पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) रमेश खरेलको संयोजकत्वमा ‘हाम्रो नेपाल, सुशासन अभियान’ सुरु भएको छ । उनी ०४५ सालबाट भलिबल खेलाडीका रुपमा सिपाहीबाट प्रहरी सेवा प्रवेश गरेर डीआईजीबाट राजिनामा दिएर बसेका छन ।सरकारले सहब्याची सर्वेन्द्र खनाललाई महानिरीक्षक (आईजीपी) बनाएपछि खरेल असन्तुष्ट हुदै राजिनामा दिएर हिडेका थिए ।
खरेलको नेतृत्वमा रहेको अभियानले प्रेस विज्ञप्ति जारी गरी संसद् विघटनको कदम संविधानमाथि घात र ‘कु’ नै भएको निष्कर्ष निकालेको हो।
‘खड्गप्रसाद ओलीले संसद विघटन र चुनावको घोषणाको सिफारिश राष्ट्रपतिलाई गरेलगतै राष्ट्रपतिद्वारा त्यो सिफारिस स्वीकृत भएबाट देशको राजनीति तरंगित , आक्रोशित र गम्भीर मोडमा पुगेको हुँदा नेपाल सुशासन अभीयानको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले नयाँ जनआदेशका लागि कदम चाल्नु लोकतन्त्रमा नौलो कुरा त होइन, तर जुन कारण परिस्थिति र औचित्यका जगमा यो काम भएको छ।’
यसले संविधान, लोकतन्त्र र जनचाहनाको अवमूल्यन मात्र होइन, पूर्ण रुपमा अवहेलना गर्दै अधिनायकवादी चरित्रको पर्दाफास भएको अभियानको ठहर छ। ‘र, संविधानमाथि घात र ’कु’ नै भएको छ, हामी यो कार्यको घोर भत्सर्ना गर्दछौं,’ अभियानको विज्ञप्तिमा उल्लेख छ।
देशको सम्मानित संस्था राष्ट्रपतिबाट बिना अध्ययन, राय र परामर्शबिना तुरुन्त स्वीकृति हुनुलाई अभियानले बिडम्वनापूर्ण भनेको छ।
‘र, संविधान र जनतामाथिको अपमान हो, मौका छोप्दै, स्वार्थपूर्ण रुपमा र संविधान–कानूनको अवहेलना गर्दै अध्यादेशमार्फत् संवैधानिक परिषद्ले संवैधानिक अगंहरूमा स्वार्थपूर्ण नियुक्ति गरेको छ, त्यो समेत गम्भीर आपत्तिको विषय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘र, सबै राजनीतिक शक्ति, विद्वान वर्ग र जनताले यसलाई अमान्य घोषित गर्नु पर्छ भन्ने हाम्रो मान्यता र आह्वान छ।’
प्रधानमन्त्री र राष्ट्रपतिको साँठगाँठ र अन्य केही व्यक्तिहरूको मिलिमतोमा भएका यस्ता कार्यहरूको नेपाली जनताले राम्ररी मूल्याकंन गर्ने अभियानको ठम्याई छ।
‘र, हामी संविधान र विधिको शासन तथा सुशासनलाई आघात पुर्याउने कार्यलाई सफल हुन दिनु हुँदैन भन्ने पनि हाम्रो अपिल छ, सम्भवत् यो विषय सम्मानित सर्वोच्च अदालतमा पुग्ला र यथासमयमा निर्णय होला,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, अधिनायकवादी सोच तथा कार्य र संविधान कानूनको अवहेलनालाई जुन तहबाट भएको भए पनि हामी निन्दा र भत्सर्ना गर्दछौ।’
यो अवस्थामा राजनीतिक शक्ति, जनता, नागरिक समाज सबै देश र जनताका पक्षमा एकजुट भइ अघि बढ्न र निर्णयमा पुग्न अभियानले आह्वान गरेको छ।
यहि राजनैतिक घटनाक्रमबारे खरेलसंग सगरमाथा टिभीका पत्रकार प्रकाश गिरिले गरेको कुराकानी :-

