सोमवार, पुस १९, २०७८
यी कुराहरु सम्झिदा हरेक देशभक्त नेपालीको मन धुरधुरु हुन्छ तर पनि देश बिगार्नेहरुको जयजयकार हुन्छ !

यी कुराहरु सम्झिदा हरेक देशभक्त नेपालीको मन धुरधुरु हुन्छ तर पनि देश बिगार्नेहरुको जयजयकार हुन्छ !


  • स्वदेश नेपाल
  • सोमवार, पुस १९, २०७८

नसोचौंँ भन्यो, नलेखौँ भन्यो, मन मान्दै नमान्ने !

तीसौँ वर्षअघि बनेको राष्ट्रिय सभागृह ज्यूँदै छ, प्रज्ञा भवन ठाडै छ, पार्किङ् छ, बगैँचा पनि छ । तर हिजो मात्रै हामीले गोदावरीमा बनाएको असी करोड़ बढ़ीको सभाहल कमिशनको चक्करले निर्माण सम्पन्न नहुँदै पानी चुहिने समस्या छ । तीन हजार क्षमताको हलमा तीन सय पार्किंग पनि छैन । कार्यक्रम हुन नसक्ने र सञ्चालन खर्च नउठ्ने भएपछि त्यो लगानी कबाड़ी बन्ने जोखिम छ ।

विश्वका धेरै शहरले विद्युतीय सवारी साधन देख्नुअघि नै काठमाडौंले ट्रली बस गुड़ाएको थियो । अहिले कल्पना जस्तो लाग्ने हेटौँडा-काठमाडौँ रोप-वे चलेको थियो । तर, आज विद्युतीय बस भनेर करोडौंमा नक्कली बस किन्ने, दर्तासम्म नगरी तामझामका साथ उद्घाटन गर्ने र अन्त्यमा कबाड़ी बनाएर बेच्ने काम भएको छ । एउटा एकीकृत यातायात नीति र सोच पनि छैन ।

कुनै बेला देशमा रेल चल्थ्यो । आज त्यही पुरानो रूटमा रेलको आवश्यकता र व्यावसायिक सम्भाव्यता छ कि छैन, यात्रीको चाप के कस्तो छ भन्ने सामान्य अध्ययन समेत नगरी भारतसँग धेरैपल्ट हात फैलाएर त्यो रूटको पुनर्निर्माण भएको छ । विश्व स्वच्छ ऊर्जा र व्यापक विद्युतीकरणतिर अघि बढ्दै गर्दा हामी रेल ल्यायौँ भन्ने देखाउनकै लागि डिजेल रेल किन्दै छौं, तर पनि अर्कैले बनाइदिएको लिकमा चलाउने हुतीसम्म छैन । शायद खिया र मुसाले तिनलाई पनि कबाडी बनाउला ।

कति लेख्नु ? बीसौं वर्षअघिको नारायणीमाथिको पुल अझै ठाडो हुने तर आज हामीले बनाउने पप्पू पुल उद्घाटन नहुँदै भत्किने किन हुन्छ ?

मरिचमान श्रेष्ठका रूपमा जनजाति प्रधानमन्त्री पाएको उहिल्यै हो, तर आज समावेशी बनाउने नाममा हजारौं नागरिकको रगत बगाएपछि बनेका कार्यकारीहरू किन दाहाल, ओली या देउबा थरकै हुन्छन् ?  बाहुनवादको जातीय नारा फैलाउने प्रचण्ड किन दुईपल्ट आफै प्रधानमन्त्री हुन्छन् ?

सोच्नुस् त, भूकम्प जान्छ, हाम्रा सयौं वर्ष पुराना सम्पदा क्षतिग्रस्त हुन्छन् । हामी तिनलाई मर्मत गर्न विदेशीसँग हात थाप्छौं । अन्तर्राष्ट्रिय दातृसम्मेलन गर्छौं । पैसा ल्याउँछौं । तीन वर्षमा गर्ने भनेको काम छ वर्ष लाग्छ र तीन अर्बमा हुने काम तेह्र अर्ब पुग्छ । काम राम्ररी होस् भन्ने हुँदैन, मिडियामा आफ्नो नाम र गोजीमा दाम भए पुग्छ । अनि एउटाले मैले बनाएँ भन्छ, हामी ताली बजाउँछौं । अर्कोले तैंले हो र ? कारीगढ़ले बनायो भन्छ, हामी फेरि ताली बजाउँछौं । तर तीन अर्बको प्रोजेक्ट सम्पन्न हुने बेलासम्म तेह्र अर्ब कसरी पुग्छ भन्नेतिर हाम्रो चासो हुँदैन ।

के तपाईंले देउबा संसदमा उभिएर देशको अर्थतन्त्रबारे बोलेको सुन्नुभएको छ ? बढ्दो व्यापारघाटा, बढ्दो वैदेशिक ऋण, उत्पादनम आएको ह्रास, अनियन्त्रित महँगी या राजश्व जति तलबभत्तामैं खर्च हुने अवस्थाबारे गम्भीर भएर छलफल र समाधानका कुरा गरेको सुन्नुभएको छ ?

पुराना नेता छोडौं, वीपी या मनमोहन अधिकारीसम्मका भाषणमा देशका किसानको समस्याबारे चर्चा हुन्थ्यो, देश विकासको मोडलबारे चर्चा हुन्थ्यो,अन्तर्राष्ट्रिय सम्बन्ध कसरी सन्तुलित र बलियो बनाउने भन्ने चिन्ता हुन्थ्यो, आजका भाषणहरू निचोर्नुस् त, गाली, घृणा, आक्षेप र अहङ्कारबाहेक अरू कुरा के भेटिन्छ ?

के हाम्रा शासकको काम राजमार्गलाई लोकमार्ग बनाउनुमात्रै हो ? खुलामञ्चमा सटर हालेर भाड़ा कमाउनुमात्रै हो ? के तिनको आदर्श गालीगलौज मात्रै हो ? के हाम्रो विकास भनेको हिजो निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्र बनाएर जोगाएका जङ्गलदेखि चुरेसम्म दोहन गर्नुमात्रै हो ? के हाम्रो क्रान्ति देशको नक्सालाई आफूखुशी चिरा पार्नु, आफैलाई छोटे-छोटे राजा बनाउनु र देशलाई हरिकङ्गाल बनाउनु मात्रै हो ?

ठूलो कुरो गर्न त नेता छँदै छन् । सानो कुरो नै लिऊँ न, हिजो साझा पसलहरू थिए, सुपथ मूल्यमा मल पाइन्थ्यो । आज मल त पाइन्न तर मलमैं डेढ़ अर्बको भ्रष्टाचारका समाचार भने पढ्न पाइन्छ ।

कहिलेकाहीँ दिक्क लाग्दैन ?

-नारायणगाउँलेको फेसबुकबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट