संसारभर प्रतिष्ठित बीबीसी मास्टर सेफमा नेपाली खानासहित भाग लिने पहिलो नेपाली सेफ सन्तोष साह उक्त प्रतिस्पर्धामा उपविजेता भएपछि केहि दिन अघि नेपाल फर्किएका छन । गत बिहिबार काठमाडौं ओर्लिएका साहलाई त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्था र नेपालका सेफहरुले उनलाई स्वागत गरेका हुन्।
संसारभरका विभिन्न कुइजिनका झण्डै तीन दर्जन सेफहरुले भाग लिएको प्रतिस्पर्धाको ग्र्याण्ड फिनालेसम्म पुग्ने अन्तिम तीनमा सन्तोष पनि थिए।
ग्र्याण्ड फिनाले एपिसोडमा नेपाली ढाकाटोपीमा देखिएका सन्तोष दोस्रो बनेका हुन्। उनको प्रस्तुतिअघि उनकै बारेमा बीबीसीले तयार पारेको एक भिडियो बजाइएको थियो जसमा उनले नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए।
ग्र्याण्ड फिनालेको प्रतिस्पर्धामा सन्तोषले हड्डीवाला भैंसीको मासु, खोले साग, भेंडाको गिदी लगायतका परिकार पकाएर चरेशको थालमा पस्किएका थिए। खानासँगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ‘ऐला’ पनि ‘सर्भ’ गरेका थिए।
सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङको अचार लगायतका दर्जनौँ मौलिक नेपाली परिकार विश्वभरका दर्शकमाझ पस्किएका सन्तोष देश विदेशका लाखौँ नेपालीको मन जित्न सफल भएका छन्।

सिराहओ कर्जन्हामा २०४२ साल जन्मिएका साह हाल सिन्नामोन किचन लण्डनको हेडकुक पनि हुन् ।
सात भाइ बहिनीमध्ये कान्छा, ५ वर्षको हुँदा बुवाको मृत्युपछि सानो छँदा आर्थिक अभाव टार्न सन्तोष प्लास्टिकका झोला तथा पाउरोटी स्थानीय हाटबजारमा बेच्ने गर्थे । एसएलसीमा अनुतीर्ण भएपछि १५ वर्षको उमेरमा उनी कामको खोजीमा भारततिर लागेका थिए । साथीहरुसँग गुजरात पुगेका उनले अहमदावादको एउटा होटलमा भाँडा माझ्ने काम गरे । त्यहीँबाट उनले प्रख्यात सेफ बन्ने सपना पाल्न थालेका हुन् ।
यसक्रममा उनले भारत तथा बेलायतका पाँचतारे होटेलदेखि प्रतिष्ठित मिसेलिन स्टार रेष्टुरेन्टहरुबाट समेत अनुभव बटुलेका सन्तोषले भारतमा ९ सय भारु तलबबाट काम सुरु गर्दै ३५ हजारसम्म पुग्यो । एजेन्ट मार्फत मन्टेनेग्रो पछि भारत फर्किएर लण्डन पुगे र अहिलेको सफलता हात पारे ।
सन्तोषले मास्टरसेफमा पोलेको माछा, तिल र टमाटरको अचार, करेलाको अचार, आलुको अचार, जेरी, कुराउनी, बुन्दी, बुनियाँ, कुल्फी, फोफी, टिमुरको अचार, सिस्नु र आलुको तरकारी, भाङको अचार, कर्कलोको पातको तरकारी, विरिया, भेँडाको मासु, खसीको मासु, बेथेको साग, चिप्ले भिन्डी, तामाको आचार, माछाको रोटीलगायतका नेपाली परिकारको प्रदर्शनसहित प्रतिस्पर्धा गरेका थिए ।
नेपालमै बिहे गर्ने सोचबनाएका साह विवाहका लागि बधुको खोजीमा पनि छन ।
दु:ख,अभाव र पिडा कसकाे जिवनमा हुदैँन र ! तर जिवनका आराेह र अवराेहले नै हामीलाई सफलताकाे चुलीमा पुर्याउँछ भन्ने भनाइका ज्वलन्त उदाहरण हुन् सेफ सन्ताेष साह। देशले गर्व गर्न लायक एक युवा जसले पाककला मार्फत नेपालकाे माैलिकता विश्व सामु पस्केका छन् ।
साहको सफलता र संघर्षका कथाव्यथालाई पत्रकार टीकाराम यात्रीले तमसोमा ज्योतिर्गमयको लागि गरेको कुराकानी :-

