बुधबार, अशोज १२, २०७९
उच्च हिमाली क्षेत्रमा मात्रै उम्रने ‘जौं’को जमरा लगाएर टीका लगाउने परम्परा कसको ? दहीमा अक्षता मुछेर टीका लगाउने परम्परा कसको ?

उच्च हिमाली क्षेत्रमा मात्रै उम्रने ‘जौं’को जमरा लगाएर टीका लगाउने परम्परा कसको ? दहीमा अक्षता मुछेर टीका लगाउने परम्परा कसको ?

दसैंको टीका र झांग्ज़ुंग सभ्यता !


  • स्वदेश नेपाल
  • बुधबार, अशोज १२, २०७९

-मोहन लामा रुम्बा

दहीमा अक्षता मुछेर टीका लगाउने परम्परा कसको ? उच्च हिमाली क्षेत्रमा मात्रै उम्रने जौं को जमरा लगाएर टीका लगाउने परम्परा कसको ? हाम्रो लामाले ह्लो छारमा आफ्नो स्टदेवलाई जौं को जमरा चढाउने ! जौं को सातु (चम्पा) हिमालको टाकुरोमा गएर हावामा छर्कने परम्परा कसको ? जौं द्वारा बनाएको जाँड लाई सेरकेम गरेर आफ्नो स्टदेव(सुङमा) लाई चढाउने परम्परा कसको ?

नेपालको पर्वते हिन्दुले दहीमा अक्षता मुछेर टीका लगाउने परम्परा देखेर यो नै हिन्दुको परम्परा हो भनेर उफ्रन आउने फ्याउरोहरुले भारतमा मात्रै हिन्दु ७९.८% अर्थात भारतमा हिन्दु ९६.८ करोड जनसंख्या छन् त्यस बाहेकका अन्य देशमा रहेकोे समेत जोडेर हेर्ने हो भने एक अरब होलान्। त्यसमध्ये आधा दक्षिण भारतको हिन्दुले दसैं मान्दैन, उत्तर भारतमा पनि बंगालकोले मात्रै देवी दुर्गाको पुजा गरेर मनाउने गर्छन् बाँकी उत्तर भारतीय हिन्दुले राम रावणको प्रसंग जोडेर मनाउने गर्छ तर कसैले पनि अक्षेताको टीका लगाएर मनाउने गर्दैन न त कसैले कानमा जमरा सिउरेर दसैं मनाउने गर्छ, यहीँ तराईको हिन्दुले पनि टीका लगाएर मनाउने गर्दैन र प्रमुख पर्वको रूपमा पनि लिनेे गर्दैन।
दहीमा मुछेर टीका लगाएर दसैं मनाउने बाँकी हिन्दु को त ? यिनको संख्या कति ? नेपालको पहाडी इलाकामा बसोबास गर्ने खस बाहुन क्षेत्रीले मात्रै टीका लगाउने भएपछि यिनको जनसंख्या नेपालमा पहाडे ब्राह्मण ३२ लाख २६ हजार ९ सय ३ संख्यामा छन् भने क्षेत्रीहरु ४३ लाख ९८ हजार ५३ संख्यामा छन्।

अब सामान्य दिमागले सोचौं एक अरब हिन्दुको मुलधार हो की मुस्किलले ७५ लाख पुगनपुग हिन्दुले अप्नाएको संस्कृति मुलधार हुन् ? यो संस्कृति बहुसंख्यक हिन्दुको हो की हिमालय भूखण्डको सभ्यता हो ?

बुद्ध जन्मनु (५०० ई.पु अगाडि) गंगा मैदान उत्तर भारतमा बस्ने समुदायको एउटा संस्कृति उदाई रहेकोे बेला काठमाडौ उपत्यकामा किराँतकाल रहेकोे थियो भन्ने विभिन्न वंशावली बाट अनुमान् मात्रै गर्न सक्छौं लेख्य प्रमाण पाइएको छैन, किनभने लिच्छविकाल त ई सा को चौथो शताब्दी बाट मात्र सुरु हुन्छ, त्यसपछि मात्रै लेखिएको शिलालेख पाउने गर्छ।

ई.पु ५०० वर्ष अगाडि नेपालको उच्च हिमालय भूखण्ड बोन साम्राज्य अन्तर्गत पर्दथियो। त्यतिबेला आजको तिब्बत भन्दा अलग्गै अस्तित्व बोकेर बनेको यो बोन साम्राज्य मानव विकासको चरणमा धातु युग पछी कृषि युगको सुरुवाती संगै आरम्भ भएको “बोन” सभ्यता भन्ने मान्छन् इतिहासविदहरु।

यो बोन साम्राज्य आजको तिब्बतको दक्षिण पश्चिम् भाग नेपालको मध्ये भाग देखि उच्च पहाडी हिमालय देखि पश्चिम् तर्फ बढेर भारतको उत्तर खंड हिमाञ्चल प्रदेश जम्मु कास्मिर लेह लद्दाख हुँदै उत्तरमा कासगर सम्म बिशाल हिमालय क्षेत्रमा फैलिएको कैलाश मानोसरोवर केन्द्रविन्दु भएको “बोन” साम्राज्य थियो जसलाई झांग्ज़ुंग/ शाङ्सुङ सभ्यता भन्ने गरिन्छ।

चीन सरकारले यसको उत्खनन गर्न भर्खरै एक दुई दसक अगाडि मात्रै खुला गरेकोले पुरातत्त्वविदहरु अहिले नविन खोजी कार्यमा जुटेका छन्।

यो सभ्यता तिब्बती बोन मताम्बलीहरुको अनुसार १८ हजार वर्ष पुरानो तोनपा शेनराब मिवोचेले स्थापना गरेको मान्छन् तर समयलाई प्रमाणीकरण गर्न गाह्रो भएता पनि इ:पु ५०० अगाडिको सभ्यता भएकोमा कुनै शंका रहेन।

कैलाश पर्वतको सेरोफेरोमा उदय भएको “बोन” सभ्यता धेरैलाई के लाग्न सक्छ भने “बोन” सभ्यता पुरै भोट बर्मेली
मुलका होलान् भन्ने लाग्न सक्छ तर कुरा त्यस्तो होइन, झांग्ज़ुंग सभ्यतामा नै “खस” जाति र भोट बर्मेली वर्ण दुबैको समागम भएको संस्कृति बोन हो।

इतिहासविद् डा. रमेश ढुंगेल लेख्नु हुन्छ “खस नाम वा शब्द क्षत्रीहरूलाई हियाएर भनिने ‘खसिया’, ‘खसेत्रो’, ‘खासी’ र बाहुनहरूलाई दिईने ‘काठा’ विशेषणको भाषिक व्युत्पत्तिको चर्चा गर्दा खस समुदायबारेका धेरै खस्खस् मेटिन्छ। प्राचीन स्रोतहरूमा खसहरूलाई ‘यक्ष’ जाति भनिएको छ। तिब्बती भाषामा अहिले पनि खसलाई याचे वा खाछे भनिन्छ। तिब्बती स्रोतहरूमा खस राजालाई ‘याचेपा ग्यल्पो’ र खस देशलाई ‘याचे वा खाछे ग्यल्–सा’ भनिएको छ। काश्मिरी पण्डित लामाहरूलाई पनि तिब्बतीमा खाछे वा खाछेपा भनिएको पुराना लेखोट, वंशावली र जीवनीहरू छन्। कैलाश मानसरोवर वा गुँगे–पुराङ् इलाका यक्षराज कुवेरको निवास सुवर्णगिरि (तिब्बतीमा घाङ्री) भएको पौराणिक वर्णन यहाँ स्मरणीय छ।……… यस आधारमा तिब्बतीहरूले चिन्ने चिनाउने ‘याचे’, ‘याचेपा’ वा ‘खाछे’, ‘खाछेपा’ नाम वा शब्द प्राचीन नाम यक्षबाटै उच्चारणका भेदले अपभंरश भएको हो भनेर बुझिन्छ। ‘यक्ष’ जाति भएकोले खसको साम्राज्यलाई ‘याचे’ र राजालाई ‘याचेपा’ र जनता आदिलाई ‘खाछे’ वा ‘खाछेपा’ भनिएको हो।

खसको मष्टो परम्परामा प्राचीन तिब्बती भाषाको दा (धनु) र मी (मान्छे) अर्थात् ‘धामी’ को अर्थ मानव र समाजको उद्धार गर्न सक्ने शक्तिशाली धनुर्धारी व्यक्ति हो। झाँक्री शब्द पनि तिब्बतीकै ‘झ्ाङ् पाही री’ बाझाङ्री (लेखाइमा मजङ्स पही री) हुँदै आएको हो। यसको अर्थ जान्ने वा ज्ञानको पहाड जस्तै मान्छे, भूत–भविष्य–वर्तमान देख्न, निदान गर्न, भूतप्रेत हटाउन, देवता खुशी पार्न, शत्रु दमन गर्न सक्ने भन्ने हुन्छ।

झाङ्रीलाई देवता चढ्दा सघाउने व्यक्ति ‘डाङ्रे’ हो। डाङ्रे वहन गर्ने, धारण गर्ने उपासक भएकोले ऊ देवता बोक्ने, वहन गर्ने वाहन समेत हुन्छ। त्यसकारण, झाङ्री जहाँ हुन्छ डाङ्रे त्यहाँ हुन्छ। उता डाग्–रे (हिजोआज नेपालीमा ढाक्रे) शब्द र डाग्–कर वा ढाग्कर शब्दको सम्बन्ध पनि डाङ्रे (वाहक) सँग भएको देखिन्छ। तिब्बतीको ढाग् रेको अर्थचाहिं भारी बोक्ने, भीरपाखा खोरिया खन्ने भन्ने हुन्छ।”

अहिले नेकपा समाजवादीको चर्चित नेत्री रामकुमारी “झाँक्री” होस् वा एमालेको दिवंगत नेता प्रेम सिंह “धामी” होस् यी सबै यही “झांग्ज़ुंग” सभ्यताको पुजारी को पदवी हुन् जस्तो आजको पण्डित- लामा भनेको जस्तो त्यतिबेलाको “खस” जातिको स्टदेवको पुजारी हुन् भने किराँतको फेदङ्वा, तामाङको बोन्पो-लाबोन, गुरुङको “लमबोन” आदि सबै “झांग्ज़ुंग” सभ्यता कै उपज हुन्।

आजको गुरुङ मगर तामाङ किराँत जाति सबै “झांग्ज़ुंग” सभ्यताको केन्द्र भूमि कैलाश पर्वतको दक्षिण भूभागमा बसोबास गर्ने जाति हुन् त्यसैले खस जातिलाई “याचे वा खाछे भने जस्तै तिब्बतीहरू खस मंग्वर (मगर) र गुरुङलाई ‘मोन्–पा’ भन्थे, जसको अर्थ हिमालको दक्षिण काँठमा बस्ने हो” डा. रमेश ढुंगेल।

विद्वान लर्ड श्री गुरुङ लेख्नुहुन्छ कैलाश पर्वतको बारेमा गुरुङ जातिको बोन परम्परा अनुसार “कैलाश पर्वतलाई “थेबै क्वे” मानसरोवर लाई “छ्योलोम्योँ” भन्ने गरिन्छ भने गुरुङ अवधारणा अनुसार यस पर्वतमा देखिएको भर्‍याङ जस्तो ठाडो आकृतिलाई खेब – तला मानिएको छ। यस्ता कु खेब – नौ तला छन् । यसैगरी गोलाकार रेखालाई स्युर – चक्र मानिएको छ । यस्ता कु स्युर – नौ चक्र छन्। यी कु खेब – नौ तला र कु स्युर – नौ चक्र माथी ईंजि हवा चैंगिये सिँङा – शिवलोक स्वर्ग छ। अत : गुरुङहरु यही कु खेब – नौ तला र कु स्युर नौ चक्र माथी अवस्थित ईंजि त्हवा चैंगिये सिङा शिवलोक स्वर्गमा आफ्नो पितृ विसर्जन गर्दछन् । ईंजि त्हवा चैंगिये सिङार क्येवर स्यो !! भनेर।” लेख्नुहुन्छ।

तामाङ जातिको प्राचीन इतिहास खोताल्ने हो भने पनि कैलाश पर्वतकै दक्षिण भूखण्डमा पाइन्छ, इतिहासविद् राजकुमार दिक्पाल लेख्नुहुन्छ ” तामाङ जातिको प्राचीन इतिहास पुष्टि गर्ने आधारका रूपमा उपल्लो मुस्ताङमा पाइएको एक वंशावलीलाई पनि लिन सकिन्छ। हिमाली क्षेत्रको अध्ययनका लागि प्रकाशित एक जर्नलमा छापिएको एउटा वंशावलीमा ‘ता–माङ’ शब्द परेको छ । मुस्ताङ भेगका राजा से वाङ नोर्वु (सन् १६८८–सन् १७५५)को समयमा लेखिएको राजा ङारी गुङथङको वंशावलीमा राजा बुम दे गन (सन् १२५३–सन् १२८०)ले बनाएको ६ वटा गढीमध्ये से मोन ता–माङको आक्रमण रोक्न वा उनलाई दबाउन ती राजाले मुक्तिनाथमा स्रिन गढी र अर्का आक्रमणकारी मोन डोल्पो लाई दबाउन डोल्पोमा ओम मणि पद्मे हुँ गढी बनाए (आलेक्जेन्डर डब्ल्यू. म्याकडोनाल्ड, ‘कैलाश’ वर्ष १५ अङ्क ३–४–सन् १९८९ः१७०)।”

यसबाट के देखिन्छ भने आजको खस जाति (पर्वते बाहुन क्षेत्री) तामाङ गुरुङ मगर किराँत (किराँत लिच्छविकाल पछी पुर्व तर्फ लागेको) आदि जातिहरुको आदिम संस्कृतिक उद्गम जीवन पद्धति यही कैलाश पर्वतको सेरोफेरोमा उदय भएको हो। धातु युग देखि शास्त्रीय युग (लिपीको विकास) सम्म आएको झांग्ज़ुंग सभ्यताको अंशहरु नै हाम्रो मौलिक संस्कृति हुन।

त्यसैले शास्त्रीय रूपमा हिन्दु बौद्ध “शास्त्र अनुसार” नभएको हाम्रो कयौं संस्कृति हुने गर्छ, त्यसमध्ये यो एक हो दहीमा भिजाएर चामलमा मुछिएका सेतो टीका लगाउने चलन ! न त यो शास्त्रीय रूपमा आएको वैदिक हिन्दुका चलन हुन् न त यो शास्त्र अनुसार बौद्धको चलन नै हुन् यो त लिपीको विकास हुन अगाडिको सिकारी युग बाट कृषि युगमा प्रवेश गर्ने बेलाको श्रुति परम्परामा आधारित “झांग्ज़ुंग” सभ्यताको “मस्ट” “बोन” संस्कृतिको अंश हुन्। अझै पनि कर्णाली प्रदेशमा पर्वते बाहुन क्षेत्रीहरु दहीमा मुछिएको सेतो टीका नै लगाउँछन्, रातो टीका शास्त्रीय परम्पराको बिकास भएपछि देवी उपसना गर्ने क्रममा रातो टीकाको चलन चलेको हो।

कयौं लामाहरुले मलाई दसैंमा कहाँनेर छ टीका लगाउने चलन हाम्रो शास्त्रमा ? भनेर सोध्छन् ! सोध्नेहरुलाई मेरो जवाफ् यही हो। गंगा मैदानमा जन्मनु भएको साक्य मुनी बुद्ध त टाढाको कुरा वैदिक काल भन्दा पनि अगाडिको हाम्रो पू्र्खाहरुले सिकारी युगबाट कृषि युगमा प्रवेश भैरहेको बेलाको हिमालय सभ्यताको संस्कृति हो टीका ! जसरी मेरो थर “रुम्बा” छ यो रुम्बा थर कुनै बौद्ध शास्त्र अनुसारको होइन र रुम्बा थरले वाइवा संग विहेवारी गर्न हुन्न भन्ने सामाजिक नियम पनि बौद्धको होइन, यो त बोन परम्पराको हो त्यस्तै हो यो टीका लगाउने परम्परा पनि न त शास्त्रीय रूपमा आएको बौद्धको हो न त शास्त्रीय रूपमा आएको वैदिक हिन्दुको नै हो, चामलको अक्षेता दहीमा मुछेर टीका लगाउने परम्परा हामी मतुवाली सम्म “बोन” परम्परा बाट आयो भने पर्वते बाहुन क्षेत्रीहरुमा “मस्ट” संस्कृति बाट आयो। मस्ट र बोन दुबै झांग्ज़ुंग सभ्यताको उपज हुन्।

अत: दसैंमा टीका लगाऔं ! हिमवत् खण्डको संस्कृति जोगाऔं ! हजारौं वर्ष अगाडि देखिनको हाम्रो पू्र्खाको संस्कृतिरुपी नासोलाई जगेर्ना गर्दै भावी पिढीहरु सम्म हस्तान्तरण गर्दै लैजाऔं !!

प्रतिक्रिया
सम्बन्धित समाचार