झन्डै ६० बर्षदेखि जनताको गीतहरुलाई क्रान्तिको ज्वारभाट बनाउदै आएका जनगायक रामेशले बिगतमा राजा महेन्द्रलाई गालीगलौज गरेकोमा पछुतो मान्दै राजा महेन्द्र नै यो देशको सच्चा देशभक्त भएको बताएका छन् ।
योहो टिभीको लागि पत्रकार जिबराम भण्डारीसंग कुरा गर्दै गायक रामेशले उक्त टिप्पणी गर्दै राजा महेन्द्रको शासनकालमा जति बिकाशहरु भयो त्यति बिकाश अहिले सम्म नभएको दाबि गरेका छन ।
धेरैले टेलिभिजनमा नदेखेका, रेडियोबाट कम सुनेका तर नेपालका गाउँ बस्तीका जनता बीच अत्यन्तै लोकप्रिय कलाकार हुन् रामेश ।
लोकतन्त्रका लागि ५०/६० बर्ष देखि निरन्तर जेल नेल कस्टडी, प्रहरीका यातना खेप्दै, सरकारी दमन चिर्दै , शोषण उत्पीडन र गरिबी हटाउने उद्घोष सहित जनताका गीत गाउँदै हिंडेका यिनी देशमा लोकतन्त्र आएपनि लोकतान्त्रिक गाडीको पछिल्लो सिटमै देखिन्छन ।
२०३१ सालमा युगकबि सिद्धिचरण श्रेष्ठ द्वारा रचित मेरो प्यारो ओखलढुंगा गाए पछि त झन् यिनको गायन यात्राले नयाँ मोड लियो । उनी कहिलै अन्याय अत्याचार सहँदैनन, कसैका अघि झुकेर केहि माग्दैनन, भनसुन गर्दै गर्दैनन ।
उनले हाल सम्म ३२५ भन्दा बढी आफ्नै संगीतका देशभक्तिपूर्ण गीतहरु गाएका छन्, १५० गीतहरुमा संगीत मात्र भरेका छन् र ३० वटा गीत लेखेका पनि छन् । उनी लामो समय सम्म बाल मन्दिरमा समेत संगीत प्रशिक्षक भएर कार्य गरे । शायद यसैले हुन सक्छ उनका दुई दर्जन जति बालगीतका एल्बमहरु छन् बजारमा । उनका लोकप्रिय गीतहरुमा आउ मिलाउँ हाम्रा हातहरु, गरिबको चमेली, मुट्ठी उचाली, गोठाला दाइले, कोइत भने जहाजमा हरर, हाम्रो अदम्य क्रान्ति, आउ हामीसंगै बसौं आदि छन् ।
समाज परिवर्तन र रुपान्तरणमा चेतनामुलक देशभक्तिपूर्ण गीतहरुको भूमिका कति भन्ने बिषयमा रामेश द्वारा गाइएका र संगीतबद्ध गीतहरुको अध्ययन आजका पुस्ताका अध्येताहरुका लागी निकै महत्वपुर्ण छन् ।