आइतवार, साउन २९, २०७९
२००७ साल घटना र काठमाडौं जिल्ला

२००७ साल घटना र काठमाडौं जिल्ला


  • स्वदेश नेपाल
  • आइतवार, साउन २९, २०७९

परशु घिमिरे । वि.सं.२००७ सालको जनक्रान्तिमा यो जिल्लाको भूमिकाको उल्लेख गर्नुभन्दा अघि नेपालको राष्ट्रिय जनजागरणका क्षेत्रमा काठमाडौंका कतिपय ऐतिहासिक घटनाक्रमको पृष्ठभूमि सर्सती हेर्नु उचित हुन्छ । यसो गर्नुको प्रमुख कारणहरूमध्ये एउटा के हो भने राजधानीको नाताले राजनैतिक जनचेतनाको लहर काठमाडौंका अन्य ठाउँमा भन्दा चाँडै पैmलियोस् भन्ने थियो, भयो पनि त्यस्तै ।

दोस्रो, नेपाली जनक्रान्तिमा राजा र जनताले मिलेर नेपालको एक शक्तिसँग जुध्नु परेको अद्धितीय पक्ष पनि भएकाले र राजा र जनताको संयुक्त प्रचेष्टाहरू राजधानी काठमाडौंमा मात्र विशेष रुपले सम्भव भइआएकाले यो पक्षलाई बिर्सिनु नेपालको राजनैतिक जनजागृतिको वास्तविक रुप चिन्न नसकेको बराबर हुनेछ ।

काठमाडौंको यो संघर्षको थालनी प्रधानमन्त्री जंगबहादुर जबराको मृत्यु सँगसँगै भएको मान्न सकिन्छ । किनभने जंगबहादुर जबराले प्रधानमन्त्रीको पदमा उनका भाइ–भतिजाहरू रोलसँग उत्तराधिकारी हुँदै जाने जुन व्यवस्थाको सूत्रपात गरे त्यसले देशको प्रशासनमा वास्तविक नरेशहरूको भूमिका नगन्य हुने र राजाहरू आफ्ना प्रधानमन्त्रीको चंगुलमा सधैं फसिरहनु पर्ने लक्ष्ण स्पष्ट देखिएको थियो । यस राजनीतिक प्रपञ्चबाट उम्कन नेपाल नरेशहरूले समय समयमा राणा शासहरूको विरुद्ध जुन भूमिका खेल्दै आएका छन्, सोपछि नेपाल जन–क्रान्तिकै अग्रभाग हुन गयो । नेपालले निरंकुश राणाशासनबाट देशलाई मुक्तगर्न चालेका कदमहरूमा प्रथम उल्लेखनीय घटना ३८ सालको पर्व हो ।

नरेन्द्र विक्रम शाहको नेतृत्वमा माथवर सिंह थापाका छोरा कर्नेल विक्रम सिंह थापा, सनक सिंह टण्डनका छोरा कर्नेल इन्द्र सिंह, धीरमान सिंह बस्नेत, कुलमान सिंह बस्नेत, कर्नेल चन्द्र सिंह पाण्डे, मेजर संग्रामशूर बिष्ट, सुब्बा टंकनाथ र होमनाथ आदि ५२ जना व्यक्तिले प्रधानमन्त्री रणोद्धीप सिंह र धीर शम्शेरको १ जनवरी १८८२ (वि.सं.१९३८) को दिन हत्या गर्न योजना बनाएका थिए । तर, योजना पूरा हुन नपाउँदै यसको पूर्वसूचना कर्नेल उत्तरध्वज राजभण्डारीमार्पmत धीर शम्शेरले पाइसकेकाले जम्मैका जम्मै कैदमा परेका थिए । यीमध्ये ४१ जना निर्ममता साथ काटिए तथा १० जना बाहुनहरू मुडिएर देश निकालिनेमा परेका थिए । नरेन्द्र विक्रम, बम वीर सिंह आदिले भारतको चुनारगढमा कैदी जीवन बिताउनु परेको थियो ।

राणा शासनको तख्ता पल्टाउने अर्को प्रयास जंगबहादुर जबराका निर्वासित छोरा रणवीर जबरा र उनका सहयोगीबाट वि.सं. १९४५ (सन् १८८८) मा गरिएको थियो । तर, यो विद्रोहलाई एक पारिवारिक शक्ति संघर्ष भन्न सकिन्छ, यद्यपि यो निक्कै व्यापक रुपमा चम्केको थियो । हनुमाननगरदेखि बुटवलसम्म विभिन्न ठाउँमा दंगाहरू भएका थिए । विद्रोह दमन गरिएपछि करिब ५२ जना व्यक्ति दण्डित भएका थिए । प्रधानमन्त्री चन्द्रशम्शेर जबराको पालाका कौसिल अड्डाका सुब्बा कृष्णलालले लेखेका मकैको खेतीले अप्रत्यक्ष रुपले भए पनि राणा प्रशासनको आलोचना गरेर जनचेतना उमार्ने चेष्टा गरेका थिए । फलस्वरुप उनलाई नौ वर्षको र उनका साथीहरू प्रत्येकलाई पाँच वर्षको काराबासदण्ड दिइयो । काराबास मै कृष्णलाल बितेका थिए । वि.सं. १९१३ को नेपाल–तिब्बत सन्धिको आलोचना गरेको अपराधमा देश निकाला गरिएका देवीप्रसाद सापकोटाले काशीबाट प्रकाशित गर्ने गरेका गोर्खाली साप्ताहिक पत्रिकाका प्रतिहरू लुकी चोरी काठमाडौंमा ल्याएर पढिन्थे । त्यस पत्रिकाले पनि राजनीतिक चेतना जगाउनमा निक्कै मद्दत गरेको थियो ।

भारतमा महात्मा गान्धीको नेतृत्वमा सञ्चालित स्वदेशी आन्दोलनको देखासिकीमा तुल्सी मेहरले ई.सं.१९२६ देखि चर्खा प्रचारको आडमा जन जागरण गराउन खोजेका थिए । तर, प्रधानमन्त्री भीमशम्शेरबाट उनी कैद भएपछि सो काम स्थगित भयो । तिनताका पुस्तकालय खोल्नमा पनि प्रतिबन्ध थियो । यसको अप्रत्यक्ष प्रतिवाद स्वरुप काठमाडौंमा ४५–४६ व्यक्तिले पुस्तकालय खोल्ने अनुमति मागी आवेदन पत्रमा हस्ताक्षर गरेका थिए । तर, तिनीहरू जम्मैलाई सय सय रुपैयाँ दण्ड पनि गरियो । अनुमतिको त कुरै भएन । तर यस काण्डले पनि जागरणमा ठूलो सघाउ पराएको थियो । यसै जागरणको फलस्वरुप भनौं नेपालको प्रजातन्त्र स्थापना गर्ने स्पष्ट लक्ष्य राखेर वि.सं.१९८८ मा प्रचण्ड गोरखा नामक एक संस्था काठमाडौंमा गुप्तरुपले संगठन भएको थियो । तर, यस योजनाको पनि अघिबाटै सुइँको पाएर यसका योजनाकारहरूको धरपकड सुरु भएको थियो । तीमध्ये खंगडमान सिंह, अंगमान सिंह, मैनाबहादुर र रंगनाथ शर्मालाई आजीवन कारावासको सजाय दिएको थियो ।

काठमाडौं जनचेतनाको विकासको क्षेत्रमा वि.सं. १९५० मा माधवराज जोशीले स्थापना गरेको आर्य समाजको उत्साही युवकहरूले वि.सं.१९९२ मा स्थपना भएको महावीर स्कूलको पनि महत्वपूर्ण देन छ । नेपाल प्रजा परिषद् नामक एक गुप्त संगठनको पनि तिनताकै (वि.सं.१९९३ जेठ २२ गतेका दिन) काठमाडौंको झोछेँ टोलमा स्थापना भएको थियो । अर्को वर्ष (वि.सं.१९९४) मा काठमाडौंको असनमा नेपाली नागरिक अधिकार समिति पनि स्थापना थियो । वि.सं.१९९७ असारदेखि उक्त संस्थाहरू मार्पmत काठमाडौंमा एकतन्त्रीय शासन विरोधी पर्चाबाजी गर्ने काम जोडतोडले सुरु भयो । तर, यो कार्यक्रम चार–पाँच महिना मात्र चल्न सक्यो । शंकास्पद ठानिएका व्यक्तिहरूको जुन धरपकड कात्तिक २ गते शुरु भएको थियो । त्यसमा पर्ने व्यक्तिहरूमाथि चलेको मुद्दाको निर्णय विशेष अदालतले वि.सं.१९९७ मा (१९ जनवरीको दिन) सुनायो । अदालतले सुनाएअनुसार शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाललाई ज्यान सजाय भयो । र, आठ जनालाई जन्म कैद भयो । अरु विभिन्न थरीका सजाय पाउनेहरू अझ बढी थिए । शुक्रराज शास्त्री पचली र मचलीको बीच तथा धर्मभक्त माथेमालाई सिफलमा झुण्ड्याइएको थियो । त्यस्तै शदरथ चन्द र गंगालाई एकैसाथ गोली ठोकियो । बलबहादुर पाण्डे जेलमै बित्नु भयो ।

दोस्रो विश्वयुद्धपछि सम्पूर्ण अफ्रो–एसियाली संसारमा आएको प्रजातन्त्र र स्वतन्त्रता संग्रामको लहर नेपालमा पनि नआई छोडेन । देशलाई राणा शासनको कठोर शासनबाट मुक्त गर्ने अभियान दिन प्रतिदिन चर्किंदै गयो । विश्वयुद्ध चलिरहेकै समयमा पनि यो आन्दोलनको बिजारोपण भइसकेको थियो । जुद्धशम्शेर जबराको रजाइँ कालमा गंगालाल, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा तथा दशरथ चन्द जस्ता सुधारवादी नवयुवकहरूले यस आहुतीमा शहीद हुनुपरेको कुरा माथि उल्लेख भइसकेको छ । त्यसपछिका उल्लेखनीय घटनाहरूमध्ये वि.सं.२००५ मा नेपाल प्रजा पञ्चायत नामक संस्थाको स्थापना एक हो । वि.सं.२००७ सालमा काठमाडौं जिल्लाले जुुन घतलाग्दो तरिकाले मुक्ति संग्रामको शंखनाद फुक्यो, त्यसको उदाहरण विश्वको इतिहासमा अर्को पाइँदैन । उक्त घटनाको चार दिनपछि राणाहरूको सम्पूर्ण कोसिस असफल पार्दै विमानमा काठमाडौंबाट नयाँ दिल्लीको निमित्त प्रस्थान राजा १५ फेब्रुअरी १९५१ मा काठमाडौं फर्किए । २००७ साल फागुन ७ गते ऐतिहासिक घोषणा गरेपछि नेपालमा प्रजातान्त्रिक सरकार गठन भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट