–डा. बाबुराम ज्ञवाली
आश्रम धर्म अथवा आश्रम व्यवस्था जसको वर्णन उपनिषद काल देखि प्रारम्भ भएको मानिन्छ । त्यसको अचेल त्यति चर्चा गरिँदैन । आश्रमको महत्त्व गुरुकुलीय प्रणालीको समयमा अत्यन्त थियो । किनभने गुरुकुलमा जान दीक्षारम्भ संस्कार हुने गथ्र्यो । विधिपूर्वक गुरुकहाँ पठाइन्थ्यो । जहाँ उसले कठोर अनुशासनमा रहेर २५ वर्षको उमेरसम्म अध्ययन गर्न पाउँथ्यो । त्यसपछि दीक्षान्त समारोह हुने गथ्र्यो । दीक्षान्त समारोह विश्वविद्यालयहरुमा आज पनि हुन्छ तर दीक्षारम्भ संस्कार गुरुकुलीय परम्परामा मात्र देखिएका छ । अन्यत्र यसको प्रयोग पाईंदैन ।
गीता अध्याय तीनको श्लोक १६ को व्याख्या गर्ने क्रममा ओशो रजनीशले आश्रम व्यवस्थाको चर्चा गरेका छन् । त्यसैलाई यस लेखमा प्रस्तुत गरिएको छ । त्यस श्लोकमा के भनिएको छ भने सृष्टिको चक्र जसको वर्णन शास्त्रले गरेको छ, सो अनुसार व्यवहार नगर्नेको मानिसको जीवन व्यर्थ छ ।
रजनीशले शास्त्रको अर्थ स्पष्ट गर्दै भनेका छन्– भगवान कृष्णले शास्त्र भन्दा त्यसको अर्थ हुन्छ विज्ञान सम्मत । जसरी एलोपैथी पढेको डाक्टरले जाँच्छ भने हामीे भन्छौं शास्त्र सम्मत निदान । तर झाँक्रीले जाँच्छ भने विज्ञान सम्मत जाँचेको भनी बुझ्दैनौं । हुन त, आजको विज्ञान आंशिक छ । तर भगवान कृष्णले जुन शास्त्रको कुरा गर्नु भएको छ, त्यो सम्पूर्ण हो, टोटल ।
त्यस बेला सम्पूर्ण जीवनलाई चार भागमा विभाजन गरिएको थियो । चार भागमध्ये पहिलो भागलाई ब्रह्मचर्य भनिएको छ । यदि मानिसको परमायु १०० वर्ष मान्ने हो भने २५ वर्षको समय ब्रह्मचर्य आश्रम। अर्को २५ वर्ष गृस्थ आश्रम । तेस्रो २५ वर्ष वानप्रस्थ र चौथो २५ वर्ष संन्यास आश्रम ।
सुरुका २५ वर्ष जीवन बिहानीको समय हो । यस बेला जीवन ऊर्जा उर्लंदो हुन्छ । शरीर सशक्त हुन्छ , इन्द्रियहरु बलिया हुन्छन् । बुद्धि तेजस्वी हुन्छ । यही जीवनको बिहानी हो । यस समयलाई प्राचीन समयमा हामीले ब्रह्मचर्य भनेका थियौं । यसलाई अझ राम्ररी बुझ्नु पर्छ । जो सँग शक्ति छ, जीवनका भोग उसैले भोग्न सक्छ । उसैले आनन्द लिन सकछ । जो अशक्त छ, ऊ जीवनको भोगबाट वञ्चित रहने छ । जो शरीरको बलियो सम्पत्ति छ, मनको सम्पत्ति छ जीवनको रसमा उसैले गहन आनन्द लिन सक्ने छ। त्यसैले सुरुका २५ वर्ष शक्ति सञ्चयका वर्ष हुन् । अनि के पनि चाख लाग्दो तथ्य हो भने जसले ठीक तरिकाले भोग गरेको छ उसले ठीक त्याग उपलब्ध गर्न सक्छ । कमजोरले भोग्न सक्दैन, त्यसैले त्याग गर्न पनि सक्दैन । साँच्चै भन्दा कमजोरले बुझ्नै भ्याउन्न भोग के हो ? त्यसैले भोगभन्दा पर जान पनि सक्दैन । जीवनको अनिवार्य नियम के हो भने जसले ठीकले जान्न सक्दैन, ऊ त्यसबाट मुक्त हुन पनि सक्दैन । यो साँच्चै नै चाख लाग्दो छ । पच्चीस वर्ष ब्रह्मचर्यको साधना किन गराइन्थ्यो भने त्यो कामवासनाबाट मुक्त हुन सकोेस् । पच्चीस वर्ष हामीले उसलाई ब्रह्मचर्य साधनामा किन लगाउँथ्यौं भने अर्का २५ वर्ष काम उपभोगको गहिराईमा जान सकोस् ,सेक्सको जुन गहिरोभन्दा गहिरो अनुभूति छ त्यसमा प्रवेश गर्न सकोस् । किनभने सेक्स बाहिर त्यो मानिस मात्र निस्कन सक्छ जो त्यसको गहिराईमा पुगेको छ । जो त्यसको गहिराईमा पुगेन, त्यो कहिल्यै बाहिर निस्कन पनि सक्ने छैन ।

आज बुढाहरु पनि कामवासना बाहिर जान सकेका छैनन् । किनभने कामवासनामा जानका लागि जति शक्तिको खाँचो छ,त्यो कहिल्यै जुटाउन सकेनन् । जति प्रगाढ, जति इन्टेन्स र तीव्र शक्ति चाहिन्छ त्यसको अनुभव गर्न र त्यस अनुभवबाट बाहिर जान, त्योे शक्ति नै जम्मा हुन पाएको हुँदैन । त्यसैले यी २५ वर्षको दोहोरो अर्थ थियो । एउटा अर्थ के थियो भने जब मानिसहरु संसारमा जाने छन्, इन्द्रिय सुख भोग्ने छन्, किनभने जीवनको क्रम नै त्यही हो । यो क्रम खण्डित भएमा, टुटेमा, केअटिक भएमा अराजकता भएमा, काहीं पनि जीवनको चरम शिखर उपलब्ध हुन सक्दैन । त्यसैले सुरुका २५वर्ष शक्ति संचयका वर्ष हुन् । किनभने यस पछि शक्ति खर्च गर्ने समय आउने छ ।
कहिल्यै सोच्नु भएको छ, कमजोर मानिस कहिल्यै पनि कामवासना मुक्त हुन सक्दैन । जति कमजोर हुन्छ, त्यति काममा खस्छ । हुन त, यो उल्टो जस्तो लाग्ला तर साँचो कुरा यही हो । जति शक्तिशाली हुन्छ, कामवासनाबाट त्यति सजिलो गरी बाहिर निस्कन सक्छ । त्यसैले जनि शत्तिशाली युग थिए, ती कामुक युग थिएनन् । जति कमजोर युग हुन्छन्, त्यति सेक्सुअल र कामुक युग हुन्छन् । कामवासनाले कमजोर गराउँछ, र कमजोरीले कामवासना बढाउँछ । शक्तिले कामवासनाबाट मुक्त गराउँछ । अनि कामवासनाबाट मुक्ति प्राप्त हुन्छ भने वास्तविक शक्ति बढ्छ । यी दुई कुरा आपसमा सम्बन्धित छन् । कमजोर मानिस कामवासना बाहिर जान सक्दैन ।
साँच्चै भन्ने हो भने कमजोर मानिस वासनामा नै जान सक्दैन खाली वासनाको चिन्तन गर्छ, सेरिब्रल, मानसिक हुन्छ उसको सबै काम । शक्ति नभएकोले मनमनमा सोच्छ । स्वस्थ युग ले कामवासनालाई मनमा लैजान्न । अस्वस्थ युगले कामवासनालाई मनमा लैजान्छ । जति अस्वस्थ युग हुन्छ त्यति कामवासना कामको केन्द्रबाट हटेर मस्तिष्कको केन्द्रमा गतिमान हुन्छ । यो ठीक त्यस्तै बहुलट्ठी कुरा हो जस्तो कुनै मानिसले पेटमा भोजन नपचाएर मस्तिष्कमा पचाउने कुरा सोच्छ । जसरी कोही मानिस खुट्टाले नहिंडेर मस्तिष्कमा हिंड्ने डुल्ने याजना र कल्पना गर्छ र सपना देख्छ । त्यो विक्षिप्त हुनेछ । मस्तिष्कबाट हिंडिदैन खाली कल्पना गरिन्छ ।खुटटो सोच्न सक्दैन केवल हिंड्न सक्छ । मस्तिष्कले आफ्नो काम गरोस, खुट्टाले आफ्नो । तर खुट्टा कमजोर छन् भने मानिसले दगुर्ने सपना देख्छ, पेट कमजोर भए मानिसले भोजनको योजना बनाउन थाल्छ । भोजन गर्दैन । सेक्स कमजोर छ भने, सेक्स ऊर्जा कमजोर भए सेक्सको चिन्तन गर्ने छ ।
प्राचीन कालमा हामीले जीवनका सुरुका २५वर्ष मानिसको शक्तिसंचयका वर्ष निर्माण गरेका थियौं । किनभने जति शक्ति तिमीसँग हुन्छ तिमी इन्द्रियका गहिराईमा त्यति गहिरो जान सक्छौ । अनि जति गहिरो जानेछौ उति सजिलो गरी इन्द्रियबाट मुक्त पनि हुनछौ । जब इन्द्रियका सबै अनुभव जानिन्छ अनि मानिसले के बुझ्छ भने प्राप्ति योग्य केही पनि छैन । कुरा सकियो । तर हामीले इन्द्रिय अनुभव नै राम्ररी पाएका हुँदैनौ. । त्यसैले शास्त्रमा पढ्छौं– इन्द्रियमा केही छैन तर मनमन के सोच्छौं भने इन्द्रियमा नै सबथोक छ । सुन्छौं इन्द्रिय दुश्मन हुन् र मानेका के हुन्छौं भने इन्द्रियभन्दा प्रीतिकर केही छैन । इन्द्रियका विरुद्धमा प्रवचन सुन्छौं तर इन्द्रियका पक्षमा चित्र, सिनेमा, उपन्यास, कविता देख्छौं । उही मानिसले प्रवचन सुन्छ इन्द्रियका विपरीत, सुखको विपरीत अनि त्यसैले नाटक हेर्छ, नृत्य हेर्छ, उही वेश्याको घर पनि देखा पर्छ । कुरा के हो ?
कुरा के हो भने जीवनको क्रमसँग मानिस छैन । जीवनको पहिलो क्रम हो शक्ति संचय, अनि त्यसमा एक अर्को कुरा ध्यानमा राख्नु पर्छ । यस ब्रह्मचर्यको २५ वर्षमा हामीले अर्को र बढी गहन मनोवैज्ञानिक कुरा जोडेका थियौं । जुन आज छैन तर पनि भविष्यमा जगतले फेरि फर्काउनु पर्छ । अन्यथा जगत बच्न सक्ने छैन । त्यो के हो भने सुरुका २५ वर्ष हार्डशिप र कठिन श्रमको समय ।
के कुरा पनि चाख लाग्दो छ भने जसको बालापन जति श्रमपूर्ण हुन्छ, उसको शेष जिन्दगी त्यति नै सुखपूर्ण हुन्छ । जसको बालापन जति सुखपूर्ण हुन्छ उसको शेष जीवन त्यति नै विषाद र दुखपूर्ण हुन्छ । बालापनमा जो गुन्द्रीमा सुतेको होला, बचपनमा जसले सुक्का रोटी खाएको होला, जसले कोदालो खनेको, बन्चरो चलाएको होला, गाई चराएको होला, जिन्दगीले पछि जति कुरा दिए पनि त्यो भन्दा बढ्ता नै हुन्छ । उसको सुख सधैं तुलनात्मक रुपमा धेरै हुने छ । किनभने सुख कम्पेरिजनमा छ । अब जिन्दगीले जे जति कुरा दिन्छ, त्यो तुलनात्मक रुपमा बढी हुनेछ ।
आज हामलिे उल्टो काम गर्छौं । बाबुले जे सुख पाएन, त्यो छोराालई दिइरहेका छौं । घरमा जे सुख छैन, त्यो होस्टलमा छ, छात्रावासमा छ । पच्चीस वर्ष बित्छन् बिना मेहनत, बिना श्रम । बिना काम, बिना कठिनाई, बिना संघर्ष । पच्चीस वर्ष पछि बल्ल मान्छेले संघर्ष र श्रम देख्छन् । यस पछि जे पाइन्छ, कुनैले पनि तृप्ति दिन सक्दैन । तुलनात्मक रुपमा जे पाइन्छ, सबैे बेकार, आशाहरुको प्रतिकूल भए झैं लाग्छ ।
पहिलो पच्चीस वर्षको समय, श्रम, साधना र संकल्पको समय थियो । त्यसैले जिन्दगीले जे दिन्थ्यो रुक्खा– सुक्खा रोटीदिन्थ्यो, त्यो कति स्वादिष्ट थियो भने त्यसको कुनै हिसाब थिएन । रोटी अब त्यति स्वादिष्ट छैन । साँचो कुरा के हो भने रोटी निकै स्वादिष्ट छ खानेले खाने कला बिस्र्यौ । आजको रोटीमा पहिलेका भन्दा निकै मिठो स्वाद छ । तर स्वाद लिने मानिस नै कमजोर छ । स्वाद लिने मानिस बिरामी छ । घर आज जस्ता छन्, यस्तो विगतमा थिएनन् । सम्राट अकबर र अशोक जस्ता सम्राटहरुलाई जुन घर उपलब्ध थिएनन् आज एक मामुली मान्छेल पनि प्राप्त गर्न सक्छ । तर आज यस्ता घरमा कुनै सुख पाईंदैन किनभने मानिससँग सुख तौलिने तराजु नै छैन, सुख अनुभव गर्ने क्षमता नै छैन ।
पच्चीस वर्ष ब्रह्मचर्यका कठिन श्रमका वर्ष थिए । पछिको जिन्दगी प्रति पल घट्दो श्रमको हुन्थ्यो । यो क्रम ठीक छ । प्रशस्त शारीरिक शक्ति हुँदा प्रशस्त श्रम गर्ने पर्छ । आजका केटाकेटीहरुले ज्यादै कम श्रम गर्छन् । बरु बुढाबुढीले धेरै श्रम गर्नु परेको छ । यो उल्टो क्रम हो । केटाकेटीहरुको उर्लदो शक्ति हुन्छ र बुढाबुढीको ओर्लंदो । तर बुढाबुढी गोरु झैं जोतिएका छन् र केटाकेटीहरु काम नगरी सुखले बसेका छन् । अनि यी काम नापएका केटाकेटीले युनिवर्सिटीमा आगो लगाउँछन्, ढुङ्गा हान्छन्, झ्याल फोर्छन, भने यसमा अचम्म के छ? यिनीहरुले काम नपाएर पो यस्तो गरेका हुन । यिनलाई काम चाहिएको छ । यिनीहरुलाई केही भाँच्नु छ । ब्रह्मचर्य आश्रममा त जगलमा गएर दाउरा भाँच्थे, गुरुको घरमा ढुङ्गा हान्दैनथे । दाउरा भाँच्नुमा नै यिनीहरुको शक्ति खर्च हुन्थ्यो । त्यसैले हुलङ्गो भइसक्थे । अब काट्ने, भाँच्ने, पिट्ने जस्तो केही काम पनि उनीहरुलाई गर्नु पर्दैन । त्यसैले ढुङगा फालिरहेका छन् ।
पहिलो आश्रम, मानिसका जीवनको बिहानीको समयमा, शक्तिको, शक्ति संचयको, प्रयोग र क्षमता विकासको समय हो । यो विश्रामको समय होइन । विश्रामको समय पछि विस्तारै आउँछ । आखिरी क्षण, जिन्दगीको सूर्यास्तको समय विश्रामको क्षण हो । त्यसैले ७५ वर्ष पछि, संन्यासको आश्रममा पूर्ण विश्रामको व्यस्था गरिएको थियो, पूर्ण विश्राम । पहिलो २५ वर्ष पूर्ण श्रम, अन्तिम २५ वर्ष पूर्ण विश्राम । बीचमा दुई खुड्किला अरु थिए ।
यस सुरुको खुडकिलोलाई एकातिरबाट फेरी बुझ्नुस, त्यो के हो भने मानिसको जति विकास हुने हो त्यो करीब करबि २५ वर्षमा सबै पूरा भइसक्छ । मनोवैज्ञानिकहरुले त के मान्दछन् यो अझ छिटो पूरा हुन्छ । त्यसैले विकास, वृद्धि सकिनु अगावै मानिसले आफ्ना सबै क्षमताालई पूरा जगाउने काम गरिसक्नु पर्छ । मानिसले आफू भित्र जति शक्ति लुकेको छ, बीजरुपमा, विकासको क्षण समाप्तु हुनु अघि, त्यसलाई पूरै रुख बनाइसक्नु पर्छ । त्यो वास्तविक रुपमा भइसक्नु पर्छ । त्यसैले एक रत्ती विश्राम ब्रह्मचर्यमा छैन । सतत श्रम मात्र छ । कठोर श्रम । अथक श्रम । र यसका दुई परिणाम हुने गर्थे । एउटा त त्यस मानिसले आफ्नो सम्पूर्ण शक्ति जागृत गरेर जीवनमा अर्को चरणमा जाने योग्यता प्राप्त गथ्र्यो । अनि अर्को, त्यसपछि जीवनले उसलाई जे दिए पनि, त्यसबापत उसले आनन्द र सन्तोष मान्न सक्ने क्षमता आउँथ्यो ।
आजको दुनियाँमा कुनै पनि कुरामा मानिसलाई सन्तोष छैन । आज हाम्रा सबै व्यवस्था कस्ता छन् भने हरेकतिर असन्तोष छ । असन्तोष हुने नै भयो । किनभने सन्तोषको जुन कला थियो, त्यो जीवनको क्रममा निहित थियो । जब रुखमा फूल लाग्ने समय हुन्छ, त्यही बेला फूल लाग्नु पछ र्। अनि जुन बेला पात झर्नुपर्छ, त्यहीबेला झर्नु पर्छ । रुख बुढो भएपछि त्यसबाट त्यो कुराको आशा गर्नुहुँदैन, जुन जवान रुखबाट गरिन्छ । आजको अनौठो के छ भने हामीले त्यस जवानबाट कुनै आशा राख्दैनौं, जसबाट सबभन्दा बढी आशा गरिनु पथ्र्यो ।
यस ब्रह्मचर्य आश्रममा एउटा थप, तेस्रो, प्रक्रिया पनि थियो । यस ब्रह्मचर्य कालमा जुन परिवारको बालक भए पनि, साम्यवादी, सबैलाई बराबरी, रहनसहन थियो । गरिब घरको बालक होस्, धनीको होस्, राजपरिवारको होस्, कोही होस्, कुनै फरक थिएन । ब्रह्मचर्यका २५ वर्ष सहजीवनका थिए । सम्राटका छोराले पनि दाउरा खोज्थ्यो, गाई चराउँथ्यो, गोठाल्याईं गथ्र्यो, गुरुका गोडा मिच्थ्यो । त्यसैले यी समानताका वर्ष थिए । यस बेला जुन कुरा पनि हृदयमा प्रवेश गर्यो त्यो जीवनभर साथ रहन्थ्यो । त्यसैले त्यसबेलाको समाजमा असमानता देखिए पनि मानिसहरुको चित्तमा असमानता थिएन । मानिसहरुमा समानताको बहुलट्ठी तिर्खा पनि थिएन । एकातिरबाट हेर्दा जसलाई स्पर्धा भनिन्छ, त्यो यी २५ वर्षमा उत्पन्न हुनै पाउँदैनथ्यो । किनभने सबै समान थिए । त्यसैले हामीले स्पर्धामुक्त, महत्त्वाकांक्षा शून्य समाजको निर्माण गर्न सकेका थियौं।
अर्को आश्रम थियो गृहस्थको । यस पृथ्वीमा यस समाजले मानिसलाई जति वैज्ञानिकताले स्वीकार गरेको छ, त्यति वैज्ञानिकतामा अरु कसैले स्वीकार गरेको छैन होला । अचम्मको कुरा होइन त, २५ वर्ष ब्रह्मचर्यको पाठ पढाएका मानिसलाई गृहस्थ जीवनमा पठाइदिन्थे । विवाहित, कामवासना, इन्द्रिय सुखमा प्रवेशको मौका पनि दिन्थे ।
कसैले भन्ला, यो त बहुलट्ठी हो । पच्चीस वर्ष ब्रह्मचर्य सिकाए पछि अब किन पठाउँदैछन् ? ब्रह्मचर्य सिकाएकै कारण के हो भने अब उसले तुलना गर्न सक्नेछ, आनन्द ब्रह्मचर्यमा छ कि वासना पूर्तिमा भनेर । जुन आनन्द उसले ब्रह्मचर्यमा जान्यो त्यो वासनामा कहिल्यै प्राप्त गर्न सक्ने छैन । अनि त, वासना केवल कर्तव्य मात्र हुन जानेछ । वासना भोग तृष्णा हुने छैन, केवल एक कर्तव्य हुनेछ । र उसका प्राणको पन्छी यसै आशामा रहने छ कहिले ५० वर्ष पूरा हुन्छन् र म ब्रह्मचर्यको दुनियाँमा फेरि फर्कन पाउँ । जुन मानिसले ब्रह्मचर्यको उज्यालो जानेको छ । उसले के अचम्म मान्छ भने वासनामा रमाउने मानिस पागल भए छन् । तर आजको मानिससँग तुलना गर्ने उपाय नै छैन । ब्रह्चर्यको आनन्द नै थाहा छैन । त्यसैले तुलना के सँग गर्ने ? नाप गर्ने कुनै उपाय छैन । अब एउटा उपाय मात्र बाँकी रहन्छ । एउटा स्त्रीसँग सम्बन्ध जोड्यो । सुख पाइएन, अनि सोच्छ शायद अर्कीसँग सम्बन्धित भएमा सुख पाइएला । तुलना गर्ने एक मात्र उपाय के छ भने यहाँ सुख भएन, अब अर्कोमा होला । अर्कीमा पनि भएन, अझ अर्कोमा सुख छ कि ? तुलना गर्ने अर्को तरिका नै छैन । मान्छे बदलेर सुख पाइन्छ कि? तर अवस्था फेरे बरु सुख पाइन्थ्यो कि ? यसको कल्पना पनि हामीले गरेका हुँदैनौं । किनभने अर्को कुनै अवस्थाको बारेमा हामीले जानेका छैनौं ।
त्यसैले वासनाको जगतमा यात्रा गर्नु अघि ब्रह्मचर्यको अनुभव अनिवार्य छ । अन्यथा वासनाले मरुन्जेल, घाटमा पुगुन्जेल पनि छोड्ने छैन किनभने तुलनाको कुनै उपाय रहने छैन । ब्रह्मचर्यको सुख, शान्ति, आनन्दलाई जसले जान्यो ब्रह्मचर्यको शक्ति, ऊर्जा, ब्रह्मचर्यको आह्लादलाई जसले जान्यो र ब्रह्मचर्यले जसको प्राणमा नृत्य गर्यो, संगीत बज्यो ब्रह्मचर्यको, उसका अगाडि वासनाको दुनियाँमा आउँदा उसले तौल गर्न सक्ने छ कि ब्रहमचर्य बाहेकको आनन्द त बडो फिक्का छ । फिक्का भन्नु पनि बेकार छ, उसमा खासै स्वाद छैन । अत्यन्त साधारण छ । अनि उसले यसलाई कर्तव्य सम्झेर पूरा गर्ने छ । ठीक छ, जगत, परमात्मा, जीवनको क्रम ठीक छ । उसलाई कसैले जन्माएको हो, उसले पनि कसैलाई जन्माउने छ । उसले प्रतिस्थापनको कर्तव्य पूरा गर्ने छ । तर विक्षिप्त भएर कामवासनाले उसलाई च्याप्प समाउने छैन ।
त्यसैले यस समाजका शास्त्रले के भन्न सके भने जसले सन्तानका लागि सम्भोग गर्यो, त्यो पुरानो अर्थमा ब्रह्मचारी नभए पनि, ब्रह्मचारी नै हो । सन्तानका लागि मात्र जसले सम्भोग गर्छ, त्यो ब्रह्मचारी हो । यस समाजका शास्त्रले स्पष्ट भन्न सके । किन यसरी भन्न सके ? किनभने जसले ब्रह्मचर्यलाई जान्न सक्यो त्यो कामवासनामा वासना तृप्तिका लागि जाँदैन । उसका लागि वासना एक ड्युटी हो, एक कर्तव्य हो । उसलाई पूरा गर्यो, अनि मुक्त भयो । केवल २५ वर्षका लागि । अनि ५० वर्षको उमेरमा उसका सन्तान आश्रमबाट फर्कन थाल्ने छन् । उनीहरुको उमेर आश्रमबाट फर्कने समय हुन थाल्छ किनभने उनीहरु अब २५ वर्ष पुग्न थाल्छन् ।
यस समाजले अझ एउटा गहिरो कुरा पत्ता लगाए । एउटै घरमा बाबुले पनि सम्भोग गर्ने र छोराले पनि, यो निकै अनैतिक छ । छ पनि । किनभने बाबु पनि केटाकेटी हो यदि उसले छोराछोरीले सन्तान जन्माउँदा उसले पनि सन्तान जन्माउँछ भने । यो लज्जाजनक छ । छोराले के सोच्ला ? बाबु पनि चाइल्डिस छ, केटाकेटी छ । अहिलेसम्म वासनामुक्त भएको छैन । त्यसैले यस समाजले विचार के गर्यो भने जुन दिन घरमा छोराले विवाह गर्छ, त्यसै दिन बाबुले बुझोस् ऊ वानप्रस्थ भयो । वानप्रस्थको अर्थ हुन्छ, वनतिर मुख फर्काएको । हिंडिसकेको, पुगिसकेको छैन । मुख मात्रै फर्काएको छ । अब घरैमा जंगलको तैयारी सुरु गर्ने बेला भयो । भर्खरै जंगल पुग्यो भने क्रममा बाधा पर्ने छ । अब २५ वर्ष पुगेका सन्तान आश्रमबाट फर्कदै छन् । यस बाबुले २५ वर्ष गृहस्थको जुन अनुभव सँगालेको छ, त्यो हस्तान्तण गर्न जरुरी छ । अन्यथा त्यो अनुभव उनीहरुले कहाँबाट पाउलान् ? उसले जिन्दगीबाट जानेका कुरा छोराछोरीलाई दिनु छ । घरको, ज्ञानको, अनुभवको सारा साँचो दिनु सन्तानलाई हस्तातरण गर्नु छ । अब बाबु वानप्रस्थी हुन जान्छ ।
अनि ७५ वर्षको उमेरमा उसको छोराछोरीका पनि सन्तान जंगलबाट फर्कने बेला हुन्छ । उसको आफ्ना छोराछोरी ५० वर्ष पुगिसक्छन् । उनीहरु वानप्रस्थको उमेरमा पुग्न जान्छन् । अब बाबुले सबैसँग नमस्कार लिने छ अनि जंगलतिर जानेछ । अबयो संन्यासी भयो । यसका जीवनको सन्ध्या आइपुग्यो । जीवनको बिहान भयो, दोपहर भयो, अब साँझ पर्न थाल्यो । घाम अस्ताउन थाल्यो । अबका २५ वर्ष यसका लागि प्रभु स्मरण तोकिएको छ । र अझ रमाइलो कुरा, अबको २५ वर्ष, वानप्रस्थ पछि संन्यास आश्रममा जंगल गएको मानिस समाजबाट आएका केटाकेटीहरुको गुरु बन्ने छ । अनि अर्को कुरा, जुन समाजमा वृद्ध गुरु छैन, त्यस समाजमा गुरु नै हुँदैनन् । आजको समाजमा विद्यार्थी र गुरुमा दुई चार सालको मात्र अन्तर छ । कहिलेकाहीं यो अन्तर पनि हुँदैन, कहीं त विद्यार्थी नै जेठो पनि हुनसक्छ । यदि विद्यार्थीको उमेर गुरुको भन्दा बढी छ भने त्यो सम्बन्ध बन्न सक्दैन जुन ७५ वर्ष जीवनका सबै अनुभव जम्मा गरेको मानिसले साना बालकहरुसँग जोड्न सक्छ ।
जीवनको शिखर हुन्थ्यो त्यो मानिस । उसको रोमरोममा जीवनले आफ्नो छाप छोडेको हुन्छ । उसको प्रत्येक साँसमा जीवनले आफ्नो अनुभव छोडेको छ । उसको चाउरिएको अनुहारमा जीवनको प्रौढता, र जीवन सबै कुरा लुकेको छ । ७५ वर्ष, ८० वर्ष, सय वर्षको बुढोको नजिकमा बस्दा स्वाभाविक रुपमा उसको मनमा आदर र पूज्य भाव उत्पन्न हुन्थ्यो । यस मान्छेमा कुनै वासना छैन, निर्वासना छ । त्यसैले यो पूजनीय लाग्छ । यो भगवान जस्तो लाग्छ ।
त्यसैले आश्रमका केटाकेटीले गुरु ब्रह्मा भन्न सक्थे । आजकाले भन्न सक्ने छैनन् । त्यो मानिस परमात्मा जस्तै लाग्थ्यो जसमा वासना पूर्ण विलीन भइसकेको छ, जसको कुनै इच्छा छैन, जसलाई कुनै कुराको मोह छैन, घटनाहरु जे जस्तो घटुन्, ऊ एकनास रहन्छ । जसको चित्त अनासक्त भयो, सबै छोडिए पनि, अलिकति बाँकी छँदा पनि, केही छैन भन्ने भए पनि जसलाई सब बराबर छ, जीवनको त्यस शिखरमा बसेको वृद्धको छेउमा बस्ने बालकले यदि उसलाई परमात्मा ठान्छ भने यसमा केही पनि अचम्म छैन ।
तर आजको गुरुले पनि मलाई कसैले परमात्मा मानिदेओस् भन्ठान्छ भन्ने त्यो सन्काहा हो । उसलाई परमात्मा मान्ने कारण नै बाँकी छैन । सारा जग भत्किएको छ । हामीले गुरु हुने लायक केवल त्यसलाई मान्थ्यौं जसले जीवनको सबथोक बुझेर आएको छ । नत्र गुरु हुन लायक छैन । आजको गुरु केवल इन्फर्मेटिभ छ, ऊसँग केही सूचनाहरु छन्, जुन विद्यार्थीहरुसँग नहोलान् । तर जीवनको, अस्तित्वको जुन कुरा छ, त्यस बारेमा विद्यार्थीमा र उसमा कुनै फरक छैन ।
प्रायः के हुन्छ भने युनिवर्सिटीमा केटोले पनि उही केटीसँग प्रेम गर्न थाल्छ र शिक्षकले पनि । प्रतिस्पर्धात्मक भयो । एउटै केटीका लागि दुवैमा प्रतिस्पर्धा हुनसक्छ । अनि यस केटोको मनमा गुरुका लागि कस्तो आदर बाँकी रहला ? यस गुरुले जुन पसलमा पान खान्छ र त्यस केटोले पनि त्यही पसलमा पान खान्छ । यस गुरुले पनि त्यही फिलिम हेर्छ, उसको छेउमा बसेर विद्यार्थीले त्यही हेर्छ । अनि फिलिममा जब नग्न चित्र आउँछ, गुरुले पनि केटाले झैं ढाड सोझो गरेर हेर्छ । यी दुवैका बीचमा जीवनगत भेद छैन ।
आश्रम कालमा हामीले के सोचेका थियौं भने जबसम्म जीवनगत भेद छैन, तबसम्म गुरु शिष्य सम्बन्ध निर्माण हुन सक्दैन । गुरु शिष्य सम्बन्ध खाली इन्फर्मेटिभ होइन, एक्जिस्टेन्शियल हो । पृथ्वीको यस भागमा हामीले मात्रै कस्तो अस्तित्त्वगत भेद उत्पन्न गरेका छौं भने गुरु हुनुपर्छ जीवनको अस्त र शिष्य हुनुपर्छ जीवन को उदय । यी दुवैका बीचमा ५०, ६०, वा ७० वर्षका अनुभवको अन्तर छ । अनुभवले केवल ज्ञान मात्र दिँदैन, त्यस अनुभवले समस्त वासनाहरुबाट मुक्ति पनि दिन्छ । यो अनुभव ती सबै क्षुद्रता जुन हिजो महत्त्वपूर्ण थिए तिनीहरुको अन्त पनि हुन पुग्छ । अनि अनुभव, हिजोसम्मका ती सबै विकार क्रोध, काम, लोभ, ती सबैबाट छुटकारा गराउने हुन पुग्छ । जब यस्ता मानिसका वरिपरि केटाकेटी जम्मा हुन्थे, उनीहरु जीवनको दान लिएर फर्कन्थे, चिर ऋणी भएर फर्कन्थे । यो चौथो आश्रम थियो जसलाई संन्यास भनिन्छ ।
यसरी जुन जीवन सञ्चालन हुन्थ्यो त्यो शास्त्रको क्रम अनुसार थियो ।

