–गौरी प्रधान
बिहान सवेरै फोनको घण्टी बज्यो । सुम्निमाले फोन उठाउन भयो । उनले रुँदै फोन मलाई दिनु भयो । उताबाट डा. प्रणयले गम्भीर भएर भन्नू भयो, “बुवा बित्नु भयो। हि इज नो मोर नाउ।” अनायासै मेरो बोली निस्क्यो, “ओह नो! धैर्य गर्नुस् । जे नहुनु पर्ने हो, भै सक्यो । हामी तुरुन्त हस्पिटल आउँदैछौ । न आट्टिनुस् ।” हामी तत्कालै तैयार भएर मण्डला स्थित अन्नपुर्ण हस्पिटल पुग्यौं । आइसियुमा गएर उहाँको पार्थिव शरिरमा न्यानो अभिवादन गर्यौं । उहाँ चिर निन्द्रामा हुनुहुन्थ्यो । सायद जीवनको पहिलो पटक उहाँले मेरो अभिवादन फर्काउनु भएन । गहभरी आँसु बोकेर हामी आइसियु बाट बाहिर आयौं ।

बिहान चिसै थियो । मैले शोक संतप्त परिवारको तर्फबाट डा. मथुरा प्रसाद श्रेष्ठको निधनको खबर ब्रेक गर्दै थिंए । हात कामीरहेको थियो । के लेख्ने, के नलेख्ने गाह्रो भै राखेको थियो । छलफल अनुसार डा. प्रणयको भाइ बहिनीहरु जो विदेशबाट आउँदै थिए, उनीहरुको अनुरोधमा एक दिन प्रतीक्षा गर्ने निधो भयो । सोही अनुसार डा. श्रेष्ठको पार्थिव शरीरलाई शिक्षण अस्पतालको शव चिसान गृहमा राख्ने निर्णयमा पुग्यौं । सोही अनुसार डा. शंकर राईसंग मेरो कुरा भयो सो कार्यको उहाँले जिम्मा लिनु भो । डा. भरत प्रधान बिहानै सव गृहको अगाडि हामीलाई कुरिरहन भएको थियो । कार्यक्रम अनुसार भोलि पल्ट बिहान शिक्षण अस्पतालमा स्वास्थ्यकर्मीहरु, विशिष्ट राजनैतिक कर्मीहरु, नागरिक अभियन्ता र मानव अधिकार रक्षकहरुले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरे। त्यस्को लगतै उहाँको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा पुर्याएर राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारको तर्फबाट सम्मान व्यक्त गरियो । त्यसपछि परम्परा अनुसार उहाँको दागबत्ती दिने काम सम्पन्न भयो ।
बि.स. १९९१ मा जन्मनु भएको डा. मथुरा प्रसाद श्रेष्ठ जीवनको ८८ वसन्त पार गरि बि.स. २०७८ फागुन ८ गते दिवङ्गत हुनु भयो । निधन हुनु दुइदिन अगाडि सम्म पनि आफ्नो मस्तिष्क दुरुस्त रहेको उहाँले फेसबूकमा आफ्ना सन्देशहरु लेखिरहेको आधारमा पनि भन्न सकिन्छ । कलेज जीवनदेखि नै सम्पर्कमा रहेकोे डा. श्रेष्ठ म र म जस्ता धेरै युवाहरुको निम्ति प्रेरणाको श्रोत हुनुहुन्थ्यो । उहाँबाट जीवनमा धेरै कुराहरु सिकेको र बुझेको छुँ । उहाँ अन्तरिम सरकारको पूर्वमन्त्री, जनस्वास्थ्य क्षेत्रको पिता तथा वरिष्ठ जनस्वास्थ्यविद, वरिष्ठ मानव अधिकार तथा नागरिक अभियन्ता हुनुहुन्थ्यो । उहाँसंगको संगत र सहकार्यमा हुँदा मैले कदापी बिर्सन नसक्ने केही घटनाहरू सम्झँदै, आज तिनैको साथमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।
१. चौतरा,सिन्धुपाल्चोक, कुरा २०४७ सालको हो । देशमा शक्तिशाली अन्तरिम सरकार थियो । कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री र उहाँ स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा सार्क स्तरको एक स्वास्थ्य प्रशिक्षण केन्द्रको समुद्घाटनको थियो । उहाँ प्रमुख अतिथी हुनुहुन्थ्यो । कार्यक्रम समापन पछि उहाँ सहित हामीहरु डा. भरत प्रधान, डा. अर्जुन कार्की, डा. महेश मास्के, डा. शरद वन्त लगायतका साथीहरु खाना खान र वास बस्न पुरानो बजार स्थित मेरो घरमा आयौं । तर तत्कालीन प्रजिअले उहाँको निम्ति सरकारी अतिथि गृहमा सम्पूर्ण ब्यवस्था गर्नु भएको रहेछ । उहाँले “धन्यवाद छ । दु:ख गर्न पर्दैन । हामी सवै गौरी प्रधानजीको घरमा बस्छौं ।” भन्नुभयो । मन्त्री बसेको घरमा झण्डा, सुरक्षाकर्मी र खाना र बसोबासको राम्रो ब्यवस्था हुनु पर्ने कुराले प्रजिअ चिन्तित हुनुहुन्थ्यो । उहाँले प्रजिअलाई सम्झाउँदै भन्नू भो, “सिडिओ साब, हामी जनताको मान्छे हौँ । केही धन्दा लिनु पर्दैन । हामी सबै सुरक्षीत नै हुन्छौ । तपाईं आनन्दसाथ फर्कनोस ।” उहाँको त्यो कुराले उहाँमाथिको मेरो श्रद्धा झन उँचो भयो ।
२. बांसबारी, काठमाडौ, बि. स. २०४८, बैसाख । बैसाख २९ को निर्वाचन नजिकिंदै थियो । त्यतिञ्जेल अन्तरिम सरकारको प्रधानमन्त्री श्रद्धेय कृष्ण प्रसाद भट्टराई र स्वास्थ्यमन्त्री डा. मथुरा प्रसाद श्रेष्ठ हुनुहुन्थ्यो । बानेश्वर क्षेत्र नम्वर एकमा प्रधानमन्त्री भट्टराईको प्रत्यासीमा नेकपा (एमाले)को उदयमान नेता मदन कुमार भण्डारी उठ्ने चर्चा परिचर्चा भैरहेको थियो । आम जनमानसमा उहाँहरु दुवै अब आउने प्रतिनीधिसभामा निर्वाचित हुनुपर्ने व्यक्तित्वको रुपमा अपेक्षा गरिएको थियो । सोही आशयलाई बुझेर डा. श्रेष्ठले प्रधानमन्त्री भट्टराई र नेकपा (एमाले)का महासचिव भण्डारीलाई डिनरको निम्ति आफ्नो निवासमा निम्तो गरेर छलफल गरेका थिए । भोलि पल्ट बिहानको एक भेटमा अलि निरास हुँदै डा. श्रेष्ठले मलाई भन्नू भयो, “मदन भण्डारीले कृष्ण प्रसाद भट्टराई र मनमोहन अधिकारीलाई नेपाली काँग्रेस र नेकपा (एमाले) को तर्फबाट सर्वसम्मत गरौं भन्ने राख्नु भएको प्रस्ताव भट्टराईले मान्नु भएन । तर अब उहाँ हार्न सक्नु हुन्छ । उहाँले राजनीतिको कुरै बुझ्न सक्नु भएन ।” अपसोच उहाँ निर्वाचनमा मदन भण्डारीसंग पराजित हुनु भो र देशको राजनीतिक कोर्स पनि तलमाथि हुनु गयो । डा. मथुराको सल्लाह त्यसबेला नेता भट्टराईले मान्नु भएको भए, सायद देशको राजनीतिको कोर्स नै अर्कै हुन सक्थ्यो जस्तो लाग्दछ ।
३. होल्लेरी, रोल्पा कुरा बि.स.२०५८ असार ३१ गतेको कुरा हो । तत्कालिन माओवादी जनयुद्धको क्रममा असार २८ गते रोल्पाको होल्लेरीमा एकाबिहानै आक्रमण गरि ७२ जना प्रहरी र अन्य सरकारी कर्मचारीहरुको अपहरण गरेको विषय थियो । स्व. पमरत्न तुलाधरको काठमाण्डौ, लाजिम्पाट स्थित घरमा सो घटनाको सन्दर्भमा सरोकार व्यक्त गर्दै अपहरित प्रहरी तथा सरकारी कर्मचारीहरुको बिना शर्त तत्कालै रिहाईको माग मानव अधिकार समुदायले गरेका थियो । साथै घटना स्थलको अध्ययन गरि अपहरित प्रहरी एवं सरकारी कर्मचारीहरुलाई फिर्ता ल्याउने उद्देश्यले हामी दाङ, रोल्पाको होल्लेरी र त्यसपछि नुवागाँउ, जहाँ अपहरित प्रहरीहरु बन्दी बनाएर राखेको भनिथ्यो, पुग्यौं । त्यहाँ पुग्नु अगाडि तत्कालिन शाही सेना र माओवादी जनसेनाहरुसंग सम्पर्क समन्वय मिलाएका थिंयौ । सत्यतथ्य छानबिन र अपहरित प्रहरीहरुलाई फिर्ता ल्याउने उद्देश्यले गएको सो टोलीको अगुवा डा. श्रेष्ठ हुनुहुन्थ्यो । सो टोलीमा म लगायत सुदीप पाठक, मुक्ति प्रधान, कपिल श्रेष्ठ, डा. भोगेन्द्र शर्मा आदि थियौं । भोलीपल्ट सत्यतथ्य संकलन पश्चात् नुवागाउँबाट फर्कने क्रममा होल्लेरी पुग्न ठाडो उकालो चढ्नु पर्थ्यो । हामीलाई भने बुढेसकालको डा. श्रेष्ठको चिन्ता भै रहन्थ्यो । उहाँ दमको बिमारी भए तापनि ठाडो उकालोमा पनि अक्सिजन इन्हेलर लिएर मज्जाले उकालो पार लाउनु भो । बरु हामीलाई के कस्तो छ ? झोला गह्रुँगो भए म पनि आलोपालो गर्न सक्छु भन्नू हुन्थ्यो । गाउँको गोठ जस्तो घरमा सुत्यौं । गाँउमा जे उपलव्ध छ त्यही खायौं । लामो र कठिन बाटो हिंड्यौं । तर, हाँसीखुसी मज्जाले हामी युवाहरुलाई हौसला दिइरहनु हुन्थ्यो । यो घटना पछि उहाँमाथिको मेरो आस्था झन बढ्दै गयो ।
४. प्यारिस, फ्रान्स, बि. स. २०५८ कै हो । बेल्जियमको राजधानी ब्रसेल्समा अति कम विकसित मुकुकहरुको तेश्रो विश्व सम्मेलनको नागरिक मञ्चको आयोजनामा हामी पनि सहभागी थिंयौं । साथमा डा. मथुरा श्रेष्ठ पनि हुनुहुन्थ्यो । कार्यक्रमको समापन पछि हामीले फ्रान्सको राजधानी प्यारिस घुम्न जाने निधो गर्यौं । प्यारिसमा मेरो साथी कृष्टिनले हामीलाई गाइडको काम गरेर ठूलो गुण लगाए । स्वादिष्ट फ्रेन्च खाना पनि तिनैले आयोजना गरे । हामीले सो दौरान विभिन्न ऐतिहासिक म्युजियमहरु अध्ययन भ्रमण गर्यौं । उहाँले इतिहासको महत्वपूर्ण कालखण्डहरु कोट्याउँदै फ्रान्सेली राज्यक्रान्ति, नेपोलियन बोनापार्टको उदय र पतनका साथै संसारकै पहिलो कम्युनिष्ट पार्टीद्वारा संचालित कम्युनको उदय र पतन बारे उहाँले जुन व्याख्या र विश्लेषण गर्नु भयो त्यसबाट म मात्रै होइन मेरो साथी कृष्टिन पनि असाध्य छक्क परे । आफुले हासिल गरेको विद्या सामुदायिक स्वास्थ्य वा जन स्वास्थ्यको विषयमा त उहाँ अब्बल नै हुनुहुन्थ्यो भन्ने कुरा थाह थियो । तर ईतिहास, दर्शनशास्त्र, राजनीति शास्त्र, मानव शास्त्र र समाजशास्त्रको क्षेत्रमा उहाँको गहन अध्ययन र विश्लेषण सुन्दा छ्क्क नपर्ने मानिसहरु बिरलै होलान । सायद त्यो अर्को घटना थियो, जसले उहाँमाथिको मेरो आस्था र सम्मानलाई अझै माथि उठायो ।
५. पोखरा, कास्की, कुरा बि. स. २०६१ को हो । पोखरामा गैसस महासंघको राष्ट्रिय सम्मेलन तथा बृहतर नागरिक मञ्चको आयोजना हुँदै थियो । म त्यतिञ्जेल महासंघको अध्यक्ष थिंए । कार्यक्रममा देशभरका सयौं प्रतिनीधिहरुको बाक्लो जमघट थियो । उहाँको साथमा पूर्व सभामुख तथा अगुवा नागरिक अभियन्ता श्रद्धेय दमननाथ ढुंगाना पनि हुनुहुन्थ्यो । विशिष्ट वक्ताको रुपमा उहाँहरु दुवैले नागरिक अभियानको नयाँ यात्रा र त्यसको चुनौतिको बारे बोल्नु भएको थियो । जब सम्मेलन सकियो, म पत्रकार सम्मेलनमा सम्बोधन गर्दै थिंए । दिनको चार बजिसकेको थियो, काठमाडौ जाने हवाइजहाज उड्ने बेला भैसकेको जानकारी आयो । म लगतै ब्याग-स्याग मिलाउन हस्याङ फस्स्याङ गर्दै होटेलमा पुगें । तर मेरो कोठामा पुगेर सारा लुगाफाटो, बाथरुमको सामानहरु सबै बन्दोबस्तका साथ ब्यागमा मिलाएर डा. श्रेष्ठले तैयार राख्नु भएको रहेछ । ” डा. साब किन यस्तो दु:ख गर्नु भएको ? म आईहाल्थे नि त ।” मैले भने । “केही छैन, बरु छिटो एअरपोर्ट हिडौं” भन्नू भयो । ओहो, त्यत्रो ठूलो मान्छे ! कस्तो सामान्य व्यबहार । म त छक्कै पर्थें । अनि उहाँ प्रति मेरो आस्था र सम्मान झन्झन् थप्दैथप्दै जान्थ्यो ।
६. त्रि-चन्द्र क्याम्पस, काठमाडौ, कुरा डिसेम्बर १०, १९८८ अर्थात २०४६ सालको थियो । फागुन ७ गते संयुक्त जन आन्दोलनको तैयारी शुरु भै सकेको थियो । सोही सन्दर्भमा त्रि-चन्द्र क्याम्पसको प्राङ्गणमा बृहत् मानव अधिकार भेलाको आयोजना गरिएको थियो । बक्ताहरुमा श्रद्धेय व्यक्तित्वहरु डा. मथुरा प्रसाद श्रेष्ठ, पद्मरत्न तुलाधर, लक्ष्मण अर्याल, रामानन्द सिंह चौधरी र प्रेम बहादुर शाक्य हुनुहुन्थ्यो । मित्र सुशील प्याकुर्याल कार्यक्रम संचालक र म युवा आन्दोलनको तर्फबाट प्रतिनीधि वक्ता थिंए । सहभागीहरु भन्थे, त्यसदिनको मेरो भाषण “मान्छेलाई जुरुकजुरुक उचाल्ने खाले थियो” रे । कार्यक्रमको लगतै पछि डा. श्रेष्ठले श्रद्धेय पद्मरत्न र अन्यलाई भन्नुभयो, “अब गौरीलाई कसरी जोगाउने हो, सबैले सोचौं । उ तुरुन्तै गिरफ्तारीमा पर्न सक्छ।” त्यसको लगत्तै म भूमिगत भँए । पछि सबैले मिलेर मलाई भारत र अन्तर्राष्ट्रिय क्षेत्रमा “प्रो-डेमोक्रेसी मूवमेण्ट” अभियानको पक्षमा जनमत निर्माण गर्न पठाएको थियो । “के थाहा ? गौरीलाई आजै पनि गिरफ्तार गर्न सक्छ । त्यसैले, सबै मिलेर जोगाऔं।” भन्नुहुन्थ्यो फेरिफेरी ।
७. खलंगा , रुकुम पौष २०६१ । हाम्रो विवाह भएको एक महिना पनि पुगेको थिएन । रुकुम, खलंगामा एक बृहत् नागरिक सभा आयोजना गर्ने कुरा आयो । चारैतिर जनयुद्ध र सरकारी दमनको जगजगी थियो । हामीहरु देशमा छिटो भन्दा छिटो शान्तिवार्ता मार्फत देशमा दिगो शान्ति निर्माण होस् भन्ने लक्ष लिएर अगाडि बढ्दै थियौं । नागरिक अगुवाहरु पद्मरत्न तुलाधर र दमन नाथ ढुंगाना रातोदिन त्यसैमा लागिरहनु हुन्थ्यो । हामीहरु उहाँहरुको काममा सघाइराख्थ्यौं । गैसस महासंघ, नेपाल, मानव अधिकार एलाइन्स लगायत विभिन्न नागरिक संगठनहरुको संयुक्त आव्हानमा आयोजित उक्त वृहत् नागरिक सभामा श्रद्धेय डा. मथुरा प्रसाद श्रेष्ठ तथा पूर्व सभामुख दमन नाथ ढुंगानालाई अगाडि लगाएर सुम्निमा र म पनि रुकुम खलंगा पुगेका थियौं । सभामा हामी सबैले सम्वोधन गर्यौ । सभामा हजारौं स्थानिय जनताहरु गाउँ गाउँबाट उर्लेर आएका थिए । कैयन विस्थापित र मानव अधिकार उल्लंघनमा परेका नागरिकहरु गुनासो पोख्न हामीलाई भेट्न आएका थिए । रातीको मौसम असाध्य चिसो थियो । डा. मथुरा र दमन दाइ एउटा कोठामा , अनि सुम्निमा र म अर्को कोठामा थियौं । रातीको खाना खाए पश्चात् हामीले केही क्षण दिउँसो सम्पन्न उक्त नागरिक सभाको समीक्षा गर्यौं । राती सुत्ने तरखरमा हुँदा डा. साहेव एउटा पुरानो चाइनिज रग लिएर हाम्रो कोठामा आएर भन्नू भो । ” राती धेरै चिसो छ, सुम्निमालाई जाडो होला, यो थप रग ओड ।” हामीले लिन मानेनौ, ” तपाईहरुलाई नै चाहिन्छ” भन्यौं । तर ” हामीलाई पुग्छ” भन्दै कोठामा छाडेर जानु भो । सुम्निमाले भन्नू भो, ” हि इज फादर्ली लाइक पर्सन फर अस् ।” यसपछि त उहाँ हाम्रो लागि झन्झन् अभिभावक झैं लाग्न थाल्यो ।
८. प्रगतिमार्ग-२, अनामनगर, माघ २०६१ । राजा ज्ञानेद्रको निरंकुश शासनको चरमोत्कर्ष बढ्दै थियो । सुम्निमा र म जेनेभाबाट एउटा कार्यक्रमबाट फर्केका थियौं । मलाई त्रिभुवन विमानस्थलको आगमन कक्षबाट नै हिरासतमा लिइ सकेको थियो । हामीलाई नेपाल फर्कन साथ गिरफ्तारी गर्ने छ भन्ने कुरा थाहा भैसकेको थियो । हामी सो को निम्ति मानसिक रुपमा तैयार नै भएर आएका थियौं । त्यसवेला मेरो रिहाईको पक्षमा एम्नेस्टी इन्टर्नेशनलले आस्थाको बन्दीको रुपमा अन्तरास्ट्रिय अभियान नै चलाएको थियो । १७ दिनको हिरासत पछि सर्वोच्च अदालतका तत्कालिन मा. न्यायधिस अनुपराज शर्मा, जो पछाडि प्रधान न्यायधिस र राष्ट्रिय मानव अधिकार आयोगको मा. अध्यक्ष समेत हुनु भयो, को इजलासले मलाई तत्कालै अदालत परिसरबाटै रिहाई गर्न आदेश भयो । यस अघिको बहस पैरवीमा श्रद्धेय दमन नाथ ढुंगाना, सुबास नेम्वाङ, विश्वकान्त मैनाली, शेर बहादुर, अग्नि खरेल, दिनेश त्रिपाठि लगायत विभिन्न वरिष्ठ अधिवक्ताहरुले मेरो गिरफ्तारी गैर-कानूनी भएको र तत्कालै रिहाई हुनु पर्ने पैरवी गर्नु भएको थियो । अन्तिममा, सर्वोच्चको निर्णयलाई शिरोधार्य गर्दै हामी साथीहरु संगै बाहिर निस्क्यौं । तर अपशोच, सर्वोच्च अदालतको प्राङ्गणबाट मण्डला नपुग्दै मलाई पुन गिरफ्तार गरियो । मैले प्रहरी निरीक्षक लाई प्रश्न गरें , “के तपाईहरु सर्वोच्च अदालतको निर्णय मान्नु हुन्न ? उनले “को हो त्यो न्यायधिश?” भन्दै कड्के । तर पछि नाटकिय हिसावबाट गाडीमा वाकीटकी बज्यो, “उहाँलाई घर पुर्याई दिनु!” त्यतिञ्जेल डा. मथुरा स्वंय पनि प्रहरी हिरासतमा हुनुहुन्थ्यो । भोलि विहान सवेरै, उहाँले एकजना भरपर्दो प्रहरी मार्फत वास्तविकता के हो बुझ्न मेरो घरमा पठाउनु भएको थियो । साथमा हिम्मत नहार्न एक सानो पत्र पनि थियो ।
९. नगरकोट २०६३ । देशमा दिगो शान्ति वहाली गर्न नागरिक समाजको तर्फबाट “शान्तिको निम्ति सहकार्य” नामक संस्था कृयाशील थियो । सो को तत्कालिन अध्यक्ष श्रद्धेय लक्ष्मण प्रसाद अर्याल र म महासचिव थिंए । श्रद्धेय सहाना प्रधान, दमन नाथ ढुंगाना , पद्मरत्न तुलाधर, डा. मथुरा प्रसाद श्रेष्ठ र डा. बीरेन्द्र कुमार मिश्रा लगायतका व्यक्तित्वहरु वरिष्ठ सल्लाहकारहरु हुनुहुन्थ्यो । नगरकोटमा सम्पन्न एक ऐतिहासिक अन्तरक्रिया कार्यक्रममा उहाँहरु सबैको उपस्थित थियो । कार्यक्रममा रातीको खाना पश्चात् उहाँले हामीहरुलाई श्रद्धेय पद्मरत्न बस्नु भएको कोठामा बोलाउनु भो । र हामीलाई भन्नू भयो, ” देशमा आएको गणतन्त्र दिगो हुन गाह्रो छ । देशी विदेशी चलखेल बढिरहेको छ । राष्ट्रपतिमा कि तपाई कि त दमन नाथ ढुंगाना जस्तो दरो व्यक्ति हुनु पर्छ । मैले पनि सो कुरामा सहि थापें । तर पद्मरत्न तुलाधरले भन्नू भो, “दमनजी र म त विस्तृत शान्तिवार्तालाई टुंगो लगाउने दिशामा लाग्नु पर्दछ । राष्ट्रपति त तपाईं जस्तो उच्च छबि भएको व्यक्तित्व पो हुनुपर्छ ।” तर उहाँले सो कुरा ठाडै अस्विकार गर्नु भयो र भन्नू भयो, ” त्यसो भए साहना प्रधानलाई बनाउनु उपयुक्त हुन्छ ।” राष्ट्राध्यक्ष जस्तो देशको सर्वोच्च पदलाईअस्विकार गर्ने श्रद्धेय पद्मरत्न तुलाधर र डा. मथुरा प्रसाद श्रेष्ठ जस्ता नेताहरु देशले गुमाउनु पर्यो । अपशोच, कुनै पनि सरकारले उहाँहरुको योगदानको सहि र उचित मुल्यांकन गर्न नसकेकोमा साह्रै दु:ख पनि लाग्छ ।
१०. काठमाण्डु मोडेल अस्पताल, वागबजार असार २, २०६३ । बालुवाटारमा श्रद्धेय पद्मरत्न तुलाधर र दमन नाथ ढुंगानाको पहलमा प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला लगायत सात दलको नेता र माओवादी जनयुद्धका नायक प्रचण्ड र डा. बावुराम भट्टराई लगायतका नेताहरुको औपचारिक शान्तिवार्ता चलिरहेको थियो । यता सुम्निमालाई सुत्केरी ब्यथाले च्याप्न थालेपछि काठमाण्डु मोडेल अस्पतालमा भर्ना गरिएको थियो । राती १० बजे तिर छोरानानीको जन्म भयो । उक्त टोलीको नेतृत्व डा. स्वराज श्रेष्ठ तथा डा. अरुणा कार्कीको टोलीले गर्नु भएको थियो । डा. भरत प्रधान, डा. सरोज धिताल लगायत अन्य डाक्टरहरु पनि हुनुहुन्थ्यो । डा. मथुराले पटक पटक फोन गरेर सुम्निमाको अवस्था बारे सोधिरहन हुन्थ्यो । उता बालुवाटारको सफल वार्तापछि श्रद्धेय पद्मरत्न तुलाधर पनि भख्खरै जन्मेको आफ्नो नाति र सुम्निमालाई हेर्न अस्पताल आउनु भएको थियो । सबैले उहाँलाई सफल वार्ता र नव जन्मेका नातिको निम्ति बधाई व्यक्त गरे । वार्ताबाट फर्केकोले होला सवैले नातिको नाम वार्ता राख्नु पर्छ भने । मैले भने आज शिखर संवाद सफल भएको दिन हो, त्यसैले उनको नाम पनि शिखर संवाद राख्ने भन्यौं । खुसीले सबैले ताली बजाए । डा. मथुरा र उहाँको पत्नी डा. इन्दिरा श्रेष्ठले सो कुरा थाहा पाएपछि राती नै फोन गरेर बधाई दिनु भयो र भोलीपल्ट घरमै आउनु भएर हामीलाई पुनः बधाई दिनु संवादलाई आशीर्वाद दिनु भयो । हामी असाध्य खुसी भयौं । त्यसदिन देखि डा. मथुरा र डा. इन्दिराले छोरा शिखर संवाद सहित हामीलाई सधैं संगै बोलाउनु हुन्थ्यो । छोराको पहिलो नाम शिखर भएपनि उहाँंले सधैं संवाद भनेर बोलाउनु हुन्थ्यो र हामी पनि उनलाई घरमा शिखर नभनी संवाद नै भन्छौ ।
डा. मथुरा प्रसाद श्रेष्ठ निधन भएको आज तेह्रौं दिन हो । उहाँले छोराछोरीहरुलाई परम्परागत किरिया नगर्न इच्छा व्यक्त गर्नु भएकोले सायद त्यसो नगरेको पनि हुन सक्दछ । उहाँले आफ्नो दिवङ्गत पत्नीको श्रद्धाञ्जली पनि बृक्षारोपण गरेर मनाए । सायद उहाँको परिवारले पनि श्रद्धाञ्जलीको निम्ति उहाँको इच्छा अनुसार सम्मान गर्ने नै छ । तर हामी नागरिक समाज, मानव अधिकार रक्षकहरु तथा जनस्वास्थ्यको क्षेत्रमा कृयाशील व्यक्तित्वहरुबाट पनि उहाँको सम्मान तथा श्रद्धाञ्जलीको निम्ति विशेष पहल गर्न अगाडि बढ्नु पर्छ जस्तो लाग्छ । यसबारे थप छलफल तथा अन्तरक्रिया गर्ने नै छौं । उहाँसंगको संगत र सहकार्यका अनेकन अविश्मरणिय सम्झनाहरु छन् । यसबारे अवसर मिलेमा पस्कंदै गर्ने छु ।आजलाई यति नै । भावपूर्ण श्रद्धाञ्जली डा. साहेब !!!
फागुन २०, २०७९ ।
-प्रधानको फेसबुकबाट

