शनिबार, कार्तिक ५, २०७९
जब बच्चा पेटमा भएकी आमाको मुटुको नली फुट्यो : पैसा कमाउनु मात्र ठूलो कुरा होइन – भगवान कोइराला

जब बच्चा पेटमा भएकी आमाको मुटुको नली फुट्यो : पैसा कमाउनु मात्र ठूलो कुरा होइन – भगवान कोइराला

मृत्युलाई सहज बनाउने काम पनि चिकित्सककै हो !


  • स्वदेश नेपाल
  • शनिबार, कार्तिक ५, २०७९

वरिष्ठ सर्जन, मुटुरोग विशेषज्ञ, अभियन्ता, समाजसेवी डाक्टर भगवान कोइरालाले गंगालाललाई मुटुरोग अस्पतालका रुपमा स्थापित गर्न नेतृत्वदायी भूमिका खेल्दै गङ्गालाल अस्पतालको कार्यकारी निर्देशक तथा कार्डियाक सर्जनको रूपमा सेवा दिएका छन ।

साथै टिचिङ अस्पताल महाराजगञ्जमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर स्थापनाको नेतृत्व पनि कोइरालाकै योगदान छ।

बि.स. २०१७ साउन ९ गते पाल्पाको विकट गाउँमा जन्मिएर पदम पब्लिक हाइस्कुलबाट २०३३ सालमा एसएलसी उत्तीर्ण गारो कलेजमा सुरुका दिनहरुमा अंग्रेजी भाषाकै कारण कठिनाई समेत परेको र सन् १९८२ मा चिकित्सा शास्त्र अध्ययनकै लागि छात्रावृत्ति पाएर तात्कालिन सोभियत संघको युक्रेन प्रस्थान गरेका थिए ।

रुसमा अध्ययन सकेर आएपछि सन् १९८९ तिर हाउस अफिसरका रुपमा काम शुरु गरि शिक्षण अस्पतालमा सन् १९९५ बाट कार्डियाक सर्जरी सेवामा प्रवेश र अहिलेसम्म १३-१४ हजारभन्दा बढी मुटुका विरामीको सर्जरी गरिसकेका छन ।

नाम अनुसारकै उनै डाक्टर भगवान कोइरालासंग टीकाराम यात्रीले नेपालमा ओपन हार्ट सर्जरी सुरु भएको पच्चिसौं वर्षगाँठको सन्दर्भ सहित प्रदेशमा सात स्याटेलाइट सेन्टरसहित काठमाडौंमा बहुविशिष्टिकृत बाल अस्पताल खोल्ने अभियानको प्रेरणा, कोइरालाकृत पुस्तक ‘हृदय’को प्रकाशन पृष्ठभूमि, उद्देश्यमा केन्द्रीत रहेर गरिएको कुराकानी :-

पैसा कमाउनु मात्र ठूलो कुरा होइन, जिउन पाउनु खुसीको कुरा रहेछ

चिकित्सकका रुपमा काम गर्न थालेको करिब ३० वर्षको अवधिमा मैले थुप्रै कुरा सिक्ने अवसर पाएँ। साथै यस सन्दर्भमा मैले गरेको कामले विशेषगरी मुटु उपचारको क्षेत्रमा केही योगदान पुग्यो होला भन्ने अनुभव गरेको छु।

आत्मसन्तुष्टि कस्ता कार्यबाट लिनु बढी ठीक हो भन्नेबारे पनि सार्वजनिक जीवन जिउने मानिस स्पष्ट हुनुपर्छ। अस्पतालमा उपचार सेवा लिनै नसक्ने बिरामीलाई आर्थिक सहयोग जुटाएर उपचार गरिदिँदा निश्चय नै आत्मसन्तुष्टि हुन्छ। यसरी केही व्यक्तिलाई उपचार गर्न पनि सकिएला। तर देशव्यापी रुपमा यसका लागि कुनै एउटा लोककल्याणकारी प्रणाली बसाउन सकियो भने यसबाट हजारौं बिरामीले सधैंका लागि सेवा प्राप्त गर्न सक्ने हुन्छ। यस्ता कार्यबाट प्राप्त हुने आत्मसन्तुष्टि पनि तुलनात्मक रुपमा धेरै बढी हुन्छ। त्यसकारण केही व्यक्तिलाई लक्ष्य गरेर काम गर्नुभन्दा बृहत्तर जनताको हित हेरेर प्रणाली बसाउनुपर्छ भन्ने मेरो जीवनको मान्यता छ।

नेपालमा पहिलो पटक ओपनहार्ट सर्जरी प्रोग्राम सुरू गर्न सकियो। गङ्गालाल अस्पतालको स्थापना र सञ्चालन, मनमोहन सेन्टरको स्थापना तथा सञ्चालनमा महङ्खवपूर्ण भूमिका निर्वाह गर्न सकियो। मुटुको शल्यक्रिया सेवालाई निजी क्षेत्रमा र काठमाडौं उपत्यका बाहिरसमेत विस्तार गर्ने कार्यमा केही सहयोग गर्न सकिएको छ। यस अवधिमा आफैं प्रत्यक्ष संलग्न भएर वा मैले नेतृत्वको गरेको टिमले करिब १४-१५ हजार कार्डियोभास्कुलर सर्जरी गरिसकेको छ।

स्थापनाकालमा सिभिल हस्पिटल तथा अर्गान ट्रान्सप्लान्ट सेन्टरको सञ्चालक समितिमा बसेर दुवै अस्पताललाई सञ्चालनमा ल्याउन सक्दो सहयोग गरें। ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा विभिन्न स्थानीय सङ्घ-संस्थाहरुको सहकार्यमा दर्जनौं हेल्थ क्याम्पहरुमार्फत दसौं हजारभन्दा बढी बिरामीहरुलाई मुटुको विशेषज्ञ सेवा प्रदान गरिएको छ। यसले निश्चय नै आफ्नो स्वास्थ्यबारे अनभिज्ञ र रोगबारे ज्ञात भएर पनि सहरमा उपचारका लागि जान नसकेका थुप्रै नेपालीलाई घरदैलोमा स्वास्थ्य सेवा उपलब्ध भएको छ। यस किसिमको सेवाले उनीहरुको अनुहारमा देखिने खुसीले अझै केही गर्ने हौसला बढेर आउँछ।

नसर्ने रोगहरुको विषयलाई एउटा महङ्खवपूर्ण एजेन्डाका रुपमा राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गर्न, सुर्तीजन्य वस्तुको नियन्त्रण र स्वास्थ्य सेवामा विकेन्द्रीकरण गर्ने जस्ता विषयलाई राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गर्ने विषयमा केही पहल गर्न सकियो। कर्णाली प्रदेश स्वास्थ्य परामर्श समिति तथा स्वास्थ्य मन्त्रालयको सल्लाहकार समितिमार्फत राष्ट्रिय स्वास्थ्य नीति निर्माणमा सहयोग गर्न सकियो। यस्तै सहिद गङ्गालाल हृदय केन्द्र तथा मनमोहन केन्द्रमा समेत गरिबहरुलाई मुटुको भल्भ निःशुल्क उपलब्ध गराउने, १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई अपरेसनलगायत मुटुसम्बन्धी सम्पूर्ण उपचार निःशुल्क गराउने, ७५ वर्षभन्दा बढी उमेरका नागरिकलाई मुटुसम्बन्धी अपरेसनलगायत सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्न सफल भइयो।

आफूले सिकेको ज्ञानलाई जुनियर चिकित्सकहरु र चिकित्सा शिक्षाका विद्यार्थीहरुलाई पनि सिकाउन पाएकोमा मलाई गौरवको अनुभव भएको छ। कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जरीमा एमसिएच (पिएचडी सरह) प्रोग्रामको संयोजकका रुपमा थुप्रै विद्यार्थीलाई तालिम दिन सकिएको छ। विभिन्न व्यावसायिक सोसाइटी, चिकित्सा शिक्षा आयोग तथा कमिटीहरुमार्फत पनि स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको क्षेत्रमा केही योगदान गर्न सकियो भन्ने लागेको छ।

सार्वजनिक क्षेत्रमा यति लामो काम गरेपछि अबका दिन कसरी अगाडि लैजाने भन्ने सोचिराखेको बेला साथी उपेन्द्र महतोले मेडिसिटी अस्पतालमा प्रमुख भएर जाने निम्तो दिए। एक मनले जाऊँ कि भन्ने लाग्यो। तर भुइँचालोपछि भने विचार फेरियो। भुइँचालोमा हजारौं व्यक्तिको मृत्यु र त्यसभन्दा बढी घाइते भएको देखेपछि लाग्यो- पैसा कमाउनु मात्र ठूलो कुरा होइन, जिउन पाउनु खुसीको कुरा रहेछ, अरुका लागि जिउन पाउनु त सौभाग्य रहेछ। फेरि अमेरिकामा पढ्दै गरेको छोरा नीरभले एक दिन फोनमा भन्यो, “बाबा, अब तपाईंले मेरा लागि खर्च गर्नुपर्दैन। तसर्थ पैसाका लागि तपाईंले आफूलाई मन नपर्ने कुनै काम गर्न जरूरी छैन। तपाईं निजी संस्थाको प्रमुख भएर नगए पनि हुन्छ। तपाईंले देशको नीतिगत तहमा काम गर्नुभए बेस हुन्छ। पछि म पनि तपाईंलाई सघाउँला।”

करिअर एवम् समाजबारे मसँग कुरा गरिरहने छोराको सुझाव बलियो मार्गनिर्देशन सावित भयो। म सरकारी जागिर छाडेर निजी संस्थामा पूर्णकालीन काम गर्न नजाने भएँ। तर सरकारी जागिर सकिएपछि पनि मैले काम गर्न सक्ने समय अझ धेरै बाँकी भएकाले घरपरिवार, साथी तथा चिकित्सकको सल्लाहबमोजिम भविष्यमा एक चुनौतीपूर्ण काम गर्ने निधो गरें।

नेपालमा बालरोग उपचारका क्षेत्रमा खासै ठूलो काम हुन सकेको छैन। बालबालिकाको स्वास्थ्य, त्यसमा पनि मुटु स्वास्थ्यमा मेरो विशेष चासो र दक्षता छ। त्यसैले काठमाडौंमा एक बहुविशेषज्ञ सेवासहितको स्तरीय बाल अस्पताल र बाँकी छ प्रदेशमा एकएक ओटा जनरल बाल अस्पताल बनाउन पहल गर्ने निधो गरें। यसका लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ नामक गैरनाफामूलक संस्था दर्ता भएको छ। काठमाडौंको गोल्फुटारस्थित हेपाली हाइटमा नेपाल सरकारबाट ४२ रोपनी जग्गा लिजमा प्राप्त भई कन्सेप्ट डिजाइनको काम अन्तिम चरणमा पुगेको छ। अन्य प्रदेशहरुमा पनि स्वस्फूर्त रुपमा उत्साहजनक तरिकाले हामीलाई बोलाइएको अवस्था छ। गैरनाफामूलक क्षेत्रबाट यो काम गर्न सके करिब डेढ करोड बालबालिकाको स्वास्थ्यमा उल्लेख्य सहयोग पुग्ने थियो। सरकारी र गैरसरकारी क्षेत्रको सहकार्यमा एउटा नमुना विशिष्टीकृत सेवाप्रदायक प्रणालीको पनि विकास हुने थियो। अवकाशपछिको जीवन यही काममा समर्पित गर्ने विचार गरेको छु। यहाँहरुको समेत सहयोग भए यो काम पूरा हुन्छ भन्ने विश्वास छ।

(डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’ को एक अंश। २५,००० रुपैयाँ मूल्य अङ्कित विशेष संस्करण बिक्रीबाट प्राप्त शतप्रतिशत रकम र नियमित संस्करणको लेखकस्वको ५० प्रतिशत रकम विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजनाका लागि जानेछ।)

-नेपाललाइभबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट