वि.सं. १९७० साल श्रावणमा गुल्मीवलेटक्सार दाम्लाचौरमा जन्मेका केशवराम ज्ञवाली हाल १०८ वर्षका हुनुहुन्छ । तिलोत्तमा नगरपालिकाले आफ्नो वार्षिक कार्यक्रममा दुई पटक सबैभन्दा बढी उमेरको वृद्धको रुपमा सम्मान गरिसकेको छ ।
नवलपरासीका नेपाल टेलिभिजनका संवाददाता कृष्ण ढकाल र राससका मोहन पौडेलले वि.सं. २०७७ फागुन १४ गते ‘१०८ वर्षीय पिताद्वारा छोराको चौरासी पूजा सम्पन्न’ समाचार प्रसारित गरेपछि उहाँ बढी चर्चामा आउनु भएको छ । ज्यो. लक्ष्मीप्रसाद बरालले १०० वर्ष माथिका ज्येष्ठ नागरिकहरुको कुण्डली अध्ययन गर्ने क्रममा उहाँ प्राथमिकतामा पर्नु भएको छ ।

उहाँका माहिला पुत्र रिखिराम ज्ञवाली, साहिंला पुत्रहरु क्या. हरिप्रसाद ज्ञवाली र कान्छा पुत्र प्रा.डा.बाबुराम ज्ञवालीको सहयोगमा हाम्रो पुरुषार्थका बुटवल प्रतिनिधि सहप्राध्यापक गोपाल पन्थीसँग भएको कुराकानी प्रस्तुत छ-
प्रश्न– तपाइँको जन्मसाल महिना कुन हो ? र जन्म स्थान कहाँ हो ?
उत्तर– वि.सं. १९७० सालमा गुल्मीको बलेटक्सार दाम्लाचौरमा भएको हो भन्ने सुनेको छु । चिनामा मेरो जन्म साल र मिति खुलेको छ ।
प्रश्न– औपचारिक शिक्षा पाउनु भयो कि नाइँ ?
उत्तर– अहँ, पढिनँ । सुनाइको पढाइ भयो अरु भएन । सानैमा टुहुरो भइयो । स्कूल पनि थिएनन् । गुरुका घर गएर पढ्नु पर्ने हुन्थ्यो, त्यो पनि अलि टाढै थियो । सानै देखि घर सम्हालनु पर्यो । पछि परदेश (भारत, हरिद्वार) तिर लागियो । हरिद्वारमा साधु सन्तको सङ्गत्ले अक्षर पढ्न सिकें । नेपालको भाषाको पुस्तक पढ्न सक्छु । अघि नेपालीमा लेखिएको देवी भागवत दैनिक पाठ गर्थे ।

प्रश्न– तपाईंको विवाह कहाँ भएको हो ?
उत्तर– गुल्मी खरबाङ्को चिदीपानीका भुसाल परिवारकी केटी संग आठ वर्षको उमेरमा मेरो विवाह भएको हो । उनी छ वर्षकी थिइन । धेरै कुरा संझना पनि छैन । म छ वर्षको हुँदा बुबा बित्नु भएको हो । मेरो विवाह आमाले गराइदिनु भएको हो । मलाई लिएर गए । त्यहाँ बिहृ भएकाृ थियो भन्ने सम्झन्छु । पत्नीको देहावसान भएको पनि ४२ वर्ष पूरा भयो ।
प्रश्न– तपाईंका सन्तान छोराछोरी कति छन् ।
उत्तर– छोरी दुईवटी हुन् । ठूलीको रोग लागेर देहावसान भयो । जुम्ल्याहामध्येकाृ एउटा छोरा खोलामा परेर मृत्यु भयो । माहिली बुहारीको पनि बिरामी परेर दुई वर्षअघि मृत्यु भएको हो । अहिले चार छोरा एक छोरी नाति, नातिना, बुहारीहरु, नातिनी बुहारीहरु, पनाति, खनाति सम्म गरेर ९९ जना छन् । जेठोको कार्तिक १४ पूर्णिमा चौरासी पूजा गरिदिएको हो ।
प्रश्न– त्यति बेला त ढाँट छल र जबरजस्ती विवाह गराइदिन्थे भन्ने सुनिन्छ नि ? हो ?
उत्तर– हो । त्यस्तो पनि हुन्थ्यो । यो केटालाई मेरो छोर िदिएँ भने पछि विवाह पक्का भयो । अरु केही हेरिन्न्थ्यो । उमेर काँचै हुन्थ्यो । केटा केटी सानै हुन्थे । कसैले त केटालाईच्याप्पै समाएर पनि बिहे गरीदिन्थे ।
प्रश्न– तपाइँले राणा शासन भोग्नु भयो । त्यसबेलाको अनुभव सुनाइ दिनुस् न ।
उत्तर– राणा भनेका क्षत्रिय हुन् । त्यसबेला शासनको डर थियो । कडा अनुशासन थियो । कुनै उपराधमा शासनलाई रीस उठ्यो भने ज्यानै जान्थ्यो । तर कहिलेकाहीं अरुअरले यसरी नमारिहालुम् भनेर अनुरोध गरेपछि बचाइन्थयो पनि ।
प्रश्न– गुल्मीमा राणा शासनको प्रभाव कस्तो थियो ?
उत्तर– गुल्मीमा पनि राम्रै प्रभाव थियो । राणा शासन अप्ठ्यारो हो । मानिसलाई अधीनमा राख्न सक्ने शासन पनि ठूलै मान्न पर्छ ।
प्रश्न– तपाईंले आफ्ना यति धेरै सन्तानलाई कसरी हुर्काउने, खुवाउने, पढाउने गर्नु भयो ? भन्नाले खर्चको आधार के थियो ?
उत्तर– मेरा सम्पत्ति भनेका गाई, भैंसी, गोरु नै हुन् । धेरै भैंसी दुहुना थिए । दूध बिक्री हुन्थ्यो । हाम्रो दूध ऋषिकेश (भारत) बिक्री हुने गथ्र्याे । बाह्र माना दूध बेचेर खर्च चलाएँ । लत्ता,कपडा, औषधी यसैबाट चल्यो । पेट भर्नका लागि खेती गर्थें ।सारा परिवारले मिलेर यी काम गरिन्थ्यो ।
प्रश्न– रेसुङ्गाका यदुकानन्द स्वामी, स्वर्गद्वारीका महाप्रभुका बारेमा केही जानकारी छ ?
उत्तर– रेसुङ्गा हाम्रो गाई चराउन जाने ठाउँ पनि हो । हामीले गाई चराउँदा महाप्रभु देखिनुहुन्थ्यो । त्यहाँ मरासिनी, आचार्य, पन्थीहरु थिए । उनीहरुलाई ल्याएर यज्ञ, पाठ गराइन्थ्यो । यति थाहा पाउँछु ।
अनि स्वर्गद्वारी महाप्रभु त साक्षात् (प्रभु) हुनुहुन्थ्यो । त्यसबेलामा पनि प्यूठानमा अचम्म देख्न पाइन्थ्यो । चार पाँच सय गाई वनमा चरिरहेका हुन्थे । डाँडाको टुप्पामा गएर प्रभुले ‘ए फलानी, यहाँ आइज’ भनेर बोलाउँदा ठ्याक्क त्यही गाई महाप्रभुका अगाडि आएर टक्क उभिन्थ्यो । त्यहाँको गोवर्धनका साथै साग तरकारी फलेको अझै सम्झन्छु ।
प्रश्न– तपाईं दीर्घजीवन प्राप्त जीवित इतिहास हो । गुल्मीका राज्यहरुका बारेमा केही किंवदन्ती सुन्नु भएको छ ?
उत्तर– धुर्कोट, इस्मा, गुल्मी, मुसिकोट, राज्य थिए रे । पुराना राजाका कुरा त गर्थे तर मलाई त्यतिसारो जानकारी भएन । हो, अर्गलीका राणाजीको बारेमा भने जान्दछु । मैले एक पटक सरकार (राणा) को घोडा पक्डें । त्यहाँ घचाक् घुचुक भयो । मार्न पनि खोजे । ‘मार्न भएन बचाउनु परो’ भने पछि मलाई छाडिदिएका थिए ।

प्रश्न– त्यस बेला राजा महाराजा कस्ता थिए ? के तिनीहरुबाट जनताले न्यायको अनुभूति गर्थे ?
उत्तर– मूल परेकोलाई मूल्याहा भन्नै पर्यो । अरु ठीक थिए । त्यस बेलाका राजाहरुको नाम याद भएन । उनीहरुले मुखैले फैसला गर्थे । अदालत नै चाहिन्थेन । त्यसलाई राम्रो भन्ने कि के भन्ने ? राम्रो होस् कि नराम्रो तत्काल फैसला हुने गथ्र्यो पछि जिम्मावाल, थरी, भलाद्मीले राणाको अधिकार प्रयोग गरेर फैसला गर्थे ।
प्रश्न– तपाईं त धेरै पुरानो मान्छे । त्यस बेलाका देश विदेशका र दोस्रो विश्वयुद्ध ताकाको अनुभव केही छ ?
उत्तर– म बर्मा (म्यान्मार्) को रङ्गुन गएँ । त्यहाँ मिमु भन्ने ठाउँमा पनि गएँ । विश्वयुद्धले गर्दा हो कि के हो ? हामीलाई जापानी सैनिकले पक्र्यो । साथीहरु आत्तिए । अब थुन्छ भनेर डरायौं । केही दिन मोही र आटो खाएर बस्यौं । पछि विदेशबाट आएका स्वयं सेवा दलले खाने व्यवस्था गर्यो । त्यहाँबाट धेरै नेपाली लखेटिए । ती मध्ये केही अहिले रुपन्देहीमा पनि छन् । हामीलाई विदेशी (अमरीकान) ले सहयोग गर्यो । उनीहरुमा दया हुँदो रहेछ ।
प्रश्न–यस जीवनमा तपाईंले गर्न खोज्नु भएको र गर्न नसकेको केही छ ?
उत्तर– मलाई मेरो जीवनसंग केही गुनासो छैन । खोजेको कुरा पुगेको छ भन्नु पर्यो । छोराको चौरासी गर्न पाउनु नै एउटा खुशी हो ।
प्रश्न– अहिलेको नयाँ पुस्तालाई तपाइँको केही सन्देश छ?
उत्तर– नयाँ पुस्तालाई मैले के भन्नु छ भने मानिसको चोला मरणशील छ । यसलाईसबैले छोडेर जाने हो । एउटा मोटर गाडी (जीवन) छोडेर अर्को मोटर सबैले चढ्नु पर्छ । अर्को मोटरमा नचढुञ्जेल यस मोटरको राम्रो स्याहार सुसार गर्नु पर्छ । आफूलाई स्वस्थ राख्नु पर्छ सबैले । अर्को कुरा नयाँ पुस्ताले पुरानो पुस्ताको कुरा सुन्नु पर्छ । सुन्न सक्नु पर्छ । साधु सन्त र सज्जन मानिसको सङ्गत पनि गर्नु पर्छ । सो अनुसार आचरण गर्नु पर्छ । यो संसार छोडेर जाने हो । आफूले गरेको धर्म मात्र सँगै जाने हुँदा धर्म छाड्नु हुन्न ।
प्रश्न– भारतलाई कर्मक्षेत्र बनाउनु भयो । नेपाल र भारतको सम्बन्ध कस्तो देख्नु भयो ?
उत्तर– भूगोल र संस्कृतिको नाता दुवैको अटुट छ । भारतमा अङ्ग्रेज आएर फैकटरी खोलिदिए । उनीहरुलाई रोजगार बढाइदिए । विकास गराइदिए । हो, त्यहाँ गरिबी पनि छ । माटाका भाँडामा पानी खाने मानिस त्यहाँ नभएका होइनन् । त्यो देश धेरै ठूलो छ । बलियो छ । धेरै जान्ने मानिस त्यहाँ छन् ।

१०८ वर्षीय वृद्ध केशवराज ज्ञवालीद्वारा आफ्नो ८४ वर्षीय जेठा छोरा दधिरामको कार्तिकमा चौरासी पूजा गराउँदै। तस्बिरः मोहन पौडेल/रासस
यता नेपालमा ईश्वरको शक्ति छ । नेपाल (काठमाडौ) उपत्यकामा अठार कोस भित्र गोरु नारेर कहिल्यै जोतिएन । सारा खेती खनेर सम्पन्न गरिएको छ । यो धर्म र संस्कार अन्यत्र कहाँ पाइन्छ । त्यसैले यो धर्मले धानेको मुलुक हो । यहाँ जति (धर्म) भारतमा छैन ।
प्रश्न– तपाईंको समयका चर्चित जननेता बि पी कोईरालाका बारेमा केही जानकारी छ ?
उत्तर– उहाँको चर्चा त सबैले जानेकै छन् । मैले पनि उहाँको बारेमा धेरै सुनेको छु । गुल्मीमा भेट पनि भएको हो । तर मैले राजनीतिक दर्शनका बारेमा धेरै जानिन ।
प्रश्न– पञ्चायती शासन पनि जान्नु भयो । त्यो शासन व्यवस्था कस्तो लाग्यो त ?
उत्तर– पञ्चायत पनि कडा व्यवस्था हो । हरियो वन नेपालको धन उनीहरुको राम्रो काम हो । अर्थतन्त्रमा उद्योग धन्दा सुरु भए । यस्ता राम्रा कामहरु धेरै भए ।
प्रश्न– गणतन्त्र ठिक लाग्यो कि राजातन्त्र ?
उत्तर– देशमा राजा त चाहिन्छ ।
प्रश्न– के कारणले देशमा राजा चाहिन्छ ?
उत्तर– अहिले कुलको सेवक छैन । राजा भनेको कुलको सेवक हो । यज्ञ आदि कार्यमा राजा सम्झिन्छ । राजतन्त्रको गरिमा आफ्नै प्रकारको छ जो गणतन्त्रमा पाईंदैन । अहिले मानिस अनुशासनमा बसेनन् ।
प्रश्न– आधुनिक विज्ञान र प्रविधि को उन्नतिको बारेमा देखेका जानकारी बताउनु सक्नु हुन्छ ?
उत्तर– विज्ञानको विकास गर्ने अमरिका, रुस, जर्मन हुन् । हामीलाई चाहिने धेरै कुरा उनीहरुले बनाइदिएका छन् ।
प्रश्न– सय वर्ष अगाडिको युग र आजको युगको तुलनामा कुन समयमा सुख देख्नु हुन्छ ?
उत्तर– आजको युगमा । पहिले खानको धेरै दुख थियो । पेट भर्नलाई पनि धेरै दुख गर्न पथ्र्यो । अहिले सबै फसल हुन्छ । सबैलाई सुख त आज पनि छैन । केहीलाई आज पनि दुख छ । पहिले धन नभए पनि खान सक्थ्यो । आज धन छ भने सबैसुख छ धन नहुनेलाई आज पनि दुख छ ।
प्रश्न– इमानदारितामा पहिले र अहिले के फरक छ ?
उत्तर– उहिले इमान थियो । बेइमानहरुलाई कडाद’ण्ड दिइन्थ्यो । मानिस डराउँथे । अहिले ड’र हरायो । अ’परा’ध बढ्यो ।
किरण पुस्तकालय गुल्मी तम्घासबाट प्रकाशित द्वैमासिक पत्रिका हाम्रो पुरुषार्थ वर्ष ४८ अंक १, सम्पूर्णांक ८८, कार्तिक–पुस २०७७बाट साभार
यो पनि पढ्नुस – संसारमै विरलै देखिन र सुन्न पाइन्छ यस्तो संयोग – १०८ बर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा
साहिँला छोरा हरिप्रसादका नाति शिवम् र वृद्ध केशवराजको उमेर १०६ वर्षले फरक छ।

