–डा. बाबुराम ज्ञवाली
महाभारतका नारी पात्रमा सबभन्दा असाधारण पात्रको नाम हो– द्रौपदी अर्थात् पाञ्चाल नरेश द्रुपदकी छोरी । उनका हजुरबाबाको नाम पर्षत थियो त्यसैले द्रौपदीको एक नाम पर्षती पनि हो । द्रौपदीको एक दाजु शिखण्डी नपुंसक थियो अनि अर्को जुम्ल्याहा दाजु धृष्टद्युम्न कुरुक्षेत्र युद्धको सेनापति । पाञ्चाल देशकी छोरी भएकोले उनको एक नाम पाञ्चाली हो ।
द्रौपदीको नाम र देवी सीताको नाममा समानता छन् । सीताको जन्म स्थान हलोले जोतिएको जमीन हो । जसलाई संस्कृतमा सीता (नेपालीमा सियो) भनिन्छ । यज्ञबाट जन्म भएकोले उनको एउटा नाम हो याज्ञसेनी । यज्ञको अग्नि जस्तो धप्धप् बलेको आकर्षक रुप । द्रौपदी र भगवान् कृष्णको रुप, रंग, र सुन्दरता त्यसबेलाको सबभन्दा प्रसिद्ध रुप थियो ।
मानौं कुनै कालो मानिसको रंग गोरो हुन जाओस् छालाको रंग यस्तो । नीलो स्वच्छ आकाशमुनिको गहिरो समुद्रलाई हेरेजस्तो । पानी भरिएको मेघश्याम बादल जस्तो, कालो, नीलो, सेतो मिश्रित । छालामा एउटा गहिराई जस्तो । अनुहारमा हेर्यो भने हेरिरहूं जस्तो मोहनी लगाउने रंग ।
द्रौपदीको एक नाम सैरन्ध्री पनि हो । द्रौपदी एक उच्चकोटिको गृहिणी थिइन् । उनी रनिवासलाई सफा सुन्दर राख्न, सजाउन, बैठक र शयन कक्ष सजाउन तथा महिलाहरुको शृङ्गार गर्ने सबै कलामा निपुण मानिएकी छन् । फूल सजाउन, माला बनाउन उनी सिपालु थिइन् । त्यसैले एक नाम मालिनी पनि हो ।
यसै सीपले गर्दा उनले राजा विराटको रनिवासमा नोकरी गर्न पाएकी हुन् । नित्ययुवती पनि उनको नाम हो । उनको यौवन मृत्युपर्यन्त सधैं एकनासको थियो । एउटा उदाहरणबाट द्रौपदीका जीवनको जटिलता बुझ्न सकिन्छ । भनिन्छ, महाभारत धारावाहिकमा बहुपति द्रौपदीको अभिनय गरेबपात रुपा गाङ्गुलीले अनेक तनाव झेल्नु पर्यो । अन्तिममा उनका पतिले समेत उनको त्याग गरीदियो ।
द्रौपदीको शरीरबाट मधुर मनमोहक सुगन्ध निस्किन्थ्यो । गोपीचन्दन वा अष्टगन्धा जस्तो । त्यसैले उनको एक नाम योजनगन्धा पनि हो । सुन्दरताका सबै गुण भएकोले उनलाई परमसुन्दरी पनि भनिन्छ ।

कुरुक्षेत्र विजयी महारथी, ज्ञानी पतिहरुमा कोही पनि असन्तुष्ट नरहनु र प्रत्येक प्रति उनको पूर्ण समर्पण देखिनु अझ अनौठो चरित्र हो । युधिष्ठिरसंग धर्मशास्त्रको चर्चा, भीमसंग भोजन र आहारको चर्चा, अर्जुनसंग युद्धशास्त्रको चर्चा, पांच भिन्न प्रकृतिका मानिससंग भिन्न प्रकृतिको तर पूर्ण व्यवहार । सबैलाई थाहा छ अर्जुनले सुभद्रासंग एक पटक चक्रव्यूहको चर्चा गरेका थिए । त्यस बेला सुभद्रालाई अल्छी लागेर निदाइन् । एक स्त्रीलाई युद्ध र हतियारमा के रुचि ? सुभद्राको अल्छी सबैले बुझ्न सकिन्छ तर द्रौपदीको रुचि र प्रत्येक विषयमा रहेको ज्ञान एक असाधारण कुरा हो । द्रौपदीलाई आफ्ना पतिहरुसंग कुनै पनि विषयको चर्चामा कहिल्यै अल्छी लागेको घटना महाभारतमा छैन । यति मात्र होइन नकुल र सहदेवलाई एक अभिभावकीय सुरक्षा प्रदान गरेर उनीहरुको जीवनमा आमाको कमी समेत द्रौपदीले पूरा गरीदिएकी छन् ।
द्रौपदीले अर्जुनसंग विशेष प्रेम गर्थिन् तर वास्तविकता के हो भने सबभन्दा कम समय बिताउन पाएको पनि अर्जुनसंगै हो । कहिले अर्जुनको स्वनिर्वासन, कहिले साधना काल र कहिले अर्जुनले आफैं लिएको शपथले अर्जुन उनीसंग उनको बसाई सबभन्दा कम रह्यो । कहांसम्म भने जब राजा विराटको दरबारमा दुवैले रनिवासमा संगै दिन बिताउन पाए त्यसबेला अर्जुनलाई नपुंसक हुने श्राप थियो । यस्ता असह्य घटनाहरु द्रौपदीले सहन गरेको विवरण महाभारतमा छ । इतिहासमा, कल्पनामा यति अनौठो चरित्र यस अघि पनि थिएन र त्यसपछि पनि हुने छैन ।
महाभारतका दस शीर्ष पात्रको सूची बनाउंदा त्यसमा द्रौपदीको नाम अवश्य आउंछ । तर मैले भने महाभारतका शीर्ष तीन पात्रमा उनको नाम राख्छु । निश्चित रुपमा, मेरो सूचीमा , पञ्च पाण्डवभन्दा उनको नाम माथि हुन्छ ।
वाक् कलामा उनको बराबरी गर्न सक्ने कोही थिएन । तर यसका साथै उनी चतुर तर्कशास्त्री पनि थिइन् जसका तर्कका अगाडि भीष्म, द्रोण र कहिले काहीं भगवान् कृष्ण पनि नाजवाफ हुन्थे ।
दुशासनले जुआको खेल चलेका ठाउंमा द्रौपदीलाई कपाल तानेर घिसार्दै लैजांदा उनले अनेक अनुनय विनय गरिन् । हस्तिनापुरकी रानीलाई जुआ खेल्ने ठाउंमा नलैजान आफ्नो देवरलाई अनुरोध गरिन् । नमानेपछि उनले महिलाको विशेष अधिकारको रुपमा आफू रजोवती भएकीले सार्वजनिक नगर्न अनुरोध गरिन् । तर पनि उनलाई जबरजस्ती दरबार लगियो ।
त्यहां उनले सबै विद्वान्हरुसंग एउटा प्रश्न गरिन्– ‘मेरा पतिले जुआमा आफू हारे पछि मलाई दाउमा थापेका हुन् । के कुनै दासलाई अर्काको बारेमा निर्णय लिने अधिकार छ?’
यस कुराको जवाफ कसैले पनि दिन सकेन । भीष्म, द्रोण र धृतराष्ट्र मात्र होइन विद्वान् विदुर पनि चूप रहे । तर दुर्योधनको सबभन्दा कान्छो भाई विकर्णले भन्यो– आफू हारिसकेपछि युधिष्ठिरलाई अर्काको मालिक रहने अधिकार हु“दैन । त्यसैले द्रौपदीलाई जुआमा थाप्ने अधिकार उनीसंग छैन ।

सांकेतिक फाइल फोटो
तथापि द्रौपदीलाई अपमानित गरियो । यस पछि क्रुद्ध द्रौपदीले दुशासनले लुछेको आफ्नो त्यो कपाल तेह्र वर्ष कोरिनन् । भीमले दुशासनको छाती फोरेर रगतले उनको कपाल भिजाएपछि बल्ल उनले कपाल कोर्न थालेकी हुन् । उनको प्रतिशोध यति तीव्र थियो ।
तर आज्ञाकारी कति भने सासुले पहिलो रातमा पांचभाईले बांडेर लेउ भन्दा कुनै पनि प्रतिरोध नगरी चूपचाप स्वीकार गरिन् । जबकि उनलाई केवल अर्जुनले जितेका थिए । दरबारमा उनले अर्जुनलाई मात्र वरमाला पहिर्याएकी थिइन् ।
जीवनको उत्तरार्धमा उनले के बुझिन् भने प्रतिशोध राखेर मात्र शान्ति प्राप्त हुंदैन । त्यसैले आफ्ना पांचवटा युवा पुत्रको टाउको काट्ने पापी अश्वत्थामालाई क्षमा गरीदिइन् । क्षमा नै शान्ति प्रदायक हुन्छ ।
दरबारमा रानी हुंदा मात्र होइन, वनवासको समयमा समेत पाण्डवहरुलाई भेट गर्न आउने सबै अतिथिहरु (क्रोधी दुर्वासासमेत) लाई सन्तुष्ट गरेको उदाहरणले उनको उच्च गृहव्यवस्थापन क्षमतालाई बुझाउंछ ।
सत्यभामाले भगवान् कृष्णलाई निकै मायां गर्थिन । तर उनलाई लाग्थ्यो भगवान् कृष्णले अरु रानीलाई बढी मायां गर्नु हुन्छ । अनि उनले द्रौपदीलाई सोधिन्– ‘तपाईंका पांच पति छन् । प्रत्येक तपाईंसंग सन्तुष्ट छन् । हामी आठ जनाका पति भइकन पनि हामीसंग कृष्ण असन्तुष्ट रहे जस्तो लाग्छ । तपाईंले मोहनी लगाएर पतिहरुलाई वशमा राख्नु भएको हो ? कृपया मलाई पनि सिकाइदिनुस् ?’
द्रौपदीले भनिन्– ‘पतिलाई मोहित गराउन टुनामुना गर्ने गलती कदापि नगर्नु । टुनामुनाले उनीलाई हानि गर्न सक्छ र तिमीलाई पनि केही फाइदा हुंदैन । मेरो अनुभव के छ, त्यो सुन– आफूभित्रको अहंकारलाई फालेर पतिहरुमा आफ्नो नारीत्वलाई पूजाको फूल झैं निष्काम प्रेमको जलले सुरभित गरेर पोखिदिन्छु । कुनै पनि परिस्थितिमा ईष्र्यातुर नहुने चेष्टा गर्छु । पतिका अगाडि सधैं सहज रहने प्रयास गर्छु । पतिको भोजन र शयनभन्दा पहिले कहिल्यै पनि भोजन शयन ग्रहण गर्दिन, उनीहरु जाग्नुभन्दा पहिल्यै म जाग्छु । उनीहरुको सेवाको काममा कहिल्यै अल्छी गर्दिनं । टाढाबाट यात्रा गरेर फर्के भने उनीहरुका निम्ति आसन, जल, भोजन, र विश्रामको व्यवस्था तत्काल प्रस्तुत गरीदिन्छु । पतिहरुको प्रिय भोजन आफैं बनाएर खुवाउंछु । आफ्नो दुख र दुश्चिन्ताको बोझ उनीहरुमाथि पर्न दिन्नं । बरु उनीहरुको चिन्तामा सहभागी बनेर आफ्नो विचार र सल्लाह दिन्छु । प्रसाधन, स्नान अनि वेशभूषाको विन्यासमा अनावश्यक समय र धन लगाउंदिन । पति टाढा छन् भने सौन्दर्य प्रसाधन गर्दिन । उनीहरुले मन नपराउने कुरालाई म पनि मन पराउंदिन । उनीहरुको इच्छा अनिच्छा, रुचि, अरुचि सबै नबताइकनै बुझ्छु । उनीहरुसंग व्यर्थ बहस गर्दिनं । चाल चलन, आचार विचार, भोजन, र विश्राममा संयम राख्छु । सबभन्दा ठूलो कुरा, म उनीहरु माथि कहिल्यै सन्देह गर्दिनं । न उनीहरुमाथि कहिल्यै गुनासोको पहाड खन्याउंछु । मैले उनीहरुसंग कुनै कुरा गोप्य राख्दिन । पतिको वंश वा माता कुन्तीको बारेमा एक शब्द पनि भन्दिन । पांचै प्रति समभाव र समता निर्वाह गर्छु । कुनै एउटाको दोष गुणबारे अर्कोसंग भन्दिन । पतिले दासीलाई कुनै आदेश दिनुभन्दा पहिले नै म तत्पर हुन्छु । दासदासीहरु भए पनि घरको काममा निरन्तर रेखदेख गर्छु । दासदासीले समेत खाए नखाएको हेर विचार गर्छु । माइतको ठाट, विलास र बडप्पनको कुरा कहिल्यै पनि पतिहरुसंग गर्दिन । कुनै अन्य पुरुषको धन, ऐश्वर्यको तुलना गरेर आफ्नो भाग्यलाई धिक्कार्ने काम पनि गर्दनं । कहांसम्म भने पतिका अघि कुनै अन्य नारीलाई आफूभन्दा अधिक सौभाग्यवती छ भन्ने बखान गर्दिनं । आफ्ना अजस्र कामनाहरुलाई पतिहरु समक्ष राखेर उनीहरुलाई तनाव पुर्याउने काम गर्दिनं । निर्जनमा अन्य पुरुषसंग समय बिताउ“दिन । नराम्रो प्रकृतिका स्त्रीहरुसंग संगत गर्दिन । पतिसमक्ष स्वयंलाई स्वतेज, सफा, सुन्दर, र चिरयौवना राख्ने प्रयास गर्छु । पतिको कारण नै हामी सन्तानवती छौं, सौभाग्यवती छौं, गृहकर्ता र सुखी छौं। उने गर्दा सुरक्षा र सामाजिक मान छ । पतिहरुको सुख मात्र हाम्रो होइन उनको दुख पनि हाम्रो हो । दुखमा, विपत्मा,पतिलाई सहज साहस दिनु शक्ति दिनु स्त्रीधर्म हो । ध्यान राख योग्य पत्नी बन्नु पनि साधना कै फल हो ।’
द्रौपदीको यस विशिष्ट चरित्रले गर्दा नै उनीलाई सती द्रौपदी भनिन्छ ।
द्रौपदीले महाभारतमा विभिन्न प्रसंगमा बोलेका कुराले उनको दार्शनिक व्यक्तित्वको झलक पाइन्छ–
-आचार्य, ऋत्विक, कुटुम्बी, भूपति, सर्वज्ञानप्रिय व्यक्तिहरु प्रथम सम्मानका अधिकारी हुन्छन् ।
-पूर्णिमा पछि अमावस्या आउने निश्चित हुन्छ तर सुख पछि दुख कुन क्षणमा आउने छ यो कसैले जान्दैन ।
-स्त्री आनन्ददात्री हुन्छिन् । आफ्नो वक्षबाट अमृतदान गर्ने शक्ति केवल स्त्रीमा हुन्छ । पुरुषमा त्यो शक्ति हुंदैन । त्यसैले कुनै प्रियलाई भरपेट भोजन गराउंदा स्त्रीलाई आफ्नो सन्तानलाई भरपेट दूध खुवाए झैं आनन्द प्राप्त हुन्छ ।
-बिना प्रयत्न पाएको धनको आनन्द जसरी नष्ट हुन्छ उसै गरी प्रेमीका निमित त्याग र उत्सर्ग बिनाको प्रेम प्राप्त
गर्नाले नारीको महिमा कम भएर जान्छ ।
-केवल मृदुता र उग्रता देखाउने मानिस सुपुरुष हुनसक्दैन । पुरुषले जहां आवश्यकता पर्छ मृदुता, र जहांआवश्यकता पर्छ त्यहां उग्र हुनै पर्छ ।
-नारीका निम्ति जस्तै पुरुषका निम्ति पनि यदि परस्त्रीको कामना अक्षम्य अपराध अनि लज्जाजनक कुरा भए संसारमा यति पाप, व्याभिचार हुने थिएन ।
मत्स्यवेध पछि पाण्डव परिवारको मर्यादा बनेर आएकी द्रौपदीले हरेक सुखदुख, मृत्युपर्यन्त पतिहरुलाई साथ दिइन् । बरु, स्वर्गारोहण पर्वमा उनी भुईंमा पछारिए पछि पांचै जना द्रौपदी तिर हेर्दै नहेरिकन अगाडि बढे भन्ने कथा छ । निष्पक्ष दृष्टिले भन्ने हो भने इन्द्रप्रस्थ दरबारमा दुर्योधनमाथि अचानक गरेको हांसो बाहेक द्रौपदीले सानोभन्दा सानो गल्ती पनि गरेकी छैनन् । जसले पनि महाभारत पढ्छ, द्रौपदीको निष्कलंक जीवन चरित्रले उसलाई आकृष्ट नगरी रहन सक्दैन । यति मात्र होइन द्रौपदीको जीवन चरित्रले महिलाको बारेमा सम्मानपूर्वक सोच्ने नयाँ दृष्टिकोण प्रदान गर्छ ।
द्रौपदीको चरित्र कति विशाल छ भने उनलाई जुन कोणबाट हेरेर पनि साहित्य रचना गर्न सकिन्छ । द्रौपदी माथि बंगाली, ओडिया, अंग्रेजी, नेपालीमा कथा,र नाटक रचना गरिएका छन् । एल्फ हिल्टेबिटलको उपन्यास द कल्ट अफ द्रौपदी, सुचित्रा सेनको उपन्यास द प्यालेस अफ् इलुजन्स, महाश्वेता देवीको बंगालीभाषाको उपन्यास द्रौपदी सबै एकभन्दा एक उत्कृष्ट कृतिहरु मानिएका छन् ।
अहिले नेपालीमा दुई कृतिहरु उपलब्ध छन् । पहिलो हो, नीलम कार्कीको मौलिक उपन्यास चीरहरण । यसमा महाभारतका सबै महिला पात्रहरुको एक सम्मेलनको चर्चा छ । यो रोचक र घटना प्रधान छ । दोस्रो हो, डा. प्रतिभा रायको ओडिया भाषाको उपन्यास याज्ञसेनी । यो एक चरित्र प्रधान उपन्यास हो । विन्द्या सुब्बाले यसको नेपाली भाषामा अनुवाद गरेकी छन् । वास्तवमा यो एक पत्र हो जुन द्रौपदीले मृत्युको समयमा आफ्ना प्रिय सखा कृष्णलाई लेखेकी छन् किनभने यस बेलामा उनका पतिहरुले मर्नका लागि छोडेर हिमालयमा अगाडि बढिसकेका छन् । चीरहरणको समयमा झैं उनी बेसहारा बनेकी छन् । फरक के हो भने यतिबेला उनलाई अपमानित गर्ने उद्देश्य कसैको छैन ।
नेपाली भाषा दोर्जेलिङ, सिक्किम, र आसाममा बोलिन्छ । सिक्किमको राजकीय भाषाको रुपमा नेपाली स्वीकृत छ ।
सिक्किमका साहित्यकार विन्द्या सुब्बाद्वारा अनूदित द्रौपदी उपन्यासमा नेपाली भाषाको आञ्चलिक स्वरुपको झलक पनि पाइन्छ । त्यसैले यस उपन्यासले नेपाल तथा सिक्किम र आसामका नेपाली पाठकलाई आपसमा जोड्छ ।
(हाम्रो पुरुषार्थ अंक ८५बाट साभार)

