३० वर्षदेखि अमेरिकामा बसिरहेकी बुना दाहाल २०२८ सालमा विराटनगरको जनपद टोलमा जन्मिएकी हुन् । सामान्य किसान परिवारकी उनले स्थानीय जनपद स्कुलमा कक्षा १ मा भर्ना भइन् । कक्षा २ मा पढ्न लाग्दा उनको आँखाको दृष्टि कमजोर भयो ।
उनले बोर्डमा लेखेको नदेख्ने भएपछि बुनाको आँखाको उपचार गर्न भन्दै परिवारले उनलाई कोशी अञ्चल अस्पताल (हाल कोशी अस्पताल) पुर्यायो । अस्पतालले उनको आँखामा जलबिन्दु भइसकेको बताएपछि उपचार गर्न भारत लैजान सुझायो । उनलाई भारत लगियो । त्यहाँ एक महिना उपचार गरेपछि उनको आँखा फुट्नबाट जोगियो, तर दृष्टि भने फर्किएन ।
जलविन्दुका कारण दृष्टि पूर्ण रूपमा गुमेकि बुनाले धरानको ज्ञान चक्षु विद्यालयमा ७ कक्षासम्म र काठमाडौंको ल्याब्रोटरी एसएलसी पास गरिन त्यो पनि सधै प्रथम भएर । दृष्ट्रिविहीन विद्यार्थीहरुमा पढाइमा अब्बल बुना कलेज र शिक्षकहरुको जनरमा पर्न थालिसकेकी थिइन् ।
एसएलसीपछि उनी पद्मकन्या कलेजमा अंग्रेजी मूल विषय लिएर प्रवीणता प्रमाणपत्र तह अध्ययन गर्न थालिन् । पहिलो वर्षमा उनले क्याम्पस टप गरिन् । प्रमाणपत्र तहको दोस्रो वर्ष पढ्दापढ्दै अमेरिकाको ‘ओभर बु्रक स्कुल फर द ब्लाइन्ड’बाट नेपालका दृष्टिविहीन विद्यार्थीका लागि भन्दै टेक्नोलोजी फर द ब्लाइन्ड, इङ्ग्लिस इज अ सेकेन्ड ल्याङ्वेजको छात्रवृत्ति आयो । जसमा बुनु छानिइन् ।
सन् १९९० मा एक वर्षे कार्यक्रमका लागि भन्दै अमेरिका उडेकी बुना अहिले उतैको नागरिक भइसकेकी छन्। अमेरिकामा यो अवस्थामा पुग्न उनले धेरै संघर्ष गरेकी छन् ।
बुनाले लिडरसिप म्यानेजमेन्ट र प्रोजेक्ट म्यानेजमेन्ट दुवैमा मास्टर्स डिग्री प्राप्त गरेकी छिन् । संसारभरका नेत्रहीन लगायत अरुका लागि पनि प्रेरक/प्रभावक (Influencer) पात्र रहेकी बुना नेत्रहीनले पनि अरुले जस्तै काम गर्न सक्छन् तर उनीहरुले काम गर्ने तरिका/वातावरण मात्र फरक हुन्छ/हुनुपर्छ। नेत्रहीन हुनु हिनताबोध हुनुपर्ने अवस्था होइन र सम्मानजनक जीवन बाँच्न सकिन्छ भन्ने मान्यतामा विश्वास गर्छिन।
साउथ एसियन विजिनेस अपर्चुनिटी अवार्ड २०२१ बाट सम्मानित बुनासंग नेत्रहीनका लागि लिडरसिप कार्यक्रम अन्तर्गत विश्वका २२ देशमा काम गरेको अनुभव छ । अमेरिकी नेशनल फेडेरेसन अफ ब्लाइण्डमा एचआर हेड भैसकेकी बुनाले अमेरिकामा नेत्रहीनका लागि कार्यालयको काम सम्भव छ भन्ने अभियान नै चलाएर जागिर खाने नेत्रहीनको संख्या बढाउन प्राप्त गरेको सफलताले उनलाई विश्वमा अझै चर्चित बनाएको छ ।
वर्ल्ड ब्लाइण्ड युनियनमा शिक्षा दूत भैसकेकी बुनाले बिगत १५ बर्षदेखि आफ्नै नेतृत्वमा डाइनामिक बुना फाउण्डेसन संचालन गर्दै आइरहेकी छिन् ।
हेर्नुहोस संसारमा डाइनामिक बुनाको नामले परिचित नेपाली चेली बुना दाहालकै बारेमा टीकाराम यात्रीले गरेको प्रेरेणादायी कुराकानीको भिडियो :-