वर्तमान राजनैतिक घटनाक्रमबारे सामाजिक संजाल मार्फत आफ्नो विचार राख्दै आएका लेखक तथा राजनीतिक केशवप्रसाद भट्टराईले प्रचण्ड-नेपाल भन्दा ओली धेरै ठिक भएको भन्दै पुर्वप्रधानमन्त्री प्रचण्डप्रति कटाक्ष गर्दै यस्तो लेखेका छन :-
त्यस्ताले मुलुकलाई दिने भनेकै द्वन्द्व, हिंसा, मारकाट र अराजकता नै हो । त्यसैले मलाई राष्ट्र,जनता,प्रजातन्त्र,शान्ति,स्थीरता, विधि,प्रक्रिया र विकासका सवालमा प्रचण्ड र नेपाल गूट भन्दा ओली हजार गुणा ठिक लाग्दछन् ।
अर्को कुरा, राष्ट्र, जनता र प्रजातन्त्र सवैकाल र सवै समयमा संविधान भन्दामाथिका अस्तित्व ,मूल्य र भावना हुन् !
निर्वाचित प्रधानमन्त्रीले नयाँ जनादेशको लागि जनतामा जाने कुरालाई प्रतिगामी भन्नेहरू आफैँमा प्रतिगामी हुन्, अलोकतान्त्रिक र अराजक हुन् ।
राजनीतिक. र नैतिकरूपमा कायर हुन् ! त्यस्तोमा संविधान वाधक छ भने त्यो संविधान आफैंमा अलोकतान्त्रिक छ ।
अराजनीतिक छ । जन विरोधी छ ।
नेपालमा लोकतन्त्र र गणतन्त्र आयात गर्दा नै हामीले नेपालको स्वतन्त्रता र प्रभुसत्तालाई लिलाममा चढाएका हैनौ र ? साथै निर्यात गर्ने ले के निर्यात गरेछन,आयात पनि के र कसरी गरिएछ कुन्नी, नारामा लोकतान्त्रिक गणतन्त्र व्यवहारमा लोकतन्त्रको अलोकतान्त्रीकरण र गणतन्त्रको परिवारिकरण, पार्टीकरण र भ्रष्टीकरण भन्ने मात्रै बुझ्न र भोग्न थालियो ।
एउटा नागरिकको रूपमा मेरो शिर ठाडो भएको छ, प्रधानमन्त्रीज्यू !
१. दुई भारतीय टेलिभिजनबाट प्रशारित प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता सन्तोषजनक र एक किसिमले उत्साहजनक थियो ।
उहाँले पूर्ण स्वाभिमान र आत्मविश्वासका साथ आफ्ना कुरा राख्नुभयो ।
सम्भवत: सात सालपछिका वीपी कोइराला र कृष्णप्रसाद भट्टराई बाहेकका कुनै प्रधानमन्त्रीले भारतका सन्दर्भमा यसरी कुरा राख्नुभएको छैन ।
उहाँले मुलुकको मर्यादा र सम्मानलाई प्रतिनिधित्व गरेर बोल्नु्भयो । नेपाल र भारतको इतिहास, मूल्य, संस्कृति र परम्पराबारे उहाँको ज्ञान देखेर पनि खुशी लाग्यो । गौरव अनुभव भयो ।
उहाँको हिन्दी र अङ्ग्रेजी भाषामा केही स्वाभाविक समस्या थिए, स्वाभाविक अशुद्धीहरू थिए तर दुवै भाषामा फरर्र आफ्नो कुरा राख्न सक्ने उहाँको क्षमता लोभलाग्दो थियो ।
२. तीन कुरामा मेरा केही विमति रहे-
पहिलो, नेपालको तर्फबाट ओलीजीले भारत र चीनवीचका समस्या समाधानमा मध्यस्थता गर्न सक्ने दाबी गर्नु !
२.१. पहिले त उहाँले भारतसँगकै समस्या समाधान गर्ने राजनीतिक र कूटनीतिक क्षमता प्रदर्शन गर्नुपऱ्यो !
हुम्लामा नेपाल–चीन सीमामा चीनले नेपाली भूमि मिचेको बारे उठेको विवाद बारे अध्ययन गर्न उहाँले एउटा विज्ञ टोली सम्म त्यसतर्फ पठाउने हिम्मत गर्नुभएको छैन,
सी जिन्पिङ्ग विचारधाराबारे आफ्ना पार्टीका नेता र कार्यकर्तालाई प्रशिक्षण र नेकपाको गठन र विवाद समाधानमा चीनको भूमिकाबारे नेपालभित्र र बाहिर जसरी चर्चा चलिरहेको छ,
२.२. नेपाल चीनको उपग्रह राष्ट्रको रूपमा विश्व समुदायमाझ नेपालको जुन छवि निर्माण भएको छ, त्यो छवि माझ ओलीजीको दाबी आफैँमा हलुको र अर्थहीन देखिन्छ ।
२.३. अर्को, आफ्ना द्वीदेशीय मामिलामा कुनै तेस्रो पक्षको भूमिकालाई सोझै अस्विकार गर्ने भारतीय नीति रहिआएको छ ।
त्यसमाथि राष्ट्रिय गौरव, उपलब्धि, सामर्थ्य, शक्ति र कूटनीतिक कौशलयुक्त भई भारत र चीन लगायत विश्व समुदायमा प्रतिष्ठित मुलुक र सो मुलुकको विश्व राजनीतिमा राम्रो अधिकार राख्ने, अनुभवी मर्मज्ञ नेता, प्रधानमन्त्री वा राष्ट्रपतिले मात्रै त्यो दाबी गर्न सक्दछ ।
त्यो दाबी गर्न अत्यन्त स्वाभाविक व्यक्ति रूसी राष्ट्रपति पुटिन हुन् !
केही समयपछि कार्य क्षमता र कूटनीतिक कौशलको आधारमा नयाँ अमेरिकी राष्ट्रपतिले त्यसो गर्न सक्लान्, नेपाल र ओलीजीका लागि त्यो सम्भव छैन । यस्तो कुरा नगरेको भए हुन्थ्यो ।
३. दोस्रो, मुलुकभित्रका आफ्ना राजनीतिक सहयात्री र राजनीतिक प्रतिद्वन्द्वीबारे विदेशी समाचार माध्यमसँग जिम्मेवार राजनीतिज्ञ, प्रधानमन्त्री र राष्ट्रपतिहरूले कुरा गर्दैनन् । त्यस्तो नगर्नुपर्थ्यो, त्यसो नगर्नु जाती हुन्थ्यो ।
४. अर्को प्रभुसत्ता सानो र ठूलो हुँदैन भनेर प्रधानमन्त्रीले बारबार भन्ने गर्नुभएको छ । त्यो एउटा सिद्धान्तको कुरा मात्रै हो, व्यवहारमा त्यसो हुन्न । त्यसलाई एक किसिमको राजनीतिक शब्दाडम्बर भनेर मात्रै बुझ्ने गरिन्छ ।
जस्तो प्रभुसत्ता त सबैमा हुन्छ, तर कसैको प्रभुसत्ता शक्तिशाली र प्रवल र कसैको दुर्वल र निरीह !
कसैको प्रभुसत्ता अमेरिका, रूस, चीन र भारतको जस्तो, कसैको अफगानिस्तान, इराक, लिविया, इथियोपिया र कंगोको जस्तो, कसैको प्रभुसत्ता बाह्र बुँदे गराउने शक्तिको जस्तो कसैको प्रभुसत्ता बाह्र बुँदेले खैँचिएको जस्तो ! कसैको प्रभुसत्ता कुरामा र कितावका पानामा भेटिने जस्तो र कसैको व्यवहारमा ! त्यसैले त्यो कसैले कसैलाई भन्नै पर्दैन ।
५. आफ्ना हरेक आवश्यकता धान्न, सरकार चलाउन, आफ्नो संवैधानिक व्यवस्थाअन्तर्गतको संघियतालाई बोक्न समेत विदेशीसँग ऋण अनुदान माग्न बाध्य मुलुक, छिमेकीले चामल, दल, तरकारी, ग्यास, तेल नपठाए लाखौँ नेपालीको चुलो नबल्ने अवस्था, विदेशबाट सामान नआए दशैँ, तिहार, माघे संक्रान्ति जस्ता आफ्ना राष्ट्रिय पर्व मनाउन पनि नसकिने स्थिति,
मुलुकका हरेक राजनीतिक परिवर्तनदेखि सरकार परिवर्तनमा सम्म वैदेशिक हस्तक्षेप ब्यहोर्ने मुलुक, सरकार परिवर्तनको लागि सांसद किन्न हाकाहाकी विदेशीसँग पैसा माग्दा पनि झन्–झन् सम्मानित पद दिने मुलुक, कसैले गरेको अर्वौ रकमको हिनामिना र भ्रष्टाचारको खुलेआम आरोप प्रधानमन्त्री स्वयमले लगाएको अवस्थामा पनि निज व्यक्तिमाथि राजनीतिक मोलतोल वा अन्य कारणले सरकारले कारवाही गर्न नसकिरहेको अवस्था आदिमा प्रधानमन्त्री ओलीको त्यो दाबीको अन्तर्यमा कतै हीनताबोध छ ।
आफ्नो राज्य संचालन र चुनौती व्यवस्थापनमा देखाइने ओज र वजनसँग मात्रै त्यस्तो दाबीले मेल खान्छ ।
६. आजको विश्वमा सत्रौँ-अठारौँ सताब्दीको प्रभुसत्ताको सिद्धान्तले ठूलो माने राख्दैन । कुनै बेला भारत, बेलायत, चीन जस्ता मुलुकसँग नेपाल युद्ध गर्ने हैसियत राख्थ्यो । उनीहरूलाई अनुदान र सहयोग दिएको उदाहरण पनि हामीसँग छ ।
नब्बे सालको भूकम्पमा विदेशीहरूले सहयोगको प्रस्ताव राखे, जुद्ध समशेरले धन्यवाद नेपाल आफैं यो सङ्कट र समस्यालाई व्यवस्थापन गर्न सक्छ भनेर जवाफ दिएको हामीले पढेका छौँ । आज हामी विदेशी अनुदानका प्रोजेक्टका गाडी मन्त्रीहरूलाई उपलब्ध गराइरहेका छौँ ।
नेपालको उनीहरूसँगको क्षमतामा २०–१० वा २०–५ वा लौ २०–१ को अन्तर थियो होला अहिलेको जस्तो तुलना नै गर्न नसकिने अवस्था थिएन ।
व्यापार, मुद्रा , बैंकिङ, शिक्षा, स्वास्थ्य, नागरिक स्वतन्त्रता, अधिकार, राज्य व्यवस्था, वाह्य सम्बन्ध, युद्ध, शान्ति लगायतका विभिन्न क्षेत्रमा आज मुलुकको प्रभुसत्तामाथि नियन्त्रण गर्ने अनेकौँ अन्तर्राष्ट्रिय कानुन र संरचना छन् । ठूला र शक्तिशाली मुलुककालागि ती संरचना र कानुन खुकुला छन् । राष्ट्र सङ्घमा भीटोवाला मुलुक पनि छन् र ननभीटो वाला पनि ।
स्वयम् नेपाली सेना र प्रहरीहरू राष्ट्र सङ्घको शान्ति सेनामार्फत कतिपय मुलुकमा छन् । कुनै मुलुकमा राष्ट्र सङ्घको, कुनै मुलुकमा अमेरिकाको, कुनै मुलुकमा रूसको सेनाको उपस्थितिको सन्दर्भमा पनि समान प्रभुसत्ताको सवाललाई हेरिनु पर्दछ ।
यो सवाल कमजोरले म कमजोर छैन भनेर देखाउन उठाउने सवाल हो । विश्वमा जो शक्ति, सम्पत्ति र सामर्थ्य छ, उसैको प्रभुसत्ता ठूलो छ ।
जो सँग त्यो छैन, त्यसको प्रभुसत्ता सानो छ ।
७. वैशाखमा चुनाव भनिएको छ, सिद्धान्ततः म पनि एक भोट हाल्छु र प्रधानमन्त्रीले पानि हाल्ने भोट ता उत्ति हो ! यस आधारमा म र प्रधानमन्त्री बराबर !
तर म १०–२० जनालाई पनि मैले भनेको ठाउँमा भोट हाल्ने बनाउन सक्छु सक्दिनँ, मलाई थाहा छैन तर प्रधानमन्त्रीले लाखौँ मतदातालाई आफूले भनेको ठाउँमा भोट हलाउन सक्नुहुन्छ । साधारण नागरिकको कुरा नगरौँ– यौटै भ्रष्टाचारको मुद्दामा विजय गच्छेदार दोषी हुन्छन्, माधव नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति मिल्दछ ।
कसैलाई कुनै गलत कार्यको दण्ड तत्काल मिल्दछ तर ती गल्तीहरूका लागि कसैसँग धेरै सुरक्षाकवच उपलब्ध छन्, बुलेटप्रुफ ज्याकेट उपलब्ध छन् ।
एक किसिमका नागरिकका लागि सबै किसिमका राज्य संरक्षणप्राप्त हुन्छ अर्कालाई हुन्न ।
यही हो विश्व राजनीति पनि ! यही हो समान प्रभुसत्ताको सिद्धान्त पनि ! प्रभुसत्ता शक्तिबाट प्राप्त हुन्छ र शक्तिबाट नै त्यसको रक्षा हुन्छ, शक्तिले मात्र त्यसलाई समान बनाउँछ ! बोल्न जे बोले पनि हुन्छ तर माथिको कुरा मनमा लिनु राष्ट्रहितमा नै होला !
८. कुनै विदेशी समाचार माध्यममा दिने त्यस्तो अन्तर्वार्ताका दर्शक र स्रोत मूलतः विदेशी हुने भएकाले त्यसले थप गम्भीरता र जिम्मेवारी माग्दछ !
गम्भीरता पूर्वक मनमा लिएर त्यो अनुसार राज्य क्षमता निर्माण गरेर मात्रै त्यो समानताको अर्थ निस्कन्छ ! यो मुलुकले तीन वटा ठूला राजनीतिक परिवर्तन ब्यहोऱ्यो, ती सबै परिवर्तनमा एउटा पक्ष रहेको मुलुकलाई, सो मुलुकको सन्दर्भमा त्यही परिवर्तनको लाभ वापत प्रधानमन्त्री हुनुभएको ओलीजीले वा अन्य कोहीले समान स्तरको प्रभुसत्ताको कुरा गर्दा कतै नमिलेको नै देखिन्छ ।
९. अन्य सवालमा कुनै नेपाली नेता र प्रधानमन्त्रीको तुलनामा ओलीजीको अन्तर्वार्ता उत्कृष्ट थियो ! एउटा नागरिकको रूपमा मेरो शिर ठाडो भएको छ, प्रधानमन्त्रीज्यू !

