आइतवार, जेष्ठ २९, २०७९
अमेरिकी फौजले बुट बजार्न थाल्यो, अब गठबन्धनको औचित्य रहँदैन : झलनाथ खनाल (भिडियो)

अमेरिकी फौजले बुट बजार्न थाल्यो, अब गठबन्धनको औचित्य रहँदैन : झलनाथ खनाल (भिडियो)


  • स्वदेश नेपाल
  • आइतवार, जेष्ठ २९, २०७९

काठमाडौं, जेठ २९ गते । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सेनाको टोली एकपछि अर्को गर्दै नेपाल आउनुलाई गम्भीरताका साथ लिनुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री खनालले अमेरिकी उपविदेश मन्त्री र पछिल्लो समय उच्च सैन्य अधिकृतहरूको भ्रमणबारे प्रधानमन्त्री देउवाले जनतालाई जानकारी दिनुपर्ने बताएका हुन् ।

खनालले अमेरिकी अधिकारीहरूले तिब्बती शरणार्थी शिविर भ्रमण गरेको विषयमा प्रधानमन्त्री देउवालाई सोधेको बताए । उनले भने, ‘मैले प्रधानमन्त्रीलाई सोधेँ, तर उहाँले मलाई थाहै छैन, कसरी गए, मैले अनुमति दिएको छैन भन्ने जवाफ दिनुभयो ।’

नेता खनालले सरकारमा आफ्नो पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई फिर्ता गर्ने निर्णय कार्यान्वयन हुने बताउँदै प्रधानमन्त्री देउवालाई नयाँ मन्त्रीहरूलाई शपथग्रहण गराउन आग्रह गरे ।

गठबन्धन सरकार बनेकै बेला ६ महिनाका लागि मन्त्री बनाउने सहमति भएको बताउँदै खनालले भन्नुभयो, ‘६ महिनापछि अर्को पठाउँछौं भनेर निर्णय गरेका थियौं, अहिले कार्यान्वयन गर्ने स्थितिमा पुग्दा सचिवालयको बैठक गरेको छ, बैठकमा हाम्रा पार्टीको अध्यक्षलाई मैले नै यसबारेमा प्रधानमन्त्रीसँग कुरा भएको छ कि छैन भनेर सोधेँ । हाम्रो अध्यक्षले प्रधानमन्त्रीसँग मैले सल्लाह गरिसकेँ भनेपछि हामीले निर्णय गरेको हो ।’

उनले आफूहरू पर्खिरहेको बताए। उनले भने, “निर्णय कार्यान्वयन हुन्छ, यदि निर्णय कार्यान्वयन भएन भने हामीलाई त्यस्तो गठबन्धनमा बस्नुपर्ने आवश्यकता नै समाप्त हुन्छ । मन्त्री परिवर्तन गर्नुको विकल्प छैन ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट