शनिबार, साउन २१, २०७९
सुखै सुख दिएर आफ्ना सन्तानलाई कमजोर नबनाउँनुहोस्

सुखै सुख दिएर आफ्ना सन्तानलाई कमजोर नबनाउँनुहोस्


  • स्वदेश नेपाल
  • शनिबार, साउन २१, २०७९

-राम ढुंगाना

भनिन्छ नि मानिसको शरीर भनेको रबर जस्तै हो।यस्लाई जति तन्कायो उति तन्किन्छ।यसो भन्नूको तात्पर्य हो-यदि तपाईं अल्छी गरेर बस्नु हुन्छ भने स्वाभवैले तपाईंको शरीर बिस्तारै अल्छी बन्दै जान्छ।मिहिनेत गर्ने बाटोमा अगाडि बढ्नु भयो भने शरीर फुर्तिलो हुन्छ र काम गर्न सक्ने मिहिनेती हुनुहुन्छ।

हिजोआज आधुनिकता र शहरीकरण बढ्दै गए सँगै नेपाली युवायुवतीमा काम गर्ने बानी हराएको छ।जसकारण हाम्रा सन्तान अल्छी हुने काममा मन नलगाउँने गरेका छन्।सामाजिक संजाल फेसबुक,टिकटक,इन्सटाग्राम र युट्युबमा धेरै समय बिताउँने गरेका कारण शाररीक र मानसिक रुपमा समेत नकारात्मक असर परिरहेको छ।यी चीजहरुबाट आफ्ना सन्तानलाई अलग्गै राख्न सकिदैन र राख्न हुँदैन पनि।तर,अत्याधिक समय मोबाइलमा बिताऊँनाले युवाहरुको ऊर्जावान र महत्वपूर्ण समय यत्तिकै खेर गईरहेको हुन्छ।

काम गर्ने भनेको बाध्यता हुने र अभावमा भएकाहरुले मात्र हो भन्ने अभिभावकको गलत सोचाई र उमेर पुगिसक्दा पनि सानै छन् भन्ने अभिभावको सन्तान प्रतिको मायाको कारण घर र घर बाहिरको काम लगाऊँने गरिएको छैन।आर्थिक हिसाबले सम्पन्न धनीका सन्तानले वरको सिन्को पर समेत सारेका हुँदैनन्।धनी मात्र होइन मध्यमबर्गीय अभिभावकका सन्तानले समेत कामको अनुभव गरेका हुँदैनन्।जुन भविष्यमा आफैलाई प्रतित्युपादक हुन्छ।

विकसित देशमा १६-१७ बर्षको उमेरमै त्यहाँका युवाहरु आफ्ना अभिभावक सँग आश्रित हुन छोड्छन्।आफै काम गर्छन् पढाई खर्च र आफ्नो लागी दैनिक खर्च समेत आफै जुटाउँछन्।अभिभावक जतिसुकै धनी र सम्पन्न भएपनी सन्तानले काम गरेरै आफ्नो लागी जोहो गर्नपर्छ भन्ने मानसिकता बोक्छन् र त्यो एक किसिमको संस्कार पनि हो।जसकारण त्यहाँका मानिस मिहिनेती,कामकाजी हुन्छन्।आफैमा निर्भर रहन्छन् र कसैप्रती आत्मनिर्भर हुन जरुरी छैन।

केहि बर्ष पहिला हामी विश्वको धनी र सम्पन्न देशका राष्ट्रपति बाराक ओबामाका छोरीहरुले रेष्टुरेण्टमा वेटरको काम गरिरहेका समाचार पढेका थियौ।ओबामाका सन्तानलाई पैसाको दुःख र कमी भएर रेष्टुरेण्टमा काम गरेका पक्कै थिएनन्।ऊनीहरु आफैमा आत्मनिर्भर हुन चाहेर हो काम गरेका।अमेरिकामा चाँहे गरिब होस् या धनीका सन्तान सबैले काम गर्नैपर्ने संस्कारका कारण पनि ऊनीहरुले काम गरेका हुन्।अर्को कुरा,राष्ट्रपती बाराक ओवामा थिए ओबामाका सन्तान थिएनन्।राष्ट्रपती भएर तलब,भत्ता ओबामाले बुझ्थे सन्तानले होइन।हाम्रो नेपालमा जस्तो बाबुआमाको सम्पत्तीमा घमण्ड गर्ने,त्यसमै मोजमस्ती गर्ने चलन विकसित देशमा हुँदैन।

अध्ययन लगायत अरु कामको सिलसिलामा विकसित देश पुगेका नेपाली युवायुवतीले डिप्रेसनमा परेर आत्महत्या समेत गरेका खबर बेलाबखत सुन्ने गरेका छौं।त्यस पछाडिको कारण केलाएर हेर्ने हो भने हाम्रा सन्तानमा काम गर्ने संस्कार नभएरै हो।२०-२२ बर्षको उमेरसम्म घरमा आफूले खाना खाएको थाल,पिलेट समेत माझेका हुँदैनन्।आफ्नो कोठा सफा गर्ने,कपडा मिलाउँन समेत आउँदैन।शरीरको भित्री बस्त्र समेत बाथरुममा यत्तिकै फ्याकेर हिड्ने गरेका हुन्छन्।जब ऊनीहरु दिनको १२-१५ घण्टासम्म काम गर्नपर्ने देशमा पुग्छन् काम गर्ने बानी नभएको कारण काम गर्न कठिनाई हुन्छ।नेपालमा घुमेको,डुलेर खाएको र बाउबाजेको सम्पत्तीमा मोजमस्ती गरेको सम्झिन्छन्।विदेश भन्ने बित्तिकै रुखको पात झरे जस्तै पैसा झर्ने ठाऊँ होइन,ज्यान गल्ने गरेर काम नगरे घरभाडा,खाने खर्च र अन्य अतिरिक्त खर्चको लागी पैसा हुँदैन।अनि डिप्रेसनमा पर्ने र आत्महत्या गर्ने सम्मको अबस्थामा पुग्छन्।

के दोष सन्ताको मात्र हो त ?
हामी हाम्रा सन्तान सुख-सयलमा हुर्किउन् भन्ने चाहान्छौ।ऊनीहरुले काम गरेमा आफ्नो ईज्जत कम र सन्तानलाई गार्हो होला की भनेर सोच्छौं।सन्तानले पढाईको अलावा अरु काममा पनि हात चलाउँन पर्छ भन्ने कुरा बिर्सिन्छौं र ध्यान दिदैनौं।ऊमेर पुगेसँगै बच्चाहरुमा काम गर्ने बानी विकसित हुँदै गएन भने पछि ऊनीहरुमा बानी बस्दैन र काम गर्न अल्छी हुने र मन नलगाउँने गर्छन्।अझ,आजभोली त महंगो मोटरसाईकल,स्कुटर र महंगा मोबाइल किनिदिन्छौं।यसरी सन्तानहरुमा विलासी बस्तुको बानी पारिदिन्छौं र बाबुआमाको सम्पत्ती भनेकै सन्तानकै लागी हो।बाउआमाको टन्न पैसा छ किन काम गर्न पर्यो ? दुःख मिहिनेत के-का लागी भन्ने मानसिकता गाडिदिन्छौं।विकसित देशमा यो सब हुँदैन।विकसित देशका अभिभावकको आफ्ना सन्तानप्रतिको जिम्मेवारी भनेको उमेर नपुगुन्जेलसम्म मात्र हो।त्यसपछि ऊनीहरु आफैले कमाई गर्दै पढ्न पर्छ र आफ्नो सुन्दर भविष्य आफैले निर्माण गर्नपर्छ भन्ने हुन्छ।

सबैका सन्तान तिक्ष्ण बुद्धि र दिमाख लिएर जन्मिएका हुँदैनन्।यसकारण सबै बच्चाहरु भविष्यमा डाक्टर,इन्जिनियर,पाईलट र ठूला ब्यापारी हुँदैनन्।आफ्नो सन्ताको क्षमता बुझेर ऊनीहरुलाई बिभिन्न सिप सिकाइदिने र कुनै पनि काम सानो ठूलो हुँदैन भन्ने बुझाइदिन पर्छ।

त्यसैले पढाईको अलावा आफ्ना सन्तानलाई बेलैमा काम प्रती मोह र लगाव जगाइदिने हो भने भविष्यमा ऊनीहरुले दुःख पाउँदैनन्।काम गर्ने जोश,जाँगर र हातमा सिप छ भने संसारको जुनसुकै कुनामा पुगेपनी भोकै बस्न पर्दैन र काम गर्न नसकेर वा सिप नभएर काम नपाएका कारण डिप्रेसन वा तनावको अबस्था भोग्न पर्दैन।जुन कुरा आफ्ना सन्तानको लागी पनि सुखद हुनेछ र अभिभावकको लागी पनि चिन्ताको बिषय हुँदैन।

त्यसैले सुखै सुख दिएर आफ्ना सन्तानलाई कमजोर बनाउँनेतिर नलाग्नुस्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट