शिव अवतारी योगी मत्स्येन्द्रनाथ हाम्रो देशका सँरक्षक हुनुहुञ्छ । उहाँको अलौकिक विषय र इतिहासलाई रक्षा गर्दै भावी पुस्तालाई मार्गदर्शन दिने एतिहासिक कार्य लेखक अर्जुन ज्ञवालीबाट भएको छ । दुर्लभ सामग्रीहरूको सङ्कलनसाथ तयार गरिएको यो पुस्तक महत्वपूर्ण छ ।
मत्स्येन्द्रनाथ नाथ सम्प्रदायका प्रसिद्ध आचार्य थिए । यिनी हठयोगी र गोरखनाथका गुरु थिए । मत्स्येन्द्रनाथलाई आदिनाथका चेला मानिन्छ । अर्थात् यिनका गुरु आदिनाथ मानिन्छ । यिनको ख्याति नेपालमा बढी पाइन्छ । काठमाडौं उपत्यकामा यी योगीसम्बन्धी विभिन्न प्रकारका किम्बदन्तीहरू तथा जनश्रुति पाइन्छ । इन्द्र जात्राका अवसरमा यिनको भोटो देखाउने चलन आजसम्म चलेको छ । समाजमा रहेको सङ्कथन अनुसार यिनको आगमन आसामतिरबाट भएको मानिञ्छ ।
मत्स्येन्द्रनाथको उत्पत्तिसम्बन्धी स्कन्दपुराणका अनुसार एकपटक शिवजीले पार्वतीलाई अमर कथा सुनाउँदै जाँदा पार्वती बीचमै निदाइन् । त्यसपछि उक्त कथा समुन्द्रको एउटा माछाले सुनेछ । उक्त कुरा शिवजीले थाहा पाई तिमी अमर भयौ, तिम्रो नाम मत्स्येन्द्रनाथ रहनेछ, अब तिमीले मानिसहरूलार्ई योगसिद्धि प्रचार गर भनेको कथा पाइन्छ । पुस्तकमा यस विषयमा सविस्तार व्याख्या छ ।
काठमाडौं उपत्यकामा मत्स्येन्द्रनाथलाई पूजाआजा गर्ने परम्परा पुरानो हो । उपत्यकाको खडेरी हटाउन यिनलाई आसामबाट पाटन ल्याइएको सामाजिक साँस्कृतिक सङ्कथन रहेको छ । यिनी मत्स्येन्द्रनाथलाई हिन्दूले शिव र बौद्धले अवलोकितेश्वर नामले पूजाआजा गर्दछन् ।
तर, हाम्रो अहिले उठान गर्न खोजिएको विषय भनेको मत्स्येन्द्रनाथ र भैरवनाथ बिचको सँवाद र त्यसले टुक्रिएको नेपाल जोड्न कसरी सहयोग पु¥याएको छ भन्ने हो । यसैगरी उहाँका चेला गोरखनाथको आशीर्वादले नेपालको एकीकरण हुनुका साथै उहाँका भक्त कनफट्टा योगी भगवन्तनाथको बहुआयामिक सहयोग पृथ्वीनारायण शाहलाई भएको पाइञ्छ । त्यसैले उनलाई पृथ्वीनारायण शाहले श्री ६ को उपाधि दिएका थिए ।
यी पृष्ठभूमिमा मत्स्येन्द्रनाथ र भैरवनाथको सँवाद रोचन हुन सक्ने विश्वास छ । यस विषयमा पुस्तकमा लेखकले गहिरो अनुसन्धान गर्नुभएको छ । यो रोचक सँवादको अँश बौद्ध वँशावलीबाट लिइएको हो । उक्त वँशावली अनुसार गोर्खाका राजा नरभूपाल शाहले त्रिशूली गङ्गा तरी नुवाकोटमा आक्रमण गरेका थिए । तर उनले पराजय व्यहोरी नुवाकोटबाट गोर्खा फर्किए । यो घटना भएकै समयको सेरोफेरोमा काठमाडौंमा भने गोर्खालीले काठमाडौं उपत्यका विजय गर्ने सङ्केत बोकेको एउटा घटना उक्त वँशावलीमा उल्लेख पाइञ्छ ।
काठमाडौंमा एउटा किसान (ज्यापू) देखा प¥यो । त्यो किसान वाग्मती नदीको दक्षिणतिर देवखेल भन्ने ठाउँको थियो । त्यहाँ उसको खेत थियो । ऊ त्यही नै सुत्तथ्यो । एक रात उसले एउटा अद्भूत सपना देख्यो । सपनामा एउटा मानिस आएर दियो बाल्यो ।
त्यसपछि सुकुल बिच्छ्याउन लगायो । त्यहाँ थुप्रै मानिसहरू भेला भएर बसे । तिनीहरूमध्ये एक जना अर्को मानिस बोलाउन गयो तर त्यो उसले भोलि आउँछु भन्ने जवाफ दियो । त्यसपछि त्यो सभा त्यतिकै टुङ्गियो । फेरि भोलिपल्ट आएर ती सुकुलमा बसे । जो मत्स्येन्द्रनाथ थिए । त्यसै समयमा भैरवनाथ आएर किसानसङ्ग भिक्षा मागे । तर भैरवनाथलाई मत्स्येन्द्रनाथले तिमी गोर्खा जाउ जहाँ गोरखनाथको बास छ भनेको पाइञ्छ । भैरवनाथले भने यदि मलार्ई नेपालमाथि शासन गर्ने अधिकार दिञ्छौ भने म गोर्खा जान्छु । मत्स्येन्द्रनाथले हुन्छ भनेपछि त्यो सँवाद बन्द भयो । त्यसपछि त्यो किसानले बुझ्यो कि अब नेपालमा गोर्खालीहरूले शासन गर्छन् । यसरी यो कुरा एककान दुइकान हुँदै मैदान भई जनतामा फैलियो ।
त्यस बखत गोर्खाका राजा नरभूपाल शाहका दुइवटी रानी थिए । तिनकी काञ्छी रानी गर्भवती थिइन् । कान्छी रानीले एक रात सपनामा सूर्यलाई निलेको देखिन् । त्यसपछि राजालाई बिउँझ्याएर त्यो कुरा भनिन् तर राजाले नराम्रो गरी गाली गरे । राजाको त्यो व्यवहारबाट उनी रातभरी सुत्न सकिनन् । बिहानीपख राजाले रानीलाई गाली गर्नु परेको कारण बताए ।
तिमीले राम्रो सपना देखेको हुँदा फेरि निदायौ भने त्यो निष्फल हुन्छ, त्यसकारण कटु शब्द प्रयोग गरी गाली गरेको भनी सम्झाए । त्यसपछि रानी खुसी भइन् । तिनी गर्भवती भइन् र सात महिनामा एउटा बालखको जन्म भयो र तिनको नाम पृथ्वीनारायण शाह रह्यो । पृथ्वीनारायण शाह अलि ठूलो भएपछि भक्तपुर गए । उनी त्यहाँ रहँदा उनको हिमचिम रणजीत मल्लका छोरा वीरनर सिँह मल्लसङ्ग भयो । भक्तपुरमा उनी ३ वर्ष बसे र त्यहाँको बारेमा राम्रो जानकारी पाए ।
भक्तपुरमा रहेकै बखत विजयादशमीका दिन नवदुर्गालाई मूल चोकमा लाँदा पृथ्वीनारायण शाह रणजीत मल्लसङ्ग थिए । त्यतिखेर अचानक भैरव आएर पृथ्वीनारायण शाहलाई प्रसाद दिए तर भैरवले रणजीत मल्ललाई प्रसाद दिएनन् । त्यसपछि त्यहाँ कुमारीले पृथ्वीनारायण शाहलाई नीलो कमलको फूल दिइन् । यी दुवै घटनापछि पृथ्वीनारायण शाह गोर्खा फर्किए ।
यो विषय तन्त्रसङ्ग सम्बन्धित हुनुपर्छ । तन्त्रमा गोर्खा योनी आकार र काठमाडौं पञ्चमुख शिवको आकृति मानिञ्छ । यी दुवैको मेलबाट तन्त्रले पूर्णता पाएको मानिञ्छ । हुनत नेपाल नै तन्त्रको घर हो । नेपालको एकीकरणमा तन्त्रको ठूलो भूमिका छ । माथि उल्लेखित सभा देवसभा हुनुपर्छ । ऋग्वेदमा असुर र सुर (देवता) अग्निबाट उत्पन्न भएका सूक्ष्मजीवि हुन् भन्ने मान्यता छ । तर महŒवपूर्ण कुरा के हो भने स्वप्नलाई आधार बनाएर सामाजिक सङ्कथन बनाई गोर्खालीहरूले एकीकरणको मूल पात्र त्यो ज्यापूलाई बनाएको देखिञ्छ । टुक्रिएको नेपाल जोड्ने अभियानमा यस्ता रोचक पौराणिक मान्यता बाहिर आउनुपर्छ भन्ने मान्यताले यो चर्चा गरिएको हो ।
यस्तो महत्वपूर्ण विरासत बोकेको इतिहासलाई समेटेर लेखक अर्जुन ज्ञवालीले शिवअवतारी योगी मत्स्येन्द्रनाथको उपदेश योगदानलाई सुरक्षित गर्नुभएको छ । उहाँलाई महान् योगीहरूको साथै भैरवनाथको असिम कृपा रहिरहोस् । यस्ता कृतिहरू अभिलेखित प्रकाशित हुँदै जाउन भन्ने विश्वास सहित सफलताको कामना गर्दछु ।
पेशलकुमार निरौला
उप–प्राध्यापक
एशियाली अनुसन्धान केन्द्र
त्रिभुवन विश्वविद्यालय कीर्तिपुर

