शनिबार, जेष्ठ १४, २०७९
फगत एक सोच मात्र रहेछ ”भिजन”

फगत एक सोच मात्र रहेछ ”भिजन”


  • स्वदेश नेपाल
  • शनिबार, जेष्ठ १४, २०७९

-महेश्वर श्रेष्ठ

भिजन भनेको कुनै ठुलो कुरा होइन, फगत एउटा सोच मात्र रहेछ । आज भन्दा ५५ वर्ष अघि अर्थात सासं १९६६/६७ साल तिर मेरो पनि एउटा भिजन अथवा सोच थियो जसलाई संयुक्त राज्य अमेरिकाको उड्डयन तथा अन्तरिक्ष अनुसन्धान सम्बन्धी संस्था नासाले १० वर्ष पछि साकार पारेको थियो र त्यसको पनि ५ वर्ष पछि सफल कार्यान्वयन गरेको थियो ।

आठ कक्षामा पढ्दाखेरि नै म काठमाडौं स्थित विदेशका पुस्तकालयहरु : नेवानि मुख्यालय स्थित इण्डियन लाइब्रेरी, न्युरोड स्थित अमेरिकन लाइब्रेरी, बसन्तपुर स्थित रसियन लाइब्रेरी, विशाल बजार पश्चिम सडक पारी स्थित चाइनिज लाइब्रेरी र बहादुर भवन अगाडी कान्तिपथ स्थित ब्रिटिश लाइब्रेरीको म सदस्य बनिसकेको थिएं ।

ती विदेशी पुस्तकालय विशुद्ध पुस्तकालय मात्र थिएनन्, तत् तत् देशका राजनीतिक, सांस्कृतिक, आर्थिक, प्राविधिक सफलता र गतिविधिहरु प्रचार गर्ने र आफ्नो प्रभाव फैलाउने संयन्त्र पनि थिए । त्यसैले उनीहरु बिच बढी से बढी नेपालीहरुलाई आफु प्रति आकर्षित गर्ने एक किसिमको प्रतिस्पर्धा नै हुने गर्थ्यो र त्यसको माध्यम हुने गर्थ्यो सिनेमा तथा डकुमेन्टरी प्रदर्शन । ब्रिटिश लाइब्रेरीले त बेला बेलामा आफ्नो दुतावास लाजिम्पाटमा चिया कफी र कुकिज सहित फिल्म प्रदर्शन गर्ने गर्थ्यो । त्यसको अलावा आफ्ना खास खास सदस्यहरुलाई अमेरिकन लाइब्रेरीबाट “स्वतन्त्र विश्व”, रसियन लाइब्रेरीले “सोभियत भूमि” र चिनिया लाइब्रेरीले “चिन सचित्र” नामका म्यागाजिनहरु निशुल्क दिइने गरिन्थ्यो । ती म्यागाजिनहरु मैले पनि पाउने गर्थें जुन घरसम्मै वितरण गर्ने गरिन्थ्यो ।

पछि गएर हवाई पेशाकर्मी बन्नु पर्ने भएर हो कि मलाई विशेषतः उड्डयन र अन्तरिक्ष गतिविधि सम्बन्धी डकुमेन्टरी हेर्न औधी मन पर्थ्यो । त्यस बेला अन्तरिक्ष गतिविधि सम्बन्धमा श्रेष्ठता कायम गर्न तत्कालीन सोभियत संघ र अमेरिका बिच एक किसिमको प्रतिस्पर्धा नै थियो । तर अन्तरिक्षमा मानव सहितको यान पठाउनेमा सोभियत संघले अमेरिकालाई उछिनिसकेको थियो । रसियन लाइब्रेरीबाट पाएको प्रथम अन्तरिक्षयात्री सोभियत नागरिक गेरमान तितोभको जीवनी लेखिएको पुस्तक मैले धेरै पटक पढेर आफ्नो जिज्ञासा मेट्ने कोशिस गरेको थिएं ।

अन्तरिक्ष यात्रुहरु अन्तरिक्ष यात्राबाट पृथ्वीमा फर्कंदा उनीहरु बसेको क्यापसुल पृथ्वीको वायुमण्डलमा प्रवेश गरिसके पछि प्यारासुटको सहाराले विस्तारै समुद्रमा अवतरण गर्ने गर्थ्यो । कहिले काहिं गतिमान क्यापसुल र वायुमण्डल बिच हुने घर्षणले क्यापसुलको वरिपरी आगोको झिल्काहरु पनि देखिने गर्थ्यो र आगलागीको खतरा रहन्थ्यो । क्यापसुल विस्तारै पानीमा अवतरण गरे पछि त्यहां पहिलेदेखि नै तैनात सानो सानो डुंगाहरुले त्यसलाई घेर्थ । त्यस पछि अन्तरिक्ष यात्रुहरु क्यापसुलबाट निस्केर डुंगामा चढेर गन्तव्य किनारा तर्फ लाग्ने गर्थे ।

मलाई भने एक पटक प्रयोग गरेर कवाडी सामान जतिकै परित्याग गरिने क्यापसुल टाइपको अन्तरिक्ष यान खर्चिलो र जोखिमपूर्ण लागेकोले त्यसको सुरक्षित र किफायती विकल्प के होला भन्ने बारे हुटहुटी लागिरहन्थ्यो । त्यसरी सोच्दा सोच्दै दिमागमा एउटा आइडिया फुर्यो । जेट विमान जस्तै पुनर्प्रयोग गर्न मिल्ने अन्तरिक्षयान बनाएर प्रक्षेपण गरिएमा जोखिम पनि कम हुने र पटक पटक यान बनाउन लाग्ने खर्च पनि जोगिने देखेर सोही कुरा लेखी सोभियत भूमि र स्वतन्त्र विश्वका सम्पादकहरु कहां पठाइदिएं । सोभियत भूमिबाट कुनै प्रतिक्रिया आएन । स्वतन्त्र विश्वका सम्पादकले भने “तपाईको कुरा एकदम घतलाग्दो र उपयोगी छ । हामी त्यसलाई सम्बन्धित ठाउंमा पठाइदिने छौं” भनेर प्रतिक्रिया पठाए ।

मैले त्यस्तो कुरा सोच्नु भन्दा अघि र पछि पनि संसारका अरु पनि धेरै मानिसले त्यसरी नै सोचेका थिए होला । सोभियत र अमेरिकी वैज्ञानिकहरुले पनि सोचिरहेका थिए होला । तर त्यसलाई संयोग नै भनुं मैले स्वतन्त्र विश्वका सम्पादकलाई उपरोक्त विषय बारे चिठी लेखेको करिब १० वर्ष पछि अर्थात सासं १९७६ सेप्टेम्बर १७ तारिखका दिन उड्डयन तथा अन्तरिक्ष अनुसन्धान सम्बन्धी अमेरिकी संस्था “नासा” ले पहिलो पटक मैले सोचेको जस्तो जेट विमान जस्तो अन्तरिक्षयान Enterprise बनाएर प्रदर्शन गर्‍यो । तर त्यसको ५ वर्ष पछि सासं १९८१ अप्रिल १२ तारिखका दिन मात्र नासाले नै Columbia नामको जेट विमान जस्तो अन्तरिक्षयानलाई अन्तरिक्षमा पठाउन सफल भएको थियो ।

शुरुशुरुमा त्यस्ता जेट विमान जस्ता अन्तरिक्षयानलाई परम्परागत बुस्टर रकेटमा चढाएर पठाउने गरिन्थ्यो र अहिले पनि गरिन्छ तर त्यसको विकल्पमा ठुलो बोइङ विमानले अन्तरिक्षयानलाई पिठिउंमा बच्चा बोके जस्तै बोकेर पृथ्वीको वायुमण्डलको उपल्लो तहसम्म पुर्‍याइदिन्छ र त्यंहाबाट उक्त यान आफ्नै बुस्टर इन्जिनको सहयोगले अन्तरिक्षमा यात्रा गर्छ । यात्राबाट फर्के पछि अन्य जेट विमान जस्तै तोकिएको धावनमार्गमा अवतरण गर्छ ।

सर्वसाधारणले पनि ठुला ठुला कुरा बारे रुपमा सोच्न सक्छ, कल्पना गर्न सक्छ । मेरो बुझाईमा त्यही नै उसको भिजन हो । त्यसलाई कसरी मूर्तरुप दिने, कसरी सफलतापूर्वक कार्यान्वयन गर्ने, आर्थिक स्रोत कहांबाट कसरी जुटाउने भन्ने कुरा प्राविधिक पक्ष मात्र हुन्, मुल कुरा सोच हो, भिजन हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार