बिहिबार, बैशाख २३, २०७८
जिउ सिरिङ्ग गर्ने त्यो कहाली लाग्दो दिन ‘२०६२ बैशाख २३ गते’

जिउ सिरिङ्ग गर्ने त्यो कहाली लाग्दो दिन ‘२०६२ बैशाख २३ गते’

पं. पोखरेलको हत्या ताका भूमिगत माओवादी भित्र तीव्र अन्तर्विरोध थियो , त्यस बेलाको अन्तर्विरोध के थियो भन्ने कुरा अझै पनि रहस्य नै रहेको छ ।


  • डा. बाबुराम ज्ञवाली
  • बिहिबार, बैशाख २३, २०७८

-डा. बाबुराम ज्ञवाली

डा. बाबुराम ज्ञवाली

बैशाख २३ गते धार्मिक शहीद पं. नारायण प्रसाद पोखरेलको स्मृति दिवस हो । यस क्रान्तिकारी समाज सुधारकको रहस्यमय हत्याको डेढ दशक पार भइसकेको छ ।

गोरखाको लुईंटेल स्कुलका तीनजना सुप्रसिद्ध छात्रमध्ये पोखरेल एक थिए । रुपन्देहीको इतिहासमा यो दिन एक यसता दिनको रुपमा संझनामा रहनेछ, जसलाई संझन नपरोस भन्ने सबैको चाहना छ ।

देशको भौतिक विकास, आध्यात्मिक जागरण र अस्पश्र्यशता निवारणमा अभूतपूर्व काम गर्ने पं. पोखरलेको हत्याको खबर विश्वभरि नै जंगलको आगो सल्के जस्तै गरी फैलियो ।

२०६२ बैशाख २३ गते लाखौं नेपाली आंखाले आंसु खसाले पनि राष्ट्रद्वारा उनीलाई कुनै विशेष सम्मान प्रदान गरिएको छैन । विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका तत्कालिन अध्यक्ष रहेका पं. पोखरेल त्यसबेला वाचन शिरोमणिको नामले विख्यात थिए ।

आज महामारीको भय जस्तै त्यसबेला माओवादी अशा न्तिको भयले त्यसबेला समाज भयग्रस्त थियो । त्यसैले पं. नारायणप्रसाद पोखरेलका लागि सामूहिक श्रद्धाञ्जलिको कुनै सार्वजनिक कार्यक्रम भएन ।

भागवतका गम्भीर भक्ति भावलाई स–साना टुक्कामा उनेर उनले सामान्य व्यक्तिले सजिलै बुझ्ने गरी नेपाली शैली र लोक भाकामा प्रस्तुत गर्दथे । आफ्नो किसिमको अनौठो त्यो संगीतमय भजन कीर्तन, भागवतको मीठो कथा, सुरलिा गला, हँसिलो अनुहार र यी सबै कार्यमा उनले जुटाएको जनसहभागिताले त्यस बेलाको भयग्रस्त वातावरणमा एउटा सञ्जीवनीको काम गरिरहको थियो समाजका लागि ।

उनको यस योगदानबाट समाजमा एक नयाँ आत्म विश्वासको भावना उत्पन्न भएको थियो । प्रेम गुरुङ्, तोयनाथ भट्ट लागयत ६–७ जनाको उनको आफ्नो गायन, वादन र नर्तकको एक टोली थियो ।

 

उनका प्रशंसकहरुमा सामाजिक सुधारक, राजनैतिक नेता–कार्यकर्ताहरू, विद्यार्थी, शिक्षक, चिकित्सक, अभियन्ता, गृहिणी, सरकारी कर्मचारी, वकील, न्यायाधीश, प्रहरी र सेनाका व्यक्ति, व्यापारी, पत्रकार, राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारले सम्मानित व्यक्ति लगायत सबै क्षेत्रका व्यक्तिहरू रहेका छन् । अरुका केकुरा, राजा वीरेन्द्रले पोखरामा र लौह पुरुष गणेशमान सिंहले काठमाडौंमा कथा स्थलमा गएर नै पोखरेलका कथाको आनन्द प्राप्त गरेका थिए । देशका कुना कुनामा गएर, त्यस घोर निराशाको समयमा नेपालीहरूलाई त्यसैगरी प्रेरणा प्रदान गरेका थिए जसरी सुगौली सन्धि पछि हीन भावनाले ग्रसित नेपालीहरुलाई भानुभक्तले रामकथाद्वारा उत्साहित गरेका थिए ।

धार्मिक क्रियाकलापलाई केवल परलोक प्राप्तिको अमूर्त साधन मात्र नबनाएर भौतिक उन्नति तथा पिछडिएको वर्गलाई महायज्ञहरुमा सम्मानित स्थान प्रदान गर्नका लागि आफुलाई सम्पूर्ण रुपमा समर्पित गरेका थिए । भागवत कथाबाट हिन्दु धर्ममा नवजागरण गर्दै त्यसलाई आर्थिक असमानता तथा अस्पृश्यता हटाउनमा उदाहरण बनेका पं. पोखरेलले आध्यात्मिक चिन्तन तथा भौतिक विकास एकै साथ गर्ने संकल्प लिएर राज्यले गर्न नसक्ने भौतिक विकास र समाज सुधारका कार्य गरीदिएका थिए । पोखरेलले हरेक महिना सामाजिक विकासका एक दुईवटा कार्यक्रम प्रारम्भ गरीदिन्थे । प्राथमिक स्कूल, माध्यमिक स्कूल, उच्च मावि, क्याम्पस, महिला क्याम्पस, महिला विश्वविद्यालय, प्राविधिक शिक्षालय, नेत्रहीनका लागि विशेष विद्यालय, अस्पताल, खानेपानी, बाटो, पुल, बृद्धाश्रम इत्यादि अनेक नौला क्षेत्रमा समाज कल्याणका लागि उनले प्रशस्त स्रोतको मुहान प्रारम्भ गरीदिन्थे । नेपालको जनसंख्याको दृष्टिकोणले उनले त्यस बेला दुई अरब पूंजी परिचालन गराइदिएका थिए । यसका अतिरिक्त उनले हजारौं समाजसेवीलाई आफ्नो क्षेत्रमा समाजसेवा गर्न प्रोत्साहन गरेका थिए ।

२०५९ मा राजा वीरेन्द्रको स्मारक निर्मार्णार्थ, काठमाडौं, क्यान्सर अस्पतालको सहयोगका लागि खुलामञ्च, काठमाडौं, सहारा वृद्धाश्रमका लागि स्याङ्जा, सामाजिक भवन बनाउन पोखरा, असहाय आश्रम निर्मार्णार्थ, इटहरी, सामुदायिक भवन झापा, गौशाला, काठमाडौं, वि.सं. २०६० मा रेसुङ्गा संरक्षणमा, तम्घास, पञ्चेश्वरी मन्दिर उद्धार, ललितपुर, बाढी पीडित सहयोगार्थ, काठमााडैं, बजार व्यवस्थापन, चनौली, सामाजिक भवन, बुटवल, दोबिल्ला पुल, बाग्लुङ्, अस्पताल लेखनाथ, सामाजिक भवन, काठमााडैं), स्वगृद्वारीमार्ग, दाङ्, अस्पताल, दुलगौंडा, तनहुँ, वि.सं.२०६१ मा वृद्धाश्रम निर्माण बुढीखोला, स्याङ्जा, वीरेन्द्र ऐश्वर्य कोष, काठमाडौं, विवहिन्दुमहासंघका लागि काठमाडौं, मुक्ति कुञ्ज निर्माण, पोखरा, वृद्धाश्रम बुटवल, सामाजिक भवन चितवन, वृद्धाश्रम धरान, मनोहरा अस्पताल गोठाटार चिवन, वि.सं.२०६२ खानेपानी तानसेन, क्याम्पसको स्तरोन्नति रामापुर, रुपन्देही । त्यहाँको कथावचन समाप्त गरी गुल्मी रानबिासमा स्वामी सत्यदेवका स्मृतिमा क्याम्पसको स्थापनाका लागि रानीबास गुल्मीमा जाने कार्यक्रम भएको बताइन्छ ।

रामापुर, रुपन्देहीमा भागवत कथा संचालन गर्दा व्यासासनमा नै बैशाख २३ गते रामापुर उनको हीमा रहस्यपूर्ण हत्या भएको थियो । व्यासासनमा बसेका, यज्ञ कर्ता ऋषिहरुलाई हत्या गरेको यो विवरण रामायणको त्यस प्रसंगजसतै छ जब सुतीक्ष्ण आदि ऋषिहरुले वनमा मानिसका खप्पर देखाएर रामलाई भनेका थिए, ‘हे राम, यी सबै ऋषिका खप्पर हुन् जुन यज्ञ गर्न बसेका थिए । यिनीहरुको हत्या राक्षसहरुले गरिदिएका छन् । यसबाट हामी सबै भयभीत छौं । हाम्रो उद्धार गर्नु होस् ।’

पं पोखरेलले कथाको माध्यमबाट भौतिक विकास, धार्मिक जागरणमा नवप्रवर्तन गर्दै अस्पश्र्यता निवारण कार्यलाई अभियानको रुपमा संचालित गराइ रहेका थिए । करीब ४० प्रतिशत हिन्दु रहेको दक्षिणी अमेरिकाको सानो देश ट्रिनीडाडमा वि.सं.२०५८ मा सम्पन्न विश्व हिन्दु महासम्मेलन पछि उनले नेपाललाई विश्वका हिन्दुहरुको एकमात्र केन्द्रको रुपमा विकसित गर्ने र यस कामका लागि विश्व हिन्दु महासंघ सक्रिय हुनु पर्छ भन्ने कुरा व्यक्त गरेका थिए । विश्वकोएकमात्र हिन्दु राष्ट्रको रुपमा चिनिएकोले सो कुराको नेतृत्व नेपालले नै लिनु पर्न विदेश स्थित हिन्दुहरुको आग्रह पनि हो भन्न गर्थे ।

आफ्नो समयमा यदा कदा उठ्ने गरेका निरपेक्षताका आवाजहरुको उनले तीव्र विरोध गर्दथे । यसका लागि तत्काल राजनैतिक नेताहरुकहां गएर लबी गर्ने र आफ्नो पक्षमा समर्थन जुटाउने गर्थे । सबै नेताहरुलाई आफ्नो कुरा मनाउन सक्ने खूबी थियो उनको । धार्मिक सहिष्णुताका प्रतिमूर्ति पं. पोखरेलले ईराकमा १२ जना नेपालीको निर्मम हत्याकाण्डको खबरले नेपालमा दंगा भडकिने देखेर तत्त्काल सबै धर्मका प्रमुख धर्मगुरुहरु बोालएर काठमाडौंमा सहिष्णुता र एकबद्धता जुलुस निकालेका थिए र यसको प्रभावले गर्दा समस्या छिटै नियन्त्रणमा आयो । यसले धार्मिक सहिष्णुताका उनी प्रबल समर्थकथिए भन्न सकिन्छ ।

पं. पोखरेलको हत्या भए पछि हिन्दु राष्ट्रको समर्थनमा बोल्न सक्ने उहां जस्तो बुद्धिमान र साहसिलो हिन्दु धार्मिक नेतृत्व तत्काल देखिएन । पं. पोखरेलको हत्या त्यस बेला भएको थियो जब भूमिगत माओवादी भित्र तीव्र अन्तर्विरोध थियो । त्यस बेलाको अन्तर्विरोध के थियो भन्ने कुरा अझै पनि रहस्य नै रहेको छ ।

अहिले त पं. पोखरेलका कथाहरु यु ट्युबमा सुन्न पाइनछ । गुगलमा उनका इमेज छन् । विकिपिडियामा उनको बारेमा जानकारी पनि छ । तर त्यसबेला यति सब थिएन । माओवादीको भ्रातृ संगठनले जिम्मा लिएको भनी बिबिसिले प्रसारण गरे पछि भय र आतंकको जुन वातावरण सिर्वियो त्यो निराकरण हुन एक वर्ष जति लाग्यो । पत्रपत्रिकाहरुले समेत खुलेर लेख्न डराए पनि वाचन शिरोमणिको हत्याको तत्काल पछि कस्तो प्रतिक्रिया भयो त्यसको सानो झलक निम्नलिखित पत्रिकाहरुमा प्रस्तुत छ–

काठमाडौंबाट प्रकाशित पत्रिकाहरु

बैशाख २४ को कान्तिपुरमा लोकप्रिय पंडितको हत्या शीर्षकमा सचित्र शीर्ष समाचार प्रकाशित गरिएको थियो । त्यसै समाचारमा दिइएको उपशीर्षकहरुमा आम श्रोता शोकाकुल, वाचनबाट दुई अर्ब संकलन जस्ता खबर पनि प्रकाशित भएका हुन् भने भित्री पृष्ठमा पं. पोखरेलको अन्तिम संस्कार सम्बन्धी छ वटा चित्र प्रकाशित छन् ।

बैशाख २५ को कान्तिपुरमा दीपेन्द्र बडुवालको पण्डित हत्याले सबै शोकाकुल शीर्षकमा मुख पृष्ठमा खबर प्रकाशित गरिएको थियो । यसका साथै अन्य शीर्षकहरुमा छानबीन माग शीर्षकमा नेपाली कांग्रेस, एमाले, प्रजातान्त्रिक, विश्व हिन्दू महासंघ, मानव अधिकार संगठन आदि संघ संस्थाले घटनाको सत्य तथ्य छानविनको माग गरेको समाचार तथा भित्री पृष्ठमा स्तब्ध छ ः धार्मिक वृत्त शीर्षकको समाचार प्रकाशित छ ।

अन्नपूर्ण पोष्टमा सोही मितिमा शीर्ष समाचारको रुपमा महेन्द्र थापाको खबर प्रकाशित भयो– वाचन शिरोमणि पोखरेलको हत्या, हत्यारा फरार, सहायक वाचक भट्टराई घाइते, दाहसंस्कार सम्पन्न समाचार र साथमा घरमा रुवावासी मच्चिएको चित्र प्रकाशित छ ।

बैशाख २५ को देशान्तर साप्ताहिकको अन्तिम पानामा वाचन शिरोमणिको रहस्यमय हत्या शीर्षकमा देशान्तर संवाददाताको समाचारमा पोखरेलको कथावाचन गर्दै गरेको रंगीन चित्र समेत दिइएको छ ।

बैशाख २८ को घटना र विचार साप्ताहिकमा महापण्डितको हत्या रहस्यमय, हत्याको छानबीन तथा सहिद घोषणा गर्न सर्वत्र माग शीर्षकमा पोखरेलको रेखाचित्र (स्केच) सहितको समाचार मुख पृष्ठमा प्रकाशित गरिएको छ भने सोही अंकको भित्री पृष्ठमा माधव ढुंगानाद्वारा लिइएको पुत्र दीनबन्धु पोखरेल र श्रीमती मालती पोखरेलको अन्तवार्ता समेत प्रकाशित गरिएको छ ।

 

बैशाख ३० गतेको विमर्शको भित्री पृष्ठमा पोखरेलको हत्या ः आवेशको आदेश शीर्षकमा संक्षिप्त समाचार प्रकाशित
गरिएको छ ।

जेठ १–१५ को हिमाल पाक्षिकको पृष्ठ १५ मा पं. पोखरेलको शंकास्पद हत्या शीर्षकमा सचित्र खबर प्रकाशित गरिएको छ ।

जेठ १२ को समय साप्ताहिकमा अतितले नसहेको वर्तमान शीर्षकमा एक पृष्ठको डा. रामचन्द्र अधिकारीको लेख प्रकाशित छ

स्थानीय पत्रिकाहरु

बैशाख २४,२०६२ को जनसंघर्षमा लक्ष्मण पौडेल र टोपराज शर्माले वाचन शिरोमणिको हत्या शीर्षकमा शीर्ष समाचार प्रकाशित गरे । यस खबरको साथमा दुईवटा चित्र पनि राखिएका छन् । एउटा चित्रमा पशुपति आर्यघाटमा दाह संस्कार गर्नुअघि श्रद्धाञ्जली दिंदै सर्वसाधारणलाई देखाइएको छ भने अर्कोमा रामापुर बहुमुखी क्याम्पसको सहयोगार्थ आयोजित महायज्ञमा कथा वाचन गर्दै नारायण पोखरेललाई देखाइएको छ ।

बैशाख २८ गतेको जनसंघर्षमा पण्डित हत्याको छानविन गर्न माग भन्ने शीर्षकमा भित्री पृष्ठमा बुटवलका पाँचवटा मानव अधिकार संस्थाहरुले वक्तव्य निकालेको उल्लेख गरिएको छ । जसमा सम्बन्धित संगठनका गणेश उचै, युवराज घिमिरे, रामकुमार श्रेष्ठ, खड्कबहादुर के सी, प्रदीप शाह, श्याम पाठक र मनवीर गर्बुजाको नाम उल्लेख छ भने रामापुर क्याम्पसका स्ववियू सभापति रोमनाथ ज्ञवाली र उपसभापति दिलिपकुमार न्यौपानेको वक्तव्य पनि उल्लेख छ ।

जेठ ४ को लुम्बिनीको भित्री पानामा पण्डित पोखरेलको तेह्रौ पुण्य तिथिको कार्यक्रम शीर्षकमा करहिया गाउँमा श्रद्धाञ्जली कार्यक्रमहरुको विवरण र पोखरेलको स्मृतिमा प्रतिक्षालय बनाइने शीर्षकका दुई खबर एक साथ प्रकाशित गरिएका थिए ।

बैशाख २७ गते २०६२ को जनसंघर्ष दैनिकमा गोविन्द एस शिरीषले लेखे, हाम्रो समाजमा सामाजिक पृष्ठभूमिमा सामाजिक यज्ञका माध्यमबाट उठेका जे जति रकमहरु दान दक्षिणा छ त्यसले सामाजिक एवं भौतिक विकास गर्नुृपर्छ भन्ने उद्देश्य पं. नारायण पोखरेलको थियो । सामाजिक अथवा भौतिक निर्माणको लागि थुप्रै संघसंस्था र निकायहरुले समय र परिस्थिति अनुरुप आयोजना गर्ने गरेका धार्मिक अनुष्ठानमा पं. नारायणले कुशल वाचनको माध्यमबाट प्रशस्त रकम जुटाइदिने गर्नुभएको थियो ।

बैशाख ३१, २०६२ को जनसंघर्षम गणेश उचैले धार्मिक क्रान्ति गरेर समाजको भौतिक विकासमा लागेका पं. नारायण पोखरेलले डर र संकोच नमानी अगाडि बढेमा परिचयका लागि विज्ञापन गर्नुपर्दैन भन्ने कुरालाई व्यवहारिक रुपमा प्रमाणित गरेर देखाएका छन् । वैशाख २३ गते बिहान भएको उनका हत्याको कारण उनीमा रहेको कमजोरी होइन कि उनीमा अन्तरनिहित उदारवादी प्रतिभा प्रस्फुटन नै हो भन्ने कुरामा सबैले विश्वास लिनुपर्ने अवस्था रहेको बताएका छन् ।

बैशाख ३१ गते समाधान दैनिक पोखरामा धार्मिक आस्थालाई चढाइएको सूली शीर्षकमा लेख प्रकाशित भयो । जेठ १ गतेको भावना र जेठ ६, २०६२ को जनसंघर्ष दैनिकमा नेपालमा धार्मिक र आर्थिक पुनर्जागरणको एउटा महत्वपूर्ण अध्याय शीर्षकमा बाबु राम ज्ञवालीको लेख प्रकाशित भएको छ ।

पाठक पत्रको रुपमा वाचन शिरोमणिका लागि दर्जनौ पत्रहरु विभिन्न दैनिक, साप्ताहिक र पाक्षिक पत्रपत्रिकाहरुमा प्रकाशित भएका छन् । जसको नाम र शीर्षक सूची निकै लामो छ ।

पं. पोखरेलको अनुपस्थितिले धार्मिक जागरण, भौतिक विकास र सामाजिक सुधारमा ठूलो रिक्तता उत्पन्न भएको छ । आशा गरौं पं. पोखरेलको पुण्य तिथिले सबैलाई आ–आफ्नो ठाउँबाट पोखरेलले प्रारम्भ गरेको कार्यलाई अगाडि बढाउन शक्ति प्रदान गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट