शुक्रबार, कार्तिक ४, २०७९
यसरी तयार पारेका थियौं नेपालको पहिलो नक्सा – स्व: सत्यमोहन जोशीको मुखबाटै सुनौँ

यसरी तयार पारेका थियौं नेपालको पहिलो नक्सा – स्व: सत्यमोहन जोशीको मुखबाटै सुनौँ


  • स्वदेश नेपाल
  • शुक्रबार, कार्तिक ४, २०७९

सत्यमोहन जोशी -नेपालको पहिलो नक्सा हामीले २००६ सालमा तयार पारेका थियौं। त्यही नक्सा २०१४ सालको मुलुककै पहिलो आधुनिक जनगणना प्रतिवेदनमा छापिएको थियो।

त्यो बेलाको सीमित साधन र प्रविधिका कारण नक्साको स्वरूप जे-जस्तो भए पनि लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रै सरहदभित्र पर्थे। त्यसको प्रमाण त दोस्रो जनगणना बेला त्यहाँ पुगेका भैरव रिसालजीका कथनहरू आइसकेका छन्। त्यसैगरी राज्यले बुझेका तिरोहरूको प्रमाण पनि प्रस्तुत गर्न सकिन्छ।

पहिलो नक्सा निकाल्नु आफैंमा संघर्ष थियो। त्यो प्रक्रिया‍ सुरूआत यसरी भएको थियो।

बि.सं.१९९५ सालमा भिमबहादुर पाँडे एमकम पास भएर आएपछि उनका निम्ति उपयुक्त जिम्मेवारीको खोजी हुँदै थियो। त्यसैअनुसार जुद्धशमशेरबाट ‘प्रोफेसर’को दर्जा पनि पाए। तर उनको योग्यता मुताबिक काम पठनपाठनका क्षेत्रमा नभएकाले ‘औद्योगिक सर्भे’का काममा उनी संलग्न भए।

त्यो बेलासम्म सर्भे भन्ने शब्द प्रचलनमै थिएन। पाँडेले त्यसनिम्ति पूर्व एक नम्बर रोजे। प्राकृतिक, सामाजिक, आर्थिक सबैखाले श्रोत अध्ययन गर्ने क्रममा धेरै उपयोगी कुरा फेला परे। कतै नभएको खैरो कपास पनि त्यतै भेटियो। अन्त सबैतिर सेतो कपास मात्र भेटिन्थ्यो। मानिसहरू नैनसुतलाई ‘कोगटे’ गरेर (रंग्याएर) लुगा लगाइरहेका बेलामा कपासै खैरो पाउनु गजबको खोजी बन्यो।

त्यो बेला त्यतातिरका कपास भक्तपुरसम्म आउँथ्यो। भक्तपुरमा कपडा बनाइएपछि त्यसलाई बेच्न इन्द्रचोक ल्याइन्थ्यो। मन्दिरका पेटीभरि कपडा बिसाएर बेच्न ल्याउनेहरू पनि सबै तिमालतिरकै महिला हुन्थे।

त्यस समय उद्योग परिषदका महानिर्देशक विजयशमशेर थिए। पाँडेसँगै स्नातकोत्तर गरे पनि मोहनशमशेरका छोरा भएकाले विजयशमशेरले उत्तिखेरै जागिर पाएका थिए। जे होस्, पाँडेको रिपोर्ट पाएपछि विजयशमशेर असाध्यै प्रभावित भए।

त्यसपछि रिपोर्ट चिफ साहेब अर्थात् पद्मशमशेरदेखि प्रधानमन्त्री जुद्धशमशेर सबैतिर पुग्यो। सबै खुसी भए। परिणाम स्वरूप अब एउटा नयाँ अड्डा नै खडा गरेर मुलुकभरि यस्तै किसिमको काम गर्न पाँडेलाई जिम्मेवारी सुम्पने निर्णय गरियो।

यसरी नेपालमा ‘औद्योगिक व्यापारिक समाचार संग्रह अड्डा’ जन्मियो। त्यस अड्डामा आवश्यक अधिकृतहरू भर्ना गर्ने काम पनि नेपालको इतिहासमै पहिलोपटक खुला प्रतिस्पर्धाबाट भएको थियो। अहिले लोकसेवाको झलक दिने त्यो प्रतिस्पर्धाअघि सरकारी सेवामा आफन्त मात्र भर्ना गरिन्थे।

त्योताका गोरखापत्र साप्ताहिक रूपमा सानो आकारमा छापिन्थ्यो। त्यसैमा उक्त अड्डाको निम्ति ‘पाँच जना अफिसर’ (कर्मचारी आवश्यकता) को सूचना छापिएको म अहिले पनि सम्झन्छु। सूचनामा ‘बिएसम्म पढेका इच्छुकले दरखास्त हाल्नू’ भनिएको थियो। त्यो २००० सालको अन्तिमतिरको घटना हो।

त्रिचन्द्र कलेजमा सँगसँगै बिए पढिरहेका म र नरकान्त अधिकारी दुवैले त्यसमा रोजगारीका निम्ति आवेदन हाल्यौं। त्यो बेला बिए पढेको मानिस पाउनु असाध्यै गाह्रो कुरा थियो। हाम्रो नाम निस्कियो र अन्तर्वार्तामा गयौं। अन्तर्वार्तापछि छानिनेमा म थिइनँ।

नैनबहादुर खत्री (पछि प्रधानन्यायाधीश), दार्जिलिङ तिरका धनबहादुर अधिकारी, केशरबहादुर कर्माचार्य, थीरबहादुर रायमाझी र नरकान्त अधिकारी गरेर पाँच जना छानिएका थिए। यीमध्ये केवल थीरबहादुर रायमाझीमात्र बिए पास गरेका थिए।

‍छानिए‍ पनि नैनबहादुर खत्रीले भने जागिर नखाने भए। उनका पिता त्यति बेला मुलुककै एक मात्र भेटेनरी चिकित्सक थिए। उनले छोरालाई भारततिर उच्च शिक्षानिम्ति पठाउने इच्छा राखे। त्यसैअनुसार जर्नेल शंकरशमशेरलाई बिन्ती चढाएपछि पढ्न पठाउने अनुमति पनि प्राप्त भयो।

यस्तो अवस्थामा त्यो जागिरका लागि मेरो ढोका खुलेको थियो। मेरो नियुक्तिसँगै हामी पाँच जना अधिकृतले काम गर्न थाल्यौं।

सुरूमा भिमबहादुर पाँडेले नै हामीलाई तालिम दिए। पाँच-छ वटा अड्डा पनि घुमाए। यसरी पाएको तालिमअनुसार हामी गाउँगाउँ खटिएर तथ्यांक संकलनको काममा लाग्यौं। मलाई पश्चिम तीन नम्बरमा खटाइएको थियो। अहिलेको हिसाबले भन्ने हो भने त्यो क्षेत्र तनहुँ, लमजुङ र कास्की पर्छ। त्यतिबेलै मैले मुलुक देख्ने मौका पाएँ। फरक मानिस, फरक परिवेश र फरक संस्कृति बुझेँ। वन र वन्यजन्तुसँग रमाएँ। सुनेका लोकगीत टिप्न थालेँ। काठमाडौं आएर रेडियो नेपालमा गाउने काम पनि गरेँ। पछि त्यसैले मलाई साँस्कृतिक अन्वेषणका क्षेत्रमा अघि बढायो र यतैतिर मेरो पहिचान कायम भयो।

त्यो बेला औद्योगिक व्यापारिक समाचार संग्रह अड्डामा काम गर्दागर्दै हामीले अर्को एउटा राम्रो अवसर पायौं। त्यो थियो, भारतको नयाँदिल्लीमा गएर तथ्यांक संकलनको आधुनिक तरिकाबारे तालिम लिने। त्यो तालिम संयुक्त राष्ट्रसंघको जनसंख्या विभागले आयोजना गरेको थियो।

राष्ट्रसंघले संकलनमा एकरुपता अपनाउँदै पहिलोपटक संसारभरकै जनसंख्या निकाल्न खोजेको रहेछ। त्यसैको तालिमका निम्ति नेपालबाट छ जना मानिस मागिएको थियो। हामी पाँच जनाबाहेक एकजना कृषितिरका अधिकृत पनि थिए। यो भनेको राणाकालको अन्तिम क्षणतिरको कुरा हो।

यसरी तालिम लिएर आएपछि अब हाम्रो काम ‘औद्योगिक व्यापारिक समाचार संग्रह अड्डा’का निम्ति मात्र नभई राष्ट्रसंघका निम्ति उसको हिसाबले जनसंख्याकै तथ्यांक संकलन गर्ने भयो। त्यसअघि पनि हामीकहाँ जनसंख्याको तथ्यांक लिने काम नगरिएको होइन। तर, ती असाध्यै कामचलाउ थिए।

त्यति बेला नेपालको ‘जनसंख्या अड्डा’ एकजना खरिदारका भरमा दुई-तीन जना कारिन्दा राखेर चलिरहेको थियो। त्यस्तो अवस्थामा हाम्रो ‘औद्योगिक व्यापारिक समाचार संग्रह अड्डा’ र ‘जनसंख्या अड्डा’लाई एकै ठाउँमा राखेर नयाँ अड्डा कायम गर्ने निधो भयो। त्यसको नाम राखियो ‘संख्या विभाग’। कोलकातातिर त्यो बेला ‘स्टाटिस्टिक्स’ विभागलाई ‘तथ्यांक’ नभनी ‘संख्या’ नै भनिएकाले त्यसैअनुसार यता पनि गरिएको थियो।

अहिलेको ‘केन्द्रिय तथ्यांक विभाग’ हाम्रो उति बेलाको त्यही ‘संख्या विभाग’को वर्तमान रूप हो।

यसरी मुलुकको इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरसँग मिल्नेगरी आधुनिक तथ्यांक संकलन गर्ने काम पनि हामीबाटै भयो। तथ्यांक संकलन गर्न पहिले जेजस्तो तरिका अपनाइए पनि अब हामीलाई हाम्रो सिमाना कहाँ हो भन्ने जानकारी हुनु जरुरी थियो। जिल्ला, प्रगन्ना, टप्पा भन्ने गरिए पनि तिनकै सिमाना थाहा थिएन। मुलुकको सिमाना कहाँ छुट्टिन्छ भन्ने त झन् थाहै थिएन। त्यसैले मुलुककै नक्सा चाहियो। तर, त्यति बेलासम्म हामी नेपालीले नेपालको नक्सा बनाएकै थिएनौं।

राष्ट्रियदेखि लिएर जिल्ला-जिल्लासम्म छुट्टिएका नक्सा एकपटक तयार पार्ने हो भने त्यसले धेरै काममा मद्दत मिल्छ भन्ने हामीलाई लागिरहेको थियो। स्वास्थ्य, शिक्षादेखि लिएर चुनावीसम्म सबै कुराका निम्ति योजना गर्न त्यो उपयोगी हुन्थ्यो।

नक्सा त चाहियो तर कसरी तयार पार्ने?

उपाय खोजी गर्न थाल्यौं। त्यो बेला मुन्सीखाना (परराष्ट्र मन्त्रालय)मा नक्सा छ भन्ने सुइँको पाइयो। हामी गएर कुरा गर्‍यौं। त्यहाँ पनि कताकताबाट के-के कुरा ल्याएर कुन ठाउँमा कोचेर राखेको छ भन्ने हिसाब-किताब थिएन।

‘हुन त होला। तर, खोज्नुपर्छ’ भने।

यसरी खोज्दा रोल गरेर राखिएको नक्सा फेलापर्‍यो। त्यो अंग्रेजले बनाएको भारतको नक्सामा नेपालतर्फको हिस्सा थियो। अंग्रेजले भारतको नक्सा बनाउँदा सिरानमा पर्ने नेपाल, सिक्किम र भुटान पनि समेटेका थिए। तिब्बतलाई किनार-किनारमा छोएको भए पनि त्यतातिरको उल्लेख थिएन। यसरी २७–२८ टुक्रामा अटाएको नेपालको नक्सा हाम्रो हात लाग्यो।

नेपाललाई कहिल्यै यसरी नक्सामा नदेखेका हाम्रोनिम्ति त्यो पहिलो अनुभव गजबको थियो। त्यो एक इन्च बराबर चार माइलको नक्सा थियो। यसरी नक्साका २७–२८ वटै टुक्रा एकै ठाउँमा मिलाएर राख्ने हो भने झन्डै २५ फिट लामो हुन्थ्यो।

हामीले त्यो टुक्राटुक्रा नक्सा ल्याएर नैनसुतमाथि टाँस्यौं र एउटै बनायौं। त्यो राखेर हेर्न हामीले त्यतिकै ठूला टेबल पनि बनाएका थियौं। अब त्यो नक्सा मात्र भएर हुन्थेन। त्यसमा सिमाना छुट्टिनु पर्थ्यो। पेन्टोग्राफको प्रयोगले थप चार गुणा ठूलो बनाउन सकिन्थ्यो। त्यसरी हामीले नै गोरखा, लमजुङ र कास्की कहाँनिर छुट्टिन्छ भनेर सिमाना अलग पारिदियौं। त्यसैगरी त्यो नक्साले देखाएको र हामीसँग भएका आधार राखेर अन्तर्राष्ट्रिय सिमाना पनि खिच्यौं। यसरी मोटामोटी नक्सा तयार भयो।

एक जना मकहाँ बराबर आइरहने दिलबहादुर चित्रकार थिए। उनलाई त्यो नक्सा हेरेर चित्रमा उतार्न लगाएँ। त्यसनिम्ति मखनका एक जना चित्रकारकहाँबाट ठूलो बेलायती क्यानभासहरू ल्याएको थिएँ। रातदिन लगाएर जिल्लैपिच्छे तिनका मौजासमेत छुट्टिनेगरी नक्सा कोर्न लगाएँ। त्यसैमा अवस्थितिअनुसार मुख्य गाउँहरू पनि उल्लेख गर्न लगाएँ।

त्यो बेलाको नक्सामा दार्चुलाको लिम्पियाधुरा पनि लेख्न लगाएको मलाई अहिले पनि सम्झना छ। खोजी गरे त्यो नक्सा अहिले पनि तथ्यांक विभागमा भेटिन सक्छ। हामीले काली नदीको हिसाबले नै त्यो पछ्याएका थियौं।

तयार भएको नक्सा जति हेर्‍यो, त्यति राम्रो लाग्न थाल्यो। जिल्ला मात्र होइन, गाउँहरू समेत कहाँ पर्छ भन्ने त्यसमा उल्लेखित थियो। चित्रकार लगाएरै बनाएकाले हेरुन्जेल पनि झिलिमिली लाग्थ्यो।

त्यतिबेलै त्रिपुरेश्वरमा एउटा ठूलो प्रदर्शनी भएको थियो। घरेलु तथा साना उद्योग कार्यालयको चौरमा आयोजित त्यो विशाल प्रदर्शनी परोपकार संस्थाले गरेको हो कि जस्तो लाग्छ।

हामीले यस्तो राम्रो नेपालको नक्सा पहिलोपटक तयार पारेपछि त्यसलाई प्रदर्शनीमा राख्ने निष्कर्षमा पुग्यौं। आयोजक पनि उत्साहित भए। त्यो नक्सा हेर्न नेपालमा कुन ठाउँ कहाँ छ भन्ने पत्तो नपाएका मानिसहरूको भिड लाग्यो। त्यो प्रदर्शनीमै राखिएका वस्तुमध्ये सर्वाधिक रुचाइएको आधारमा नेपालको नक्साले प्रथम पुरस्कार पनि पायो। संख्या विभागमा स्वर्ण पदक आएको थियो।

त्यही नक्सालाई आधार बनाएरै हामीले मुलुककै पहिलो आधुनिक जनगणनाको रिपोर्ट त्यसको करिब सात वर्षपछि अर्थात् बि.सं. २०१४ सालमा तयार पारेका थियौं।

नेपालको पहिलो नक्सा तयार पार्दा हामीलाई सिमाना सम्बन्धी कुनै बाधा अवरोध आइपरेको थिएन। त्यो बेला त्यस्तो विवाद हुने अवस्थै थिएन। तिब्बत चीनको नियन्त्रणभित्र आइसकेपछि र चीनसँग भारतको लडाइँ सुरू भएपछि बल्ल यी सीमावर्ती भेगप्रति चासो बढेको हो। बरू ब्रिटिश भारतले उति बेला आफ्नो नक्सा निकाल्दा त्यसमा नेपाल पनि उल्लेख गरिदिएकै कारण पहिलो नक्सा निकाल्न हामीलाई मद्दतै पुगेको थियो।

यी सब मामिलामा त्यो उदार समय थियो, जसलाई अहिलेको परिस्थितिसँग दाँज्न मिल्दैन।

(सेतोपाटीमा लामो समय शृंखलाबद्ध प्रकाशित ‘सत्यमोहन जोशीको आत्मकथा शृंखला’ बाट। उक्त शृंखला गिरीश गिरीले लेखेका हुन्।)

-सेतोपाटीबाट

प्रतिक्रिया
सम्बन्धित समाचार