विपक्षी दलहरुलाई समेटेर नयाँ सत्ता समीकरणको कसरत गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्काल नयाँ सरकार बन्ने संकेत नेदेखिएको बताएका छन् ।
नयाँ सरकार गठनका लागि एमसीसीको सम्बन्धमा प्रमुख प्रतिपक्षी कांग्रेससँग कुनै सहमति नगरेको समेत उनले बताए ।
हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा बोल्दै प्रचण्डले जसपाले निर्णय गर्न नसक्दा तत्कालै सरकार बन्ने संकेत नदेखिएको बताए । प्रचण्डले अहिले आफूले चाहेर मात्रै सरकार बन्न नसक्ने बताए ।
यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसंग कुरा गर्दै प्रचण्डले आफूलाई संसारभरका मान्छेले चिन्ने दावी गरेका छन् । शान्ति प्रक्रियापछि नेपाल देशभन्दा बढी प्रचण्डलाई चिन्नेजस्तो अवस्था भएको उनले बताए ।
‘तपाईंले हिन्दीमा भाषण गर्दै भारतमा केपी ओलीलाई भन्दा बढी मलाई चिन्छन् भन्ने दावी गर्नुभएको थियो, त्यसको आधार के हो ?’ राजेन्द्र बानियाँले सोधेका थिए ।
जवाफमा प्रचण्डले भने, ‘भारतमा मात्रै होइन संसारभरका मान्छेले मलाई चिन्छन् । मैले घमण्ड गर्यो भन्ने लाग्ला । तर, म जनयुद्धबाट शान्ति प्रक्रियामार्फत गणतन्त्र नेपालको प्रधानमन्त्री भएपछि नेपाल प्रचण्डको नामबाट चिनिन थाल्यो भन्थे पत्रकारहरू । संसारभरका मान्छेले नेपालभन्दा बढी प्रचण्डलाई चिनेजस्तो भएको छ । एउटा मिथजस्तो क्या ।’
युद्धबाट शान्तिमा आएर गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्न दुर्लभ सफलता आफूले पाएको भन्दै उनले आत्मसन्तोष प्रकट गरे ।
प्रचण्डले भने, ‘दुर्लभ मान्छेले प्राप्त गर्ने अवसर मैले प्राप्त गरेँ । यो अलि अनौठो नै छ । युद्ध पनि गर्ने, शान्ति पनि ल्याने, संविधान पनि बनाउने, गणतन्त्रको घोषणा पनि गराउने…कम्युनिस्ष्ट आन्दोलनको इतिहास हेर्नुभयो भने… तर एउटा वर्गलाई मान्यता दिन मन लाग्दैन । खिसिट्यूरी गर्छन् ।’
उनले अहिले स्वदेशी तथा विदेशी शक्तिहरु आफूविरुद्ध हात धोएर लागिरहेको दावी गरे ।
‘प्रचण्डलाई सिध्याउने मिसन चलिराख्या छ, त्यो भनेको परिवर्तनलाई सिध्याउने मिसन हो,’ उनले भने ।
स्थानीय जनताको चाहना अनुसार आफूले हिन्दीमा भाषण गर्ने गरेको उनको भनाइ थियो । हिन्दीमा भाषण गर्दा तराइका जनताले आफ्नोपन फिल गर्ने उनले दावी गरे ।
प्रचण्डले भने, ‘पहिले हिन्दीमा बोल्दा आलोचना भएन, अहिले किन भएको हो मैले बुझ्न सकेको छैन ।’
माओवादी केन्द्रले ओलीलाई समर्थन नदिएकाले विश्वासको मत फिर्ता पनि लिनु नपर्ने उनको तर्क छ । ‘उहाँले (ओलीले) विश्वासको मत फिर्ता ले कि, फिर्ता ले भन्नु भएको छ नि, उहाँले भन्दासम्म लिन्नँ म,’ प्रचण्डले भने, ‘हामीले बढीभन्दा बढी गर्ने भनेको अब हाम्रो समर्थन रहेको छैन भनेर लेखेर दिने हो, फिर्ता लिने होइन । समर्थन दिएको भए पो फिर्ता लिने ।’

