शनिबार, अशोज २९, २०७९
नेपालको अस्तित्व जोगाउने कि विघटन पर्खिएर बस्ने !

नेपालको अस्तित्व जोगाउने कि विघटन पर्खिएर बस्ने !

के आउने मङ्सिर ४ ले नेपाली मतदातासँग देश जोगाउने क्षमता र निष्ठा छ भन्ने कुरा सावित गर्न सक्दछ ?


  • स्वदेश नेपाल
  • शनिबार, अशोज २९, २०७९

केशवप्रसाद भट्टराई 

राजा त्रिभुवन, महेन्द्र, मातृकाप्रसाद कोइराला , विश्वेश्वरप्रसाद कोइराला, सुवर्ण समशेर जस्ताहरू हुँदा पनि मुलुकको प्रणालीले स्थिरता पाउन सकेन । राजा वीरेन्द्र, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, र गिरिजाप्रसाद कोइरालाहरू हुँदा पनि राजनीतिक प्रणालीले स्थिरता पाउन सकेन ।

तर  दोष राजालाई दिइयो । वास्तविक रुपमा राजा हटेको पनि १५/१६ बर्ष भइसकेको छ  तर पनि मुलुकमा राजनीतिक स्थिरता छैन । प्रचण्डले झन्डै ६ बर्ष अघि प्रेस सेन्टरको कार्यक्रममा संसदीय प्रणालीप्रति आफ्नो आस्था नभएको बताएको पढियो । एमालेले पनि शक्ति सन्तुलनको वर्तमान अवस्थाको कारणले मात्र यो प्रणाली अवलम्वन गरेको बताएको छ I राजनीतिक प्रणालीप्रति नै दलहरुको एकत्व र निष्ठा नभए पछि राजनीतिक स्थिरता सम्भव नै भएन ।

वर्तमान संसदीय प्रणालीप्रति काङ्ग्रेसको मात्र विश्वास रहेको देखिन्छ  तर ऊसँग यसलाई सर्वस्वीकार्य बनाइरहने राजनीतिक सामर्थ्य देखिंदैन ।

वर्तमान राजनीतिक दलहरूले दल मात्र बनाए, मुलुककोलागि संस्था बनाएनन । न अदालतलाई अदालत बन्न दिए, न संवैधानिक निकायहरुलाई संवैधानिक नै । मन्त्रालय मन्त्रालय रहेन , विभाग विभाग रहेन । दूतावास दूतावास बनेन , सबै दलहरुको शाखा मात्र बने – बनाइए ।

बुद्धिजीवी दलका . . . बने ! कर्मचारी दलका . . . भए !

देशका कोही भएनन् । सबैलाई दल भए पुग्यो , देश चाहिएन । देश कसैको भएन जनताका कोही भएनन् । विधि र प्रणालीका कोही भएनन् । दल जनताका भएपछि, अदालत विधि र पद्धतिका भएपछि, वौद्धिक समुदायहरूले राज्यको चेतनाको नेतृत्व लिएपछि र ट्रेड युनियनहरूले श्रेष्ठ उत्पादन र उत्कृष्ट सेवा प्रदायनको प्रत्याभूतिको नेतृत्व लिएपछि, संवैधानिक निकायहरू राज्य प्रवन्धनका आधार स्तम्भ भएपछि पो मुलुकले राजनीतिक स्थिरता प्राप्त गर्दछ ।

तर त्यो त्यसै हुँदैन । राष्ट्रिय स्वतन्त्रताको मूल्यहुन्छ र साहसले त्यसलाई चुक्ता गर्नुपर्दछ । कोही पाक चुंग ही र कोही ली कुवान यु बन्नै पर्दछ । कोही नरसिंह राव र कोही मनमोहन सिंह आउनै पर्दछ । कोही देंग सियाओ पेंग वा एन्जिला मार्केलको उदय हुनै पर्दछ ।

कसैलाई ती बनाउनु पर्दछ I बन्न सघाउनु पर्दछ  । बन्न प्रेरणा दिनुपर्दछ । हामीलाई यो अराजकता र अनुशासनहीनताको छाडातन्त्र होइन । व्यवस्थित, कठोर तर मुलुकप्रति इमान्दार र उत्तरदायी शासक चाहिन्छ भनेर भन्न सक्नु पर्दछ । त्यसको पक्षमा सडकमा आउने हिम्मत गर्नुपर्दछ ।

नभए देशको विघटन र अन्त्यको लागि प्रतीक्षा गरेर बसे हुन्छ !

हजारौं स्कूल, कलेज र विश्वविद्यालयहरू हुँदा, लाखौं लाख सचेत मतदाता र जनता भएको दावी गरिरहँदा, हजारौं नागरिक समाज संगठनहरू र सयौं अखवार, रेडियो र टेलिभिजन र अनलाइन माध्यम हरूहुँदा, लाखौंले इन्टरनेटमा पहुँच बनाइसक्दा , र ९० प्रतिशतमाथि साक्षर भएको दावी गरिँदा पनि एक प्रतिशत वा सो भन्दा पनि कम मात्र साक्षर हुँदा निर्माण भएको देशलाई जोगाउने सामर्थ्य रहेनछ भनेर बुझ्नु पर्ने हुन्छ ।

एक्काइसौं सताव्दीका हामी स्वतन्त्र राष्ट्रको लायक नागरिक रहेनौ भनेर स्वीकार गर्नुपर्ने हुन्छ ।

एउटा मात्र प्रश्न र टिप्पणी पाठकहरूलाई !

के आउने मङ्सिर ४ ले नेपाली मतदातासँग देश जोगाउने क्षमता र निष्ठा छ भन्ने कुरा सावित गर्न सक्दछ ?

यो वा त्यो गठबन्धन वा तालमेलका नेतृत्वहरूले या नयाँ आएका दल र स्वतन्त्रहरूको अराजक र लक्षहीन भीड त्यो सक्दछ ?

नयाँ भनिएका दलहरू एउटा लक्ष्यमा उभिन नसक्ने ,आकाश-पातालको गुड्डी हाक्ने स्वतन्त्र भनिनेहरू आपसमा बसेर एउटा उम्मेदवार तय गर्न नसक्ने अनि यी महाअसुरको स्वरूप धारण गरेका दलहरूलाई तह लगाएर देशलाई नयाँ दिशा र भविष्य दिने ?

तर हाम्रो सामूहिक कायरता र विवेकशून्यताका कारण विचारहीन, सिद्धान्तहीन, निष्ठाविहीन , कलाविहीन ,संस्कारहीन र निराशाजनक कर्मकाण्डमा यो र त्यो पक्षमा घस्रिरहेका छौँ । आफ्नै विश्वास र विवेक विपरितका दलहरूलाई भोट माग्दै छौं । दलकै नेताहरूलाई आफूमाथि र आफ्नो दलको क्षमतामाथि विश्वास छैन ।

आफू रहेको गठबन्धन माथि विश्वास छैन तर भरिएको र भरिदिएको टेप बजाइरहेका छन् ।

कठै हामी, हाम्रा दलहरू, र हाम्रा स्वतन्त्र उम्मेदवारहरू !

प्रतिक्रिया
सम्बन्धित समाचार