक त्यो देखाउने उदाहरण छैन ।
कृष्णका आठ पटरानी थिए । रुक्मिणी जेठी थिइन्, सत्यभामा कृष्णलाई विशेष प्रिय थिइन् । जाम्बवन्ती स्यमन्तक मणिको चोरीको दोष लागे पछि त्यसको मुक्तिपछि पाइएकी रानी थिइन् । जाम्बतीका सन्तान कृष्णलाई विशेष प्यारा थिए । कृष्णका मृत्युको कारण पनि जाम्बवन्तीका सन्तानमध्ये एक साम्बको चञ्चलपना भनिएको छ । आठ वटा पटरानीबाट उनका ८० सन्तान थिए । हजरत मोहम्मदले अरबमा फैलिएको चरम व्याभिचार हटाउन आफूले १० वटा विवाह गरेको र अरुलाई चारवटा सम्म गर्नु भन्ने नियम बनाएको एउटा घटना छ । यी दुवै घटनामा समानता के भने कुनै पनि पत्नी आफ्ना पतिको व्यवहारबाट असन्तुष्ट भएको विवरण पाईंदैन । यसबाट कृष्ण एक उच्चकोटिका पति थिए भन्न सकिन्छ ।
सोह्र हजार श्रीमती हुने घटना एक यस्तो घटना हो जसले श्रीकृष्णको चरम उदारता र समाजलाई मार्गदर्शन गर्ने क्षमता देखाउँछ । पतितको उद्धारका लागि समाजसंग लड्ने एक बहादुरको परिचय दिन्छ । नरकासुर नाम गरेको एक व्याभिचारी राजा थियो । नाम अनुसार कै पापी । केवल कामवासना पूरा गर्नका लागि कन्याहरुलाई जबरजस्ती पक्डिएर ल्याउँथ्यो र जेलमा थुनेर राख्थ्यो । उसले हजारौं कन्याहरुलाई यातना दिएको थियो । ती कन्याहरुलाई कसैले मुक्त गर्न सकेको थिएन । भगवान श्रीकृष्णले नरकासुर वध गरेर सबै कन्याहरुलाई मुक्त गरे पछि सबैका घरघर पठाई दिए । घर गएका कन्याहरु एक दिन रुँदै कृष्णकहां आई पुगे अनि भन्न थाले– हे कृष्ण हामीलाई न परिवारले स्वीकार गर्यो न हामीले समाजमा सम्मानित स्थान पायौं । कुनै पनि युवकले बालत्कार गरिएकीकन्यासँग विाह गर्न पनि खोजेन । अब हामी कहाँ जाने ?
जसले उमराव जान सिनेमा हेरेका छन् । उनीहरुले यस घटनाको वास्तविकता बुझ्न सक्छन् । उमराव जान, एक वेश्याले सामान्य जीवन बिताउने प्रयास गर्दा असफल हुन्छे । नरकबाट मुक्त भई आमाबाबुकहाँ पुग्छे तर उसलाई आफ्नै आमाबाबुले अस्वीकार गर्छन् । अन्तमा पुनः ऊ वेश्या गृहमा फर्कन्छे ।
कन्याहरुको त्यो आर्त पुकारपछि कृष्णले तत्काल निर्णय गरे– यदि तिमीहरुको परिवारले, समाजले स्वीकार गर्दैनन् भने तिमीहरु आजदेखि कृष्ण पत्नी भयौ । तिमीहरुको रेखदेखको जिम्मेवारी मेरो । र कृष्ण पत्नी भए पछि तिमीहरुको सम्मानको जिम्मेवारी पनि मेरो भयो । यसरी कृष्णका सोह्र हजार एक शय आठ पत्नी भएका हुन् ।
कृष्णको राजनैतिक र आर्थिक व्यक्तित्वको चर्चा प्रायः हुंदैन । कृष्ण पशुपालन अर्थव्यवस्थाका पक्षपाती थिए र पशुपालनबाट देशको सम्पन्नता र रोजगारीको सुरक्षा ठान्दथे । प्राचीनकालको कृषि अर्थव्यवस्थाका लागि यो एक क्रान्तिकारी प्रयोग हो । राजनैतिक व्यवस्थामा पनि कृष्णले नौलो प्रयोग गरेका थिए । अन्यायी शासकको वध गरेपछि त्यहाँको जनतालाई न्याय र आफ्नो पुरानै परम्परा सधैं प्राप्त भइरहोस भन्नेमा उनले ध्यान दिएका थिए ।
शासकको वध गरे पछि वा कुनै राज्यलाई जिते पछि जित्नेले राज्यको शासनभारा स्वतः पाउने प्राचीकालको परम्पराका बिलकुल विपरीत आफुले कुनै पनि राज्यमा आफ्नो दावी गरेनन् । आफुले एक छुट्टै राज्यको स्थापना गरे । त्यसको राजनैतिक प्रणाली त्यसबेला संचालित कुनै पनि प्रणालीभन्दा फरक थियो । उनको शासन सामूहिक निर्णय प्रक्रियामा आधारित थियो जसको तात्कालिक निर्णयमा दुवै जना दाजुभाई भए पनि त्यसलाई प्राचीन ग्रन्थमा कुलसंघ राज्य, द्वैराज्य वा वैराज्य प्रणाली भनिंदैन । त्यसलाई ग्रन्थहरुमा वृष्णिवंशको शासन प्रणाली भनिएको छ । जसले सामूहिक शासन प्रणाली भन्ने बुझाउँछ ।
कृष्ण भक्ति धारामा मीरा, सूरदासका साथै अनेक मुस्लिम कविहरु पनि छन् जस्तै रसखान, रहीम, मलिक मोहम्मद जायसी । नेपालमा वसन्त शर्मा, विद्यारण्य केशरी, विद्यापति मिश्र, इन्दिरस यस धाराका कवि हुन् । कृष्णका सम्प्रदायमा निम्बार्क, रामानुज, वल्लभ छन् भने बालागुरु षडानन र स्वर्गद्वारी महाप्रभु ले पनि कृष्ण भक्ति सम्प्रदायमा योगदान गरेका छन् । स्वर्गद्वारी महाप्रभुको गोवर्धन र गाई पालन नेपालमा प्रसिद्ध छ । यहाँ नेपालका मात्र होयन भारतका पनि सयकडौं तिर्थालु दर्शन गर्न आउँछन् ।
वर्तमान समयमा कृष्ण भक्तिधारा विश्वव्यापी भएको छ । यसलाई इस्कोन सोसायटी, हरेकृष्ण मिशन, स्वामिनारायण आदि संस्थाहरुले विश्वव्यापी बनाइरहेका छन् ।
सी वी वैद्य र हरिभाउ उपाध्याय आदि विद्वानले विभिन्न ग्रन्थको आधारमा भगवान् श्रीकृष्णको जीवनकालको अनुमान यस प्रकार गरेका छन्–

(कलियुग प्रारम्भ)
लेखकको पुस्तक आधा जिस्ताबाट साभार

